advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

आयल निगमको मासिक घाटा ५५ करोड पुग्यो

   मङि्सर ०५, २०७४        147   

नेपाल आयल निगमको मासिक घाटा बढेर ५५ करोड रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार उकालो लाग्दै गए पनि सोही अनुसार स्थानीय बजारमा मूल्य समायोजन नहुँदा निगमको घाटा बढ्दै गएको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गए पनि निगमले पछिल्लो तीन महिनायता स्थानीय बजारमा मूल्य समायोजन गरेको छैन । जसका कारणले गर्दा पनि घाटा बढ्दै गएको निगमको भनाई छ । निगमका निमित्त निर्देशक रामप्रसाद पाठकले घाटा बढेर मासिक ५५ करोड रुपैयाँ पुगेको बताए । “अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको छ,” पाठकले भने, “चुनावले गर्दा स्थानीय बजारमा मूल्य समायोजन नहुँदा निगमको घाटा बढ्दै गएको हो ।”

निगमलाई सबैभन्दा धेरै खाना पकाउने एलपी ग्यास र डिजेलमा घाटा छ । प्रतिलिटर डिजेलमा ३ रुपैयाँ ९८ पैसा र ग्यासमा प्रतिसिलिन्डर २ सय ३७ रुपैयाँ घाटा छ । डिजेलमा निगमलाई मासिक २० करोड १ लाख र ग्यासमा ३० करोड ४ लाख रुपैयाँ घाटा छ । पेट्रोलमा प्रतिलिटर १४ पैसा, मट्टितेलमा १५ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ र बाह्यमा १८ रुपैयाँ ३१ पैसा नाफा रहेको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १६ नोभेम्बरमा पठाएको नयाँ मूल्यअनुसार डिजेल र पेट्रोलमा मूल्य बढेर आएको छ । यसअघि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ३७ पैसा नाफा रहेकोमा अहिले घटेर १४ पैसामा झरेको छ ।

यस्तै डिजेलमा २ रुपैयाँ घाटा रहेकोमा अहिलेर बढेर ३ रुपैयाँ ९८ पैसा पुगेको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मुल्य सामायोजन गर्ने गर्छ । तर, लामो समयदेखि मूल्य समायोजन नहुँदा निगमको घाटा बढ्दै गएको छ । यसअघि नोभेम्बर १ तारिखमा निगमले मूल्य बढाएको थियो । चुनावका बेला मूल्य बढाउँदा नराम्रो प्रभाव पर्न सक्ने भन्दै सरकारले तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो ।

निगमले २०७२ सालमा इन्धनमा स्वचालित मूल्य लागू गरे पनि पूर्णरुपमा कार्यान्वयनमा आएको छैन । स्वचालित मूल्यअनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घटाउनुपर्ने हुन्छ । तर, निगमले पूर्णरुपमा स्वचालित मूल्य लागु गर्न सकेको छैन । पछिल्लो दुई÷तीन महिनायता अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उकालो लाग्दै गएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिव्यारेल इन्धनको मूल्य ५६ दशमलव ५५ डलर पुगेको छ ।

निगमका अनुसार हाल मासिक सरदर ७५ देखि ८० हजार किलोलिटर डिजेलको माग छ । त्यस्तै पेट्रोल मासिक २५ सयदेखि ३ हजार किलोलिटर, हवाई इन्धन १२ हजारदेखि १५ हजार किलोलिटरको माग छ । उपत्यकामा दैनिक साढे चार सय किलोलिटर पेट्रोल र साढे पाँच सय किलोलिटर डिजेल खपत हुने गर्छ ।

स्रोत:कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7