advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

‘कराँते खेलाडी’ जलविद्युत विकासका अभियन्ता

   माघ १८, २०७३        4369        धना ढकाल

भद्रपुरतिरबाट आएको ‘राम’ भन्नेले कुनै बेला तोपगाछी (झापा) मा हंगामा मच्चाउँथ्यो । ऊ बडो कौशलका साथ ‘किक’ हान्थ्यो । साइकलको चेन घुमाउँथ्यो । स्वचालित चुप्पी (नाइफ) चलाएर सबैलाई चकित पार्थ्याे । उसलाई देख्दा सायद गाउँका केटाकेटीको सातो जान्थ्यो । केही भने उसको किक हान्ने र चेन चलाउने कलाको खुबै चर्चा गर्थे । बाल्यावस्था छिप्पिँदै गएकाहरू उसको जस्तै कला सिक्न रहर गर्थे ।

कहिले काहीँ केटाहरूको रहर पूरा गर्न जोसिन्थ्यो, राम । र, तिनलाई भेला गरेर बोरामा बालुवा भर्न लगाउँथ्यो । बालुवा भरेका बोरा नदी किनार वा रुखमा झुन्ड्याइन्थ्यो । भेला भएका केटाहरू मच्ची–मच्ची बोरामा ‘किक’ हान्थे । चक्कु चलाउँथे । चेन घुमाउँथे । केटाहरूमा यसले जोसको आगो बालेको हुन्थ्यो । सबै जना आफूलाई ‘राम’ जस्तै ठान्थे वा कल्पना गर्थे ।

गाउँका केटाको हूलमा तोपगाछीका गणेश कार्की पनि किक हान्न, चेन घुमाउन र चुप्पी चलाउन सिकिरहेका हुन्थे । बाह्र/तेह्र वर्षका उनी किक हान्न सिपालु भएकोमा मख्ख थिए । त्यतिबेला यो क्रिया खुलेर देखाउन पाइँदैनथ्यो । यो मारपिट गर्ने इलम मानिन्थ्यो । र, त लुकेर सिक्नुपथ्र्यो । लुकेर किक हान्न र चेन घुमाउन सिक्ने कलालाई के भनिन्छ ? थाहा थिएन । धेरैपछि गणेशलाई थाहा भयो– यो कराँते भन्ने खेल रहेछ ।

जलविद्युत विकासमा बलियो परिचय बनाएका तिनै गणेश कार्की कराँते खेलाडी हुन् भन्ने कमैलाई थाहा छ । पाँच कक्षा पढ्दा पढ्दै चेन घुमाउन र चुप्पी चलाउन उनी सिपालु भएका थिए । तर, गाउँमा रामजस्तै किक हान्ने परख देखाउन उनले धेरै समय पाएनन् । रामले जस्तै केटाहरू बीचमा जोसिँदै चेन घुमाउने र चुप्पी चलाउने उनको रहर पूरा भएन । रहर मनमै साँचेर उनी धरान पुगे, ६ कक्षा पढ्न । किनकि तोपगाछीमा पाँच कक्षा माथि पढ्ने स्कुल थिएन ।

घरबाट तीन घन्टा हिँडेर मोटर चल्ने ठाउँ केर्खा पुगिन्थ्यो । बल्ल धरान जाने बस पाइन्थ्यो । यसरी नै गणेश एका बिहानै बासँग धरान हिँडे, बालमनमा सुनौलो भविष्यको सपना साँचेर । लाहुरेको सहर धरान पुगे, उनी । शिक्षा निकेतन स्कुलमा भर्ना भए र त्यही स्कुलको छात्राबासमा बसे । सानो र साँधुरो गाउँको बालक आधुनिक बन्दै गएको सहर देख्दा नौलो संसार पुगेझैँ भयो । सुकिला मान्छे, सफा सहर र झुरुप्प घर उनको हृदयमा यही तस्बिर टाँसियो । यो सहर र सुकिला मान्छेजस्तै बन्ने कल्पनाले उडाएर भेडेटारतिर पुर्यायो होला । यद्यपि, बालमस्तिष्कमा अनुभूतिको यति विघ्न चेतना अटाइसकेको थिएन ।

