advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

‘हाइब्रिड’ वायु–सोलार ऊर्जाले ग्रामीण विद्युतीकरणलाई जाेड्दै

   कार्तिक २२, २०७४        1369        ऊर्जा खबर/काठमाडौं

 

बिजुलीको माग भए पनि नेपाल विद्युत प्राधिकरणले देशका दुर्गम ठाउँसम्म सेवा पुर्याउन सकेको छैन । तार वा प्रसारण लाइनबाट देशमा बिजुली ओसार्ने (प्रसारण गर्ने) वा वितरण गर्ने योमात्र एउटा निकाय हो ।

बिनातारको प्रविधिबाट दुर्गम ठाउँमा बिजुली उत्पादन तथा वितरणको जिम्मा भने झन्डै दुई दशकदेखि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले लिएको छ । केन्द्रकै प्रयासबाट विकट हिमाली तथा पहाडी क्षेत्रमा पनि बिजुली बलेको छ ।

तस्बिर : सन्ताेष राई, एइपिसी

केन्द्रले अहिलेसम्म देशका दर्जनौं ठाउँमा सोलार, लघुजलविद्युत्, वायु, बायोग्यासलगायत स्रोतबाट बिजुली बाल्दै आएको छ । पछिल्लो समय दुर्गम क्षेत्रमा प्रभावकारी तथा गुणस्तरीय सेवा पुर्याउन ‘हाइब्रिड’ वायु–सोलार अघि बढाएको छ ।

भौगोलिक अवस्था, स्थानीयस्तरमा बिजुलीको माग, हावा चल्ने र घाम लाग्ने उचित ठाउँ छनोट गरेर वायु र सोलार एकै स्थानमा जडान गर्ने प्रविधि ‘हाइब्रिड वायु–सोलार’ हो । केन्द्रले अहिलेसम्म देशका ५ ठाउँमा यस्तो प्रविधिबाट बिजुली उत्पादन गरिसकेको छ ।

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा २०६८ सालमा नवलपरासीको धौबडीमा पहिलो पटक वायु–सोलार आयोजनाको परीक्षण उत्पादन सुरु भएको थियो । त्यतिबेला एकै ठाउँमा वायु र सोलार प्लान्टबाट क्रमशः १० र २ किलोवाट गरी १२ किलोवाट बिजुली उत्पादन गरिएको थियो ।

तस्बिर : सन्ताेष राई, एइपिसी

परीक्षण उत्पादनपछि सरकारकै लगानीमा देशका थप ४ ठाउँमा यस्तो प्रविधिबाट ९० किलोवाट बिजुली उत्पादन भएको छ । देशका अन्य चार ठाउँमा यही प्रणालीबाट बिजुली उत्पादनको तयारी भइरहेको केन्द्रका नेपाल मिनी ग्रिडका अायाेजना प्रबन्धक सन्तोष राईले बताए ।

राईका अनुसार मकवानपुर फापरबारीस्थित भोर्लेनीमा २५ किलोवाट (१० कि.वा. वायु, १५ कि.वा. सोलार), जुम्लाको तातोपानीमा २६ किलोवाट (१५ कि.वा. वायु, ११ कि.वा. सोलार), अछामको कमलबजारमा ३१ किलोवाट (२० कि.वा. वायु, ११ कि.वा. सोलार) र सुर्खेतको तरंगामा ८ किलोवाट (३ कि.वा. वायु, ५ कि.वा. सोलार) बिजुली सरकारको लगानीमा उत्पादन भएको छ ।

यसैगरी, एडिबीको सहयोगमा दक्षिण एसिया उपक्षेत्रीय आर्थिक समन्वय (सासेक) कार्यक्रमअन्तर्गत सिन्धुलीको चिसापानीमा ३५ किलोवाट (२० कि.वा. वायु, १५ कि.वा. सोलार) उत्पादनको अन्तिम तयारी भइरहेको पनि राईले जानकारी दिए ।

सासेक कार्यक्रमबाहेक एडिबीकै सहयोगमा पाँचथरको सप्तमीमा ७० किलोवाट (५० कि.वा. वायु, २० कि.वा. सोलार) बिजुली उत्पादन गर्न उपकरण जडान भइरहेको छ ।

सरकारी लगानीमा चालू आर्थिक वर्षभित्र जुम्लाको नराकोटमा ८० किलोवाट (५० कि.वा. वायु, ३० कि.वा. सोलार) र पाल्पाको मित्यालमा २५ किलोवाट (१५ कि.वा. बायु, १० कि.वा. सोलार) बिजुली उत्पादन हुँदैछ ।

केन्द्रले भोजपुर, सिन्धुली, बझाङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, कैलाली, मुस्ताङलगायत जिल्लामा १५ आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेको जनाएको छ ।

‘हाइब्रिड बायु–सोलार उत्पादन कसरी ?

तस्बिर : सन्ताेष राई, एइपिसी

हावा र घामबाट एकै ठाउँमा उपकरण राखेर बिजुली उत्पादन गर्ने प्रणाली संसारमा धेरै पहिले सुरु भए पनि नेपालमा ५/६ वर्षअघि मात्र भित्र्याइएको हो ।

नवलपरासीको धौबडीमा परीक्षण उत्पादन सुरु गरेपछि विस्तारै यो प्रणालीबाट बिजुली उत्पादनको क्षेत्र फराकिलो हुँदै गएको छ । बिजुली उत्पादनपूर्व केन्द्रले ठाउँ छनोट गर्छ ।

बढी हावा चल्ने वा घाम लाग्ने ठाउँ छनोट गरी एक वा दुई वर्षसम्म ‘वायु ऊर्जा तथ्यांक संकलन केन्द्र’ राखिन्छ । छनोट गरिएको ठाउँमा राखिएको उपकरणले लक्षित समयभित्र तथ्यांक जम्मा गर्छ । यही तथ्यांकका आधारमा कति बिजुली हावा र घामको किरणबाट निकाल्न सकिन्छ भन्ने यकिन हुन्छ ।

मुख्यतः ग्रामीण क्षेत्रलाई लक्षित गरी सञ्चालन भइरहेको प्रणालीमा एउटै ट्रान्सफर्मरले वायु र सोलारका बिजुली उत्पादन गर्ने उपकरणलाई नियन्त्रण गर्न सक्छ । तर, ठूला आयोजनाका लागि भने एउटै ट्रान्फर्मरले काम गर्न नसक्ने राईले बताए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7