advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

बंगलादेशसँग विद्युत् व्यापार

   असार २४, २०७४        434   

नेपालको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुकमध्ये भारतसँग बाहेक अन्य मुलुकसँग व्यापारिक सम्बन्ध नगण्य छ । भारतपछि नेपालको सबैभन्दा बढी व्यापार रहेको मुलुक बंगलादेश हो ।

नेपालको काँकडभित्ता नाका र बंगलादेशको फूलबारी नाकाबीचको सीधा दूरी २७ किलोमिटर मात्रै छ भने भारतले हालै एसियाली विकास बैंकको सहयोगमा निर्माण गरिरहेको चौडा सडकको दूरीसमेत ५५ किलोमिटर मात्रै छ ।

यसर्थ, बंगलादेश नेपालका लागि टाढाको मुलुक होइन भने नेपालसँग कतिपय सांस्कृतिक समानता पनि भएकाले दुई देशबीच व्यापार विस्तारको असीमित सम्भावना देखिन्छ । भौगालिक रूपमा जतिसुकै नजिक रहे पनि नेपाल र बंगदलादेश दुवैले यसको उपयोग गर्न सकेको पाइँदैन । खासगरी दुई मुलुकबीच व्यापार सहजीकरणका लागि भारतले रचनात्मक सहयोग पनि गरिरहेको अवस्था छ ।

फूलबारीदेखि काँकडभित्तासम्म सामान आयात निर्यात गर्दा भारतीय भूमि प्रयोग गर्नुपरे पनि भारतले हरेक दिन निश्चित संख्यामा ट्रक कन्टेनर जम्मा हुनेबित्तिकै न्यून शुल्कमै स्कर्टिङ गरिरहेको छ । यसरी द्विपक्षीय व्यापार विस्तारमा गैरभन्सार अवरोधसमेत न्यून मात्रै रहेका बेला व्यापार–व्यवसायको क्षेत्र अपेक्षित रूपमा विस्तार हुन नसकेको देखिन्छ ।

तथ्यांकमा हेर्दा पनि लामो समयदेखि बंगलादेशसँग नाफाको व्यापार गरिरहे पनि पछिल्लो समय उल्टो अवस्था देखिन्छ । आव ०७१÷७२ मा नेपालले १ अर्ब १५ करोड १८ लाख २१ हजार रुपैयाँको वस्तु निर्यात गरे पनि बंगलादेशले दोब्बर अर्थात् २ अर्ब ५३ करोड १२ लाख रुपैयाँको वस्तु पठाएको थियो । यस्तै, आव ०७२÷७३ मा यो दरमा तेब्बर वृद्धि भएको देखिन्छ ।

यस अवधिमा १ अर्ब २६ करोड २७ लाख ४६ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गर्दा बंगलादेशले ३ अर्ब ५० करोड ६३ लाख ७७ हजार रुपैयाँको वस्तु पठाएको थियो । पछिल्लो तीन वर्षमै बंगलादेशले झन्डै ५ गुणा बढी वस्तु पठाइसकेको अवस्था छ । यसरी नेपालको बंगलादेशसँगको व्यापार पनि धराशायी बन्दै गइरहेको अवस्था तथा थप उत्पादन पठाउन नसक्ने समस्या रहेकाले अब बंगलादेशसँग व्यापारघाटा न्यूनीकरणको एक मात्र उपाय हुन सक्छ— विद्युत् व्यापार ।

बंगलादेशमा ऊर्जा उत्पादनको स्रोत कमजोर छन् । उसले दिगो ऊर्जाका लागि छिमेकीसँग भर पर्नुको विकल्प पनि छैन । नेपालले हाल भारतबाट विद्युत् आयात गर्नु परिरहे पनि केही वर्षभित्रै यहाँको मागभन्दा बढी विद्युत् उत्पादन हुने अवस्था सिर्जना भएको छ र वर्षाको समयमा त अर्को वर्षदेखि नै यो विद्युत् खेर जाने आकलन गरिएको छ ।

नेपालमा तत्काल ठूला उद्योग स्थापना भएर बढी विद्युत् खपत हुन सक्ने अवस्था पनि छैन भने नेपाली उपभोक्ता आफैंले अनुत्पादक रूपमा बढी विद्युत् खपत गर्न पनि सक्दैनन् । यसैले नेपालले भारत वा तेस्रो मुलुकलाई बिजुली बिक्री गर्नुको कुनै विकल्प छैन । नेपालको पहिलो बजार भारत नै भए पनि नेपालले बढी मूल्य पाएमा बंगलादेशसँग पनि विद्युत् व्यापार गर्न सक्छ ।

बंगलादेशलाई बिजुली बिक्री गर्ने कुरा भारतको इच्छाविपरीत कार्यान्वयनको सम्भावना छैन । तर, नेपालका ठूला जलविद्युत् आयोजना भारतीय लगानीकर्ताहरूले नै निर्माण गरिरहेकाले उनीहरूको दिगो स्वार्थका लागि भारत यसमा राजी नहोला भन्न सकिँदैन ।

अहिले भारतीय कम्पनी जीएमआरले निर्माण गरिरहेको माथिल्लो कर्णालीको ५ सय मेगावाटसम्म बिजुली बंगलादेशलाई बिक्री गर्ने प्रारम्भिक समझदारी भएकाले यसलाई अघि बढाउन कूटनीतिक स्तरबाट पनि पूर्ण सहयोग गरिनुपर्छ ।

हुन त यसअघि पनि बंगलादेश आफैंले लगानी गरेर ४ हजार मेगावाटसम्म लैजाने प्रस्ताव तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीसमक्ष बंगलादेशका खनिज तथा विद्युत् र ऊर्जा मन्त्रालयका सचिव मनोवार इस्लामले प्रस्ताव राखे पनि यसमा प्रगति हुन नसकेको अवस्था छ भने माथिल्लो मस्र्याङ्दीको बिजुली किन्ने प्रस्ताव पनि कागजमै सीमित भएको अवस्था छ । अपेक्षा गरौं, यसपटक भने बंगलादेशसँग जीएमआरले गरेको समझदारी कार्यान्वयनको तहसम्म पुग्न सकोस् ।

 

स्राेत ः काराेबार दैिनक

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7