विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

वर्ष दिन नहुँदै भत्किन थाल्यो जडिबुटी–पेप्सीकोला सडक

   असार ०४, २०७५        3941        ऊर्जा खबर/काठमाडौं

सडक निर्माण भएको एक वर्ष नहुँदै पेप्सीकोला–जडिबुटी सडक ठाउँ–ठाउँमा भत्किएको छ । सडक पिच भए पनि व्यवस्थापनमा ध्यान नदिँदा सडकको दायाँबायाँ ठूला–ठूला खाल्डा बनेको छ ।

कमजोर पिचका कारण पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्यै हुने गरेको छ । सडक पिच गर्नुअघि जसरी धुलो उड्थ्यो, अहिले खासै फरक परेको छैन ।

हिलो र धुलोको सास्ती

सडक निर्माणक्रममा ठेकेदारले समयमा नै काम नगर्दा सडक पिच गर्न माग गर्दै स्थानीयले निकै ठूलो दबाब दिनु परेको थियो । स्थानीयको दबाबपछि ठेकेदारले एक वर्षअघि पिच गर्यो । तर, सडकको अवस्थामा खासै परिवर्तन आउन सकेन । जडिबुटीका व्यापारी पदम ठाकुर भन्छन्– सडक पिच भएको छ । तर, धुलोले पिच देखिन गाह्रो छ । पिच गरेको कुनै अर्थ भएन ।

सडकमा ग्यारेज आतंक

पेप्सीकोटा–जडिबुटी सडक खण्डमा एक दर्जनभन्दा बढी ठूला बस राख्ने, बनाउने ग्यारेज छन् । व्यवसाय गर्न पाउने अधिकार भए पनि ग्यारेज व्यवसायीले आफ्नो कर्तव्य बिर्सिँदा सडक झनै अस्तव्यस्त बनेको छ । ग्यारेजबाट निस्किने गाडीले ल्याउने माटोको कारण नै सडकमा धुलो आतङ्क बढेको छ । सडक त व्यवस्थित छैन नै सबै ग्यारेज हिलाम्मे छन् । एउटा ग्यारेजबाट दैनिक सयभन्दा बढी बस आउजाउ गर्छन् । वडा कार्यालयले ग्यारेज सञ्चालकसँग पटक–पटक छलफल गरे पनि समस्या समाधान भएको छैन ।

सडक किनारमै बालुवा प्रशोधन अनुमति

नियमअनुसार सडक छेउमा बालुवा गिट्टी उद्योग सञ्चालन गर्न पाइँदैन । तर, जिल्ला समन्वय समिति काठमाडौंले काठमाडौं महानगरपालिका–३२ को वडा कार्यालयअघि सडकमै बालुवा प्रशोधन उद्योग सञ्चालन गर्ने अनुमति दिएको छ ।

किनारमा उद्योग हुँदा सडक अस्तव्यस्त बनेको छ । सर्वसाधारण यात्रुसमेत सहजरूपमा आउजाउ गर्न सक्ने अवस्था छैन । नियमविपरीत बालुवा उद्योग सञ्चालन गर्ने अनुमति दिँदा बसोबासमा समेत प्रतिकूल असर परेको स्थानीय बताउँछन् ।

वडा कार्यालयलाई पनि सास्ती

पेप्सीकोला मनहरा पुल पेप्सीकोला चोक हुँदै जडिबुटीसम्मको सडकका कारण वडा कार्यालयसमेत हैरान भएको छ । निरन्तर स्थानीयको गुनासो आउन थालेपछि वडाका जनप्रतिनिधिलाई निकास खोज्न हम्मे परेको छ । गुनासो अनुसार अनुगमन गर्न जाने क्रममा ठूलै दबाब झेल्न उनीहरू बाध्य भएका छन् । सरकारी निकायबीच नै समन्वय नहुँदा विकास निर्माणको काम भद्रगोल भएको छ ।

सडकमा पानी हालिन्छ

भत्किनुको अर्को कारण सडक दायाँबायाँ सञ्चालित मोटरसाइकल, गाडीका ग्यारेजबाट निस्किने पानी सिधै सडकमा छोडनु हो । सडकमा पानी खन्याउँदा भत्किन थाल्छ । दैनिक हजारांै गाडी ओहोर–दोहोर गर्दा सानो खाल्डो पनि एक सातामा भयानक हुन्छ । पानी नहाल्न वडाले आग्रह गरे पनि व्यवसायीले बेवास्ता गर्ने गरेका छन् ।

उता सडक विभागले सडक निर्माण गरे पनि व्यवस्थापनमा ध्यान दिएको छैन । भत्किएको सडक मर्मत गरेको अवस्थामा सम्भावित भत्किनबाट रोक्न सकिने उपाय अपनाएको देखिँदैन ।

सडक कि बसपार्क ?

पेप्सीकोला–जडिबुटी सडक खण्ड बसपार्क हो कि सडक छुट्ट्याउन मुश्किल पर्छ । ट्राफिक प्रहरीले बेलबखत सडकमा रोकेर राखिएका सवारी कारबाही गरे पनि यो क्रम रोकिएको छैन । मालबाहक सवारी, ट्रिपर ठूला गाडी सयौंको संख्यामा सडकलाई नै पार्किङ बनाएर राख्ने गरेका छन् । यतिसम्म कि ग्यारेजभित्र बनाउनु पर्ने गाडी पनि सडक किनारामा नै बनाइने गरेका छन् । सडकमै निर्वाध गाडी पार्किङ गर्दा चार लेनको सडकमा समेत ट्राफिक जाम हुने गरेको छ ।

हैरान भइसक्यौं : वडा सदस्य

काठमाडौं महानगरपालिका–३२ का वडा सदस्य राजेन्द्र न्यौपाने सडकमा देखिएको वेथितिले निकै सास्ती दिएको बताउँछन् ।  ‘अस्तव्यस्त अवस्था हटाउन पटक–पटक छलफल गरेका छौं, तर ग्यारेज व्यवसायीले चासो दिएका छैनन,’ उनले भने ।

सडकमा धुलो र हिलो हुनुको मख्य कारण ग्यारेज नै देखिएको छ । यसलाई व्यस्थित गर्न वडाले प्रभावकारी नियम ल्याउने बताउदै न्यौपानेले थपे, ‘हामी अनधिकृतरूपमा निर्माण गरिएका टहरा भत्काएर पनि सडक व्यवस्थित बनाउछौं ।’

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7