advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

सफा टेम्पुका प्रतिपादक ‘शेरचन’

   फागुन २९, २०७३        6213        लक्ष्मण वियोगी

धुम्बाराही– श्री गोरखनाथ मार्ग । एक सय सतासी नम्बर घर । छानामा पशुपति इनर्जी कम्पनी लिमिटेडको साइन बोर्ड थियो । सँगै टाँसिएको थियो– माया खोला हाइड्रो पावर । दोस्रो तलाको भित्री कोठा अघि नै खुला थियो । बाहिरसम्म आएर स्वागत गरे– विजयमान शेरचनले । उनको हार्दिकताका फूल अञ्जुलीभरि लिएर हामी भित्र छिर्यौं ।

घुम्ने कुर्सी छोडेर नजिकै आए र सँगै बसेर गफिन थाले– म त यस्तै हो । आज अलि फुर्सदै छ । हिउँ पोतिएजस्तो कपाल, धमिलो अनुहार, खुम्चिँदै गरेको छालाभित्र अनुभव र विद्वताको भण्डार लुकेजस्तो अभास हुन्थ्यो । हिमालबाट बगेको पानीले प्रकृतिलाई कति सिंचित गर्छ होला ! उनको अनुभवको कुलेसोले पनि मुलुकका केही गरा मजासँग भिजाएको छ । शिरको सेतो कपालले नै पुष्टि गर्याे– मुलुकको आर्थिक विकासमा उनले अनगिन्ती इँटा थपेका छन् ।

टुक्चे गाउँ– मुस्ताङ, धौलागिरि हिमालको छायाले ढाकेको हुन्थ्यो । तल निकै तल कालीगण्डकीको पानीमा नुहाएर उडेको बतासले हुर्काउँदै गरेको चिसो असोज (वि.सं. २००२ असोज ३ गते) मा जन्मेका थिए– विजय । हिउँ खेल्दै स्याउका बुटामुनि लुकामारी खेलेर उनको बाल्यकाल बित्यो । औपचारिक पढाइ स्थानीय स्कुलमै भयो । कति कुरा त विजयलाई प्रकृतिले नै सिकायो ।

उनी ‘फ्ल्यास ब्याक’मा पुग्छन्– मेरी दिदी कालिङपोङ पढ्नुहुन्थ्यो । बुवाले मलाई त्यतै पढाउन लैजानुभयो । तर, कालिङपोङको होस्टेल बस्दा म रोएँ । धेरै रोएँ । अनि बुवा गएर ल्याउनुभयो ।’ फेरि उनले केही समय स्याउका बुटामुनि खेलेर बिताए– हिउँका डल्लाले भविष्यको रेखाचित्र कोरेर ।

विजयका बुवा शंकरमान शेरचन तिब्बतका व्यापारी थिए । ब्यापारकै क्रममा उनी देशको सीमा काटेर धेरै टाढासम्म पुग्थे । ब्यापारले जीवनको रथमात्र गुडाएको थिएन । विश्व बजारमा भरिँदै गएको ज्ञान, प्रविधि र सीपलाई भित्र्याउन सहयोग गरेको थियो । र, त सात दशकअघि नै शंकरमानलाई लाग्यो– जीवनलाई उज्यालो बनाउने दियो शिक्षामात्र हो । अनि उनले कालिङपोङमा टिक्न नसकेको छोरालाई काठमान्डूतिर डोर्याए ।

श्रीमती प्रभा शेरचनका साथ विजय

थकाली समाजमा एउटा प्रचलित परम्परा छ– कुमारयात्रा । बाल्यवस्थाको अन्त्य र किशोरावस्था आदिको सीमा यहीँ तोकिन्छ । विजयको पनि ‘कुमारयात्रा’ चल्यो । यसपछि आठ वर्षको कलिलो उमेरमै उनलाई बुवाले काठमान्डू हिँडाए । आमाको काख र स्याउको बुटामुनि लुकामारी खेल्ने अबोध उमेरमा उनी पढ्न हिँडे– त्यतिबेलाको राजाको गाउँ ।

