advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

६० वर्ष पुरानो भारतकाे माइथान बाँध फुट्ने खतरा

   असोज २७, २०७४        2115        लक्ष्मण वियोगी/पश्चिम बंगाल, भारत

नेपालमा करिब ६ हजार नदी नाला छन् । यी नदीबाट बगेको पानी अन्ततः भारत पुग्छ । र, विशाल गंगा नदीमा समाहित हुन्छ । प्राकृतिकरूपमा यहाँको पानी दक्षिणतर्फ बगेकोमा कसैलाई टाउको दुखाई छैन । तर, यहाँ पानीसँग सम्बन्धित पूर्वाधार (जलविद्युत तथा उच्च बाँध) निर्माणको कुरा हुन्छ । त्यहाँ विरोधका अनेक स्वर सुनिन्छ । निर्माणमा भन्दा विरोध तथा अवरोधमा वर्षौं बित्ने गरेको छ ।

नेपालबाट बगेका खोला नदीको पानी अन्ततः भारतले नै उपयोग गर्ने हो । भारतले उपयोग गर्ने पानी वा यसका स्रोत नेपालबाट मात्र बगेर जाने पानीमा सीमित छैन । स्थानीय साना–साना पानीका स्रोत उपयोग गरेर पनि भारतले आफ्ना नागरिकलाई सेवा पुर्याएको छ । तर, नेपालले विद्यमान पर्याप्त जलसम्पदाको उचित दोहन गर्न नसकेको तीतो यथार्थ छ ।

सामान्य खोला, खहरे वा खोल्सीबाट बग्ने पानीसमेत भारतले बडो जतनले सदुपयोग गरेको छ । योमात्र होइन बर्खामा पर्ने पानी बग्ने अस्थायी खोला/नदी थुनेर वा बाँध बाँधेर सिँचाइ, खानेपानी तथा विद्युत उत्पादन गरेका धेरै उदाहरण छन्, भारतमा ।

माइथान बाँध, झारखण्ड । तस्बिर : लक्ष्मण वियाेगी

यसको गतिलो उदाहरण हो, पश्चिम बंगाल र झारखण्डमा निर्माण भएको माइथान बाँध । स्थानीय लवजमा ‘मैथन ड्याम’ ले चिनिने यो बाँध भारतमा मात्र होइन दक्षिण एसियामा पनि लोकप्रिय छ । ब्रिटिश भारतको पालामै अध्ययन भएर निर्माण सुरु भएको बाँध भारत स्वतन्त्र भएपछि पूरा भएको थियो ।

झारखण्डको १३५० मिटर अग्लो पराशनाथ पहाड (पद्मा) बाट उत्पत्ति भएको बराकर नदीमा बाँध बाँधेर भारतले सिँचाइ, खानेपानी वितरण र विद्युत उत्पादन गरेको छ । बराकर दामोदर नदीको मुख्य सहायक नदी हो । पश्चिम बंगाल र झारखण्डमा बग्ने दर्जनौं साना खोला तथा नदी मिसिएर दामोदर नदी बगेको छ । दामोदर नदीकै नामबाट दामोदर उपत्यका निगम (दामोदर भ्याली कर्पोरेशन– डिभिसी) गठन गरेर माइथान बाँध निर्माण गरिएको छ ।

झारखण्डको धनबादबाट ४८ किलोमिटर पश्चिममा बाँध निर्माण भएको छ । २ सय २५ किलोमिटरसम्म बग्ने बराकर नदी पश्चिमबाट पूर्व बग्छ । उत्तरको चोटा नागपुरसम्म बग्ने नदीले ६ हजार १ सय ५९ बर्ग किलोमिटर क्षेत्र समेटेको छ ।

दामोदर उपत्यका झारखण्ड र पश्चिम बंगालसम्म फैलिएको छ । सन् २०४८ जुलाई ७ मा गठन भएको निगम २४ हजार २ सय ३५ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । यस उपत्यकाको आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्यले निगम गठन गरिएको थियो । माथिल्लो क्षेत्रमा झारखण्डका ८ जिल्ला र तल्लोमा बंगालका आधा दर्जन जिल्लाले उपत्यका जोड्छ ।

