Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८८५ मे.वा. घन्टा
  • भारत : ८११ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९८६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जनलगानीका उद्यम समूहहरू

चैत २७, २०७३   955 लेख

केशव श्रेष्ठ

वैचारिक अर्थात् दिमाग खियाउने काम गाह्रो त हुँदै हो । यसबारेमा मेरी आमाले सुनाउने गरेको कथा सम्झन्छु । कुनै अमुक ठाउँमा दुई दाजुभाइ रहेछन् । एउटा शारीरिक काममात्र गर्ने, अर्काे बौद्धिक काममा लाग्ने । आफ्ना यी दुई छोरामध्ये कसलाई बढी परिश्रम पर्दाे हो ? आमाले एक दिन जाँच्न चाहिछन् । उनले आफ्नै पाराले जाँच्ने तरिका निकालिछन् । दुवै जना छोरा राति मस्त निद्रामा सुतेका बेला दुवैको निधारमा एक–एक डल्लो घिउ राखिदिइछन् । शारीरिक काम गर्ने छोराको निधारको घिउको डल्लो सग्लै बसेछ । बौद्धिक काम गर्ने छोराचाहिँको निधारको घिउको डल्लो फतक्कै पग्लेर गएछ ।

दसौँ हजार मानिसको बिसे नगर्ची कम्पनी बनेपछि यसका रणनीतिक गतिविधि सुरु हुनेछन् । सुरुमा यसको इक्विटीबाट एउटा उद्यम तत्कालै सुरु हुन सक्छ । यसको सञ्चालनको तौरतरिका र वैचारिक व्यवस्थापन सबैभन्दा मुख्य र जल्दोबल्दो विषय हुनेछ । यसका लागि बौद्धिक काम गर्नेको टाउको तात्ने नै छ । बिसे नगर्ची कम्पनीका बौद्धिक स्रोत व्यक्ति अर्थात् थिङ्क ट्याङ्कका सदस्यले निधारमा थुप्रै घिउका डल्ला पगाल्नुपर्नेछ । बिसे नगर्ची कम्पनीको सपना सुनौलो भए पनि बाटाहरू काँढेदार र अप्ठ्यारा हुन सक्नेछन् ।

ad

लाख अप्ठ्याराका बाबजुद पनि नेपाल प्रगतिमार्गमा अघि बढ्दो छ । नेपालमा लगानीको वातावरणमा बन्दो छ । राजनीतिक वातावरण सप्रेको भए व्यावसायिक वातावरण छिटो सप्रन्थ्यो । तथापि, नेपालीको लगनशीलता, सहनशीलता र कर्मयोगी चरित्रका कारण व्यापार–व्यवसाय, उद्योगधन्दाले बिस्तारै गति लिँदैछन् । बिस्तारै संकटसँग जुझ्दै गएका उद्योगधन्दाले त्यही इङ्गित गर्छन् । नेपाल र नेपालको राजनीतिलाई सत्तोसराप गर्नेले यो आशलाग्दो पक्ष भुल्नु हुँदैन ।

विदेशी नेपालमा लगानी गर्न इच्छुक छन् । नेपालमा सम्भावना छ, त्यसैले ती इच्छुक छन् । अन्यथा, ती बेवकुफ पक्कै होइनन् । त्यसमा उनीहरूको व्यावसायिक अभीष्ट हुन्छ नै । तिनीहरू निःस्वार्थ सेवा गर्न आएका होइनन् । तर, उनीहरूको स्वार्थ र नेपालको राष्ट्रिय स्वार्थबीच तालमेल मिलाएर विदेशी लगानी आकृष्ट गर्न सक्नु मुख्य कुरो हो । नेपालमा आर्थिक कूटनीति फस्टाउन अझै बाँकी नै छ ।

नेपालमा मूलाधारका गैरआवासीय नेपाली पनि मुलुकमा आर्थिक योगदान गर्न इच्छुक देखिन्छन् । एकबारको जुनीमा संसार घुम्ने, अनुभव लिने, रमाउने र कमाउने इच्छा हुनु स्वाभाविकै हो । त्यो मानवीय स्वभाव नै हो । विदेशको रामरमिता देखेपछि नेपाल फर्कन खोज्नु र लगानी गर्न खोज्नु पनि राष्ट्रवादकै नमुना हो । बिदेसिएकाहरू यसरी नेपाल फर्केर लगानी गर्न चाहँदैनन् । विदेशमा कमाएको पैसा, अनुभव र सीप नेपाल भित्र्याउन खोज्दा नेपाल सरकारले अलिक सहुलियत देओस् भन्ने चाहना राख्नु पनि अनौठो कुरो नहोला । संसारभरका नेपालीलाई लगानीसहित ‘मुलुक फर्क’ भनेर हौस्याउनु जरुरी भइसकेको छ, अब ।

