Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०४११ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८८१६ मे.वा. घन्टा
  • भारत : १०३७ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२६४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

लगानी सम्मेलनबाट १ खर्बभन्दा बढीको लगानी भित्रिने

फागुन १६, २०७३   539

छापा



१९ र २० फागुनमा काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनबाट १ खर्ब रुपैयाँभन्दा बढी लगानी नेपाल भित्रिने पक्का भएको छ । सम्मेलनमा सहभागी हुने दुई दर्जनभन्दा बढी मुलुकका लगानीकर्ताले उक्त लगानीको घोषणा गर्ने भएका हुन् । विदेशी लगानीकर्ताले हालसम्म गरेको प्रतिबद्धता तथा आश्वासनले सम्मेलनबाट १ खर्बभन्दा बढी लगानी भित्रिने देखिएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए । लगानी सम्मेलनबारे जानकारी दिन आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘विदेशी तथा स्वदेशी लगानीकर्ता र एनआरएनएले हाम्रो अपेक्षालाई अझ बढी लगानीको घोषणा हुने बताएका छन् ।’ सम्मेलनमा जति विश्वासको वातावरण देखाउन सक्यो, त्यति नै लगानी भित्रिने उनले बताए ।

पर्याप्त प्रचार–प्रसार नभएकै कारण नेपालमा अपेक्षित लगानी आउन नसकेको भन्दै आसन्न सम्मेलनबाट उल्लेखनीय लगानी भित्रिने आशा गरिएको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । ‘द्वन्द्व र संक्रमणमा पनि नेपालमा लगानी भित्रिएको र उनीहरूले उल्लेखनीय नाफा आर्जन गरेको उदाहरण हामीसँग छ,’ उनले भने, ‘अहिले लगानीको वातावरण राम्रो भइसक्दा पनि पर्याप्त प्रचार–प्रसार नहुँदा धेरै लगानी आउन नसकेको हो ।’

ad

भारतीय अर्थमन्त्री र एआइआइबी अध्यक्ष मुख्य वक्ता
सम्मेलनमा मुख्य वक्ताका रूपमा भारतीय अर्थमन्त्री अरुण जेट्ली र एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिकुनलाई मुख्य वक्ताका रूपमा निमन्त्रणा गरिएको छ । दुवै मुख्य वक्ताले सम्मेलनमा सहभागिताका लागि प्रतिबद्धता व्यक्त गरिसकेका छन् । त्यस्तै, विदेशी लगानीकर्ताका तर्फबाट युनिलिभर नेपालका प्रबन्ध निर्देशक सुयश चौहान र बोटलर्स नेपाल (कोकाकोला)का प्रबन्ध निर्देशक पुनित वर्सनेईले आफ्नो अनुभव सुनाउनेछन् ।

२३ देशका २५० लगानीकर्ता आउने
उद्योग मन्त्रालय र लगानी बोर्ड नेपालले आयोजना गर्न लागेको ‘नेपाल इन्भेष्टमेन्ट समिट’मा २३ मुलुकका २ सय ५० भन्दा बढी व्यक्तिगत तथा संस्थागत लगानीकर्ता आउने भएका छन् । सम्मेलनमा चीनबाट ८९ जना, भारतबाट २१ जना, श्रीलंकाबाट २० जना, मलेसियाबाट १४ जना, जापानबाट १३ जना, क्यानाडाबाट १२ जना र हङकङबाट १० जना लगानीकर्ता आउने भएका छन् । त्यस्तै, बेलायत, दक्षिण कोरिया र भियतनामबाट ८÷८ जना लगानीकर्ता आउनेछन् । सम्मेलनमा रुसबाट ६ जना, सिंगापुर र टर्कीबाट ३–३ जना तथा बंगलादेश, भुटान, फ्रान्स र इरानबाट २–२ जना लगानीकर्ता आउने उनले जानकारी दिए । मन्त्रालयका अनुसार सम्मेलनमा अस्ट्रेलिया, फिनल्यान्ड, इटली, मकाउ र स्पेनबाट पनि १–१ जना लगानीकर्ता सहभागी हुनेछन् ।

३ सयभन्दा बढी नेपाली लगानीकर्ता
सम्मेलनमा नेपालका ३ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहनेछ । संस्थागत तथा व्यक्तिगत रूपमा उनीहरूको सहभागिता रहनेछ । सम्मेलनमा नेपाली लगानीकर्ताका तर्फबाट सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष सुरज वैद्य, ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति, नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा र नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आफ्नो अनुभव र लगानीको सम्भावनाबारे बोल्नेछन् ।

सम्भावनाका क्षेत्र प्रस्तुत हुने
सम्मेलनमा नेपालमा भएका लगानीका सम्भावित क्षेत्र लगानीकर्तासमक्ष प्रस्तुत गर्दै लगानीको आह्वान गरिने उद्योगमन्त्री जोशीले बताए । मन्त्रलाय र बोर्डले परियोजनाको प्रोफाइल नै तयार पारिसकेको छ । ‘सोही प्रोफाइलअनुसार परियोजना देखाएर स्वदेशी तथा विदेशीलाई लगानीको आह्वान गर्नेछौँ,’ उनले भने । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचनाप्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायत ९ क्षेत्रका छुट्टाछुट्टै विषयगत सत्र पनि राखिएका छन् ।

स्रोतः नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="