advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

तीन महिनाभित्र माथिल्लो त्रिशूली–१ को निर्माण सुरु

   साउन २०, २०७४        882        ऊर्जा खबर/काठमाडौं

रसुवा र नुवाकोट हुँदै बग्ने त्रिशूली नदीमा करिब दर्जन जलविद्युत आयोजना निर्माण चरणमा छन् । तीमध्ये २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ पनि हो । उत्पादित विद्युत आन्तरिक खपत गर्ने गरी विदेशी लगानीमा निर्माण हुन लागेको सम्भवत यो पहिलो ठूलो आयोजना हो ।

कोरियाको सरकारी कम्पनी कोसेपले सन् २०११ मा आयोजनाको अध्ययन अनुमतिपत्र लिएको थियो । यो कम्पनीले कोरियामै १० हजार मेगावाट विद्युत उत्पादन गरेको छ । योसँगै कोरियाकै डालिम र केरुङ कम्पनीले पनि आयोजना निर्माणमा सघाएका छन् । यी दुई निर्माण कम्पनी हुन् । जसको वार्षिक कारोबार १० अर्ब अमेरिकी डलरभन्दा बढी छ ।

कोरियाका सक्षम कम्पनी, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपालको जेड पावरले आयोजना निर्माणमा हातेमालो गर्दैछन् । यी सबै निकायले आयोजना निर्माण गर्न ‘नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी’ स्थापना गरेका छन् । यही कम्पनीले अहिले त्रिशूली–१ को निर्माण प्रक्रिण अघि बढाएको छ ।

सन् २०११ मा आयोजनाको सर्वे अनुमतिपत्र लिएको कम्पनीले अहिलेसम्म सबै वातावरणीय र सामाजिक पक्षको अध्ययन पूरा गरेको छ । कम्पनी र सरकारबीच २०७३ पुस १४ गते (सन् २०१६, डिसेम्बर २९) आयोजना निर्माण गर्न सरकारसँग ‘आयोजना विकास सम्झौता (पिडिए)’ पनि भएको छ ।

सरकारले विदेशी लगानीका आयोजनाका लागि अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पिपिए) को मापदण्ड तयार गरेको छ । र, १० वर्ष वा बैंक ब्याज नतिर्दासम्म विद्युत खरिदको रकम डलरमा भुक्तानी दिने नीतिगत व्यवस्थासमेत गरेको छ । यही मापदण्डमा टेकेर आयोजनाको पिपिए गर्न नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच वार्ता भइरहेको छ । योसँगै कम्पनीले आयोजनाको उत्पादन अनुमतिपत्र लिन विद्युत विकास विभागमा २०७३ चैत ११ गते आवेदन दिएको छ ।

केही समयमै पिपिए सम्झौता हुने कम्पनीको विश्वास छ । लगत्तै उत्पादन अनुमतिपत्र हात पर्ने हुँदा आगामी कात्तिक दोस्रो साता (सन् २०१७ अक्टोबर) सम्म कम्पनी आयोजनाको निर्माण सुरु गर्ने तयारीमा छ । ५ वर्षभित्र विद्युत उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । ३० वर्ष सञ्चालन गरेपछि आयोजनाको सम्पूर्ण स्वामित्व सरकारमा आउनेछ ।

आयोजनाको प्रकृति

काठमाडौं उपत्यकाबाट करिब ७० किलोमिटर उत्तर पश्चिम त्रिशूली नदीमा निर्माण हुने यो आयोजना नदी प्रवाही (आरओआर) हो । ३२ मिटर अग्लो बाँध बाँधेर ९.८ किलोमिटर सुरुङबाट आएको पानी विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ । पानी थिग्र्याउने पोखरी (डिसेन्डर), सर्ज ट्यांक र विद्युतगृहको निर्माण जमिनभित्र (भूमिगत) हुनेछ ।

रसुवाको मैलुङ र हाकुमा निर्माण हुने आयोजनाबाट वार्षिक १ हजार ५ सय ३३ गिगावाट घन्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाबाट हिउँदमा करिब १ सय ५ मेगावाट (वार्षिक ५९८ गिगावाट घन्टा) विद्युत उत्पादन हुनेछ । नदी प्रवाहीमध्ये यो निकै आकर्षक आयोजना हो ।

