विद्युत आपूर्ति

  • प्राधिकरण : ७८८२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७९९७ मे.वा. घन्टा
  • भारत : ६३४८ मे.वा. घन्टा
  • ट्रिपिङ : १५०० मे.वा. घन्टा
  • माग : २३६२७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

३ वर्षभित्र सबै नदीको ‘नदी बेसिन गुरुयोजना’ तयार गरिँदै

   जेठ २७, २०७५        8346        ऊर्जा खबर/काठमाडौं

सरकारले आगामी ३ वर्षभित्र देशका सबै नदीको ‘नदी बेसिन गुरुयोजना’ तयार गर्ने भएको छ । खानेपानी, सिँचाइ, जलविद्युत तथा समग्र जलस्रोतको विकास गर्ने उद्देश्यले गुरुयोजना बनाउन लागेको हो ।

देशमा साना ठूला गरी करिब ६ हजार नदीनाला रहेको अनुमान छ । ठूलामात्र नभई साना नदी तथा खोला र तिनका किनारमा विकसित भइरहेको मानव विकास एवं जीवनपद्दति तथा कृषि उत्पादन बढाउने गरी एकीकृत गुरुयोजना तयार गरिनेछ ।

जलस्रोत तथा ऊर्जा विकासमा नीतिगत दस्तावेज तयार गर्दै आएको जल तथा ऊर्जा आयोगले गुरुयोजना तयारीको प्रक्रिया अघि बढाएको छ । कोसी, गण्डकी, कर्णाली, महाकाली तथा तिनका सहायक र उपनदीको समेत गुरुयोजना तयार हुने आयोगका प्रवक्तासमेत रहेका सहसचिव माधव बेल्बासेले बताए ।

‘पानीका मुद्दा उठाउँदा कसैले खानेपानी, कसैले डुबान तथा बाढी त कसैले सिँचाइका मात्र कुरा गर्ने गरेका छन्,’ उनले ऊर्जा खबरसँग भने, ‘सिंगो देश विकासमा एकीकृत जलस्रोत तथा पानीको महत्वबारे त्यति सोचिएको छैन । अब यसमा ध्यान दिनुको विकल्प छैन ।’

विश्व बैंकको ७७ करोड रुपैयाँ अनुदान

पानीको एकीकृत विकास गर्न सकेमात्र यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सक्ने बेल्बासेले बताए । अब तयार हुने गुरुयोजनामा पहिलो प्राथमिकता खानेपानी नै हुनेछ । संविधानले समेत खानेपानीलाई मौलिक हकको रूपमा स्थापित गरेको छ । यस्तै, कृषि विकास गर्न सिँचाइको उचित व्यवस्था, बाढी तथा डुबान व्यवस्थापन, जलविद्युत उत्पादन र पानी निकास लगायत विषय गुरुयोजनामा समेटिनेछन् ।

गुरुयोजना तयार गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट परामर्शदाता नियुक्तिको प्रक्रिया अन्तिम चरणमा रहेको बेल्बासेले जानकारी दिए । अन्तिम छनोटमा परेको जर्मन तथा चिनियाँ सयुक्त कम्पनीले गुरुयोजना तयार गर्ने करिब टुंगो लागेको छ । आयोगका अनुसार यसबारे मस्यौदा सम्झौता समेत भइसकेको छ ।

विश्व बैंकको करिब ७७ करोड रुपैयाँ अनुदानमा ३ वर्षभित्र गुरुयोजनाको काम पूरा गर्ने लक्ष्य छ । मस्यौदा सम्झौता गरी सहमतिका लागि विश्व बैंक पठाएकाले त्यहाँबाट स्वीकृत भएर आउनासाथ काम सुरु हुने पनि बेल्बासेले बताए ।

आयोगले गुरुयोजनाको पहिलो चरणमा ‘बागमती नदी बेसिन गुरुयोजना’ तयार गरिसकेको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा जापानको सरकारी निकाय ‘जापान वाटर एजेन्सी’ ले गुरुयोजना तयार गरेको हो ।

बागमती नदीमा उपलब्ध पानी, यसको सदुपयोग, बाढी नियन्त्रणको पूर्वजानकारी, सिँचाइलगायत पक्ष गुरुयोजनामा समेटिएको छ । आगामी दशकमा बागमतीमा पानीको बहाब बढाउने, खानेपानी तथा सिँचाइ व्यवस्थापन गर्ने विषय व्यवहारिकरूपमा किटान गरिएको छ ।

यसैगरी, बर्खामा पानीको बहाब बढ्दा तल्लो तटीय क्षेत्रमा हुन सक्ने क्षति वा पूर्वजानकारी गराउने अत्याधुनिक सूचक तयार गरिएको छ । ‘काठमाडौं उपत्यकामा परेको पानीको आधारमा तल्लो तट वा पर्सा र रौतहटमा कति बाढी आउँछ भन्ने जानकारी पहिल्यै दिन सकिन्छ,’ उनले भने, ‘यससम्बन्धी सफ्टवेयर तयार भएको छ । यही वर्षबाट कार्यान्वयन गर्न जल तथा मौसम विज्ञान विभागलाई सिफारिस गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7