advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

देशले खोजेको एउटा ‘गगन’

   जेठ ०३, २०७४        16614        लक्ष्मण वियाेगी/काठमाडाैं

मान्छेको भीड । भीडको कुनाबाट कोही अनुनय गर्दै थियो– हजुर मेरो कुरा सुनिदिनुस् न ! कुरा सुन्ने एकछिन समय होला !

भीडबाट एक जनाले हकार्यो– आज मन्त्रीज्यूलाई भेट्न गाह्रो छ । भोलि आउनुस् ।

ऊ मैलो लुगामा थियो । लठ्ठी टेक्दै यताउता गर्दै ऊ फेरि बोल्यो– अर्घाखाँचीबाट आएको हजुर, कति दिन बसौं । एक्कैछिन मेरो कुरा सुनिदिनुस् न ! उसको अनुहार ‘पिएर’ लर्बरिएजस्तो पनि सुनिन्थ्यो ।

त्यही भएर हो कि ! उसको अनुहार हेर्न र बोल्न कोही तयार थिएन ।

ऊ सुस्केरा फाल्दै भर्याङ ओर्ल्याे– लौ हजुर ! हजुरहरूको देश । मेरो बोलीको के अर्थ !

गाउँबाट राजधानी आउने यस्ता हजारौं अनुहार सिंहदरबारले चिन्दैन । तिनको पहुँच मन्त्रीसम्म पुग्दैन । तीन/चार तह सुरक्षा घेरा नाघेर कोहीले मन्त्री भेट्न पाउँदैन । मन्त्रीले चाहेर पनि त्यो सम्भव नहुँदो हो ! लागिरह्यो– यो मान्छेको विनम्रता कसैले मन्त्रीसम्म पुर्याइदिए हुन्थ्यो । तर, त्यहाँ वातावरण थिएन । सुरक्षार्थ खटिएका आर्मीले ढोकामा कडा पहरा दिएका थिए ।

तस्बिर : राजेन्द्र तिमल्सिना

मन्त्रालय आउजाउ गर्ने र गफिनेको भीडले स्वास्थ्य मन्त्रालय साँझ साँढे ५ बजेसम्म बाफिएकै थियो । मान्छेहरू डफ्फा बनाएर आ–आफ्ना योजना र स्वार्थका गफ चुट्दै थिए । त्यहाँ मन्त्रीको लोकप्रियता र आलोचना मिसिएको थियो ।

स्वास्थ्य मन्त्री गगन थापासँग भेट्न यसपाली लामो कसरत गर्नुपर्यो । महिनौंको प्रयास । दर्जनौं फोन र त्यति नै एसएमएस । मेरो निरन्तर आग्रहपछि एक साताअघि उनी आफैँले अपरान्ह ४ बजे भेट्ने समय तोकेका थिए । तर, ६ बज्नै लाग्दा पनि भेट्ने सम्भावना न्यून थियो ।

मन्त्रीका प्रमुख सल्लाहकार प्रताप पौडेल टुप्लुक्क पुगे । उनकै सहयोगमा भित्री कोठामा प्रवेश पाइयो । त्यहाँ करिब १५ मिनेट कुरेपछि बल्ल उनको कोठामा छिरियो । उनले सुरुमै गुनासो पोखे– हेर न मान्छेले घेरेर कामै गर्न पाइँदैन । सरी है ! धेरै कुर्नुपर्यो । उनको विनयशीलता अघि मेरो झन्डै २ घन्टा कुराइले हार मान्यो ।

संसदीय समिति र मन्त्रालय

गगन देशले मागेको एउटा राजनीतिक योद्धा हो । झन्डै साढे दुई वर्ष कृषि तथा जलस्रोत समितिको जिम्मेवारी सम्हालेका उनले पहिलो पटक मन्त्रालय हाँक्दै थिए । समितिमा जलस्रोत, ऊर्जा र कृषिका दर्जनौं नीति निर्माणमा अमूल्य समय खर्चे । उनको योगदानले विकास निर्माणमा छुट्टै दबाब सिर्जना गरेको थियो । मन्त्रालयको जिम्मेवारी पाएर बाहिरिँदा सिंगो समिति स्तब्ध थियो, उनको कदरमा ।

