advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

‘बेनीको बजार, जता माया उतै छ नजर’…

   जेठ २३, २०७४        4536        डा. नवराज खतिवडा
डा. नवराज खतिवडा

दिउँसो ३ बजेको उडानबाट पोखरा जानुपर्ने हुँदा मैले धुलिखेलबाट ११ बजेको सटल बस समातेँ । काठमाडाैं विश्वविद्यालयमा प्रवेश गरेदेखि सटल सेवाको अवधारणा मेरो मस्तिष्कमा थियो । केही साथीभाइसँग यसबारे छलफल पनि गरेको थिएँ । केही हप्ताअघि यो राम्रो काम सुरु भएको छ । तर, इमेलमा आएको टिकट भने छाप्न बिर्सेँछु । कोटेश्वर ओर्लेर पसल चाहार्दै हिँडे । इमेलबाट डाउनलोड गरी छाप्ने सुविधा भएका पसल कम छन् । एउटा पसलमा पुगेँ । रातो लुगामा सजिएकी अधबैंँसे साहुनी फेला परिन् ।

‘प्रिन्ट गर्ने सुविधा छ त हजुरकहाँ ?’

‘छैन । अलिबार चलाएर बन्द गरियो ।’

‘किन बन्द गर्नु भो त नि ? वहाँ परदेखि आएँ हजुरकहाँ होला भनेर ।’

‘के गर्नु बूढाबूढी मात्रै छौं । छोराछोरी विदेशमा छन् । हामीलाई कम्प्युटर चलाउन कसले सिकाइदेओस् । मान्छे राखेर साध्य नहुने ।’

‘छोराछोरी विदेशमा’ यो समस्याले नेपालमा विकराल रूप लिँदैछ । सम्भवत: यो हाम्रो पुस्ताले झेल्ने एक मात्र प्रमुख सामाजिक समस्या होला । म चिन्तित भएँ ।

तर, मैले अर्को पसलबारे सोच्न नपाउँदै कार्यशाला गोष्ठीका आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था (इप्पान) को कार्यालयबाट फोन आयो । कार्यशाला गोष्ठी म्याग्दीको बेनीबजारमा आयोजना गरिएको थियो । मलाई त्यसकै लागि एक पण्डितको रूपमा निमन्त्रणा गरिएको थियो ।

‘सर ! नमस्ते म इप्पानबाट बोल्दै छु । सरले एउटा कागजातको बाकस बेनी लगिदिनु पर्ने भयो ।’

मैले स्कीकृती दिएँ । तर, यो अकस्मात आइलागेको अतिरिक्त क्रियाले मेरो मष्तिष्कमा एक बुद्धि प्रत्युत्पन्न गरायाे ।

‘तपाई को बोल्नु भएको रे?’

‘म मिस्सु बोल्दै छु ।’

‘मिस्सु मतलब यमआइएसएसयु हो ।”

नाम भनेको काम लाग्छ । मैले नाम बुझिन भने म केरकार गर्छु । यथार्थ बुझ्ने कोसिस गर्छु । नामको अर्थ लगाउन लगाउँछु । यसरी एक निर्देशक सिद्धान्त जुर्मुराउँछ- कुनै मान्छे एक न एक दिन काम लाग्छ । त्यसकारण उसलाई चिनी राख ।

‘हो सर ।’

‘ल मिस्सुजी, मलाई पनि तपाईंले एक मद्दत गर्नुपर्ने भयो । मेरो टिकट प्रिन्ट गरेर सामान लिएर आउने व्यक्तिसँग पठाइदिनुस् न ल ।’

मिस्सुसँग मैले तात्तातै काम लिने विचारले यसो भने । मेरो काम हुने भयो । म सिधै घरतिर लागेँ । हरेक व्यक्तिलाई काम लाग्न सक्ने अर्को पनि सिद्धान्त फेरि एक पटक प्रतिपादित भयो-भैपरि आएको परिस्थिति आफ्नो अनुकूल पार्न सक्ने कला नेतृत्व कौशलताको एक अभिन्न अंग हो ।

यसैले कसैले अंग्रेजीमा भनेको छ- ‘तुफान र आँधी जहिल्यै सक्षम जहाजचालकका पक्षमा हुन्छन् ।’

