advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

अनियमित विद्युतले हैरान उद्योगी भन्छन्– सरकार, बरु लोडसेडिङको तालिका देऊ !

   जेठ २२, २०७५        3346        धना ढकाल/काठमाडाैं

विद्युत माग र आपूर्ति व्यवस्थापन नहुँदा मुलुकले झन्डै डेढ दशकसम्म चर्को लोडसेडिङको मार खेप्यो । २०७३ सालको लक्ष्मीपूजाको अघिल्लो दिनसम्म मुलुक लोडसेडिङले आक्रान्त थियो । परीक्षणका रूपमा गार्हस्थ उपभोक्तामा अन्त्य गरिएको लोडसेडिङ फेरि फर्काइएन ।

लक्ष्मीपूजाको दिन माग र आपूर्तिबीच सन्तुलन कायम भएपछि प्राधिकरणलाई तत्वज्ञान मिल्यो । काठमाडौं उपत्यका, मुख्य सहर तथा देशैभरि लोडसेडिङ अन्त्यको प्रयास सुरु भयो । विस्तारै सफल पनि हुँदै गयो ।

उद्योगमा ८ घन्टा (बिहान र साँझ ४-४ घन्टा) लोडसेडिङ कायमै थियो । गर्हस्थ उपभोक्ताको विद्युत आपूर्ति नियमित भएपछि उद्योगको लोडसेडिङ पनि ३ घन्टामा झर्यो । लोडसेडिङ न्युनिकरणले दैनिक १२ घन्टासम्म जेनेरेटरको भरमा उद्योग चलाउँदै आएका उद्योगीलाई ठूलो राहत मिल्यो ।

विद्युत आपूर्ति सहज हुँदै गएपछि उद्योगको उत्पादन लागत घट्न गई घाटा न्यूनिकरण हुन थाल्यो । उद्योगी व्यवसायीले उद्योगलाई पूर्ण लोडसेडिङमुक्त बनाउनुपर्ने माग उठाए । भारतबाट बढिरहेको विद्युत आयात र आन्तरिक उत्पादनमा सुधार हुँदा उद्योगको माग पनि पूरा गर्ने वातावरण बन्दै गयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै प्राधिकरणलाई उद्योगको लोडसेडिङ पनि अन्त्य हुने गरी काम गर्न निर्देशन दिए । मन्त्रीको निर्देशनले पनि आपूर्ति सुधार गर्न प्राधिकरणलाई दबाब पर्यो । यही कारण गत वैशाख ३१ गते औद्योगिक क्षेत्र लोडसेडिङमुक्त भएको घोषणा गरियो ।

उद्योगी व्यवसायीले सरकारलाई धन्यवाद दिए । तर, लोडसेडिङ अन्त्यको घोषणापछि उद्योगमा विद्युत आपूर्तिको अवस्था भद्रगोल भएको छ । घोषणा गरेको एक महिना पनि नहुँदै अनियमित विद्युत कटौतीले उद्योगी व्यवसायी हैरान हुँदैछन् । निरन्तर विद्युत आपूर्तिले उद्योगको उत्पादन बढ्ने अपेक्षा राखेका उद्योगी निराश हुन थालेका छन् ।

बिनाजानकारी झ्यापझ्याप विद्युत कटौतीले उत्पादनमा सुधार त परैजाओस्, उद्योगका उपकरण, मेसिन तथा कच्चा पदार्थमा ठूलो क्षति पुगेको देशैभरका उद्योगीको गुनासो छ । पूर्व विराटनगरदेखि मध्यपश्चिम नेपालगन्जसम्मका उद्योगीले यही समस्या अघि सारेका छन् ।

मेसिन चलिरहँदा कति बेला विद्युत काटिन्छ थाहा हुँदैन । काटिएको विद्युत कति समयपछि सुचारु हुन्छ भन्ने पनि जानकारी हुँदैन । कहिले १ घन्टा त कहिले दिनैभरि आपूर्ति बन्द हुने उद्योगीहरू बताउँछन् । अहिलेभन्दा बरु लोडसेडिङको तालिका दिँदा उद्योग चलाउन सजिलो भएको उनीहरूको अनुभव छ । अधिकांश उद्योगीले भनेका छन्– गुणस्तरीय विद्युत दिन सकिँदैन वा बिनाजानकारी लाइन काटिन्छ भने लोडसेडिङको तालिका दिए हुन्छ ।

पूर्वदेखि पश्चिमसम्मका साना वा ठूला व्यवसायी समस्याले आक्रान्त भएपछि उद्योग वाणिज्य संघ, नगरपालिका, प्राधिकरण वा सरोकारवाला निकायमा धाउन थालेका छन् । र, समस्या समाधान गरिदिन आग्रह तथा उजुरी गर्न थालेका छन् । विद्युत आपूर्तिको पछिल्लो अवस्थाबारे ऊर्जा खबरले यहाँ देशका उद्योगी व्यवसायीको धारणा समेट्ने प्रयास गरेको छ ।

के भन्छन् त उद्योगी व्यवसायी ?