गगनले जब मन्त्रालय सम्हाले स्वास्थ्यमा सुधार देखिँदै गयो । देशका दुर्गम गाउँ कुनैबेला ‘सिटामोल’ नपाएर आक्रान्त थियो । जीवनजल अभावमा हजारौंको ज्यान गएका खबर नयाँ थिएनन् । आज त्यो अवस्था छैन ।

तस्बिर : राजेन्द्र तिमल्सिना

उनी भन्दै थिए– स्वास्थ्य क्षेत्रमा अभूतपूर्व काम भएको रहेछ । थुप्रै आधार बनेछन् । तिनलाई जोड्दामात्र नतीजा आउँदो रहेछ । तर, सुशासन तथा व्यवस्थापन बर्बाद रहेछ । भताभुंग लथालिंग अवस्था देख्दा म सुरुमा आत्तिएँ ।

स्वास्थ्यमात्र होइन सिंगो देश लथालिंग छ । प्वालै–प्वाल छन् । एउटा टाल्यो । अर्को देखिन्छ । अर्को टाल्यो । फेरि अर्को उत्पन्न हुन्छ । बेथितिका टालेरै नसकिने प्वालले देश तन्नम हुँदैछ । यो बेला मन्त्रालय सम्हाल्न पुगेका गगन रनभुल्ल पर्नु स्वभाविकै हो ।

‘कहाँबाट टाल्ने ? चिन्ता थियो । प्रयास गरेँ । धेरै ठाउँ सुधारियो । मेरो अहंकार वा दाबी होइन । अब एक वर्ष निरन्तर काम गर्न पाए देशको स्वास्थ्य क्षेत्र दक्षिण एसियामै उत्कृष्ट बनाउन सक्छु ।’

गगनले यसो भनिरहँदा हरेकमा उत्सुकता जाग्छ । के त्यस्तो चमत्कार भयो ? पछिल्ला ८/९ महिनामा स्वास्थ्य क्षेत्रको काँचुली फेरिएको छ, सामान्य मान्छेले पनि अनुभूति गर्ने गरी । हरेक प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर पुगेका छन् । डाक्टर र सर्वसाधारणलाई सेवाले जोडेको छ । आवश्यक ठाउँमा चाहिने औषधी पुगेको छ ।

कुनै जिल्लामा औषधी चाहिए २४ घन्टामा पुग्छ । यस्ता सयौं होइन हजारौं काम भएका छन् । हेर्दा सामान्य लाग्छ । तर, यो चमत्कारै हो । चमत्कार देखिनुपर्ने होइन । यी नियमित काम हुन् । नियमित काम गर्दा मुहार फेरिँदोरहेछ । योजनाबद्ध कामले मुलुक कहाँ पुग्थ्यो ? हिजोकाले गरेनन् । नगर्नेलाई गाली गर्ने प्रवृत्तिले झनै गरेन । परिणाम देश अविकासमा भासिँदै गयो । घुस, कमिसन र स्वार्थको कुचक्रले थिलोथिलो भयो । यी कु–कामको जरो उखेल्ने भोकले रन्थनिँदै छन्, गगन ।

तस्बिर : राजेन्द्र तिमल्सिना

भएका काम संस्थागत गर्न खटेका छन्, उनी । ‘स्वास्थ्य बीमा ऐन’ संसदबाट पारित हुँदैछ । । देशमा पहिलो पटक ‘स्वास्थ्य ऐन’को मस्यौदा बन्यो । त्यो संसद पुगेको छ । भोलिका मन्त्रीले गर्नुपर्ने कामको आधार बनेको छ । सम्भावित आर्थिक अनियमितताका प्वाल टालिँदैछन् ।

नीति ठीक बनाए परिवर्तन हुन्छ । यो गगनको विश्वास हो । उनले ७ वर्षे ‘एकीकृत स्वास्थ्य विकास परियोजना’ अघि सारेका छन् । यो १ खर्ब ४० अर्ब रुपैयाँ बजेटको योजना हो । योजनाअनुसार काम हुँदा गाउँदेखि सहरसम्म स्वास्थ्य क्षेत्रमा कायापलट हुन्छ । आवश्यक जनशक्ति तयार हुन्छ । तर, कार्यान्वयनको चुनौती भने बाँकी नै छ ।

