धनगढी-सुदूरपश्चिम प्रदेशमा २ सय ४ मेगावाट सौर्य ऊर्जा उत्पादनको सम्भाव्यना रहेको एक अध्ययनले देखाएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०६५-६६ मा गरेको उर्जासम्बन्धी अध्ययनले २०३ दशमलव ७५ मेगावाट सौर्य ऊर्जा उत्पादनको सम्भावना देखाएको हो ।सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५-७६ मा गरेको ऊर्जासम्बन्धी अध्ययनमा बझाङमा ३५.४२, कैलालीमा ३२.०८, दार्चुलामा २४.१७, बाजुरामा २३.७५, डोटीमा २१.६७, अछाममा १८.३३, बैतडीमा १६.२५, डडेल्धुरामा १६.२५ र कञ्चनपुरमा १५.८३ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न सकिने जनाइएको छ ।
अध्ययनका अनुसार प्रत्येक जिल्लाको कुल भूभाग मध्ये ०.०५ प्रतिशत जमिनमा सोलार प्यानल राख्दा सो क्षमताका विद्युत् उत्पादन हुने देखिएको हो । सो क्षमताको सौर्य विद्युत् उत्पादनका लागि ९९० हेक्टर जमिन आवश्यक पर्ने अध्ययनले जनाएको छ ।त्यसैगरी, विभिन्न समयमा जलविद्युत् उत्पादन तथा सर्भेका लागि विद्युत् विकास विभागले निजी क्षेत्रलाई अनुमति दिएका, विभागले अध्ययन गरी बास्केटमा राखेका, अध्ययन गरेका र अध्ययन गरिरहेको तथा उत्पादन सुरु गरेका आयोजनाबाट सुदूरपश्चिममा १ हजार ८ सय २९ दशमलव ६४ मेगावाट जलविद्युत् उत्पादन हुने जनाइएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रगति विवरण प्रस्तुत गर्दै मन्त्रालयका सचिव इन्द्रदेव भट्टले सुदूरपश्चिम प्रदेशमा जलविद्युत् सम्भावना कम रहेको जिल्लामा सौर्य ऊर्जाको सम्भावना बढी देखिएको बताए । उनले प्रदेशका सबै जिल्लामा प्राकृतिक रूपमा उर्जाको वितरण समान रहेको दाबी गरे ।

ad

कारोबार दैनिक