Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८१६ मे.वा. घन्टा
  • भारत : १०३७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२६४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युत विकास, विदेशी लगानी र चुनाैती

बैशाख २, २०७४   2088 लेख


रामराज शर्मा
रामराज शर्मा

नेपालमा जलस्रोतको अपार भण्डार भए पनि बहुसंख्यक जनता टुकीको उज्यालो र दाउरामा निर्भर हुनु दुःखद हो । बहाबको आधारमा मात्रै ८३ हजार मेगावाट सम्भावना र त्यसमध्ये ४२ हजार मेगावाट निकै आकर्षक मूल्यमा बनाउन सकिने अवस्था हुँदाहुँदै १ सय ५ वर्ष बितिसक्दा करिब ९ सय ४० मेगावाट उत्पादन गरेर  विदेशबाट बिजुली आयात गरी लोडसेडिङ हटाउनु परेको छ । हालसम्म लगभग ३९ हजार मेगावाट कुनै न कुनै स्तरको अध्ययन भएकाे छ । दस वर्षमा १० हजार मेगावाट बनाउने कुरो गरेको पनि १० वर्ष बित्न लाग्याे । तर, ठोस काम हुन सकेको छैन । किन जलविद्युत अायाेजना बन्न सकेका छैनन् ? के छन् चुनौती ? यिनै विषय केलाउने प्रयास गरिएकाे छ।

जलविद्युत नै किन ?

ad

नेपालको सन्दर्भमा ऊर्जाको मुख्य स्रोत जलविद्युत हो । हामीसँग जलस्रोतको प्रचुर सम्भावना छ । सौर्य, वायु, थर्मल र न्युक्लियर जस्ता ऊर्जाका स्रोत नेपालका लागि निकै महँगोमात्र होइन सम्भावना पनि कम छ। वातावरणीय दृष्टिकोणले पनि अरू सबैभन्दा जलविद्युत् नै उत्तम विकल्प हो ।

कुनै जलविद्युत आयोजना बनाउँदा बिजुली उत्पादनमात्र हुदैन विकासका धेरै काम  जोडिन्छन् । आयोजनास्थलसम्म पुग्ने सडकले त्यस क्षेत्रकाे समग्र विकासको ढोका खोल्छ । आयोजनाकै पानी र संरचना प्रयोग गरेर सिँचाइको व्यवस्था गर्न सकिन्छ । यसको बलियाे उदाहरण स्याङ्जामा निर्माण भएकाे आँधीखोला जलविद्युत अायाेजना हाे । त्यसबाट पाल्पाका केही गाउँको आर्थिक अवस्थामा राम्राे परिवर्तन भएको छ । बाँधमाथिको जलाशयलाई पर्यटन तथा मनोरञ्जन पार्कका रूपमा विकास गर्नुका साथै जल-यातायात मार्ग पनि बनाउन सकिने कालीगण्डकी आयोजनाले प्रमाणित गरेकाे छ।

यस्तै, नजिकका बस्तीमा पिउने पानी वितरण र माछा पालन गरी जनताको जीवनस्तर माथि उठ्न सक्छ भन्ने उदाहरण प्युठानको झिम्रुक आयोजना हो । बाढी नियन्त्रणलगायत विकासका धेरै पक्ष आयोजनासँग जोडिएरै आउने हुनाले अन्य माध्यमभन्दा नेपालकाे हकमा जलविद्युत उपयोगी र देश सुहाउँदो देखिन्छ ।

चुनौती ?

आयोजनाका किसिम र आकारअनुसार चुनौती फरक-फरक हुन्छन् तर देशमा जलविद्युत आयोजना निर्माण गर्दा आउने चुनौती न्यूनीकरण गर्न त्यही अनुसारकाे संयन्त्र विकास गर्नुपर्छ ।

झन्झटिलो प्रशासनिक कानुनी प्रक्रिया

आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्म प्रशासनिक र कानुनी प्रक्रिया निकै झन्झटिलो र सुस्त छ । सानो निर्णय गर्न महिनौ त कहिले वर्षौं  लाग्ने गरेकाे छ । विभिन्न कानुनी अड्चन देखाउने गर्नाले निजी क्षेत्रलाई काम गर्न निकै गाह्राे छ । वातावरण र वन मन्त्रालयबीच समन्वय नहुँदा निजी लगानीकर्ता  हतोत्साही भएका थुप्रै उदाहरण छन् । सरकार यस्ता समस्यामा जानकार छ तर समाधानमा गैरजिम्मेवार बन्ने गरेकाे छ ।

सामाजिक राजनीतिक चुनौती 

ठूला आयोजना निर्माणकाे मुख्य समस्या राजनीति र सामाजिक हो । राजनीतिक पार्टीपिच्छेका दाउ हुन्छन् । राजनीतिक अभिष्ट पूरा गर्न जनता भडकाउनु, अायाेजनालाइ कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोज्नुजस्ता व्यवहारले लगानीकर्ता निरुत्साहित भइरहेका छन् । कुनै जिल्लामा एउटा आयोजना निर्माण हुने हल्लाले जग्गाको मूल्य चलन चल्तीभन्दा तीन गुणासम्म बढाइन्छ । अनावश्यक माग तेर्स्याएर आयोजनाको काम राेक्ने र लागत बढाइदिने नियत सामान्य भइसकेका छन् । यसाे हुँदा समयमा अायाेजना पूरा नहुने समस्या बढ्दैछ । यी समस्या हल गर्न सरकारकाे हस्तक्षेप जरूरी छ । निश्चित मापदण्ड बनाएर सहजीकरण गरिदिनु आवश्यक छ ।