परियोजनाको खाकासँग गगनले धेरै रात साटे । कहिले आधा रातसम्म काम गरे । यो मेहेनतलाई कसैले काम गन्दैन । तैपनि, आउने मन्त्रीले त्यसलाई निरन्तरता दिने थिति बस्दै छ । परियोजना पूरा भएपछि सम्पूर्ण नागरिकले अहिलेभन्दा ४० प्रतिशत सस्तोमा औषधी पाउँनेछन् ।

‘मैले लहडमा मात्र काम गरेको छैन । कानुन, निर्देशिका जस्ता बलिया आधार तयार गरेको छु । भोलि कसैले रोक्न वा बदल्न सक्दैन ।’ गगनकै पहलमा स्वास्थ्यका धेरै क्षेत्रमा निशुल्क उपचार सुरु भएको छ ।

घुस, कमिसन र भ्रष्टाचारले जेलिएको क्षेत्रमा आशाका किरण देखिएका छन् । अहिले स्वस्थ्य क्षेत्र गैरजिम्मेवार छैन । यो सुधार उनी एक्लैको भने होइन । प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थ मन्त्री कृष्णबहादुर महरा, मुख्य सचिव तथा सम्बन्धित निकायले उतिकै मद्दत गरे । जुझारु युवाको जोश देखेर पनि हरेक निकायले सघाए । यही सहयोगले काम गर्ने हौसला बढ्दै गयो ।

परिवार, शिक्षा र समय

सगरमाथा र सोलुखुम्बु पर्यायावाची शब्दजस्तै हुन् । सगरमाथाको फेद । त्यहाँबाट तल अझै तल बटारिँदै गएको हिमाली भूगोलले त्यहाँको अस्तित्व जोगाएकै छ । गगनको पुर्ख्याैली घर त्यही हिमालको फेदी (सल्यान) हो । सामान्य परिवारका महेन्द्र थापा (बुवा) इन्जिनियर बन्ने सपना बोकेर वि.सं.२०२८ सालतिर काठमान्डू झरे ।

संघर्षको तराजुमा तौलहीन भए पनि महेन्द्रले काठमाडौं छोडेनन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङ पास गरे । तत्कालीन विद्युत विभागमा जागिरे भए । विद्युत विभाग र विद्युत कर्पोरेशन गाभियो । र, ‘नेपाल विद्युत प्राधिकरण बन्यो । पछि उनी सुनकोसी विद्युतकेन्द्रको हाकिम भए ।
..

तस्बिर साैजन्य : अन्जना केसीकाे फेसबुक

महेन्द्रले काठमान्डू (रातोपुल) मा घरबास उभ्याएका थिए । परिवार सोलु छोडेर यही घरमा बस्न थाल्यो ।

वि.सं. २०३३ साल साउनका झरिला दिन । नजिकै रुद्रमति सुसाइरहन्थ्यो । कहिले त रुद्रमतिले रौद्र रूप देखाउँथ्यो । र, किनारमा कोलाहल मच्चाउँथ्यो । यही कोलाहल चिर्दै जन्मेका हुन्, गगन । बुवा इन्जिनियर, घरमा शैक्षिक वातावरण थियो । यही वातावरणमा हुर्किए ।

महेन्द्रको परिवार सुनकोसी विद्युतकेन्द्रमै बस्थ्यो । रातोपुल जन्मे पनि गगनको प्रारम्भिक बाल्यावस्था सिन्धुपाल्चोकमा बित्यो । विद्युतकेन्द्र नजिक मार्टियस र लिटिल फ्लावर स्कुल थिए । गगनले कखरा त्यतै सिके । ढुंगामुढा पछार्दै बग्ने सुनकोसीले उनको अबोध बाल मनलाई तान्थ्यो । र, चिसो पानीमा मिसिएको बतासले बालापन चोर्थ्याे ।

पछि बुवाको काठमान्डू सरुवा भयो । उनी पनि सारिए । काठमान्डू सिद्धार्थ बनस्थलीमा दुई कक्षादेखि पढाइ सुरु भयो । गगनको घर शिक्षाको मन्दिरै थियो, अध्यनशीलहरूको ‘चेम्बर’ । गुरुकुलमा बटुकले रुद्री, चण्डी र ज्ञानका रिचा उच्चारण गरेझैँ घरमा हरदिन वौद्धिक साधना हुन्थ्यो ।