क्यू५० डिस्चार्ज (वर्षमा ५० प्रतिशत वा करिब ५ महिना पूर्ण क्षमतामा सञ्चालन हुने) मा आयोजना डिजाइन गरिएको छ । सरकार वा निजी क्षेत्रले निर्माण गरेका र निर्माणाीधन आयोजना क्यू३० देखि क्यू४० सम्म डिजाइन गरिएको छ । यही कारण पनि अन्यको तुलनामा त्रिशूली–१ आकर्षक मानिएको छ । आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणले निर्माण गर्ने त्रिशूली–३ ‘बी’ सबस्टेसनमा जोडिनेछ । मैलुङमा निर्माण हुने बाँधसम्मको ११.८ किलोमिटर पहुँचमार्ग कम्पनीले यसअघि नै निर्माण गरेको छ ।

सामाजिक उत्तरदायित्व

आयोजना निर्माणपूर्व गर्नुपर्ने सामाजिक उत्तरदायित्व तथा जिम्मेवारी पनि कम्पनीले पूरा गर्दै आएको छ । प्रभावित गाविसमा दुई वटा विद्यालय र एउटा स्वास्थ्य चौकी निर्माण भएका छन् । रसुवाको धुन्चेमा निर्माण भएको एउटा माध्यामिक विद्यालय हो ।

अायाेजनाले धुन्चेमा निर्माण गरेकाे विद्यालय उद्ङाटन गर्दै कम्पनीका प्रमुक कार्यकारी अधिकृत बाे सक यीलगायत स्थानीय प्रतिनिधि

निर्माणक्रममा उत्पन्न हुने समस्या समाधान गर्दै सामाजिक र वातावरणीय असर न्यूनिकरण निरन्तर गर्दै जाने कम्पनीको योजना छ । करिब ४ वर्षअघि नै आयोजनास्थलमा आवास (क्याम्प) निर्माण भएको थियो । तर, २०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्पले आयोजनाको क्याम्पसहित निर्माण भएको पूर्वाधारमा ठूलो क्षति पुर्यायो ।

भूकम्प र त्यसपछि गएका पराकम्पनका बेला कम्पनीले रसुवाका आयोजना प्रभावितलाई ठूलो परिमाणमा राहत सामाग्री वितरण गरेको थियो । भूकम्पपीडितको उद्दार, राहत वितरण तथा स्थानीय पूर्वाधार निर्माणमा मात्र कम्पनीले करिब ५ करोड रुपैयाँ खर्च गरेको छ । अहिले पुनः क्याम्प निर्माण गर्ने तयारी हुँदैछ ।

आयोजनाको लागत

आयोजनाको लागत निर्माण अवधिको ब्जासमेत गरी करिब ५५ करोड अमेरिकी डलर अनुमान गरिएको छ । आजको मितिमा यसलाई नेपालीसँग तुलना गर्दा करिब ५६ अर्ब १० करोड रुपैयाँ हुन्छ । यद्यपि, निर्माण पूरा हुँदासम्म लागत करिब ६० अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।

स्वदेशी लगानीका आरओर आयोजनाभन्दा यसको लागत पक्कै बढी हो । यहाँका अधिकांश आयोजना क्यू–४० मा डिजाइन भएका हुन्छन् । त्रिशूली–१ पनि क्यू–४० मा डिजाइन गर्दा सस्तो पर्छ । तर, यो आयोजना क्यू–५० मा डिजाइन भएकाले लागत केही महँगो देखिएको कम्पनीको भनाइ छ ।

आयोजनाले सुख्खायाम (हिउँद) मा कूल ऊर्जाको ३९ प्रतिशत (१०५ मेगावाट) उत्पादन गर्छ । स्वदेशी लगानीका आयोजनाले उत्पादन गर्नेभन्दा यो निकै बढी हो । एउटै देशको फरक भूगोल र नदीमा निर्माण हुने आयोजना फरक प्रकृतिका हुन्छन् ।

नेपाल भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक जोखिमयुक्त क्षेत्र हो । यहाँ हरेक प्रकोप धान्ने संरचना बनाउन जरुरी छ । त्रिशूली–१ जस्तोसुकै जोखिम धान्न सक्ने निर्माण गर्नुपर्ने हुँदा लागत केही बढी देखिएको कम्पनीका अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7