बाढी नियन्त्रण योजना

सन् १९४२ अर्थात दोस्रो विश्व युद्धताका दामोदर उपत्यकामा ठूलो बाढी आयो । बाढीले झारखण्डदेखि पश्चिम बंगालका दर्जनौं ठाउँमा कटान गर्यो । बाढीले १० दिनमा कोलकातासम्मका धेरै ठाउँमा धनजनको क्षति पुर्यायो । भविष्यमा यस्तो प्रकोप नियन्त्रण गर्न तत्कालीन ब्रिटिश सरकारले टेननिसी उपत्यका प्राधिकरणका अमेरिकी इन्जिनियर एमएल वर्डलाई माइथान बाँध निर्माण गर्ने उद्देश्यले डिजाइन तयार गर्न लगायो ।

माइथान बाँधकाे जलाशय, झारखण्ड । तस्बिर : लक्ष्मण वियाेगी

वर्डले सन् १९४५ मा बाँधको डिजाइन तयार गरे । बाँध निर्माणको मुख्य उद्देश्य बाढी नियन्त्रण, सिँचाइ सुविधा विस्तार, पर्यटन तथा मनोरञ्जन र विद्युत उत्पादन, प्रसारण र वितरण गर्नु थियो । यही योजनाअनुसार बाँधको पहिलो चरणको काम सन् १९५३ मा पूरा भयो ।

बाँधको पूरै काम सन् १९५७ मा पूरा भएको थियो । यो बाँधको उदघाटन सन् १९५७ सेप्टेम्बर २७ मा भारतका प्रथम प्रधानमन्त्री पण्डित जहारुलाल नेहेरुले गरेका थिए । बाँध सञ्चालन भएको पनि ६० वर्ष पूरा भएको छ ।

बराकर नदीसमेत मिसिएर बन्ने दामोदर मौसमी नदी हो । नदीमा करिब ८२ प्रतिशत पानी बर्खा (जुलाईदेखि सेप्टेम्बरसम्म) मा जम्मा हुन्छ । जुलाईदेखि अक्टोबरसम्म तालमा पानी जम्मा गर्ने समय हो । यही पानी उपयोग गरी हिउँदमा सिँचाइ र विद्युत उत्पादन गर्ने गरिन्छ ।

निगमअन्तर्गत झारखण्डका माइथान बाँध क्षेत्रमा खानेपानी योजना, विद्यालय, अस्पताल, खेल मैदान, सिँचाइ तटबन्धलगायत दर्जनौं काम भएको छ । बाँध निर्माण क्रममा कति बासिन्दा विस्थापित भए वा स्थानान्तरण गरियो भन्ने तथ्य भने पंक्तिकारले फेला पार्न सकेन । बाँधको रेखदेख गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा इन्जिनियरले समेत यसबारे यकिन जानकारी दिन सकेनन् ।

६० मेगावाट विद्युत उत्पादन

माइथान बाँधको जलाशय ६५ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । जलाशयको पानी उपयोग गरी ६० मेगावाट विद्युत उत्पादन भएको छ । २० मेगावाटका ३ युनिट रहेको आयोजनाको विद्युतगृह भूमिगत छ । दक्षिण पूर्वी एसियामा पहिलो भूमिगत विद्युतगृह निर्माण भएकाले पनि यो बाँध तथा विद्युतगृह विश्वमा चर्चित छ ।

पानीको परिमाणअनुसार दैनिक १, ३ र ६ घन्टासम्म विद्युतगृह सञ्चालन हुन्छ । पछिल्लो समय पानी अभाव हुँदा क्षमताअनुसार विद्युतगृह सञ्चालन हुन सकेको छैन । अर्कोतिर पानी बढी जम्मा हुँदा बाँध फुट्ने खतरासमेत औंल्याइएको छ ।