आन्तरिक टर्मिनल प्रवेशद्वारमा इप्पानकाे नासो संकलन गरेर म भित्र पसेँ । तर, झोला झ्याम्टा जाँच गर्ने एक्स-रे मेशिनबाट टिकट जाँच गर्ने काउन्टरसम्म बाकस लैजान महाभारत भयो । ट्रली भित्र लान नपाइने । बाकसको तौल १५ केजीभन्दा माथी ! उझिन्डाे नभएको अवस्था । बाकससहित मेरा तीन झोला । जाँच कक्षका प्रहरीलाई सोधेँ । ‘उनले पालै पालो लैजानोस्’ भने । यहाँनिर देश विकासको चिन्तन गर्नेका लागि अवसर देखेँ । विदेश सम्झेँ । त्यहाँ यी मसिना कुराको ठूलो विचार गरिन्छ । काउन्टरसम्म ट्रली लैजाने व्यवस्था हुन्छ ।

काठमाडाैं-पोखरा उडान २५ मिनटमात्र भएकाले अचेल चकलेट र पानीबाहेक अरू खानेकुरा बाँडिदैन । मलाई यसको जानकारी थियो । तर, यो उडानमा पानी पनि बाँडिएन । धन्य ! मैले जहाज उड्नुअघि हवाई सुन्दरीसँग मागेर एक गिलास पिएको थिएँ ।

ओर्लिने बेला मैले पुरानै पारा निकालेँ । अन्तिममा ओर्लिएँ । ओर्लिँदा आकाशका परीसँग बात मारेँ ।

‘बाहिर वर्षा भइरहेर हो कि के हो ? भित्र पानी नबाँडेको ?’

‘देख्नु भएन मौसमको खराबी । पेटी बाँध्ने संकेत नै निभेन ।’

‘तर तपाईंले पानी बाँड्न असमर्थ भएको जानकारी त दिनु भएन नि ?’

बहस गर्ने सुन्दरीको बोली बन्द भो । मैले यो समस्याको सजिलो समाधान निकालेँ- पानीको सानो बोतल उड्नुभन्दा अगावै हरेक सिटमा राखिदिने ।

विद्युत विकास विभागका उप-महानिर्देशक पुरुषोत्तम आचार्य पनि त्यही उडानमा हुनुहुन्थ्यो । वहाँ पनि गोष्ठीको अर्को पण्डित भएर जाँदै हुनुहुन्थ्याे । हामी दुईकाे ‘यात्रा एकत्व’ को जन्म भयो  । तर, पोखराबाट बेनी जान हामीलाई व्यवस्था गरिएको सवारी झन्डै हात्ती जत्रो-पर्यटक बोक्ने हायास ! भैपरि आएकोलाई स्वीकार्दै हामी पोखराबाट ४ बजे बेनी प्रस्थान गर्याैं ।

संयोग नै थियो त्यो । वातावरण विधामा स्नातक गर्ने काठमाडाैं विश्विवद्यालयका ५० विद्यार्थीको टोली मुस्ताङ गन्तव्य बनाएर शैक्षिक भ्रमणमा निस्केको थियो । उनीहरूको पनि त्यो दिन बेनीमा बास थियो । बेनीबजार र वरपरको सानो भू-गोल संसारमै प्रख्यात अवयव थिए । त्यो विद्यार्थीका लागि ज्ञानबर्धक हुने हुँदा मैले प्रत्येक विद्यार्थीलाई एक-एक वटा टोपो नक्शा लैजान सिफारिस गरेको थिएँ । मैले म्याग्दी बहुमुखी क्याम्पसका अध्यापक तारानाथ शर्मालाई सम्पर्क गरी बेलुका विद्यार्थीलाई बेनीबजार र म्याग्दीबारे जानकारी गराइदिन अनुरोध गरेँ ।

बेलुकी ८ बजे एक अभूतपूर्व कक्षा आयोजना भयो । तारा सर र म्याग्दी जिल्लाका खानेपानी इन्जिनियर मित्रले विद्यार्थीलाई विविध विषयमा जानकारी दिनुभयो । भोलिपल्ट विहानै मुस्ताङका लागि प्रस्थान गर्ने विद्यार्थीको योजना थियाे । यसैले बिहान ६ बजेदेखि ७ सम्मकाे कक्षा तय गरेँ । तर, विद्यार्थीले बिहानै कक्षामा उपस्थित हुन जाँगर देखाएनन् ।