शंकरमानले छोरालाई काठमान्डू ल्याए । गोदाबरीको सेन्ट जेभियर्स स्कुलमा भर्ना गरे । त्यहीँको छात्रबासमा उनको खाने–बस्ने चाँजोपाँजो मिलाएर फर्के । विजयको थेप्चो नाक, मोटो ज्यान र बाटुलो अनुहार स्कुलको वातावरणमा घुल्न सकेन । हिमाली हावापानीमा खारिएको उनको भौतिक ज्यानले ‘भोटे’को उपमा पायो । उनको चित्त फाट्यो । बुवाले कालिङपोङमा छोडेर आउँदा बरु सायद उनी त्यति दुःखी थिएनन् ।

उनी पढाइमा अब्बल होइनन् । गाउँमा पढ्दा उनी फेल पनि भएका थिए । अब उनलाई ‘भोटे’को दाग मेटाउनु थियो । उनी कस्सिए, यो दाग मेटाउन । पछिल्ला दिन कक्षामा कहिल्यै दोस्रो भएनन् । कहिलेकाहीँ उनलाई लाग्थ्यो– ‘फेल’ भन्ने शब्दले घुरेर हेरे पनि हुने । तर, जिन्दगीमा यो दिन फर्किँदै फर्केन । विस्तारै कक्षाका विद्यार्थी उनका साथी भए । सम्भवतः स्कुलभरि उनी सिनेमाका प्रिय हिरो भए– हिन्दी सिनेमाका नायक देव आनन्दजस्तै । उनले सन् १९६१ मा सोही स्कुलबाट ‘सिनियर क्याब्रिज (माध्यमिक तह)’ पास गरे ।

समय पानीझैँ बगिरह्यो । त्यही बगाइमा काठमान्डू चिप्लिरह्यो । विजयले समय थुनेर राख्न सक्थेनन् । उनी पनि समयको सुइसँगै घुमिरहे– घन्टाघर बनेर । मध्यमिकपछि उनको उच्च शिक्षा सुरु भयो– पब्लिक साइन्स कलेज (अहिलेको अमृत साइन्स कलेज) मा । स्कुलमा जस्तै कलेजमा पनि पढाइमा उनलाई उछिन्ने कोही भएनन् । पढाइको बायुपंखी घोडा समातेर उनी कुहिरहे । यही कलेजबाट सन् १९६४ मा उनले उत्कृष्ट अंक ल्याएर आइएस्सी पास गरे ।

उनमा शिक्षाको भोक मरेको थिएन । विजय ज्ञान आर्जनमात्र गर्न चाहदैनथे । पिउन चाहन्थे । जुन उनको नसानसामा फिँजियोस् । यही क्रममा रुसमा उच्च शिक्षा पढ्न उनले छात्रवृति पाए । भविष्यको योजना र सपनाको बाकस बोकेर उनी रुस उडे । क्षितिजमा बलेको शिक्षाको दियो भेट्टाउन उनीजस्तै १५ जना नेपाली विद्यार्थी सँगै थिए । जहाज चढ्दा उनले सोचे– म फर्केर देशमै काम गर्छु ।

विजय रुस उड्ने बेला सेन्ट जेभियर्स स्कुलका शिक्षकले रोक्न खोजेका थिए । त्यतिबेला स्कुलमा क्याथोलिक धर्म मान्नेको बाहुल्यता थियो । क्याथोलिक स्कुलमा पढेर कम्प्युनिष्टको सम्राज्य रुस नजान धेरैले सम्झाए । विजय पछाडि फर्केनन् । ती पुराना सम्झनाका आँखिझ्याल उनले बिर्सेका छैनन् । ‘क्याथोलिक’हरूले भनेको मानेको भए आज यो उचाइ प्राप्त हुँदैनथ्यो ।

