Urja Khabar - Nepal's No. 1 energy based online portal.

विद्युत आपूर्ति

  • प्राधिकरण : ४७११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ४०३६ मे.वा. घन्टा
  • भारत : १०६६५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९४१२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

पृथ्वीमा गहिरिँदो ऊर्जा संकट

ज्ञानमित्र माघ ०६, २०७५   2709

छापा



सन् २०१७ मा विश्वभरि लगभग २५ हजार ५७० टेरावाट/घन्टा विद्युत् उत्पादन भएकोमा अबका दिनमा त्यसलाई दोब्बर बनाए पनि ‘डिमान्ड’छेउछाउ पुग्न सकिँदैन

ad

सूर्यदेखि यस संसारका हरेक वस्तु ‘इनर्जी’ले बनेका हुन् । विज्ञानका प्रयोगशालामा द्रव्यमानबाट इनर्जी र इनर्जीबाट द्रव्यमान भएका वस्तु बन्न सक्छन् भन्ने तथ्य प्रमाणित भइसकेको छ । ब्रह्माण्डको विज्ञानसम्मत दार्शनिक व्याख्या गर्ने हो भने ‘सारा विश्व ब्रह्माण्ड नै इनर्जीले ग्रहण गर्ने अपरिमित स्वरूप र संरचनाले प्रकट हुने एवं पुनः ती निर्मित संरचना इनर्जीमा रूपान्तरण हुने खेल हो’ भन्न सकिन्छ । र, यस सारा खेलमा ‘इनर्जी’ एकरत्ति पनि थपघट हुँदैन । विज्ञानले परमाणु विखण्डनबाट पनि इनर्जीको अभाव पूरा गर्ने दिशामा सफलता पायो । १९५० को दशकमा प्रारम्भ भएको ‘न्युक्लियर फिजन’ बाट विश्वमा उपयोग हुने कुल इनर्जीको झन्डै ११% उत्पादन भइरहेको ‘वल्र्ड न्युक्लियर एसोसिएसन’ ले जनाएको छ ।

एसोसिएसनका अनुसार ३० देशमा रहेका झन्डै ४ सय ५० ‘न्युक्लियर रियाक्टर’ले यस प्रविधिबाट इनर्जी उत्पादन गरिरहेका छन् । निकट भविष्यमै निर्माणाधीन थप ६० ‘रियाक्टर’ सञ्चालनमा आउँदै छन् । विभिन्न देशले १५० भन्दा बढी ‘रियाक्टर’ बनाउने योजना बनाइसकेका छन् । यी सबै सञ्चालनमा आएपछि वर्तमान विश्वको ‘इनर्जी डिमान्ड’को झन्डै आधा उत्पादन यस प्रविधिले थेग्नेछ । विश्वभरि इनर्जीको माग क्षण–क्षणमा बढिरहेको छ । सन् २०१७ मा विश्वभरि लगभग २५ हजार ५७० टेरावाट÷घन्टा विद्युत् उत्पादन भएको थियो ।

ad

कोइला, ग्यास र तेलबाट बन्ने विद्युत्को मानवले ठूलो मूल्य चुकाउनु परिरहेको छ । र, बिस्तारै पृथ्वीमा यिनको उपलब्धता पनि घट्दै गइरहेको छ । हाल भइरहेको विद्युत् उत्पादनमा दुईतिहाइ विद्युत् यिनै स्रोतबाट प्राप्त भइरहेको प्रमाणित छ । विज्ञानले यिनको विकल्प नखोजी उपाय छैन । सौर्य र हावाबाट प्राप्त हुने विद्युत्मा अहिले नै भरपर्ने प्रविधि विकसित भएको छैन । तर,  सुदूर भविष्यको विकल्प सौर्यऊर्जा नै हुनेमा शंका छैन । ‘हाइड्रो इलेक्ट्रिसिटी’का पनि आफ्नै सिमाना छन् । विश्वको बढ्दो विद्युत् ‘डिमान्ड’ यसबाट पूर्ति गर्न सकिँदैन । विज्ञानसँग विद्युत्को मागअनुसार उच्च उत्पादन गर्ने विकल्प दुइटा मात्र छन्– परमाणु विखण्डन र परमाणु संलयन ।

परमाणु विखण्डनबाट प्राप्त हुने इनर्जी अत्यन्त जोखिमयुक्त भए पनि बढ्दो इनर्जीको माग पूरा गर्न सबै देशले नचाहेरै पनि यसको प्रयोग गरिराखेका छन्

 

