advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

ठेकेदारको लापरबाहीले तीन वर्ष नपुग्दै भत्कियो बबई नदीको पुल

   कार्तिक २४, २०७४        1302        ऊर्जा खबर/काठमाडौं
तस्बिर : सडक विभाग पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाकाे फेसबुकबाट साभार

ठेकेदारको लापरबाहीले निर्माण भएको तीन वर्ष नपुग्दै बर्दियाको बबई नदीकाे पुल भत्किएको छ । जब्दीघाटमा निर्माण भएको पुल कमजोर सामग्री तथा गलत डिजाइन प्रयोगका कारण भत्केको हो ।

सदरमुकाम गुलरियादेखि करिब १० किलोमिटर पूर्व उत्तर बबई नदीमा पप्पु कन्सट्रक्सनले पुल निर्माणकाे जिम्मा पाएकाे थियाे । काम पूरा गरेर सरकारलाई हस्तान्तरण नगर्दै भत्केको छ । तोकिएको काम पूरा नगरेको अवस्थामै पुल भत्केको सडक विभाग पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले बताए ।

‘निर्माणक्रममा त्रुटी देखियो, डिभिजन कार्यालयले सच्याउन पटक–पटक पत्राचार गरे पनि ठेकेदारले बेवास्ता गरेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘काम पूरा गर्नुको साटो उसले सर्वोच्च अदालतमा विभागविरुद्ध मुद्दा हालेको छ ।’

करिब १६ करोड ६८ लाख रुपैयाँमा पूरा गर्ने गरी २०६८ असार २२ देखि काम सुरू भएको पुल २०७१ पुस २१ मा पूरा हुनुपर्थ्याे । पुनः निर्माण अवधि २०७३ असार २५ सम्म पूरा गर्ने गरी संशोधन गरिएको थियो । तर, अहिलेसम्म काम पूरा भएको छैन ।

तस्बिर : सडक विभाग पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाकाे फेसबुकबाट साभार

ठेकेदारले आफ्नो तर्फबाट काम पूरा गरेको तर सरकारले स्वामित्व लिन नमानेको भन्दै मुद्दा हालेको थापाले बताए । उनका अनुसार निर्माण भएको केही समयमै पुलमा खराबी देखिएकाले आफ्नो कमजोर सच्याउन ठेकेदारले अटेर गर्दै आएको छ ।

काम पूरा नभएकाले ठेकेदारलाई दुई पटक लिखित जानकारी गरे पनि उसले आफ्नो जिम्मेवारीमा नपरेको बताउँदै आएको छ । विभागले गल्ती सच्याउन ताकेता गरे पनि बेवास्ता गरिरहेको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख अर्जुन बमले बताए ।

झन्डै ५ सय मिटर लामो पुल गत साउन २८ गते आएको बाढीले भासिएको थियो । यही कारण सवारी यातायात तथा पैदल यात्रुलाई समस्या भएको छ । ठेकेदारले गल्ती नसच्याएका कारण विभागले उसको करिब २ करोड ५० लाख रुपैयाँबराबरको भुक्तानी समेत रोकेको छ ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले मुद्दाको टुंगो लागेर पुल निर्माणमा देखिएको त्रुटी नसच्चिएसम्म ठेकेदारको भुक्तानी रोकिने विभागले जनाएको छ । सर्वोच्चमा आइतबार मुद्दाको सुनुवाई रहेको बमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7