मैले विद्यार्थीलाई भने-

‘यो आनन्द लिने भ्रमण होइन । आनन्दले घुम्ने भनेको परिवारसँग हो । यो भ्रमणमा सिक्ने कुरा अथाह छन् । नयाँ कुरा सिक्दा अलिकति दु:ख भए पनि सहनुपर्छ । हामीसँग भएको समय त्यही हो । अर्को विकल्प छैन ।’

अब बहुमतले सहमति जनाए । यो सूचनाको जानकारीसँगै हामीले त्यो दिनलाई बिट मार्यौं ।

म पौने छ बजे शिखर होटलमा पुगेँ । छ बजे केही विद्यार्थी आए । केहीबेरमा अरू पनि उदाए । कतिपयको अनुहारको भावले भन्थ्यो-

‘यो मेरो जीवनकै सबैभन्दा सबेरै लिइएको कक्षा हो ।’

कक्षामा मैले टोपो नक्शाबारे जानकारी दिएँ । विद्यार्थीको टोलीका साथ गएका अध्यापकद्वय डा. कुमदराज काफ्ले र राजेन्द्र भण्डारीले कक्षा लिनमा सहयोग गर्नुभयो । संयोगवश इप्पानले आयोजना गरेको गोष्ठी हुने होटलमा नै भ्रमण टोलीका आधा विद्यार्थी बास बसेकाले मेरो विशेष अनुरोधमा सभा-कक्ष उपलब्ध गराइएकाे थियो । मैले सोचेकै ढंगले विद्यार्थीलाई केही ज्ञान दिन सकेँ । म दंग परेँ ।

मलाई लाग्यो- काठमाडाैं विश्वविद्यालयले आयोजना गरेका शैक्षिक भ्रमणको इतिहासमा यो कक्षा पानी ढलोको रूपमा स्थापित भयो ।  

इप्पानकाे ‘जलविदुतको विकास र वातावरणका पक्ष’ विषयको पुराणअतिरिक्त मेरा अन्य पूण्यकार्य पनि तय थिए । साढे सात बजे कलेजका विद्यार्थीलाई निद्राबाट जगाएर एक प्रवचन दिनु थियो । यो कलेजको कक्षाका सुत्रधार थिए- मेरा अभिन्न मित्र एवं म्याग्दीका धर्तीपुत्र डा. युमेद पुन ।

म सवा सात बजे कलेजको सभा-कक्षमा पुगेँ ।

कालिगण्डकी एकाेहाेराे सुसाइरहेथ्याे । याे सुसाइले कलेजको वातावरणमा मादकता थपेकाे थियाे । तर, सभाकक्षा भने सबै असरल्ल ! कुर्सी सार्दा धुलो वुङ्बुङ्ती उड्ने । झ्यालमा पर्दा थिएन । झ्याल पसाँगिएका थिए । सबै बन्द गर्दा पनि उज्यालो छिर्थ्याे । कुर्सी एक आपसमा जोडाएर राखिएका । कोच्चिएर बस्नु पर्ने । सहभागीले सुन्नमात्र सक्ने, लेख्न नसक्ने अवस्था थियाे । एउटा थाेत्राे प्रोजेक्टर थियाे । ल्यापटपको स्क्रिनमा एउटा रङ भित्तामा अर्को देखिन्थ्याे ।

एकैछिनमा सभा-कक्ष खचाखच भरियो । रातो सर्टमा सजिएका छात्राको बाहुल्यता । केही शिक्षक पनि आए । म सकेसम्म कक्षालाई सहभागितामूलक बनाउने कोसिस गर्छु । विद्यार्थीलाई प्रश्नको भुमरीमा फनफन घुमाउँछु । तर, यो कक्षामा भने एउटा अचम्म भयो । कतिपय सोधेका प्रश्नको उत्तर उत्साहित भएर शिक्षकले नै दिए । उनीहरूले प्रवचनका लक्षित समूह विद्यार्थी हुन भन्ने बिर्सिए । यी दृष्टान्तले त्यहाँको सिकाइ र पढाइको स्तर मापन गर्याे । तर, एउटा भने सबै नकारात्मक पक्षलाई माथ गर्ने सवल पक्ष पाइयो ।

