Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८५१७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५३१५ मे.वा. घन्टा
  • भारत : ११४७४ मे.वा. घन्टा
  • ट्रिपिङ : १२० मे.वा. घन्टा
  • माग : २५४२६ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युतीय सवारी प्रयोग तथा चार्जिङ स्टेसन बनाउन ‘कार्यविधि’ बन्दै

ऊर्जा खबर फागुन २९, २०७५   1749

खबर



काठमाडौं– सरकारले विद्युतीय सवारी उपयोग तथा प्रवद्र्धनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘विद्युतीय सवारी साधन प्रयोग कार्यविधि’ बनाउन लागेको छ । सवारी प्रयोग, चार्जिङ स्टेसन निर्माण तथा यसका लागि विद्युत तोक्ने गरी कार्यविधि ल्याउन लागेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय नीति महाशाखाका सहसचिव प्रविणराज अर्यालको संयोजकत्वमा गठित कार्यदलले कार्यविधिको प्रारम्भिक मस्यौदा समेत तयार गरेको छ । कार्यदलमा मन्त्रालय कानुन महाशाखाका सहसचिव तोयनाथ अधिकारी, सिडिई राजु महर्जन, विद्युत विकास विभागका उपमहानिर्देशक सन्दिपकुमार देव र नेपाल विद्युत प्राधिकरण वितरण तथा गहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने छन् ।

कार्यदलले केही दिनभित्रै मस्यौदालाई अन्तिम रूप दिने गरी काम गरिरहेको अर्यालले बताए । कार्यविधिले निजी आवास, सार्वजनिक पार्किङस्थल, अस्पताल, व्यापारिक कम्प्लेक्स, विद्यालय, विश्वविद्यालय लगायत ठाउँमा चार्जिङ स्टेसन राख्न प्रोत्साहन गरिनेछ ।

निर्माण हुने चार्जिङ स्टेसनमा निरन्तर विद्युत आपूर्ति तथा सवारी चार्ज गरेबापत तिर्नुपर्ने महसुलको दरसमेत तोक्नेछ । यसो हुँदा विद्युतीय सवारी उपयोग गर्नेहरू आकर्षित हुने विश्वास छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले गत बैशाख २५ गते सार्वजनिक गरेको यस क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र सहितको श्वेतपत्रमा पनि विद्युतीय सवारी सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

बढ्दो वातावरण प्रदुषण कम गर्दै काठमाडौं उपत्यकालाई वातावरणमैत्री बनाउन एनइए इन्जिनियरिङ कम्पनीले पनि विद्युतीय सवारी प्रयोगको अभियान सुरु गरेको छ । उपत्यकालाई डिजेल र पेट्रोलयुक्त सवारीबाट मुक्त पार्ने कम्पनीको योजना छ ।

कम्पनीले सरकारी, संस्थान तथा गैरसरकारी कार्यालयलाई विद्युतीय सवारी प्रयोग गर्न सुझाव, परामर्श तथा सिफारिस गर्ने गरेको छ । वातावरणमत्री सवारी नीति, २०१२ अनुसार रिङरोड वरिपरि १० ठाउँमा विद्युती सवारी चार्जिङ स्टेसन राख्ने उल्लेख छ ।

सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निजी क्षेत्रलाई वातावरणमैत्री सवारी प्रयोग गर्न पनि अपिल गरिएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले विद्युतीय सवारी खरिद गरी नीतिगत पहल गरेका थिए ।

सरकारको नीति निर्माण तहमा दबाब दिने उद्देश्यले कम्पनीको सिफारिस र सुझावकै आधारमा आयोगले करिब ५२ लाख रुपैयाँमा बिआइडी इ६ गाडी किनिएको थियो । इन्जिनियरिङ कम्पनीले अहिले ४ वटा विद्युतीय गाडी प्रयोग गरिरहेको छ ।

मन्त्री पुनले पनि अहिले विद्युतीय सवारी नै प्रयोग गरिरहेका छन् । उता प्राधिकरणमा यस्ता सवारी प्रयोग बढाइँदैछ । यहाँ चार्जिङ स्टेसनसमेत राखिएको छ । यसैगरी, पुल्चोक साझा पेट्रोलपम्म नजिक चार्जिङ स्टेसन राखिएको छ ।

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको महत्त्वाकांक्षी लक्ष्य राखेको छ । यसमध्ये १० हजार मेगावाट स्वदेशमै खपत गर्ने भनिएको छ । आउँदा वर्षमा विद्युत खपत बढाउन पनि विद्युतीय सवारी उपयोगको संख्या बढाउनुपर्ने अपरिहार्य छ ।

आयोगका पूर्वउपाध्यक्ष वाग्लेले सन् २०२८ सम्म उपत्यकाभरि विद्युतीय सवारी प्रयोग गर्ने लक्ष्यअनुसार नीतिगत निर्णय हुनुपर्ने बताएका थिए । यस्तै, नेपाली काँग्रेसका सांसद गगन थापाले समेत उपत्यकामा विद्युतीय सवारी प्रयोगको अभियान चलाउनुपर्ने सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="