बाल्यावस्थामै डाक्टर वा इन्जिनियर बन्नुपर्छ भन्ने छाप थियो । यही सिके । मनले पनि यस्तै सोच्थ्यो । दिमागमा अरू कुरा थिएन । स्कुले दिनमा फुटबलर बन्ने धोको थियो । तर, स्कुल र घरको वातावरणले इन्जिनियर वा डाक्टरमात्र ठूलो मान्छे ठान्थ्यो ।

बुवा कडा स्वभावका थिए । आज्ञाविपरित काम गर्दा गगनले धुलाइ खान्थे । हक्की बुवा र आमा (रामेश्वरी थापा) को शालीन स्वभावले घर मन्दिरजस्तै थियो । माया, स्नेह, आत्मियता र रौषबीच सन्तुलन थियो । उनको परिवारमात्र होइन, सोलुबाट राजधानी झरेर पढ्नेलाई समेत यो घर नैतिकताको पाठशाला भयो ।

असफल इन्जिनियर

गगनले २०४८ सालमा बनस्थलीबाट एसएलसी पास गरे । दिमागमा इन्जिनियरको चित्र थियो । त्यही चित्र गाढा बनाउन अमृत साइन्स क्याम्पस लैनचौर पुगे । आइएस्सी पढाइले उनको मन बाँधिएन । त्यहाँ उनी एक वर्षभन्दा बढी पढ्न सकेनन् ।

अमृत क्याम्पसको पढाइ बीचमै छोडे । गगन पुल्चोक इन्जिनियर क्याम्पस पुगे, ओभरसियर पढ्न । ओभरसियर पढाइमा पनि उनी दुई महिनाभन्दा बढी अडिएनन् । त्यहाँबाट फर्के । त्रि–चन्द्र क्याम्पस आएर फेरि आइएस्सी भर्ना भए । गगनले त्यहीँबाट रसायन विज्ञानमा बीएस्सी गरे । र, समाजशास्त्रमा स्नातकोत्तर ।

इन्जिनियरिङ पढेर ठूलो मान्छे हुने सपना उनको दिमागबाट मेटिँदै गयो । गगनको मन त्यता जाँदै गएन । किनकि हृदयमा राजनीति चस्को पस्दै थियो ।

खेल र खेलाडी

गगनलाई कुनै दिन लाग्थ्यो, जीवन फुटबल हो । फुटबल जीवन । नसामा रगतको साटो फुटबल बगेको थियो । रातोपुल, ज्ञानेश्वरमा अहलेजस्तो घर थिएनन् । खेतका फाँट फिँजारिँदै गौचरन । त्यहाँबाट निकै पर कपनको काँठसम्म फैलिएका थिए ।

फाँटमा आफैँ बनेका खेल–मैदान थिए । त्यहाँ गगनहरू खुब खेल्थे । यसरी नै हुर्क्याे, उनको पुस्ता । स्कुले दिनमा उनले धेरै खेले । गोल हानेको संख्या सम्झदैनन् । उनी ‘सोसियल योङ स्पाेर्टस क्लब’बाट खेल्थे । यो क्लबबाट रंगशालामा खेल्दा उनले चमत्कारिक गोल गरे ।

राष्ट्रिय टोलीका कुमार थापा र उनले हानेको १/१ गोल समाचार भयो । उनलाई संसार जितेजस्तो भयो । पछिसम्म पत्रिकाको कटिङ जोगाएर राखेका थिए । तर, अहिले उनीसँग छैन । उनलाई कहिलेकाहीँ त्यो पत्रिका, छापिएको फोटो र खेलाडी मनको औधी माया लाग्छ ।

समयान्तरमा रातोपुल, ज्ञानेश्वर र गौचरन साँघुरियो । हरियो दुबो मासिँदै खेतका फाँट सकिँदै गए । खेतमा अन्नको साटो घर फल्दै गए । अनि उनको फुटबल मोह पनि मर्दै गयो । र, शून्यमै बिलायो ।