रुस– कम्युनिष्टहरूको देश । त्यहाँको भाषा र संस्कारमा अभ्यस्त हुन सुरुका ६ महिना रसियन भाषा पढ्यो, उनको समूहले । त्यसपछि मात्र औपचारिक शिक्षाले गति लियो । बस्न, खान र रमाउन कुनै समस्या थिएन । आकाशमा निष्फिक्री उड्ने चरोजस्तै उड्दै गए, पढाइको लठ्ठाइमा बेरिएर । ‘मस्को अटो मोबाइल एन्ड हाइवे इन्स्टिच्युट’ बाट उनले एमएस्सी (मेकानिकल इन्जिनियरिङ) सम्म अध्ययन गरे ।

रुसमा उनले ६ वर्ष बिताए । उतै बसेर आधुनिक जीवनशैली अँगाल्ने सोच नबनेको होइन । तर, जाने बेलै उनको अठोट थियो– फर्केर देशमै काम गर्छु । यही योजना सार्थक पार्न सन् १९७० मा उनी फर्के– उच्च शिक्षाले खारिएर ।

सन् १९७० मा नेशनल ट्रेडिङमा प्राविधिकको खाँचो थियो । विजयले पहिलो जागिर त्यहीँ खाए– मेकानिकल इन्जिनियरको रूपमा । उनले तीन वर्ष त्यहाँ काम गरे । एभिएसन म्यानेजर भएर चार वर्ष नेपाल आयल निगममा योगदान पुर्याए । यो उनको दोस्रो जागिर थियो । निगमले दशकौंदेखि तेल भण्डारण गर्दै आएका ट्यांकी उनैले डिजाइन गरेका हुन् ।

तेल बोकेर हुइँकिएका ट्रक बीचबाटोमै रोकेर उनी परिमाण जाँच्थे । विजय कामप्रति सधैं बफादार रहे । उनको एउटै सिद्धान्त थियो– देशलाई ठग्न हुँदैन । उनी आज पनि यही सिद्धान्त मन्त्र मानेर व्यवसाय गरिरहेका छन् । उनको काम गर्ने शैली निगम र त्यहाँका उच्च तहलाई पाच्य भएन । र, चार वर्ष काम गरेर बाहिरिए । झन्डै ७ वर्ष काम गरेपछि उनी सरकारी सेवामा फर्केनन् ।

विजयको एउटा गज्जबको बानी छ । उनी एउटै क्षेत्र र काममा रमाएर बसेनन् । नयाँ सोच र योजना बनाउँदै गए । तिनै योजना कार्यान्वयन गर्न तल्लिन भइरहे । बीचका चार (१९७८–१९८२) वर्ष उनी सिम्याट नामको परामर्श कम्पनीमा आबद्ध भए । यहाँ रहेर नयाँ अध्ययन, अनुसन्धान तथा खोजीमा जुटिरहे ।

स्वीसले त्यतिबेला लामोसाँघु–जिरी सडक बनाउँदै थियो । हरित सडक निर्माण अभियानमा उनी पनि संलग्न भए । स्वीससँग अरनिको राजमार्गमा काम गरे । यो अभियान विस्तार गर्दै उनी भुटानसम्म पुगे । भुटानमा निर्माण हुने ठूला राजमार्ग (ल्याट्रल रोड) निर्माणमा उनको महत्त्वपूर्ण योगदान रह्यो । एउटा काम निश्चित समयसम्म गरेपछि त्यो छोडेर नयाँ समात्नु विजयको विषेशता हो ।

विजय इन्जिनियर हुन् । इन्जिनियरले नयाँ आविष्कार, खोज र अनुसन्धान गरिरहन्छ । उसमा हरेक क्षण नयाँ खोजको भोक जागेको हुन्छ । उनमा पनि यही भोक थियो– समाज र देशमा केही गर्ने । आविष्कारको भोक मेटाउन उनले सन् १९७८ मा ‘नेपाल इलेक्ट्रिक भेइकल इन्ड्रष्ट्रिज’ खोले । डिजेल, पेट्रोलका सवारीले प्रदुषित बन्दै गएको सहरलाई त्यसबाट मुक्त गर्न चाहन्थे, उनी । विद्युतीय ऊर्जाबाट चल्ने ‘सफा टेम्पो’का जन्मदाता बिजय नै हुन् ।

