विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

विद्युत महसुल बढाउन भारतले राखेको प्रस्ताव नेपालले अस्विकार गर्यो

   असार २३, २०७५        3776        ऊर्जा खबर/काठमाडौं

विद्युत आदान–प्रदान प्रावधानअनुसार २० प्रतिशतसम्म महसुल बढाउन भारतले राखेको प्रस्ताव नेपालले अस्विकार गरेको छ । हाल खरिद गरिरहेको दर नै महँगो भएकाले थप वृद्धिको निर्णय मान्य नहुने भन्दै अस्विकार गरिएको हो ।

भारतको नयाँ दिल्लीमा बिहीबार र शुक्रबार बसेको विद्युत आदानप्रदान समिति (पिइसी) को १२औं बैठकमा नेपाल विद्युत प्राधिकरणले महसुल बढाउन नहुने अडान राखेको छ । बैठकमा भारतले हाल खरिद भइरहेको विद्युत मूल्यमा १५ देखि २० प्रतिशतसम्म बढाउने प्रस्ताव राखेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

‘अहिले खरिद गरिरहेको दर नै महँगो छ, नेपालले एक रुपैयाँ पनि बढाउन नमिल्ने अडान राख्यो,’ उनले शनिबार ऊर्जा खबरसँग भने, ‘दुवै पक्ष आ–आफ्नो अडानमा बसेपछि महसुलको टुंगो लागेन । यसबारे थप छलफल गर्न आगामी ३ महिनाभित्र अर्को बैठक बस्ने निर्णय भएको अधिकारीले बताए ।

प्राधिकरणले भारतका दर्जन विन्दुबाट आयात गर्ने विद्युतको परिमाण र मूल्य तोक्ने पिइसीको ११औं बैठक ६ वर्षपछि २०७४ साउन २४ र २५ गते दिल्लीमा बसेको थियो । समितिको बैठक सन् २०११ मा पहिलो पटक बसेको थियो ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४ सय केभी र टनकपुर १३२ केभी प्रसारण लाइनबाहेकका विन्दुबाट आयात हुने विद्युतको मूल्य हरेक वर्ष साढे ५ प्रतिशत बढी तिर्दै आएको थियो । हरेक वर्ष ५ प्रतिशत बढ्ने प्रावधान गत वर्षको बैठकले हटाएको थियो ।

कुशाहा–कटैया, जोगबनी, गण्डक–रामनगर, नानपारा, सुदूरपश्चिमका लाली, तादी, जौलीजिबी लगायत विन्दुबाट विद्युत आयात हुन्छ । प्राधिकरणले बिहार, उत्तर प्रदेशलगायत नाकाबाट प्रतियुनिट ८.८८ रुपैयाँ (५.५५ भारु) मा विद्युत किन्ने गरेको थियो । सन् २०११ मा बसेको बैठकले कुनै कारणवश बैठक बस्न नसके यसरी किन्ने विद्युतको मूल्य हरेक वर्ष साढे ५ प्रतिशत बढ्ने सर्त राखेको थियो ।

गत वर्षको बैठकले ११ केभीदेखि १३२ केभी प्रसारण लाइनबाट आयात हुने विद्युतको नयाँ मूल्य निर्धारण गरेको थियो । नयाँ मूल्यअनुसार न्यूनतम भारु ५.५५ र अधिकतम भारु ६.४५ निर्धारण भएको थियो ।

प्राधिकरणले विद्युत किन्दा ११ केभीमा प्रतियुनिट १०.३२ रुपैयाँ (भारु ६.४५), ३३ केभीमा प्रतियुनिट ९.६० रुपैयाँ (भारु ६) र १३२ केभीमा प्रतियुनिट ८.८८ रुपैयाँ (भारु ५.५५) तिरिरहेको छ ।

बैठकले कटैया–कुशाहा र रक्सोल–परवानीपुर १३२ केभी नयाँ प्रसारण लाइनबाट आयात हुने विद्युतको मूल्य पनि तोकेको थियो । यी दुई लाइनबाट ५०/५० मेगावाट प्रतियुनिट ८.८८ रुपैयाँ (भारु ५.५५) थियो । १२औं बैठकले यसमा हेरफेर गरेको छैन ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7