‘अहिले पनि दैनिक ३ घन्टा विद्युत काटिन्छ’

अविनाश बोहोरा, उद्योगी, विराटनगर तथा केन्द्रीय सदस्य (नेपाल उद्योग वाणिज्य महासंघ)

विराटनगर औद्योगिक क्षेत्रमा अहिले पनि दैनिक ३ घन्टा विद्युत आपूर्ति बन्द हुने गरेको छ । साँझ ५ देखि राती ८ बजेसम्म नियमित विद्युत काटिन्छ । यहाँका उद्योगले लोडसेडिङमुक्त भएको अनुभूति गर्न पाएका छैनन् । ‘लो भोल्टेजको समस्या उस्तै छ । कम भोल्टेज आउने हुँदा उद्योगका मेसिन तथा जेनेरेटरमा खराबी देखिएको छ ।

औद्योगिक क्षेत्रलाई निरन्तर गुणस्तरीय विद्युत दिन प्राधिकरणले प्रसारण तथा वितरण प्रणालीमा व्यापक सुधार गर्नुपर्छ । प्रसारण तथा वितरण लाइनको क्षमता अभिवृद्धि गरे सेवा गुणस्तरीय र नियमित बनाउन सकिन्छ ।

लोडसेडिङ अन्त्य भएको भन्दै आँखा चिम्लेर बस्ने होइन अब वितरण प्रणाली सुधारमा लाग्नुपर्छ । यत्ति गर्न सके औद्योगिक क्षेत्रको ऊर्जा संकट समाधान भई उत्पादन बढाउन सकिन्छ ।

‘बरु तालिका दिएर लोडसेडिङ गरे हुन्थ्यो’

ओमप्रकाश शर्मा,  अध्यक्ष, वीरगन्ज उद्योग वाणिज्य संघ

प्राधिकरणले उद्योगमा लोडसेडिङ अन्त्य गरेको घोषणा गरेको छ । तर, वीरगन्ज औद्योगिक क्षेत्रले गुणस्तरीय विद्युत पाउन सकेको छैन । लोडसेडिङ नभए पनि नियमित विद्युत आपूर्ति हुन सकेको छैन । ‘ट्रिपिङ’ को समस्या छ ।

वीरगन्ज क्षेत्रमा भारतबाट आयातित विद्युत वितरण गरिएकाले ‘लो भोल्टेज’ को समस्या छ । ‘ट्रिपिङ’ ले दैनिक २–३ घन्टा आपूर्ति बन्द हुन्छ । यही कारण उद्योगको उपकरण र कच्चा पदार्थ बिग्रने गरेको छ । बिनातालिका लाइन काट्नुभन्दा तालिका दिएर १–२ घन्टा लोडसेडिङ गरे हुन्थ्यो । यसो हुँदा व्यवस्थापन गर्न सकिन्थ्यो ।

जुनसुकै बेला लाइन काटिँदा त्यसको क्षति धेरै हुन्छ । यद्यपि, विगतमा १२ घन्टासम्म नियमित लोडसेडिङ खेपेका उद्योगलाई अहिलेको आपूर्तिले ठूलो राहत मिलेको छ । घाटा न्यूनिकरण भएको छ । नियमित उद्योग सञ्चालन गर्न तथा उत्पादन क्षमता बढाउन भोल्टेज समस्या समाधान गर्न जरुरी छ । प्राधिकरणले गुणस्तरीय विद्युत आपूर्तिमा ध्यान दिनुपर्यो ।

‘विद्युत कटौती समस्या समाधान गर्न डेलिगेसन जाँदैछौं’

ललितकुमार साह, अध्यक्ष, जनकपुर उद्योग वाणिज्य संघ

२ वर्षअघिसम्म दैनिक १२ घन्टे लोडसेडिङले उद्योगहरू धराशायी भइसकेका थिए । डिजेल जेनेरेटर चलाउँदा उत्पादन लागत पनि धेरै थियो । सबै उद्योग घाटामा चलेका थिए । १२ घन्टाको लोडसेडिङ ३ घन्टामा सीमित हुँदा ठूलो राहत मिल्यो ।

उत्पादन लागत घट्दा उद्योगहरू क्रमशः लयमा फर्कन थाले । सरकारले देशभरका उद्योग लोडसेडिङमुक्त भएको घोषणा गर्यो । यसले उद्योगी व्यवसायीलाई हर्षित बनायो । तर, लोडसेडिङ अन्त्यको घोषणापछि जनकपुरमा अनियमित विद्युत कटौतीको समस्या बढेको छ ।

