advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

पूर्व–पश्चिम रेलमार्ग : सम्भाव्यता अध्ययन पूरा

   जेठ २१, २०७४        732        हिमा वि.क./काठमाडाैं

मुलुकमा रेल यातायात सञ्चालन गर्न सरकारले घोषणा गरेका विभिन्न तीनओटा रेलमार्ग तथा खण्ड/लिङ्क निर्माणका कार्यहरू अघि बढेका छन् । राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका पूर्व–पश्चिम रेलमार्ग, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग र हाल सञ्चालनमा रहेको जयनगर–जनकपुर–बिजुलपुरा–बर्दिवासको बाँकी निर्माणाधीन रेलमार्ग निर्माणका लागि आवश्यक तयारीहरू तीव्र पारिएको आर्थिक सर्वेक्षण २०७३/७४ मा उल्लेख छ ।

मुलुकमा सञ्चालनमा ल्याउने भनिएका रेलमार्गका अधिकांश खण्ड तथा लिङ्कहरूको निर्माण अवस्था प्रारम्भिक चरणमै रहेको देखिएको छ । मुलुकको यातायात व्यवस्थालाई सहज बनाई मानव संसाधन र पूर्वाधारहरूको विकास गरी पछि परेका क्षेत्र र समुदायको आर्थिक–सामाजिक पक्षलाई सुदृढ एवम् माथि उकास्ने लक्ष्यका साथ सरकारले घोषणा गरेका रेलमार्गमध्ये पूर्व–पश्चिम रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भई अन्य आवश्यक काम सुचारु भएको सर्वेक्षणमा उल्लेख छ ।

  • रेलमार्गका अधिकांश खण्ड/लिङ्कको अवस्था प्रारम्भिक चरणमा
  • रसुवागढीकाठमाडौंपोखरालुम्बिनी रेलमार्गको डीपीआर २ वर्षमा

पछिल्लो समयमा निकै महत्त्व का साथ हेरिएको रेल यातायातलाई कार्यान्वयनमा ल्याउने गरी शुरू गरिएका रेलमार्गमध्ये पूर्व–पश्चिम रेलमार्गको कुल ९ सय ४५ किलोमिटरमध्ये हालसम्म ३ सय ७२ किलोमिटर रेलवे लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । आर्थिक सर्वेक्षणअनुसार रेलमार्गमा पर्ने खण्डमध्ये १ सय ८ किमी खण्डको सिमरा–बर्दिवास, १ सय २७ किमी खण्डको सिमरा–तम्सरिया र ६५ किमी खण्डको तम्सरिया–बुटवलको डीपीआर तयार भइसकेको छ । यस्तै सोही रेलमार्गमा जोडिने लिङ्क रेलमार्गमध्ये सिमरा–वीरगञ्जको २८ किमी र बुटवल–भैरहवा–लुम्बिनीको ४४ किमीको डीपीआर पनि तयार भएको सर्वेक्षणमा उल्लेख छ ।

उक्त रेलमार्गमा पर्ने १ सय ८ किमी सिमरा–बर्दिवास खण्डमध्ये ३० किमी लम्बाइ निर्माणका लागि ठेक्कापट्टाको काम भइरहेको सर्वेक्षणमा उल्लेख गरिएको छ । यस्तै, सर्वेक्षणअनुसार बर्दिवास–लालबन्दीको ३० किमी खण्डमध्ये ९ किमीमा रेल्वे ट्र्याकवेड, कल्भर्ट तथा पुलहरू निर्माणको काम पनि पूरा भइसकेको छ ।

भारत सरकारको सहयोगमा पहिलो चरणमा १८ किमी लामो बथनाहा–कटहरी तथा ६९ किमी लामो जयनगर–जनकपुर–बिजलपुरा–बर्दिवास निर्माणाधीन रेलमार्गको ७० प्रतिशत काम पनि पूरा भएको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणअनुसार २ सय ६२ किलोमिटर लामो बर्दिवास–काँकरभिट्टा खण्ड र इटहरी–विराटनगर लिङ्कको डीपीआर पनि तयार हुने अवस्थामा छन् । ४ सय २१ किमी रहेको बुटवल–गड्डाचौकी खण्डको डीपीआर तयारका लागि परामर्शदाता छनोट कार्य पनि भइरहेको छ । यस्तै १ सय ३५ किमी लामो निजगढ–हेटौंडा–भरतपुर हुँदै नवलपरासी खण्डको सम्भाव्यता अध्ययन भइरहेको छ । चीनसँगको सम्पर्क सेतुका रूपमा हेरिएको रसुवा–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर प्रतिवेदन २ वर्षमा तयार गर्ने गरी काम शुरू भएको छ।

स्राेत ; अार्थिक अभियान

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7