समग्रमा, नेपालमा लगानीको वातावरण क्रमशः बन्दै छ र बढ्दै छ ।

यस क्रममा बिसे नगर्ची कम्पनी पनि अघि बढोस् । एक वर्ष– एक उद्यम, एक समूह– एक उद्यम, एक जिल्ला– एक उद्यमजस्ता अभियान चलाउने दसौँ हजार लगानीकर्ताको समूह बनोस्, यो कम्पनी ।

एक वर्षमा कम्तीमा एउटा उद्यम सिर्जना गर्ने लक्ष्य त आधारभूत कुरा नै भयो । आफ्ना सेयर होल्डरबाटै वार्षिक थप पैसा उठाएर नयाँ उद्यम स्थापना गर्ने अभियान/उपक्रम निरन्तर चलिरहोस् ।

एक वर्षमा कम्तीमा एउटा उद्यम सिर्जना गर्ने लक्ष्य त आधारभूत कुरा नै भयो । आफ्ना सेयर होल्डरबाटै वार्षिक थप पैसा उठाएर नयाँ उद्यम स्थापना गर्ने अभियान/उपक्रम निरन्तर चलिरहोस् ।

एक वर्ष– एक उद्यमको नियमित प्रक्रियासँगै कम्पनीका सक्रिय कार्यकारीको समूह पनि बढ्दै जानेछ । व्यवसाय बढोत्तरी गर्न र आर्थिक गतिविधिमा तेजी ल्याउन कार्यकारीको समूह विभाजन गर्न सकिनेछ र एक समूह– एक उद्यमको प्रणालीमा पनि काम गर्न सकिनेछ ।

नेपालभर लगानीको दायरा बढाउन भौगोलिक आधारमा पनि लगानी विस्तार गरिनु जरुरी हुन्छ । जिल्लास्तरमा व्यावसायिक नेतृत्व हाँकिरहेका उद्योग वाणिज्य सङ्घ वा त्यस्तै व्यावसायिक सङ्गठनसँगको सहकार्य यो अभियानको अर्काे कडी हुनेछ । एक जिल्ला– एक उद्यमको अवधारणा लागू गर्न सके स्थानीयस्तरमा रहेका व्यावसायिक नेतृत्वमा पनि विभिन्न समूहमा काम बाँडी पुनः एक समूह– एक उद्यमको अवधारणा कार्यान्वयन गर्न सक्ने सम्भावना हुनेछ ।

यो अभियानका सुरु वर्षमा बिक्नु र टिक्नु दुवै ढंगले चुनौतीपूर्ण हुनेछ । अभियानको कुरोको चुरो बुझाउन र बिकाउन भरमग्दुर प्रयत्न गर्नुपर्ने छँदै छ । अभियानको विभिन्न पहल र पाटोबारे क्रिया, प्रतिक्रिया, अन्तरक्रिया र आलोचना सुरु हुनेछन् । गतिविधिका आलोचनात्मक टीका–टिप्पणी र प्रयासबाट राजहाँसले जस्तै दूध टिप्ने र पानी छाड्न सक्ने क्षमता अभियानका अभियन्ताले विकास गर्नुपर्नेछ ।

अभियान विस्तारसँगै आलोचना र हौसला दुवैको बाढी आउनेछ । ताली र गालीको पर्रा छुट्नेछ । विश्वास र संशयको लहर चल्नेछ । आत्तिने र मात्तिने क्रम सुरु हुनेछ टिमभित्र । त्यसको आन्तरिक व्यवस्थापन गर्ने ठूलै आँट चाहिनेछ । बाÞह्य विस्तारको चुनौती उत्तिकै व्यापक हुनेछ ।

आलोचना र हौसला, गाली र ताली, आत्तिने र मात्तिने प्रवृत्तिको आन्तरिक व्यवस्थापनमा प्रखर नेतृत्व, दृढ आत्मविश्वास, कुशलता र पारदर्शितालाई आत्मसात् गरेर नकारात्मकता फाँड्ने र सकारात्मकता बाँड्ने नेतृत्वको जरुरत पर्नेछ । व्यक्ति, समूह र उद्यम विस्तार हुँदै जाँदा हुने संगठानिक विस्तार, आर्थिक व्यवस्थापनको पाटो, चुनौती र रोमाञ्च उत्तिकै विस्तार हुँदै जानेछ । समयसँगै अन्तर समूहको वैचारिक सङ्घर्ष, नेतृत्वको सङ्घर्ष र खिचातानी बढ्नेछ र त्यसको समुचित व्यवस्थापन जरुरी हुनेछ ।