३ घन्टा लोडसेडिङ हुँदा तालिका अनुसार कटौती हुन्थ्यो । व्यवस्थापन गर्न सहज थियो । अहिले बिनातालिका विद्युत कटौती गर्दा उद्योगको उत्पादनमा असर परेको छ । अनियमित आपूर्तिले जेनेरेटर चलाउनुपर्ने बाध्यता हटेको छैन । भोल्टेज घटीबढी हुने समस्या छ । अहिलेको समस्या समाधान गर्नेबारे प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयमा संघको डेलिगेसन जाने तयारी छ । समस्या समाधान गर्न दबाब दिन्छौं ।

‘विद्युतको गुणस्तरमा सुधार हुन जरुरी छ’

राजकुमार न्यौपाने,  पूर्वअध्यक्ष, मकवानपुर उद्योग वणिज्य संघ

हेटौंडा औद्योगिक क्षेत्रमा नियमित विद्युत आपूर्तिसँगै लोडसेडिङ अन्त्यको अनुभूति भएको छ । उद्योगलाई ठूलो राहत मिलेको छ । मौसममा हुने परिवर्तनले बेला–बेला ट्रिपिङ हुने बाहेक अरू समस्या छैन । सबै मजदुरले काम गर्न पाएका छन् ।

महँगोमा जेनेरेटर चलाउनुपर्ने बाध्यता हटेको छ । उद्योगको लोडसेडिङ ३ घन्टामा सीमित भएदेखि उत्पादन बढ्न थालेको हो । चर्को विद्युत कटौतीले १० वर्षसम्म नियमित सञ्चालन नभएका उद्योग निकट भविष्यमा नाफामा जाने विश्वास छ । प्राधिकरणले अहिले वितरण गरिरहेको विद्युतको गुणस्तरमा भने सुधार गर्नुपर्नेछ ।

‘ट्रिपिङ हटाउन नसके लोडसेडिङ गरे हुन्छ’

खिमबहादुर हमाल,  अध्यक्ष, बुटवल उद्योग वाणिज्य संघ

रुपन्देहीका उद्योगमा विद्युत आपूर्ति नियमित भए पनि भोल्टेजको समस्या छ । उद्योगले गुणस्तरीय विद्युत पाउन सकेका छैनन् । भारतबाट आयातित विद्युत वितरण हुने हुँदा भोल्टेजको समस्या आएको प्राधिकरणको भनाइ छ ।

लोडसेडिङ अन्त्य भएको भनिएको छ तर समय–समयमा लाइन काटिन्छ । यसले उद्योगका उपकरण तथा कच्चा पदार्थमा क्षति पुगेको छ । मेसिन तातिरहेको अवस्थामा लाइन काटिँदा ठूलो घाटा हुन्छ । ट्रिपिङ भनिएको समस्या व्यवस्थापन गर्न नसके तालिका सार्वजनिक गरेर केही घन्टा विद्युत कटौती गरे हुन्थ्यो । उद्योगले सोही अनुरूप व्यवस्थापन गरेर क्षति कम गर्न सक्छन् ।

विगतमा दैनिक १२ घन्टा लोडसेडिङ खेपेर आएकाले तुलनात्मकरूपमा अहिले धेरै सुधार भएको छ । यद्यपि, औद्योगिक क्षेत्रको माग र आपूर्ति व्यवस्थापन गर्न वितरण प्रणालीमा सुधार गर्नुपर्छ । बल्ल गुणस्तरीय विद्युत आपूर्ति हुन सक्छ । उद्योगीले सरकारसँग यही माग राखेका छन् ।

‘नेपालगन्जमा लोडसेडिङ भइरहेको छ’

नन्दलाल वैश्य, अध्यक्ष, नेपालगन्ज, उद्योग वाणिज्य संघ

नेपालगन्ज औद्योगिक क्षेत्र अझै लोडसेडिङमुक्त भएको छैन । अनियमित विद्युत कटौतीको समस्या छ । ‘लो भोल्टेज’ को पनि उस्तै समस्या छ । यसले हामी उद्योगी व्यवसायी मारमा परेका छौं । पहिले तालिका अनुसार आपूर्ति व्यवस्था मिलाउँदा अहिलेभन्दा सहज थियो ।

लोडसेडिङ अन्त्यको घोषणापछि ट्रिपिङको समस्याले उद्योगको उत्पादन क्षमतामा कमी आएको छ । सबै उद्योगी व्यापारी मिलेर नगरपालिका प्रमुखलाई समस्या समाधानको पहल गरिदिन अनुरोध गरेका छौं । तर, सुनुवाई भएको छैन । अनियमित विद्युत कटौती अन्त्य गरी उद्योगको अवस्था उकास्न प्राधिकरणले सेवा गुणस्तरीय बनाउन ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7