‘सहभागीका आँखा धपधपी बले । मैले ती आँखामा नजिकै बगेकी कालीले मेट्न नसक्ने तिर्सना देख्रेँ ।’

सहभागीहरू मन्त्रमुग्ध भएको क्षण मेरो ह्रदयमा ढुंगाका अक्षर भएर कुँदियो । विपी कोइरालाको उपन्यास तीन घुम्तिमा आधारित चलचित्रमा परम्परा तोडेर नेवारकी चेली बाहुन केटासँग विवाह गर्न तम्सिन्छिन् । केटीका बाबुले भन्छन- “मलमलको विछ्यौना छोडेर मान्द्राको मोह ।”

विद्रोह गर्न तम्सिएकी छोरीको उत्तर आउँछ- ‘विछ्यौनाको आशक्ति होइन निद्राको चाहना हो ।’

वास्तवमा भौतिक वस्तु सबथोक होइन । त्यसमा लुकेको अभौतिक अनुभूति बहुमुल्य कुरा हो ।

दिउँसो मूल कार्यक्रममा मैले प्रस्तुति गरेँ । प्रस्तुतीको सनातनी परम्परालाई तोड्दै केही नयाँ आयाम थपेँ । सहभागीले रुचाए । पण्डितको भूमिकामा रहनुभएका ऊर्जा खबर डट कमका प्रधानसम्पादक लक्ष्मण वियोगीले मेरो शैलीको निकै प्रशंसा गर्नुभयो ।

म यात्रा गर्दा मेरो झोला आँफै मिलाउँछु । तर, यसपटक एउटा भित्री लुगा ल्याउन बिर्सेछु । यसैले म यो दोष निवारणतर्फ लागेँ । एउटा रेडिमेड लुगा पाइने पसलमा पुगेँ । मेरो रोजाइको पाइएन । अर्कोमा पुगेँ । पसलमा गफिएका महिलाको बाक्लो उपस्थिति थियो । मेरो रोजाइको सामान त भेटियो तर  साइज मिलेन ।

‘यो त सानो हुन्छ । यक्स यल वा यल आकारको छैन ?’

‘हामीसँग भएको यही हो ।’ युवती साहुनीले यथार्थ बताइन् ।

‘भै हाल्छ नि ! अलिकता त तन्किन्छ पनि ?’ एक पाकी महिला बोलिन् ।

‘कसरी भै हाल्छ ? आ-आफ्नो साइज हुन्छ नि ! हजुरले लाउने चुरा उ वहाँलाई मिल्छ त ?’ मैले नजिकै बसेकी अलि मोटी दारकी पाकी महिलालाई देखाउँदै भनेँ । मेरो स्पष्टिकरणले बेजोडको हाँसो सिर्जना गर्यो । हाँसो नथामिदै म पसलवाट बाहिरिएँ ।

भोलिपल्ट बिहान पनि म चार बजे नै उठेँ । तयार भएर पौने पाँचमा भुँइतलामा ओर्लिएँ । सुनसान् थियो । कोही उठेको थिएन । भुँइतलामा सुत्ने कोठा थिएन । भान्सा, रेष्टुरेन्ट र पार्किङमात्र थियो । बाहिर जाने निकास दुवै बन्द । संकट आइलाग्यो । म कालो बादलमा चाँदीको घेरा खोज्न थालेँ । पहिलो तल्ला उक्लिएँ । सबै अतिथिका कोठा थिए । दोस्रो तला त्यस्तै । म माथि उक्लिँदै गएँ । पाँचौं तलामा एउटा ढोकाअघि लगभग एक दर्जन जुत्ता चप्पल देखिए । मैले त्यो ढोकामा टक टक आवाज दिएँ ।

‘को हुनुहुन्छ ? तपाईहरू होटेल स्टाफ हो ?’