छात्राबासमा बसेर पढ्न थाले । उनको उमेरसँगै धरान तरुनो बन्दै थियो । उनी देख्थे– हरेक वर्ष नयाँ–नयाँ लाहुरे धरानको बाटो आउजाउ गर्थे । त्यहीँ बास बसेर कति लाहुरे भेडेटार उकालिन्थे । धनकुटा, भोजपुरतिर हानिन्थे । उसैगरी, हरेक वर्ष बैंश भरिएको यौवनमा मच्चिँदै जवानहरू लाहुर भासिन्थे । विजयपुरका बूढासुब्बाको आर्शिवाद लिएर लाहुर हिँडेका कति त फेरि फर्किन्थेनन् । नफर्केको नमिठो खबर सुन्थे, उनले । यही कारण पनि गणेशमा लाहुरे हुने चाहना पलाएन । बुटपट्टी कसेर घर फर्केका लाहुरेका लोभलाग्दा पहिरन र लवजले उनलाई तान्दै तानेन ।

कार्कीकाे फेसबुकबाट
परिवारका साथ गणेश कार्की

गणेश चाहन्थे– उनले सिकेको कराँते खेल खेलेर देशको नाम राखौं । अनि देशमै बसेर धरानजस्तै आधुनिक सहरको विकास गरुँ । यो सपनाको घर बनाउँदै गर्दा उनले एसएलसी पास गरे, २०४० सालमा । उनको मन चंगा भयो । समयको बार्दलीमा बसेर उनले नयाँ भविष्यको अर्को खाका तयार गरे, काठमाडौं गएर पढ्ने । हृदयमा कराँते खेल्ने चाहना पनि बढ्दै थियो । वि.स. २०४१ मा उनी काठमाडौं हिँडे, चाहनाको गरुंगो भारी बोकेर ।

गणेश पशुपति क्याम्पस पढ्थे । त्यहाँ योगेश चाम्लिङसँगको उनको राम्रो मित्रता गाँसियो । योगेशले गणेशलाई बौद्धका कराँते गुरु राम लामासँग चिनाए । लामा बौद्धका चर्चित कराँते प्रशिक्षक रहेछन् । संयोग गज्जबै जुर्यो । तोपगाछीमा राम भन्नेसँगै बालुवा भरेको बोरामा किक हान्न सिकेका थिए । काठमाडौंमा राम नामले नै उनलाई कराँते सिकायो । गणेश र योगेश एकसाथ कराँते सिक्थे । बिहान कलेज, दिउँसो स्कुल पढाउने काम र साँझ कराँते सिक्ने अध्यास उनलाई भ्याइनभ्याई थियो । मनमा हुर्किँदै गरेको कराँते खेलाडी तिखार्न अभ्यासले ठूलो मद्दत गर्यो । अभ्यास गर्दागर्दै राष्ट्रिय कराँते प्रतियोगितामा उनले दुई पटक रजत पदक जिते ।

कराँते खेलबाट चिनिएका उनी ‘ब्ल्याक बेल्ट पाँचौं’ हुन । २०४२ देखि झन्डै १३ वर्ष उनी खेल संसारमा हराए । केही समय कराँतेको रेफ्री भए । ‘त्यतिबोल वर्षमा एक वा दुई वटामात्र प्रतियोगिता हुन्थ्यो । नियमित खेल्ने अभ्यास थिएन । सरकारले पनि उचित व्यवस्था गरेको थिएन । यसैमा रमाएर जीवन गुजार्ने आधार बनेकै थिए । खेलबाट जीवन धान्ने अवस्था नदेखिएपछि उनी अर्कै पेशामा तानिए ।