क्याम्पसतिर गगन बास्केटबल खेल्न थाले । त्रि–चन्द्रमा ‘बास्केटबल क्याप्टेन’ भए । धेरै क्याम्पसस्तरीय प्रतियोगिता खेले । जब पढाइ सकियो । राजनीतिले तान्दै लग्यो । उनले खेल्न छोडे । औपचारिक पढाइको बिट मारियो । इन्जिनियर बन्ने उनको सपनाले लय समातेन । गगन हानिए, राजनीतिको मैदानतिर ।

राजनीति र काँग्रेस

सोलुले प्रजातन्त्र प्राप्तिमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । गगनको परिवारले पनि प्रजातन्त्रकै बाटो पछ्याएको हो । उनका हजुरबुवा नेपाली सेनामा थिए । सेनाभित्रैबाट उनले सोलुमा प्रजातन्त्रको बीऊ रोपे । उनको सिंगो परिवार नेपाली काँग्रेसको आन्दोलनमा समाहित थियो ।

तस्बिर : राजेन्द्र तिमल्सिना

गगनलाई परिवार काँग्रेस भन्ने थाहा थियो । सबै पञ्चायत फाल्न आतुर थिए । बनस्थलीमा ९ कक्षा पढ्दा उनी पनि २०४६ सालको पञ्चायतविरोधी आन्दोलनमा हिँडे । त्यतिबेला पुलिसले हानेको ‘अश्रु ग्यास’ खाएर बेहोस भएका थिए । थोरै रमाइलो, थोरै बुझाइ र बाँकी पारिवारिक वातावरणले उनी आन्दोलनको आगोमा धकेलिए ।

बुवाको हौसलाबाट गगन पञ्चायतको संविधान जलाउने, च्यात्ने काममा अग्रपंक्तिमा उभिन्थे । एसएलसी दिँदासम्म टोलमा पार्टीका कार्यक्रममा हिँड्न थाले । यी काममा बुवाले कहिल्यै रोकेनन् । गगन सम्झन्छन्– बुवाको एउटै भनाइ थियो, पढाइ नबिगार । यी गतिविधि मस्तिष्कले थाहा नपाएरै हुँदै गए ।

गगनले त्रि–चन्द्र कलेजबाट वि.सं. २०५१ सालमा आइएस्सी पास गरे । त्यतिबेलै स्वतन्त्र विद्यार्थी युनियन सदस्य थिए । आइएस्सीमा राम्रो अंक आएकाले घरमा इन्जिनियरिङ पढ्ने दबाब थियो । तर, उनमा अमेरिका जाने भूत चढेको थियो । अमेरिका उड्न खोज्दै थिए । धेरै दिनसम्म अमेरिका जाने र नेपालमै पढ्ने बहस भयो ।

उता क्याम्पसमा स्ववियु चुनाव आयो । गगनले चालै पाएनन्, चुनावले घेरिसकेछ । अमेरिका जाने भन्दा–भन्दै सचिव उठे र उत्कृष्ट मतले जिते । लाग्यो– अब अमेरिका जान्नँ । म राजनीति गर्छु । रुचीको क्षेत्र यही रहेछ । आत्मज्ञान पाएझैँ भयो ।

स्ववियु सचिव हुँदै महासचिव भए । सभापति जिते । विद्यार्थी राजनीतिको समुन्द्रमा हाम फाले । र, नेपाल विद्यार्थी संघको महामन्त्री चुनिए । नेविसंघको चितवन महाधिवेशनपछि उनले विद्यार्थी राजनीति छोडे । र, पार्टीको क्षेत्रीय सभापतिको जिम्मेवारी लिए । नेविसंघको ठूलो नेता भएर क्षेत्रीय सभापतिमा खुम्चिने भन्दै धेरैले आलोचना गरे । तर, उनले आलोचनाको वास्ता गरेनन् ।

गगन भन्छन्– मैले समयमै सही निर्णय गरेँ । पूर्वविद्यार्थी नेता भनेर अल्मलिनु हुँदैन भन्ने लाग्यो । ३० वर्षको उमेरपछि विद्यार्थी राजनीति गर्नु उचित थिएन । त्यो जिम्मेवारी त्यहीँ बिसाएर उनी होमिए केन्द्रीय राजनीतिमा । सोचे– तल्लो तहमा काम गरेमात्र संगठन राम्रो हुन्छ ।