जनशक्ति क्षमता

जलविद्युत आयोजनामा आवश्यक दक्ष जनशक्ति र प्राविधिकको सीमितता पनि अहिलेको ठूलै समस्या हो । देशमा सय मेगावाटसम्मका २ देखि ३ वटा आयोजना एकैचोटी बनाउन पुग्ने दक्ष जनशक्ति छ । यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नेपाल विद्युत् प्राधिकरण र निजी परमर्शदाता कम्पनी निकै लामो समयदेखि लागेका छन् । यद्यपि एकै चोटी धेरै आयोजना सुरु गर्न जनशक्ति अभाव छ । सय मेगावाटभन्दा ठूला आयोजनाकाे निर्माण सुरू नगर्ने हाे भने १० वर्षमा १० हजार मेगावाट कागजमा मात्र उत्पदान हुनेछ । यसका लागि विदेशी लगानीकाे खाँचाे छ । विदेशी लगानी आउँदा पैसामात्र भित्रिने होइन । नयाँ प्रविधि र ठूला आयोजनाका लागि दक्ष जनशक्ति निर्माण पनि तयार हुन्छ ।

वातावरणीय प्राकृतिक चुनौती 

देशका भूगर्भविद यहाँकाे भू-बनोट युवा अवस्थामा रहेको बताउँछन् । कारण, भूक्षय र सेडिमेन्ट परिवहन निकै मात्रामा हुने गर्छ । अर्कोतिर नेपाल भूकम्पीय जोखिम क्षेत्रमा पर्ने हुनाले सुरुङ  बनाउँदा गहन अध्ययन आवश्यक हुन्छ । र, याे चुनौतीपूर्ण पनि छ । एकातर्फ यी कामले लागत बढाउँछ भने अर्काेतिर निर्माण अवधि लम्याउँछ । स्थानीयस्तरमा हुने वातावरणीय विनाश र विश्व तापमानमा आएको परिवर्तनले नदीको मुख्य स्रोत हिमालको आयुमै प्रश्न चिन्ह खडा भएको छ । हिमताल फुट्ने जोखिम र जलवायु परिवर्तनले अतिवृष्टि र अनावृष्टि हुँदै अाएकाे छ ।

आर्थिक चुनौती 

ठूला आयोजना सम्पन्न गर्न ठूलै रकम जोहो गर्नुपर्छ । हालसम्म १ मेगावाट बिजुली उत्पादन गर्न १५ देखि २५ करोड रूपैयाँ लाग्ने अनुमान गरिन्छ । आकर्षक र ठूला आयोजना त १४-१५ करोड रूपैयाँ प्रतिमेगावाटमा पनि बनिरहेका छन् । दस वर्षमा १० हजार मेगावाट उत्पादनकाे लक्ष्य भए पनि आर्थिक र प्राविधिक दृष्टिले सम्भव देखिँदैन । उचित वातावरण र अावश्यक विदेशी लगानी भित्र्याउन सके ६ हजार ५०० देखी ७ हजार मेगावाट उत्पादन हुने देखिन्छ । यसका लागि करिब १४ खर्ब रूपैयाँ बजेट आवश्यक पर्छ । देशभित्र यति ठूलाे रकम एकै क्षेत्रका लागि जम्मा गर्नु असम्भवजस्तै देखिन्छ । त्यसैले विदेशी लगानीकर्ता भित्र्याउनुकाे विकल्प देखिँदैन । विदेशी लगानी आउनु विश्वमा नेपाल लगानीकाे गन्तव्य हो भनेर विश्वास जगाउनु पनि हाे ।

विदेशी लगानीकर्ता के चाहन्छन् ?

नेपालकाे जलविद्युत विकासमा लगानीका अवसरबारे केही साता पहिले लन्डनमा एक कार्यक्रम भयो । विशेष गरी विदेशीलाई लक्षित गरी गरिएको कार्यक्रममा नेपालमा लगानी गर्ने वातावरण अझै बनिनसकेको निचोड निकालियो । मुख्यत: माथि उल्लेखित चुनौतीसँगै थप विषय विदेशीले उठाए । दुई  देशबीच दोहोरो कर हटाउने सम्झौता नहुनु, नेपालको क्रेडिट रेटिङ (साख सूचक) नहुनु, सार्वभौम ॠण बोन्ड जारी नगर्नु, भारतीय रुपैयाँसग अपरिवर्तनीय सटही दर तथा प्राधिकरणले डलरमा पिपिए गर्न अप्ठेरो मान्नुजस्ता व्यवहारले विदेशी लगानी निश्चिन्त  भएर नेपाल छिर्न सकेका छैनन् । यी सबै विषयमा सरकारले सम्बोधन गर्नु जरुरी छ ।

र, अन्त्यमा

जलविद्युत विकास नै देश विकासको भरपर्दो र सजिलो माध्यम हो । चुनौती छन् र समाधान पनि भित्रै छन् । सबैभन्दा ठूलो त राजनीतिक स्थिरता अावश्यक छ । याेसँगै राजनीतिक दलले विकासप्रति एेकेबद्धता जनाउनुपर्छ । प्राविधिक र आर्थिक चुनौती नेपाल एक्लैले समाधान गर्न गाह्रो छ । यसैले सरकार कम्तिमा १० वर्ष विदेशी लगानीकर्ता अाउने वातावरण बनाउन तयार हुनुपर्छ ।

(@er_rrsharma, शर्मा  जलविद्युत बिशेषज्ञ काे रुपमा बेलायतमा कार्यरत छन् ) 

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="