body1
advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण :६९०२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९०१३ मे.वा. घन्टा
  • भारत : ४०८० मे.वा. घन्टा
  • ट्रिपिङ : ३०० मे.वा. घन्टा
  • माग : २०२९५ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

इतिहासमाथि ओझपूर्ण आख्यान, नीलम कार्कीको ‘योगमाया’

   फागुन ०६, २०७४        1357        ऊर्जा खबर/काठमाडौं

जहानियाँ राणा शासन, वर्गीय विभेद, वाकस्वतन्त्रता र सामाजिक अन्याय आजको युगले नभोगेको वास्तविकता हो । इतिहास केलाउँदै आउँदा त्यसको सत्यतथ्य वर्तमान पुस्ताले छाम्न र महसुस गर्न सकेको छ ।

इतिहासका पानामा कोरिएका लिपी छामेर पछिल्ला पुस्ताले त्यसको पुनर्लेखन गरी ताजा पार्ने गरेका छन् । यसले नयाँ पुस्तामा त्यसप्रति घोत्लिन र कौतुहलताको हुटहुटी जगाउन मद्दत पुर्याएको छ ।

इतिहासको वास्तविक घटनालाई तथ्यसहित वर्तमानको पर्दामा उतारेर पुनर्ताजगी गर्नु पक्कै पनि सजिलो काम होइन । अझ इतिहासमा साहित्यको मसी चोपेर सौन्दर्य रस भर्नु झन् जटिल विषय हो ।

खिया लाग्दै गएका र स्मृर्तिमा मात्र तैरिन पुगेका टुक्रा–टुक्रा घटना कल्पनाको मेसिनले पेलेर सिंगो मुहार देखिने ऐना बनाउनु अर्को चुनौती हो । यही चुनौतीलाई हाँक दिँदै साहित्यिक धरातलमा उदाएको छ, योगमाया

राणा शासन र यसले चलाएका सामाजिक विभेदविरुद्ध हुँकारको शैलीमा प्रतिकार गर्ने नारी योद्धा ‘योगमाया’ लाई तात्कालीन समयको क्रान्तिकारी नायक मानिन्छ । साहित्यकार नीलम कार्की निहारिकाले उनैको जीवन संघर्षको धरातलमा टेकेर खोजपूर्ण उपन्यास ‘योगमाया’ सिर्जना गरेकी छन् ।

पूर्वी जिल्ला भोजपुरमा जन्मेकी योगमायाले शासकीय विभेदको प्रतिकार गर्दै आफ्ना ६८ जना सहयोद्धासँगै अरुणमा समाधी लिइन् । यो प्रसंगले आज पनि नेपाली समाज आतंकित र भयभित हुन्छ । यो स्मृतिपान गर्दामात्र शरीरमा काँडा उम्रिन सक्छ । र, सत्यको नजिक पुग्न घच्घच्याइरहन्छ ।

नीलमले मुर्झाएको त्यही वास्तविकता जिउँदो बनाउने प्रयास गरेकी छन्, योगमायामा । साहित्यिक जगतमा उदाएको यो उपन्यास आइतबार राजधानीमा सार्वजनिक भएको छ ।

पाल्पाको गोठादीमा जन्मेर पछिल्लो समय अमेरिका बस्दै आएकी नीलम त्यहीँ बसेर साहित्य साधनारत छन् । साहित्यको पुस्तकालयमा ‘योगमाया’ जस्तै खोजपूर्ण सिर्जना थप्न उनी बेलाबेला नेपाल आइरहन्छिन् ।

‘योगमाया’ नीलमको तेस्रो उपन्यास हो । उनले यसअघि आइमाई र चीरहरण नेपाली साहित्यलाई अर्पण गरिसकेकी छन् । उनका आधा दर्जन कविता संग्रहसमेत प्रकाशित छन् ।

देशमा पछिल्लो समय साहित्य लेखन संख्यात्मकरूपमा निकै बढेको छ । योसँगै साहित्यिक पुस्तक विमोचन वा लोकार्पण हुने संख्या पनि उतिकै छ ।

कति पुस्तकले पाठकको स्वाद मेटाउन सक्छन् । त्यो पाठककै जिम्माको पक्ष हो । तैपनि, साहित्यमा सिर्जनाका इँटा थप्ने काम निरन्तर भइरहेको छ ।

गुण र दोषका आधारमा सिर्जनाको धरातल टेक्न सके पुस्तकको आयु दीर्घकालीन होला । अन्यथा, साहित्य बजारले त्यसको अस्तित्व स्वतः मेट्दै जानेछ । कसैले गहिरिएर सोच्नै पर्दैन । नीलमले पनि ‘योगमाया’ को पठन, पान र चिरफार गर्ने अधिकार पाठकमै छोडेकी छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7