अभियान विस्तार गर्न नयाँ समूह, व्यक्ति, सङ्गठनसँग अन्तरक्रिया गर्ने र अभियानमा समावेश गराउने उपक्रम निरन्तर चल्नेछ । नयाँ अवधारणागत अभियान भएकाले मानिसले संशययुक्त प्रश्न गर्नेछन् । त्यसको समुचित जवाफ नभएसम्म उनीहरूको संलग्नता सुनिश्चित गर्न सकिँदैन । त्यस्ता संशययुक्त जमातको विश्वास जित्दै जानुपर्नेछ ।

अभियानको लहर चलाउन सामाजिक नेतृत्वमा रहेका व्यक्ति, वर्ग वा समूहलाई सामेल गराउन सकिनेछ । समाजले इज्जत दिएका व्यक्ति, सङ्गठन, सामाजिक व्यक्ति्व, कलाकार, सेलिब्रेटीको अभियानप्रतिको संलग्नता निकै उत्साहप्रद हुन सक्छ ।

समष्टिमा, यो अभियान सामाजिक ब्रान्ड बनाउन खोजिएको हो । झट्ट हेर्दा यो काम महत्त्वाकांक्षी देखिन्छ, जुन वास्तवमै हो पनि । एउटा उद्यम स्थापना र सञ्चालनमै दाँतबाट पसिना आउने मुलुकमा उद्यमको व्यापक सञ्जाल स्थापना र आर्थिक क्रान्तिको कुरा अति महत्त्वाकांक्षी त हुँदै हो । तर, हरेक सपना महत्त्वाकांक्षी हुन्छन् र सुरुसुरुमा असम्भव प्रतीतझैँ लाग्छन् ।

संसारको आठौँ आश्चर्य लगानीको चक्रवर्ती आर्जन शक्ति हो । अर्थात्, इन्भेस्टमेन्ट कम्पाउन्डिङ । यो अभियानमा गर्न खोजिएको त्यही हो । लगानीको चक्रवर्ती शक्ति बुझ्न मलाई कुनै बेला मेरा गाउँका एक जना अत्यन्त कम शिक्षित तामाङ दाइले सहयोग गरेका थिए । उनी र म गोठालो जाँदा उनले लहलहैमा एउटा कथा सुनाएका थिए । कथा यस्तो थियो :

एकपल्ट एक जना राजाकहाँ एउटा मान्छे नोकरी खोज्दै पुगेछ । ऊ जे काम पनि गर्न तयार थियो । घोडाको तबेला सफा गर्नेदेखि शौचालय सफा गर्नेसम्म काम लगाए पनि ऊ मान्ने भयो । तर, उसको एउटा अनौठो सर्त थियो– उसलाई कम्तीमा एक महिनासम्म निरन्तर काम दिनुपर्नेछ । एक महिनाभन्दा पहिला कामबाट हटाउन पाइनेछैन । अर्काे, उसको पारिश्रमिक हरेक दिन दोब्बर हुँदै जानुपर्नेछ । भलै त्यसका लागि पहिलो दिन अति न्यून पारिश्रमिक एक पैसाबाटै सुरु गरिए पनि केही छैन । त्यसमा उसको मञ्जुरी छ । राजा पनि दंग परे । ‘एक पैसाबाटै काम सुरु गर्छु भन्छ । लौ ठीक छ’ भनेर उनले त्यो मान्छेका दुवै सर्त मानेर नोकरीमा लगाइदिए ।

कथा त्यत्ति नै थियो । तर, कथाको अन्तमा तामाङ दाइले प्रश्न सोधे मलाई, ‘तँ पढेलेखेको मान्छे । लौ भन्, यदि त्यो महिना बत्तीस दिनको रहेछ भने त्यो मान्छेले बत्तीस दिनसम्ममा जम्माजम्मी कति कमायो होला ?’

बिसे निगर्ची कम्पनीको अभियान चेत खुलाउने अभियान पनि हो । चेत खुलेकाहरू सङ्गठित हुँदै आपसी र सामाजिक फाइदाका लागि अघि बढ्ने अभियान हो । लगानीकर्ताको आर्थिक उन्नतिसँगै मुलुकको आर्थिक कायापलटमा योगदान दिने अभियान हो । सामान्य मानिसको व्यावसायिक दक्षता वृद्धिको र मुलुक निर्माणमा सघाउने अभियान हो ।