उपत्यकाका सबै ठाउँमा विद्युतीय सवारी चलाउने उनको योजना थियो । आज सहरमा सात सय सफा टेम्पो चल्छन् । विद्युतीय कार कति चल्छन् कति ! त्यसको गन्ती छैन । यो उनकै देन हो । विजय आपैmँ पनि विद्युतीय कार चढ्छन् ।

विजय बढ्दो कार्बन घटाएर स्वच्छ सहर निर्माण गर्न अहोरात्र जुटिरहे । तर, उनको योजना लामो समयसम्म टिक्न सकेन । आधुनिक सवारीका नाममा भित्रिएका माइक्रो बस र कारले सफा टेम्पो तथा विद्युतीय सवारी संख्या बढाउन दिएनन् । तैपनि, पछिल्लो समय त्यसको संख्या विस्तारै बढिरहेको छ । गत वर्ष भारतले सिमानामै पेट्रोलियम रोक्दा सवारी पनि बन्द भए । सफा टेम्पुले मान्छेलाई गन्तव्यसम्म पुर्याएका थिए ।

दुई वर्ष सफा टेम्पो तथा विद्युतीय सवारी प्रवद्र्धनमा लागे, विजय । त्यसपछि भने जलविद्युत विकासमा अग्रसर भएका हुन् । सोलुखुम्बुस्थित ४ सय ८० किलोवाटको सल्लेरी च्याल्सा लघुजलविद्युत उनले निर्माण गरेको पहिलो आयोजना हो । पछिल्लो दशक निरन्तर जलविद्युत विकासमा खटेका उनले ५/५ मेगावाटका दरम खोला र मैलुङ खोला निर्माण गरे । उनकै लगानी र अग्रसरतामा ६.३ मेगावाटको टुंगुन–ठोस्ने खानी खोलाबाट बिजुली बलिसकेको छ । अहिले १४.९ मेगावाटको माया खोला निर्माणमा जाँदैछ ।

यहाँको अब अर्को आयोजना कुन हो ? प्रश्न खस्न नपाउँदै भने– माया खोला मेरो अन्तिम आयोजना हो । यसपछि म गाउँ फर्किन्छु । मेरो गाउँ क्चे, जसले मलाई कुरी बसेको छ । धौलागिरिको छाया र मेरो बालमझेरीलाई बिर्सिन सक्दिनँ, म । जैविक कृषिको उत्थान गर्दै त्यो ठाउँ पर्यटकको उत्कृष्ट गन्तव्य बनाउनु छ ।’

विजय सम्झिन्छन्– मैले जीवनमा काम गरेँ । दुःख गरिनँ ।’ रातभरि घोरिए पनि उनी आफूलाई गाह्रो परेको क्षण सम्झिदैनन् । उनी मुस्ताङ फर्केर सामाजिक चौतारो बनाउन खोज्दैछन्– प्रभा शेरचनलाई सँगै हिँडाएर । थकाली समाजमा मामाकी छोरी बिहे गर्ने चलन छ । प्रभा विजयकी मामाकी छोरी हुन् । उनीसँगको दाम्पत्य यात्राले ४० वसन्त पार गरिसक्यो । टुक्चेका डाँडापाखामा अविछिन्न यात्रा एक साथ गर्न खोजिरहेछ, यो जोडी ।

अचम्म ! समय तरुनो हुँदैछ । तरुनो समयको पयो समातेर युवा सहर झर्दैछन् । सहरबाट अझ ठूलो सहर अनि विदेश उड्दैछन् । अचेल पाखा पखेरा रित्तै बनाएर सिंगो गाउँ सहर बसाइँ सर्दैछ । तर, विजय गाउँ फर्किँदैछन् । उमेर छिप्पिँदै गए पनि कर्म गर्ने तरुनो मन बोकेर हिमाल ताक्दैछन्– जन्मेको माटो उर्वर बनाउन । सहरतिर बसाइँ सरिरहेको अहिलेको पुस्ताले यत्ति बुझिदिए देशमा विकासको उज्यालो बाल्न धेरै वर्ष कुर्नु पर्थेन !

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7