विद्युत प्रसारण भइरहेकाे प्रसारण लाइन । तस्बिर : लक्ष्मण वियाेगी

१० लाख क्यूफिटसम्म पानी जम्मा हुने गरी अमेरिकी इन्जिनियर वर्डले बाँध डिजाइन गरेका थिए । तर, पर्याप्त जग्गा अधिग्रहण हुन नसक्दा २ लाख ५० हजार क्यूफिटमात्र जम्मा हुने गरी निर्माण गरियो । पछिल्ला वर्ष जलाशयमा १ लाख क्यूफिटमात्र पानी जम्मा हुने गरेको छ ।

ढुंगा, बालुवा तथा लेदो (सेडिमेन्ट वा सिल्ट) भरिँदै गएकाले पनि अब बाँधमा बढी पानी जम्मा हुने अवस्था देखिँदैन । सेडिमेन्ट निकाल्न वा जलाशय पुनर्निर्माण गर्न यस्तै अर्को नयाँ बाँध निर्माण गरेबराबर लागत आवश्यक पर्छ । यदि, सिल्ट निकालेर किनार वा बाँधमा थुपारे पनि बर्खामा जलाशयमै खस्छ वा बाँध फुट्ने खतरा हुन्छ ।

बाढीको चेतावनी

बर्खामा बढी पानी बाँधबाट निकास गर्दा वा बाँधका गेट खोल्दा तल्लो तटीय क्षेत्रलाई पूर्वजानकारी गराउनुपर्छ । तल्लो क्षेत्रका उद्योग, नगरपालिका तथा बर्दमान, वनकुरा र पुरलिया जिल्ला प्रशासनलाई जानकारी गराउनुपर्छ । पानी परेको वा जलाशयमा भएको पानीको परिमाणबारे डिभिसीसँग सहकार्य गरी भारतको दूरदर्शन टेलिभिजनले जानकारी दिइरहेको हुन्छ ।

माइथान बाँध सफलतापूर्वक ६० वर्ष सञ्चालन भइसक्यो । अब यसको मर्मतमा भारतले ध्यान दिनुपर्ने विश्लेषकहरूको सुझाव छ । यो ६० वर्षमा जलाशयको गहिराइ घटेको छ । यही कारण कुनै पनि बेला बाँध फुट्ने वा बर्खामा पानी ‘ओभरफ्लो’ हुने खतरा छ । यसैले सुरक्षित हिसाबले बाँधबाट बढी भएको पानी निकास गर्नुपर्ने हुन्छ ।

माइथान बाँधकाे जलाशय, झारखण्ड । तस्बिर : लक्ष्मण वियाेगी

निगमले यसका दुई वटा असर तत्काल देखिन सक्ने अनुमान गरेको छ । पहिलो, बर्दमान जिल्लामा सिँचाइमा समस्या हुनेछ । दोस्रो, विद्युत उत्पादनमा पनि यसले नकारात्मक असर पार्नेछ । बर्खामा बढीभन्दा बढी लेदो बगाएर ल्याउने हुँदा जलाशयको आयतन हरेक वर्ष घट्दै गएको छ । यो ऐतिहासिक बाँध जोगाइराख्न प्रभावकारी रूपमा मर्मत गर्नुपर्ने सरोकारवालाको तर्क छ ।

बाँध क्षेत्र नजिक दर्जनौं उद्योग सञ्चालन भइरहेकाले हरेक दिन प्रदुषणको जोखिम बढ्रदैछ । त्यस क्षेत्रमा १०५० मेगावाटको थर्मल विद्युतगृह पनि सञ्चालनमा छ । जुन निगम र टाटा पावरको स्वामित्वमा छ । यसले पनि प्रदुषण फैलाउँदा बाँध तथा जलाशय वरपर खतरा उत्पन्न भएको छ ।

प्रशस्त पानी आवश्यक पर्ने उद्योग सञ्चालनमा रहेको र बराकर नदीकै पानी उपयोग हुने हुँदा पनि जलाशयमा पानी कम हुँदै छ । यसले प्रदुषणसँगै त्यस क्षेत्रमा पानीको अभाव सिर्जना गर्दैछ । भूमिगत पानीका स्रोत यसअघि नै घट्दै गएकाले बाँध तथा जलाशय झन खतरायुक्त बन्दै गएको स्थानीयको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7