हो रहेछ । परिस्थितिजन्य संकट सजिलै मोचन भयो । त्यो दिन होटलबाट बाहिर निस्कने पहिलो व्यक्ति म नै भएँ ।

तस्बिर : लक्ष्मण वियाेगी/ऊर्जा खबर

म म्याग्दी र पर्वत जोड्ने पुलमा पुगेँ । नदी वारि म्याग्दी, पारि पर्वत । एक किलोमिटर पर अर्को जिल्ला-बागलुङ । राज्य पुनर्संरचनाले समेट्न नसकेको विषय यही हो । नदी वा बाटो सिमाना हुँदा सहर दुई प्रशासनिक एकाइमा बाँडिन्छ । बेनीबजार, नवलपरासीकाे गैंडाकोट, नगरकोट र पूर्वकाे रविबजार केही उदाहरण हुन् । नदी पारिकाे बेनीकै सानो टुक्रा बजार म्याग्दी नगरपालिकामा पार्न सक्दा त्यहाँका बासिन्दालाई कति सजिलो हुन्थ्यो ? पुलपारिका बासिन्दाले मालपोत तिर्न कुश्मा पुग्नुपर्छ । याे मुलुकको बिडम्बना हाे !

ध्यान गर्न स्थान खोज्न थालेँ । नदीको पानी छोएको समथर ढुँगा र त्यहाँसम्म जान सकिने सजिलो बाटोको खोजी गरेँ ।  सिँढीबाट जान मिल्ने गरी नुहाउने सानो घाट नै निर्माण गरिएको पाइयो । भित्तामा केही लेखिएको थियो । नुहाउने घाटको निर्माण कुनै महिला समुहले गरेको रहेछ । यहाँनिर राज्यका निकाय फेरि निरिह देखिए । यस्तो पर्यटकीय महत्त्वकाे संरचना पनि महिला समूहले निर्माण गर्नुपर्ने ? याे पनि देशकाे दुर्भाग्य हो !

ध्यानपछि म मीठो चिया कहाँ पाइएला भनेर पसल चाहार्न थालेँ । नयाँ ठाउँमा यस्ता कुराको निर्णय लिन कठिन छ । तर, मेरा केही सूचक अस्त्र छन् । बेलुकीको चियाका सामान कम पाइने पसलमा बिहानको चिया मीठो पाइन्छ ।  म बसपार्कवाट उकालो लागेँ । दायाँवायाँ हेर्दै विस्तारै अघि बढेँ । एक फलफूल पसल मिलाउँदै गरेकी साहुनीको सहयोग मागेँ । मैले खोजेजस्तो एक पसल उनले देखाइदिइन् ।

‘त्यो जमाना गयो । बेनीको बजार भन्ने जस्ता गीतलाई यी ‘यसले’ खेदायो । आजभोलि त मान्छे जम्मा हुनै छोडे । जो पनि त्यसैमा झुन्डेकाे देख्छु । अब भेला भएर रमाईलो गर्नु, गीत गाउनु त पर भो । यस्तै हुँदै गए मान्छेले बोल्नै पो बिर्सने हुन कि ?’

सिफारिसको चिया पसलमा पुगेँ । दुई जना युवा ग्राहक रहेछन् । मैले चियाको माग राखेँ । तर, मैले खोजे जस्तो चिया आएन । म मिठै मानेर जसैतसै चियाको सुर्कोको मजा लिन थालेँ । एक अधबैँसे महिला डोकोमा सिमी लिएर आइन् । चिया पसल्नीले आगन्तुकको पहलमा कुनै चासो दिइनन् । मैले मौका छोपेँ । मलाई सिमी किन्ने निहुँ बनाएर उनीसँग कुराकानी गर्ने इच्छा पलायो ।

‘के भाउ हो त नि सिमीको ?’

‘एक किलो जतिमात्र बाँकी छ । पचासमा दिन्छु ।’

‘हुन्छ । पोको पारिदिनु । म बेनीबजारमा हिजोमात्र आएको । मनमा एउटा खुल्दुली छ । हजुरलाई सोधौं ?’

‘हुन्छ । तर, म के पो जानौंला र ?’

‘बेनीबजार बारेमा हो । हजुरलाई पक्कै थाहा छ । बेनीको बजार जता माया उतै छ नजर भन्ने गीत नेपालमा नै लोकप्रिय छ । यो बेनीबजारमा अरु ठाउँभन्दा मायापिरती धेरै नै लाइन्छ, हो ?’