नेता र मन

आफू निकै उत्तेजक (इमोसनल) नेता मान्छन्, गगन । उनले धेरै निर्णय उत्तेजनामै गरेका छन् । ‘नाफा–घाटाको आँखाले हेर्दा गलत ठहरिएला । तर, ब्रम्हले देखेको गर्छु । म यसरी नै अघि बढ्छु ।’ उनी बोलिरहँदा मुठ्ठी कस्सिएको थियो, राजनीतिक निष्ठा सम्झेर ।

राजनीति छुट्टै क्षेत्र हो । व्यक्तिगत जीवनभन्दा फरक हुनुपर्छ भन्ने लाग्दैन । गगनले यसरी जीवन जिउने अभ्यास पनि गरेनन् । उनलाई जे कुराले निर्देश गर्छ । त्यही गर्दै जान्छन् । धेरैले लोकप्रिय हुन खोजेको आरोप लगाउँछन् । उनलाई यसको पनि मतलव छैन ।

‘लोकप्रिय हुन खोज्यो भन्छन् । राजनीति गर्नेमा लोकप्रिय हुने भोक भएन भने के गर्ने ?’

लोकप्रियको परिभाषा के हो ? उनले कहिल्यै खोजेनन् । यसमा घोत्लिएर समय बर्बाद गरेनन् । यत्ति हो, उनमा लोकप्रिय हुने भोक छ । उनलाई घर, गाडी, जग्गा, सम्पत्ति जोड्नु छैन । परिवारले त्यो अपेक्षा राखेको पनि छैन । आलिसान महल र बिलासी जीवनको कहिल्यै कल्पना गरेनन् । गगनमा कुशल राजनीतिज्ञ हुनुभन्दा अर्को महत्त्वाकांक्षा छैन ।

बाटो हिँड्दा कोही फोटो खिच्न आउँछ । बुवाआमा उमेरकाले गाला सुम्सुम्याउँछन् । र, तैंले गर्नुपर्छ भन्छन् । गगन यसैमा खुसी छन् । उनी भावुक देखिए– देश डुल्दा हजारौं लाखौं हातले मेरो अनुहार मुसारेका छन् । म तिनको स्नेह र मायालाई सम्पत्तिमा तुलना गर्न सक्दिनँ । म तिनको सपना पूरा गर्न तयार रहन्छु । जिन्दगीको आनन्द यही हो । यसले ऊर्जा दिन्छ । र, काम गर्ने जोश बढ्छ ।

प्रेम र जीवन

२०६२/६३ को जन–आन्दोलन चर्केको थियो । गगन हरदिन आन्दोलनमै हुन्थे । एक साँझ उनको गोजी फोनमा अनौठो सन्देश आयो । उनलाई सन्देश गम्भीर लाग्यो । धेरै सोचे, घोरिए । र, नचाहेरै त्यसतर्फ तानिए । एउटै सन्देशले उनमा छटपटी ल्यायो ।

यात्रा राजनीतिको थियो । यात्रामा उनका सयौं प्रशंसक भए । कतिलाई उनको वाककलाको बल्छीले तान्यो । गाउँदेखि सहरसम्म धेरै युवती गगनसँग जोडिने कल्पना गर्थे । उनी कसैप्रति आशक्त भएनन् । तर, त्यो सन्देशले उनको दिमाग उल्टो घुमाइदियो ।

तस्बिर साैजन्य : अन्जना केसीकाे फेसबुकबाट

ती सन्देशवाहक थिइन्– अन्जना केसी, काँग्रेस नेता अर्जुननरसिंह केसीकी छोरी । अन्जनाले गगनलाई सन्देश पठाएकी थिइनन् । त्यो अमेरिका बस्ने बहिनीका लागि थियो । झुक्किएर गगनको गोजी फोनतिर बत्तिएछ । त्यही सन्देशले दुवैलाई नजिक ल्यायो । उनीहरू साथी भए । अनि सम्बन्ध प्रेममा बदलियो ।

