advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

उपत्यकामा २७ करोड लिटर खानेपानी अभाव हुँदै, यसरी व्यवस्थापन गरिँदैछ

   जेठ २९, २०७५        3548        ऊर्जा खबर/काठमाडौं

बढ्दो जनसंख्या तथा सहरीकरणको चापले अबको केही वर्षभित्रै काठमाडौं उपत्यकामा खानेपानीको चरम संकट हुने देखिएको छ । अबको एक वर्षभित्र मेलम्ची खानेपानी आयोजना पूरा हुँदैछ । तर, यसले यहाँको माग पूरा हुने अवस्था छैन ।

जल तथा ऊर्जा आयोगले तयार गरेको ‘बागमती नदी बेसिन गुरुयोजना’ ले सन् २०२० भित्र मेलम्ची पूरा हुने प्रक्षेपण गरेको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको १७ करोड लिटरले २०२० सम्मकै माग पूरा गर्न सरकारलाई हम्मे पर्नेछ ।

सन् २०१५ सम्मको मागलाई आधार मानी मेलम्ची ल्याउने योजना थियो । तर, यो लक्ष्य पूरा भएन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले अहिले वितरण गरिरहेको (करिब ११.५० करोड लिटर) र मेलम्चीबाट आउने (१७ करोड) गरी २८ करोड लिटरले सन् २०२० सम्म व्यवस्थापन गर्ने लक्ष्य छ । यसो भए अवस्था सहज हुने देखिन्छ ।

माग बढ्दै सन् २०३० सम्म उपत्यकामा ७० करोड लिटर खानेपानी आवश्यक पर्ने गुरुयोजनामा उल्लेख छ । त्यतिबेला मेलम्ची दोस्रो चरण आयोजना (याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाएर काठमाडौं ल्याउने) पूरा भर्इ ३४ करोड लिटर पानी थपिने प्रक्षेपण छ ।

सिंगो मेलम्चीबाट आउने ५१ करोड लिटर, भूमिगत तथा अन्य क्षेत्र गरी ६५ करोड लिटर पुग्नेछ । र, ५ करोड लिटर अपुग हुने देखिन्छ । त्यतिबेलासम्म मेलम्ची दोस्रो चरण आयोजना पूरा नभए खानेपानी व्यवस्थापन गर्न गाह्रो हुने प्रस्ट छ ।

मेलम्ची दोस्रो चरण पूरा नभए अन्य विकल्प पनि खोजिएको आयोगका सहसचिव तथा प्रवक्ता माधव बेल्बासेले बताए । ‘उपत्यका छेउका सिस्नेरी, महादेव र ठोस्ने खोलामा बाँध निर्माण गरी पानीको अभाव पूरा गर्ने योजना छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यी सबै विकल्पमा जाँदा पनि २०३० सम्म ५ करोड अपुग हुन्छ ।’

बेल्बासेका अनुसार सिस्नेरी, महादेव र ठोस्ने खोलामा बाँध निर्माण गर्दा क्रमशः १२ करोड, ७२ लाख र २.५ करोड लिटर पानी उपलब्ध हुनेछ । केयूकेएल र ३ खोलाबाट उपलब्ध हुने पानीको परिमाण २६ करोड ७२ लाख लिटर हुन्छ । यसमा मेलम्ची पहिलो चरण (१७ लाख लिटर) जोड्दा ४३ करोड लिटर पुग्छ ।

भूमिगत स्रोत (त्यतिबेला १४ करोड लिटर उपलब्ध हुने अनुमान) बाट संकलन हुनेसमेत गरी पानीको परिमाण करिब ५८ करोड लिटर पानी पुग्छ । र, बाँकी व्यवस्थापन गरी पूर्ति गर्ने योजना छ । मेलम्ची दोस्रो चरण पूरा भई ३४ करोड लिटर थपिए प्रक्षेपित माग पूरा गर्न कुनै समस्या नहुने बेल्बासेले बताए ।

गुरुयोजनाले सन् २०३५ सम्म उपत्यकामा खानेपानीको उच्च माग ९१ करोड र न्यून माग ६५ करोड लिटर प्रक्षेपण गरेको छ । मेलम्ची (५१ करोड) र केयूकेएलको हालको परिमाण (११.५० करोड) बाट उपलब्ध पानी वितरण गर्दा करिब २७ करोड लिटर अपुग हुने देखिन्छ ।

उपत्यकाको हालको ४० लाख जनसंख्या सन् २०३५ सम्म ६० लाख पुग्ने अनुमान छ । यो जनसंख्यालाई न्यून माग हुँदा सजिलै पानी आपूर्ति गर्न सकिने देखिन्छ । तर, उच्च माग पूरा गर्न समस्या हुने बेल्बासेले बताए । यद्यपि, यसको समाधान पनि खोजिएको छ ।

पानीको उच्च माग देखिए ५१ करोड लिटर मेलम्ची, करिब १५ करोड स्थानीय खोला (सिस्नेरी, महादेव र ठोस्ने), साढे ११ करोड केयूकेएल र २ करोड भूमिगत पानी गरी करिब ८० करोड लिटर पुग्छ । अन्य केही वैकल्पिक स्रोतसमेत संकलन गर्दा त्यतिबेला करिब ९ देखि ११ करोड लिटर पानी अपुग हुनेछ ।

‘अपुग परिमाण व्यवस्थापन गरेर माग पूर्ति गर्न सकिन्छ,’ उनले भने, ‘गुणस्तरीय पाइप विस्तार, चुहावट नियन्त्रण तथा प्रभावकारी वितरणबाट माग सम्बोधन गर्ने योजना छ ।’ उपत्यकामा अहिले वितरित पानीमध्ये करिब १० प्रतिशत चुहेर खेर जाने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7