‘त्यो जमाना गयो । बेनीको बजार भन्ने जस्ता गीतलाई यी ‘यसले’ खेदायो । आजभोलि त मान्छे जम्मा हुनै छोडे । जो पनि त्यसैमा झुन्डेकाे देख्छु । अब भेला भएर रमाईलो गर्नु, गीत गाउनु त पर भो । यस्तै हुँदै गए मान्छेले बोल्नै पो बिर्सने हुन कि ?’

उनले ‘यसले’ भन्दा मैले हातमा बोकेको मोबाइल फोन देखाइन् । म चकित परेँ । वास्तवमै उनको अभिव्यक्तिमा गहिरो वेदना लुकेको थियो । त्यो वेदना उनको मात्र थिएन । सिंगाे बेनीबासीको थियो । म्याग्दीको थियो । समग्र नेपालको थियो । उनको प्रत्युत्तरले मेरो ‘बेनी किन मायाको खानी ?’ भन्ने प्रश्नको जवाफ खोज्ने जाँगर मरिसकेको थियो । पचास रुपैयामा मैले एक किलो सिमीमात्र पाइनँ । लाखौँ रुपैयाबराबरको सामाग्री पाएकाे थिएँ । म उनको जवाफको गहिराइमा डुबेँ । आजसम्म मैले पचासका यस्ता हजारौं नोट दिएर सामान किनेँ हुँला ! तर, यो भने अविस्मरणीय किनमेल भयो । मलाई चियाको नमीठोभित्र मीठो मसला प्राप्त भइसकेको थियो । भौतिक वस्तुले अभौतिक लाभको यो एक बेजोड नमुना थियो ।

म होटल फर्किएँ । तयार भएर माउन्टेन एभरेष्ट स्कुलतिर लागेँ । स्कुल हिजाे गएको भन्दा अग्लो ठाउँमा रहेछ । म सोध्दै उकालो हिँड्न थालेँ । एक अर्कामा जोडिएका घर । कि त सडक छ कि त जोडिएका घर छन । बेनी वास्तवमा साँघुरो रहेछ । मैले कल्पना गरेँ । यहाँ चाहिन्छ- इन्जिनियरिङ । यहाँ चाहिन्छ- आर्किटेक्चर ।

सडकको दाहिनेतिर पेटीमा मुढामा बसेर गीत गुनगुनाउँदै गरेकी एक युवतीले मेरो ध्यानाकर्षण गरिन् । उनको घरभित्र ठूलो स्वरमा गीत बजिरहेको थियो । उनका र मेरा आँखा जुधे । त्यो जुधाइको कुनै गन्तव्य थिएन । कुनै लक्ष्य थिएन । म त्यसलाई सामान्य सडकमा हिँड्ने मान्छेको स्वभाविक क्रिया बनाएर अघि बढेँ ।

म आठ बजे पुन: एभरेष्ट स्कुल पुगेँ । मेरो प्रवचन नहुने भयो । म खिन्न मनले ओरालो झरेँ । तिनै गीत सुन्दै गरेकी चेली फेला परिन् । तर, अहिले भने न त गीत बजेको थियो न त उनको गुन् गुन् थियो ।

‘खै त गीत गाएको ?’

‘बिहान एक छिनमात्र सुन्ने हो ।’

‘के गीत हो त नि त्यो हजुरले बिहान गाएको ?’

‘क्रिश्चियन भजन हो ।’

‘बेनीको बजार जता माया उतै छ नजर’लाई डाँडा कटाउने कहीँ यो दोस्रो कारण त होइन ? मलाई शंका लाग्यो । वास्तवमा यो पराई संस्कृति आयात गरी रैथाने संस्कृति लोप गराउने खेल हामी नेपालीलाई एक दिन धेरै महँगो पर्ने छ । विकास र संस्कृति कसरी समायोजन गर्ने ? प्रश्न जटिल छ । म एकाएक जापानको ‘मात्सुरी’ सम्झिन पुग्छु । जापानमा क्रिसमस मनाइन्छ । अधिकांश जोडीले पश्चिमा शैलीमा विवाह गर्छन् । उनीहरूले यी क्रिश्चियन रितिरिवाज या त व्यापार व्यावसाय या रमाइलोका लागि प्रयोग गर्छन् । तर, त्यहाँ आफ्नो परम्परागत आध्यात्मिक आस्था अटल छ । अभेद्य छ । परम्परागतरूपमा लाग्ने मेला अर्थात मात्सुरीको मर्म मरेको छैन । संस्कृति जोगाउन सिंगाे राज्य, नागरिक समाज र व्यावसायिक प्रतिष्ठानहरू लागेका छन् ।

