Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

कंलकी–कोटेश्वर ८ लेन सडक पैदलयात्रुलाई असुरक्षित, पाइला–पाइलामा धराप

ऊर्जा खबर/काठमाडौं श्रावण ०८, २०७५   3742

सडक



कोटेश्वर–कंलकी सडक खण्ड चौडा भएसँगै जोखिम र धराप पनि थपिएको छ । सडकको उचित निर्माण, व्यवस्थापन तथा प्रयोगकर्ताले अनुशासन पालना नगर्दा समस्या बढ्दै गएको हो ।

ad

सडक विस्तार सुरुयता यस खण्डमा १० जनाभन्दा बढीको ज्यान गएको छ । तर, सुरक्षा उपाय वा सडकको मापदण्ड पूरा नगर्दा दैनिक दुर्घटना हुने गरेको छ ।

दुर्घटना हुनुमा सवारी चालकको कमजोरी मात्र नभई सडकको बनावट पनि कारण रहेको स्थानीयको भनाइ छ । आवश्यक ठाउँमा जेब्रा क्रस तथा आकाशे पुल निर्माण नगर्दा पनि समस्या देखिएको छ ।

निर्माणक्रममा सुरक्षामा ध्यान नदिँदा पाइला–पाइलामा जोखिम रहेको ललितपुर सातदोबाटोका स्थानीय सुनिल श्रेष्ठ बताउँछन् । ‘जेब्रा क्रसिङ छैन न सडकमा ट्राफिक लाइट छ,’ उनले भने, ‘सडक बत्ती त टाढाको कुरा भयो ।’

जेब्रा क्रस र आकाशे पुल नहुँदा पैदलयात्रु जथाभावी बाटो काट्न बाँध्य छन् । यही कारण दिनहुँ दुर्घटना बढ्दै गएको छ । ८ लेन सडकमा हुनुपर्ने फुटपाथ, साइकल लेन, जेब्रा क्रसिङ, बस बिसौनी, सडक रेखांकन चित्र, डिभाइडर, ट्राफिक लाइट र सडक बत्तीसमेत छैन ।

सडक विभाग वा चक्रपथ विस्तार आयोजनाले सञ्चालनमा आउनुअघि उल्लेखित पक्षमा काम गर्नुपर्छ । तर, अहिलेसम्म यसको संकेत देखिएको छैन ।

चिनियाँ ठेकेदार सांघाई कन्स्ट्रक्सन ग्रुपले जिम्मा पाएको काम अब बल्खु–कलंकी खण्डमात्र बाँकी छ । सम्झौतामा साइकल लेन निर्माण गर्नुपर्ने उल्लेख भए पनि यसमा ठेकेदारले ध्यानै नदिएको देखिन्छ ।

‘नेपाल सडक मापदण्ड २०७१’ अनुसार सडकको दायाँबायाँ न्यूनतम १.२ मिटर साइकल लेन र न्यूनतम १.५ मिटर फुटपाथ हुनुपर्छ । प्रतिघन्टा ५० किलोमिटर गतिमा गुड्ने गाडीले ठक्कर दिँदा मान्छेको मृत्यु हुने सम्भावना ६० प्रतिशत हुन्छ ।

यस्तै, ३० किलोमिटर प्रतिघन्टाको गतिमा गुडेको गाडीले ठक्कर दिँदा मृत्युको सम्भावना कम हुन्छ । निर्माणाधीन चक्रपथमा ड्रेन, फुटपाट र साइकल लेनसहित २.५ मिटरमात्र छ । यस्तोमा यात्रुमात्र होइन सवारी चालकसमेत डराएर सवारी चलाउनुपर्ने अवस्था छ ।

कुन ठाउँमा कतिबेला पैदलयात्रुले बाटो काट्छन् थाहा हुँदैन । पैदलयात्रुलाई सडक अनुशासन वा सडक प्रयोगको न्यूनतम ज्ञानसमेत दिने गरेको पाइँदैन । ‘विस्तारै हाँकौ सडक फराकिलो छ, स्पिड चलाउ दुर्घटना हुने डर हुन्छ,’ यही रुटमा सवारी चलाउने कर्म लामाले भने ।

जेब्रा क्रसिङ नहुनु र आकाशे पुल भए पनि यात्रुहरू बीचबाटै वारपार गर्नुलगायत कारणले सडक निकै जोखिमपूर्ण बनेको अधिकांश चालक बताउँछन् । विभागका प्रवक्ता मुक्ति गौतमले भने अबको ३ महिनापछि सम्झौता अनुसारको काम गरेर ठेकेदारले सडक हस्तान्तरण गर्ने बताए ।

‘सडक सुरक्षाबारे धेरै विषय आएका छन्, अब अध्ययन गरेर रेलिङ, पुल वा ट्राफिक संकेत राखिनेछ,’ उनले ऊर्जा खबरसँग भने, ‘अध्ययन टोलीले दिएको प्रतिवेदनका आधारमा हामी काम गर्छौं ।’

सवारी चालकसँगै पैदलयात्रु पनि अनुशासित हुनुपर्ने गौतमले बताए । तर, उनीहरूलाई सडक प्रयोगमा जिम्मेवार बनाउन सकिएको छैन । हाल यस खण्डमा सडक वारपार गर्न सर्वसाधारण वा पैदलयात्रुलाई युद्ध जितेबराबर हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="