गणेश बौद्ध छेउछाउ बस्थे । त्यहाँ गलैंचा तथा कार्पेटको व्यापार गर्नेको घुइँचो लाग्थ्यो । उसो त त्यतिबेला गलैंचा र कार्पेटको व्यापार खुब चम्केको थियो । बिहान क्याम्पस पढ्ने र साँझ कराँते सिक्ने कामसँगै उनले धमिलो रूपमा कार्पेट व्यवसाय पनि सुरु गरे । बौद्धको गतिविधिले व्यवसायमा तान्दै लग्यो । गणेश विस्तारै कार्पेट र गलैंचा व्यापारमा जमे । तर, केही वर्षमै यो व्यवसाय ओरालो लाग्यो । कार्पेट व्यवसाय गर्दा चीनका केही व्यापारीसँग सम्बन्ध गाँसिएकाले अर्को क्षेत्रमा फड्को मार्न सजिलो भयो । गलैंचा व्यापारबाट उनी विस्तारै जलविद्युत विकासमा आकर्षित हुँदै गए ।

गणेशले केही समय चीनमा ‘चानिज मेडिसिन’ र व्यवस्थापनबारे अध्ययन गरेका थिए । तर, खेलको नसा छोड्न सकेका थिएनन् । कराँते खेल्दा एक पटक उनको दाँहिने हातमा चोट लाग्यो । लामो समयसम्म दुखिरह्यो । उनलाई कसैले सुझायो– अकुपंचर उपचारले निको हुन्छ । सुझाव पछ्याउँदै उनी पुल्चोक अकुपंचर क्लिनिक पुगे । त्यहाँ डा. युएन महर्जनले उनको उपचार गरिन् । युएन चीनमै स्वास्थ्य विज्ञानअन्तर्गत अकुपंचरसम्बन्धी अध्ययन गरेर फर्केकी थिइन् । उनीसँग गणेशको सम्बन्ध नजिक हुँदै गयो । पछि उनैसँग विवाह गरे ।

जलविद्युत उद्यमी बटु लामिछाने उनका सहृदयी मित्र हुन् । उनको सहयोग यो क्षेत्रमा प्रवेश गर्ने सजिलो बाटो भएको गणेश स्वीकार्छन् । इलेक्ट्रोमेकानिकल सामानको व्यवसायमा स्थापित गणेश अब जलविद्युत विकासबाट मुलुक उज्यालो बनाउने अभियानमा उभिएका छन् । उनको लगानी रहेका मिदीम, गेलुङ, माथिल्लो चाकु र ग्रीन लाइफ चार आयोजनले आउँदो असारसम्म विद्युत उत्पादन गर्दैछन् । उनको मुख्य लगानी रहेको २५ मेगावाटको सिँगटी धमाधम निर्माण भइरहेको छ । यस्तै, १८ मेगावाट माथिल्लो सोलु निर्माण गर्न आवश्यक लगानी भर्खरैमात्र जोहो भएको छ ।

झन्डै १५ वर्षदेखि खेल जीवनमा निष्क्रिय गणेश कराँतेबाट टाढिन सकेका छैनन् । समय मिलाएर नियमित अध्यास गर्छन् । अभ्यासले उनमा जवानीको रङ भरिदिएको छ । जवान जोसले जलविद्युत उद्यमी बन्न प्रेरित गरेको छ । यता कराँते खेलकै कारण उनी दक्षिण एसियाली गोजुरियो फेडेरेशनको सदस्य भएका छन् । अन्तराष्ट्रिय गोजुरियो कराँते रोमइको नेपाल प्रतिनिधि र नेपाल राष्ट्रिय गोजुरियो कराँते एसोसियसनमा उनी अध्यक्ष छन् । तर, सरकारको ‘उज्यालो नेपाल अभियान’ काँधमा बोकेर हिँडेका छन् । कराँते खेल गणेशको नसामा बगेको छ । जसले उनको रुची मर्न दिएको छैन । उता जलविद्युत उद्यमले सफल उद्यमी बन्न हौस्याइरहेछ । खेल र उद्यमको आँखिझ्यालबाट गणेश नियालीरहेछन्– भोलिको समृद्ध नेपाल ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7