प्रेमयात्रा तीन वर्ष चल्यो । अन्जना अमेरिका थिइन् । बिहे गर्ने योजना बन्यो । अनि उनी अमेरिकाबाट फर्किन । यो जोडीले २०६५ बैशाख १५ गते दाम्पत्य जीवन सुरु गर्यो ।

गगन र अन्जनाका दुई छोरी (गार्गी र जियाना) छन् । अन्जनाको एउटै गुनासो हुन्छ– समय दिनुपर्यो । उनको गगनसँग अरू अपेक्षा छैन । राजनीति र शक्तिसँग सरोकार छैन, लालचा पनि । पेशाले डाक्टर उनैले घर, परिवार र छोरीहरू सम्हालेकी छन् ।

बुवाआमा पनि छोराले सम्पत्ति जोडोस् भन्ने ठान्दैनन् । उनीहरूलाई पनि समयकै भोक छ । गगन यहीँनिर चुकेका छन् । राजनीतिककर्मी हुन् । परिवारले भनेझैँ हुँदैन । उनलाई समय जहिल्यै अभाव हुन्छ । किन्न मिल्ने भए किनेर थुपार्थे होलान् । भन्छन्– समय दिन सक्दो प्रयास गर्छु । गरेको छु ।

थोरै समय उब्रियो कि हुर्रिएर घर पुग्छन् । सानी छोरीसँग खेल्छन् । कथा सुनाउँछन् । अनि काममा फर्किन्छन् । मन्त्री भएपछि उनले यसरी नै व्यस्तताको भीड छिचोलेर छोरीहरूसँग माया बाँड्ने गरेका छन् । ‘नाइट सो’ भए पनि अन्जनालाई फिल्म हलतिर डोर्याउँछन् । यद्यपि, व्यस्तताको घनचक्करले छोड्दैन ।

‘आज बिदा छ । बाबा दिनभर सँगै हिँड्नुपर्छ ।’ छोरीको याे बोलीले कहिलेकाहीँ उनको चित्त फाट्छ । तर, सम्भव हुँदैन । नचाहेरै गगन छोरीको आग्रह पन्छाउन बाध्य हुन्छन् । यसो भन्दैमा उनी गैरजिम्मेवार बुवा होइनन् । छोरीहरूका हरेक क्षण रमाइलो बनाउने प्रयास गरेकै हुन्छन् ।

जिम्मेवार नेता

गगन पुरानो राजनीतिक दलको सदस्य हुन् । पार्टीको सदस्य भएकाले नियमले मान्छे बाँधिन्छ । मान्छेको अपेक्षा पार्टीभन्दा बाहिर हुन सक्छ– पार्टीबाहिर आएर काम गरोस् । यद्यपि, उनले पार्टीको नियम लत्याउन सक्दैनन । सर्वसाधारणको चाहना र पार्टीको नियमभित्र बाँधिएरै उनले धेरै काम गरेका छन् ।

दाबी गर्छन्– मैले देश र नागरिकलाई हानी हुने काम गरेको छैन । जिम्मेवारी पूरा गर्ने प्रयासमा छु । मेरा पनि सीमितता हुन्छन् । व्यक्तिको प्रयासले मात्र कतिपय काम हुँदैनन् ।

गगनले निश्चित समयपछि राजनीतिबाट सन्यास लिँदैछन् । मान्छेले सस्तो लोकप्रियता ठान्छन् । उनी प्रस्ट छन्– अबको १५ वर्ष २०८५ पछि मेरो राजनीतिक जीवन सकिन्छ ।

त्यतिबेला दीगो विकासको चरण सकिन्छ । मुलुक नयाँ अध्यायमा प्रवेश गर्छ । देश थाइल्यान्डजस्तो मध्यम आयमुलुक बन्छ, कि कन्तविजोग अवस्थामै रहन्छ । यो उनले देखेको देशको भोलिको तस्बिर हो ।

त्यतिबेला दीगो विकासको चरण सकिन्छ । मुलुक नयाँ अध्यायमा प्रवेश गर्छ । देश थाइल्यान्डजस्तो मध्यम आयमुलुक बन्छ, कि कन्तविजोग अवस्थामै रहन्छ । यो उनले देखेको देशको भोलिको तस्बिर हो ।

