Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८८५ मे.वा. घन्टा
  • भारत : ८११ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १९८६८ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

ब्याजदरमा सिलिङ लगाएपछि दीर्घकालीन निक्षेपमा बैंकको रुचि

फागुन ०७, २०७३   694

छापा



ब्याजदर बढाउनेभन्दा दीर्घकालीन निक्षेप आकर्षित गर्ने बाटो रोज्नतर्फ बैंकहरू

बैंकरहरूले निक्षेप ब्याजदरमा १२ प्रतिशत सिलिङ लगाउने सहमति गरेपछि निक्षेप अवधि बढाउने प्रतिस्पर्धा सुरु भएको छ । बैंकहरूले निक्षेपकर्तालाई आकर्षित गर्न लामो अवधिको निक्षेप योजना सार्वजनिक गर्न थालेका छन् ।

ad

केही साताअघिसम्म १ सय २० दिन (चार महिना)सम्मका मुद्दती निक्षेप योजना सार्वजनिक गरेका बैंकहरूले अहिले ४ वर्षे र ५ वर्षे निक्षेप योजना धमाधम ल्याउन थालेका हुन् । ‘ब्याजदर लगातार बढाउने हो भने अर्थतन्त्रमा अन्य जटिल समस्या देखिने अवस्था आएको छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘त्यसकारण ब्याजदर बढाउनेभन्दा दीर्घकालीन निक्षेप आकर्षित गर्ने बाटो रोज्न थालिएको हो ।’

बैंकरले अहिलेको अवस्थामा वित्तीय प्रणालीको तरलता अभाव टार्ने कुनै संकेत नदेखिएकाले पनि लामो अवधिको निक्षेप आकर्षित गर्न आवश्यक भएको बताएका छन् । ‘क्रेडिट क्रन्च (कर्जा प्रवाह गर्न नसक्ने अवस्था) समाधान हुने कुनै सम्भावना देखिएको छैन,’ नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले भने, ‘समस्या झन् बढ्दै गएको र तत्काल समाधान हुने नदेखिएर लामो अवधिका निक्षेप योजनातर्फ बैंकहरू अग्रसर भएका छन् ।’

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले पनि कर्जा विस्तार गर्ने बैंककोे क्षमता स्वाभाविक अवस्थामा आउन समय लाग्ने बताए । ‘अहिलेसम्म समस्या समाधान हुने कुनै संकेत देखिएको छैन,’ उनले भने, ‘त्यसैकारण बैंकहरू लामो अवधिको निक्षेप योजना ल्याएर ग्राहक आकर्षित गर्न खोजिरहेका छन् ।’

संस्थागत निक्षेपकर्तासँग पैसा छैन
संस्थागत निक्षेपकर्ताको कोषमा निक्षेपयोग्य रकम सकिएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढाउन दबाब परेसँगै उच्च ब्याजदरमा बैंकलाई पैसा दिँदै आएका संस्थागत निक्षेपकर्ता अहिले थप पैसा बैंकमा राख्न नसक्ने परिस्थिति सिर्जना भएको उनीहरूले बताएका छन् । केही बिमा कम्पनीले निक्षेप राख्दै आए पनि अरू संस्थागत निक्षेपकर्ता अहिले पैसा नभएर नयाँ निक्षेप राख्न नसक्ने अवस्थामा पुगेका हुन् ।

सबैभन्दा ठूलो संस्थागत निक्षेपकर्ता कर्मचारी सञ्चयकोषले दुई सातायता नयाँ निक्षेप बैंकमा जम्मा गर्न सकेको छैन । नागरिक लगानी कोष र सुरक्षा निकायका कल्याणकारी कोषहरूले पनि थप पैसा बैंकलाई दिन सकेका छैनन् ।

‘योजना परिपक्व भएका निक्षेप निकालेर त्यही पैसा फेरि निक्षेप राख्ने काम मात्रै भएको छ,’ सञ्चयकोषका प्रशासक कृष्णप्रसाद आचार्यले भने, ‘त्यो पनि दुई सातायता बन्द छ ।’

ब्याजदर भने स्थिर
केही दिनयता निक्षेप ब्याजदर भने स्थिर देखिएको छ । बैंकहरूले सर्वसाधारणलाई मुद्दती निक्षेपमा अधिकतम १२ प्रतिशत र संस्थागत निक्षेपकर्तालाई बढीमा साढे १३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । सो बिन्दुमा स्थिर भएको ब्याजदर थप बढ्ने सम्भावना कमजोर भएको नेपाल बैंकर्स संघका अध्यक्ष एवं मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पनि अबका दिनमा ब्याजदर बढ्नेभन्दा घट्नेतिर आकर्षित हुने यसअघि बताइसकेका छन् ।

बचतमा बढ्दैन ब्याज
मुद्दती निक्षेप ब्याजदर लगातार उकालो लागे पनि बचत खाताको ब्याजदर बढाउन भने बैंकरहरू तयार देखिएका छैनन् । राष्ट्र बैंकले बचत खाताको ब्याजदर बढाउन पटक–पटक अनुरोध गरे पनि त्यस्तो निर्णय गर्न बैंकर अनिच्छुक देखिन्छन् । केही दिनअघि एनसिसी बैंकले ६ प्रतिशत र त्यसअघि सानिमा बैंकले ५ प्रतिशत ब्याजदर तोकेर बचत योजना ल्याएका थिए ।

अरू केही बैंकले पनि बचत निक्षेपको ब्याजदरमा सामान्य सुधार गरे पनि उल्लेख्य मात्रामा बढेको छैन । ‘पैसा हुनेले मुद्दती खातामा पैसा राख्छन्,’ लक्ष्मी बैंकका सिइओ खालिङले भने, ‘बचत खाताको ब्याजदर बढाउँदैमा बैंकमा पैसा आउने होइन ।’ बचत खाताको निक्षेपमा निर्भर भएर बैंकले लगानी गर्न असजिलो हुने भएकाले यस्तो खातामा बढी ब्याज दिन कठिन भएको बैंकरको भनाइ छ ।

अर्थतन्त्रलाई फाइदा
दीर्घकालीन निक्षेप योजना सार्वजनिक हुँदा अर्थतन्त्रलाई भने फाइदा पुग्ने विज्ञ बताउँछन् । ‘५ वर्षे र १० वर्षे निक्षेप योजनाले दीर्घकालीन कोष परिचालन गर्न सघाउ पुग्ने राष्ट्र बैंकका अधिकारीको भनाइ छ ।

केही अर्थविद्ले पनि नेपालमा बैंकिङ क्षेत्रले अल्पकालीन कर्जाको परिचालन गरेर वित्तीय स्थायित्वलाई सुदृढ गर्न अवरोध पुर्‍याइरहेको बताउँदै आएका छन् । दीर्घकालीन प्रकृतिको निक्षेप परिचालन गर्दा पूर्वाधार परियोजनामा बैंकको लगानी प्रवाह गर्न सजिलो पर्ने, ब्याजदरको प्रवृत्तिबारे पूर्वानुमान गर्न सजिलो हुने र वित्तीय स्थायित्व कायम गर्न पनि सघाउ पुग्ने उनीहरूको भनाइ छ ।

स्रोतःनयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="