परमाणु विखण्डन : आज विश्वको झन्डै ११ प्रतिशत विद्युत् उत्पादन यसै प्रक्रियाले भइरहेको छ । विखण्डनको अर्थ टुट्नु हो । विज्ञानमा रुचि भए यो अप्ठ्यारो विषय नै होइन । विखण्डनलाई यसरी बुझ्न सकिन्छ । जब कुनै भारी वस्तु टुट्छ, टुटेका दुइटा भाग जोड्दा तपाईंले त्यो द्रव्यमान पाउनु हुन्न जुन द्रव्यमान वस्तु सिंगो हुँदा थियो । कम्ती हुन गएको द्रव्यमान कहाँ गयो ? त्यो इनर्जीमा परिणत भयो । नाभिकीय विखण्डनबाट ऊर्जा उत्पादनको सारा ‘फन्डा’ यति नै हो । चलनचल्तीमा रहेका ‘न्युक्लियर रियाक्टर’ मा युरेनियम तथा प्लुटोनियम जस्ता भारी ‘रेडियो एक्टिभ’ धातु प्रयोग गरेर ऊर्जा उत्पादन गरिन्छ । युरेनियम परमाणुको एउटा ‘न्युक्लियस’ टुटेर बेरियम र क्रिप्टान बन्छन् । यसबाट ३ वटा न्युट्रन र २ सय ‘मेगा इलेक्ट्रोन भोल्ट इनर्जी’ प्राप्त हुन्छ । प्राप्त भएका ३ वटा न्युट्रनले अभिक्रियामा पुनः भाग लिएर प्राप्तिलाई ३ गुना बढाइदिन्छन् । भन्नुको अर्थ अब ९ वटा न्युट्रन र ६ सय मेगाइलेक्ट्रोन भोल्ट इनर्जी प्राप्त हुन्छ । ९ न्युट्रनबाट २७, २७ बाट ८१, ८१ बाट २४३ न्युट्रन प्रक्रिया निरन्तर चलिरहन्छ । परमाणुबमको सिद्धान्त पनि यही नै हो । नागासाकीमा खसालिएको बममा जम्मा १ किलो युरेनियम प्रयोग भएको थियो ।

तर, यस प्रक्रियामा बाँकी रहेको ‘वेस्ट मेनेजमेन्ट’ गर्ने उपाय छैन । र, संसारमा युरेनियमको पनि ‘स्टक’ सीमित छ । थोरियम, जुन सबैभन्दा बढी भारतसँग उपलब्ध छ । त्यसलाई विखण्डन गराएर इनर्जी प्राप्त गर्नु अझै झन्झटिलो छ । नरेन्द्र मोदी सरकारले थोरियममा आधारित संयन्त्र स्थापना गर्ने प्रयास गरिरहेको छ । परमाणु विखण्डनबाट प्राप्त हुने इनर्जी निश्चय नै अत्यन्त जोखिमयुक्त छ । तर, बढ्दो इनर्जीको मागलाई पूरा गर्न सबै देशले नचाहेरै पनि यसको प्रयोग गरिराखेका छन् ।

जोखिमको विकल्प के ? :  मानिसले ऊर्जाको स्रोतको रूपमा जानेको पहिलो स्रोत सूर्य नै हो, आगो बाल्नुभन्दा धेरै पहिला । सूर्य त्यो वेला पनि मानव आकर्षणको केन्द्र थियो, आज पनि छ र भोलि पनि रहनेछ । नाभिकीय विखण्डनबाट प्राप्त इनर्जी एक किसिमले विषसरह नै हो । कारण यो प्रक्रिया ‘रेडियो एक्टिभ’ तत्वबाट मात्र सञ्चालित हुन सक्छ । विज्ञानले यसको विकल्प खोज्ने क्रममा पुनः सूर्यलाई नै हे¥यो । सूर्यमा कुन प्रक्रियाले त्यत्रो इनर्जी उत्पादन हुन्छ ? विज्ञानले त्यो थाहा पाएपछि त्यही प्रक्रियाबाट पृथ्वीमा इनर्जी उत्पादन गर्नेतिर आफ्नो ध्यान केन्द्रित गर्‍यो ।

नाभिकीय संलयन : सूर्य हाइड्रोजन ग्यासले भरिभराउ छ । सूर्यमा हाइड्रोजनका दुइटा ‘आइसोटोप’ जोडिएर हिलियम तत्वको निर्माण गर्छन् । र, यस प्रक्रियामा अत्यधिक इनर्जी निष्कासित हुन्छ । हाइड्रोजनबम नाभिकीय संलयनबाटै बनाइन्छ ।

पृथ्वीमा पनि हाइड्रोजनको बृहत् उपलब्धता छ । सूर्यमा भइरहेको संलयन प्रक्रिया पृथ्वीमा गर्ने हो भने बढ्दो ऊर्जाको मागलाई यथाशक्य पूर्ति गर्न सकिन्छ । केही दिनपहिला मिडियामा चीनले कृत्रिम सूर्य बनाउने समाचार आएको थियो । यथार्थमा चीनको सूर्य बनाउने दाबी भनेको ‘न्युक्लियर फ्युजन रिएक्टर’ निर्माण गर्नु मात्रै हो । पृथ्वीमा नाभिकीय संलयन, नाभिकीय विखण्डनभन्दा धेरै जटिल र महँगो प्रक्रिया हो ।

नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="