यती होटलकी सञ्चालिका, टिकट प्रिन्ट गर्ने क्रममा कोटेश्वरमा भेटिएकी साहुनीमात्र हाेइन यो विषयले घोच्दा सबै नेपालीलाई औडाहा हुन्छ । ‘बेनीकाे बजारमा’ भाका हालेर नाचेका र रोदीघरमा माया साटेका सबैको मन पोल्छ ।

हामी हिल भिउ होटेलमा बास बसेका थियौं । बिहानको स्वाल्पहार र रात्री खानाको प्रबन्ध यती होटलमा गरिएको थियो । तर, यी दुवैका सञ्चालक एकै व्यक्ति रहेछन् । म सकेसम्म यस्तो मौकामा व्यवसायमा लागेका उद्यमीलाई भेट्ने कोसिस गर्छु । पहिलो भाटभटेनी सुपरमार्केटको नजिकै आँफै कुक आँफै मालिक भएका एक रेष्टुरेन्ट व्यवसायी थिए । म उनीकहाँ गएपछि ‘सरलाई मेरै हातको कफी पिलाउँछु’ भन्थे र भान्सामा पस्थे । उनलाई मैले कर्ण शाक्यको पुस्तक ‘सोच’ उपहार दिएको थिएँ ।

म स्वाल्पाहारका लागि होटलमा पुग्दा मेरा साथीहरूको अत्तोपत्तो थिएन । बरु होटलकी साहुनी पो भेट भइन् । मैले एकछिन उनीसँग भलाकुसारी गर्ने अवसर पाएँ । भोलिपल्ट लक्ष्मणजी र मेरो सँगै पोखरा फर्किने कार्यक्रम तय भयो । हामी दुई भाइ अरूबाट छुट्टिएर दिवा भोजन गर्न यती होटल पुग्यौं । उनै सञ्चालक साहुनी हातमा लिची बोकेर हामीले खाना खाइरहेको टेबलमा आइन् ।

‘ल ! यो पाहुनाहरूलाई मेरोतर्फबाट विशेष उपहार !’

उनीसँग फेरि भलाकुसारी भयो । उनका छोराछोरी सबै विदेशमा रहेछन् । उनी होटेल व्यवसायी मात्र नभइ समाजसेवी पनि रहिछन् । नेपाली भूगोलमा रमाउनुको मजा यही छ । मान्छे चिन्न बेर लाग्दैन । चिनेपछि आत्मा बोल्छ । मन बोल्छ । बाहाना हुँदैन । कुण्ठा हुँदैन । अभिनय हुँदैन ।

‘कान्छो छोरो अमेरिकामा बिजिनेसमा नै छ । यहीँ आइज । यत्रो कारोबार छ । सम्हाल । हामी डाँडामाथिको घाम भयौं । भन्न त यसो भन्यो । तर के गर्नु आउने छाँटकाँट छैन । कहिलेकहीँ त सम्झेर औडाहा हुन्छ ।’

यती होटलकी सञ्चालिका, टिकट प्रिन्ट गर्ने क्रममा कोटेश्वरमा भेटिएकी साहुनीमात्र हाेइन यो विषयले घोच्दा सबै नेपालीलाई औडाहा हुन्छ । ‘बेनीकाे बजारमा’ भाका हालेर नाचेका र रोदीघरमा माया साटेका सबैको मन पोल्छ ।

तर, म आशा मार्दिनँ । म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीका आँखामा बलेको ज्ञानको तिर्सनाको आगो सम्झिन्छु । काम गर्ने ऊर्जा बढेको अनुभूति हुन्छ ।

लाग्छ- ‘बेनीकाे बजार’ मात्र हाेइन सिंगाे देशकाे संस्कृति जगेर्ना गर्ने अभिभारा तिनै विद्यार्थीले बाेकेका छन्।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7