advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

मध्यपहाडी राजमार्गको पूर्वी खण्ड अन्तिम चरणमा

   कार्तिक २९, २०७४        1775        ऊर्जा खबर/काठमाडौं

हिमाल र पहाडको विकासलाई जोड्ने उद्देश्यले निर्माण सुरु गरिएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । सडक विभागको दबाबपछि कामले गति लिएको हो ।

अधिकांश ठाउँमा ट्र्याक खोलिए पनि स्तरोन्नती, विस्तार तथा कालोपत्रे गर्ने काम भइरहेको छ । पूर्वी पाँचथरको चियाेभज्याङदेखि नुवाकोट–सिन्धुपाल्चोक सीमासम्मको ६ सय ८९ मिलोमिटर स्तरोन्नतीको काम भइरहेको मध्यपहाडी राजमार्ग पूर्वी खण्डका आयोजना प्रमुख सत्येन्द्र शाक्यले बताए ।

‘उक्त खण्डमा ट्र्याक खोल्ने कार्य सम्पन्न भई सडक चौडा गर्ने, कलभर्ट बनाउने, पुल निर्माण र कालोपत्रेलगायत काम भइरहेको छ,’ उनले भने, ‘बाँकी केही ठाउँको ट्र्याक खनिँदैछ ।’

पूर्व–पश्चिम मुख्य राजमार्गपछि र चुरे तथा भित्री मधेशलाई पूर्व–पश्चिमसँग जोड्ने हुलाकी राजमार्गपछि यो तेस्रो ठूलो सडक हो । यसलाई पहाडी क्षेत्रको जीवन पद्दति पनि मानिएको छ ।

यो सडक पूर्व पाँचथरको चिवाभञ्याङबाट सुरु भई बैतडीको झुलाघाटमा गएर टुंगिन्छ । चियाेभञ्याङदेखि झुलाघाटसम्म पुग्दा राजमार्गले पहाडका ३९ मध्ये २४ जिल्ला पार गर्छ । तीमध्ये १९ जिल्ला सदरमुकामसम्म राजमार्गको पहुँच हुनेछ ।

हालसम्म पूर्वी खण्डको ४ सय किलोमिटर सडक ट्रयाक खोल्ने काम पूरा भएको छ । राष्ट्रिय गौरवको सूचीमा रहेको आयोजना भएकाले बजेटको अभाव नरहेको शाक्यले बताए । ‘हरेक काममा स्थानीयले सहयोग गरेका छन्, सरकारले बजेटको अभाव हुन दिएको छैन,’ उनले भने, ‘बिनाअवरोध काम धमाधम हुँदैछ ।’

उनका अनुसार हालसम्म मध्यपहाडी लोकमार्ग निर्माण गर्न ९ अर्ब ४ करोड रुपैयाँ खर्च भएको छ । सरकारले चालू आर्थिक वर्षका लागि पूर्व र पश्चिम खण्डमा २/२ गरी ४ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

यो राजमार्गले थुप्रै अन्य ससाना बस्ती जोड्ने हुँदा मध्यपहाडी क्षेत्रको विकासको मेरुदण्ड मानिएको छ । सरकारले राजमार्ग नजिक ठूला सहर विकास गर्ने योजना चर्चामा आएसँगै यो सडक बढी अर्थपूर्ण मानिएको छ ।

सडकको काम आर्थिक वर्ष २०६४/०६५ सालबाट सुरु भएको थियो । आयोजनाले पूर्वी खण्डअन्तर्गत चार ठाउँमा बाँडेर काम गरिरहेको छ । फिदिम १ सय ११, म्याङ्लुङ १ सय ४१, भोजपुर २ सय ६२ र सिन्धुली खण्ड १ सय ७५ किलोमिटरमा बाँडिएको आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7