उनको तर्क छ– मध्यम आयमुलक भए हामीजस्ता नेताको काम छैन । उच्च आर्थिक विकासमा लैजाने फरक विचार र सोच चाहिन्छ । अर्को १५ वर्षसम्म मैले मौका पाइरहने र देश अहिलेकै ठाउँमा रह्यो भने हाम्रो के अर्थ ? हामी अभिसाप हुन्छौं ।

देशमा वौद्धिकताले तिखारिएको युवा जमात आउनेछ । आउनुपर्छ ।

गगन स्वीकार्छन्– हाम्रो पुस्ता ढुंगा हान्दै पढेर सिकेर आएको हो । अबको पुस्ता देशलाई विश्व विकासको दाँजोमा लैजाने आउनेछ । तर, नयाँ पुस्ताले पनि पुरानै खोल ओढेको देखिन्छ । तिमी खराब हामी ठिक भन्दै आएको नयाँ पुस्तामा उनले परिवर्तन देख्दैनन् । किनकि सोच पुरानै छ ।

हिजो राजा खराब भनियो । फालियो । काँग्रेसले एमाले, एमालेले काँग्रेस खराब भन्यो । एकले अर्को गलत देख्दै आयो । गगन भन्छन्– योभन्दा फरक आउन सक्नुपर्यो । नयाँ भन्नेले त्यस्तै व्यवहार र आचरण देखाउनुपर्छ ।

भविष्य र नेतृत्व

फ्रान्समा ३९ वर्षीय इमानुयल म्याक्रो राष्ट्रपति चुनिए । यो सिंगो विश्वका लागि आश्चार्यको विषय भयो । यता देशमा २० वर्षपछि स्थानीय निकायको निर्वाचन भयो । परिणाम आउँदैछ । उमेदवारी दिएका युवा अनुहार चामलमा बियाँजस्तै छन् । अधिकांश ५० वर्ष नाघेका अनुहार विकासे योजनाको भारी बोकेर उक्लिँदै छन् ।

उमेरजस्तै माक्किएका, खिया लागेका र धमिरा लागेका योजना छन् । ती देश, युग र समयसापेक्ष छैनन् । जिन्दगीको उकालो उक्लिँदा–उक्लिँदै थाकेर लखतरान परेकाहरू चौतारामा सुस्ताउँदैछन् । उनीहरूमा बाँकी उकालो उक्लने हिम्मत छैन । लाग्छ– तिनको विकासप्रतिको प्रतिबद्धता ‘सिसिफस प्रयास’ मात्र हो ।

सपना देखाउने र चमत्कारको कल्पना गर्ने बानी छ । त्यही अभ्यास भयो र हुँदैछ । काम गर्नेले सपना बाँड्नु पर्दैन । संस्कार, पद्दति र सुशासनमा बसेर काम गर्दा सयौं गगनहरू जन्मिन्छन् । एउटा गगनको कामलाई निरन्तरता दिने आँट, सहास र इच्छाशक्ति चाहिन्छ । जिम्मेवारी र जवाफदेहिताको खाँचो छ ।

‘पुरानो विरासतको मौलो कुरेर परिवर्तनको बिहानी देख्न सकिन्न ।’ यो गगनको राजनीतिक निष्ठा हो ।

संस्था र सुशासन स्थापित गर्नुपर्छ । चाहिने औजार बलिया हुनुपर्छ । बल्ल लक्षित नतीजा देखिन्छ । गगनमा कर्मचारीतन्त्रमा काम गर्ने भोक जगाउने इच्छा छ । त्यही भोकले देश बन्छ भन्नेमा उनी ढुक्क छन् ।

तर, काम गर्दा अख्तियारले डाम्छ । नगर्दा हाइसन्चो !

माक्किएको संस्कार उखेलेर फाल्न आतुर देखिन्छन्, उनी । कामकै आधारमा पुरस्कार र दण्डको थिति बसाल्ने मोह छ । भावी प्रधानमन्त्रीको रूपमा हेरिएका गगनले कति गर्लान् ! भविष्यले प्रमाणित गर्ला । तर, पुस्तौनी विरासतको पर्दा च्यातेर सुशासनको रामराज्य चलाउन सके विकासको घाम झुल्किन बेर लाग्दैन !

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7