मेरो दिमाग चक्करायो । त्यतिखेर म आठ वा नौ कक्षामा पढ्थेँ । गाउँमै पढन्तेमा दरिएको मेरा लागि तामाङ दाइको प्रश्न दुष्कर थियो । मैले तत्कालै त्यसको उत्तर दिन सक्ने कुरा भएन । पछिसम्म दिन सकिनँ । तामाङ दाइले सधैँ भेट हुँदा ‘मुला, के पढन्ते भन्छस् आफूलाई, जाबो एक पैसाको हिसाब त बताउन सक्दैनस्’ भनेर गिज्याइरहे । त्यति बेलासम्म क्यालकुलेटर हुन्छ भन्ने सुनेको थिएँ तर चलाउन त के, देख्नसम्म पाइएको थिइनँ । क्यालकुलेटर पाए त तामाङ दाइको हिसाब निकाल्थेजस्तो लाग्थ्यो । आईकम पढ्दा क्यालकुलेटर हात पर्यो । तर, हिसाब गर्दै जाँदा तामाङ दाइको प्रश्नको उत्तर जटिल रहेछ । धेरैपछि, कम्प्युटर सिकेपछि मलाई थाहा भो कि ‘एक्सल प्रोग्राम’मा उत्तर सजिलोसँग निकाल्न सकिन्छ ।

ए रात्तै ! तामाङ दाइको प्रश्नले धेरै वर्षपछि मलाई दोस्रोपल्ट तिरीमिरी झ्याइँ देखायो । जाबो एक पैसालाई ३२ दिन कम्पाउन्डिङ गर्दा कराडाैं रूपैयाँबराबर धनराशि सिर्जना हुँदो रहेछ । ३२ दिनको कुरो किन गर्नु ! ३२ वर्षमै एक पैसाबाट सुरु गरेर वार्षिक कम्पाउन्डिङ गर्ने हो भने पनि त करोडपति बनिने रहेछ त ! औसत नेपालीले करोड होइन, एकमुष्ठ लाख रुपैयाँ नै देख्न नपाई चोला बदल्छन् । होसमा आउनेबित्तिकै कम्पाउन्डिङ गर्न थाल्ने हो भने त हामी सबै करोडपति बन्ने रहेछौँ त ! सुनेको कुरो हो, कुनै बेला अमेरिकाको आइफोन उत्पादन गर्ने कम्पनी एप्पलसँग अमेरिकाको सरकारभन्दा बढी सम्पत्ति थियो रे ! अहिले लाग्छ, सायद यस्तै कम्पाउन्डिङको चमत्कार थियो होला त्यो ।

तामाङ दाइको हिसाबको उत्तर हातमा परेपछि मैले उनलाई सम्झिएँ । तर, उनी दुनियाँमा थिएनन् । केही वर्षअघि कालगतिले चोला फेरिसकेका थिए । उनलाई मैले प्रश्नको उत्तर दिन पाइनँ । सायद उनीसँग पनि प्रश्नमात्र थियो, उत्तर थिएन । प्रश्नमात्र हुनुले काम लाग्दैन । त्यसको उत्तर र त्यसको प्रयास पनि आवश्यक हुन्छ । तामाङ दाइले पूरा जीवन अभावमा गुजारेका थिए । करोडपति बन्ने कथा, सपना र सम्भावना त उनीसँग थियो तर त्यसमा प्रयास थालेको मलाई थाहा भएन ।

सम्भावना र सपनामात्र बोकेर हिँडेर रूपान्तरण कहाँ हुन्छ र ?

आठ कक्षामा पढ्ने गोठाले केटो म पनि जुँगामुठे भइसकेको थिएँ । सानो एउटा प्रश्नको उत्तरले मेरो चेत खुलेको थियो । दुःखको कुरो के थियो भने यति सानो चेत खुल्दा मैले झन्डै एक दशक गुमाइसकेको थिएँ ।

चेत पनि बेलैमा खुल्न सके त्यो ठूलो कुरो हुँदो रहेछ ।

बिसे निगर्ची कम्पनीको अभियान चेत खुलाउने अभियान पनि हो । चेत खुलेकाहरू सङ्गठित हुँदै आपसी र सामाजिक फाइदाका लागि अघि बढ्ने अभियान हो । लगानीकर्ताको आर्थिक उन्नतिसँगै मुलुकको आर्थिक कायापलटमा योगदान दिने अभियान हो । सामान्य मानिसको व्यावसायिक दक्षता वृद्धिको र मुलुक निर्माणमा सघाउने अभियान हो ।

भनेपछि, खोल्ने होइन त अब बिसे नगर्ची कम्पनी ?

(क्रियटिभ बुक्सबाट भर्खरै प्रकाशित श्रेष्ठकाे ‘समृद्धिकाे बाटाे ‘कृतिबाट साभार)

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="