advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

मानसरोवरको यात्रा र तिब्बतको पर्यटन

   मङि्सर ०७, २०७४        3516        ज्योतिष दिवाकर पन्त
दिवाकर पन्त

प्राकृतिक तथा सौन्दर्यको दृष्टिले चीनको तिब्बत विश्वकै छानो मानिन्छ । विशेष भौगोलिक वनावट र संस्कृति भएकाले पछिल्ला दशकमा तिब्बत संसारका लागि चासो एवं आकर्षण गन्तब्य बन्दैछ । योसँगै आध्यात्मिक जगतमा तिब्बती अध्यात्मको अभ्यास विश्वमा परिचित छ ।

यसैलाई आधार मानेर चीनको यो प्रान्तले पर्यटनलाई राष्ट्रिय आम्दानीको स्रोतको रूपमा विकास गर्दैछ । पर्यटनको बाटो समातेर स्थानीय उत्पादनबाट हुने आम्दानी हरेक किसानमा पुर्याउने तिब्बती प्रशासनको रणनीति ज्यादै प्रशंसनीय देखिन्छ ।

तस्बिर : दिवाकर पन्त

गत भदौ अन्तिम साता (सेप्टेम्बर दोस्रो साता) ल्हासा हुँदै मानसरोवर र त्यहाँबाट कैलाशसम्म जाने अवसर जुर्यो । दुई हप्ता लामो यात्रामा केवल घुम्नमात्र नभई पर्यटन विकास अनुभव गर्दै नजिकबाट नियाल्न पाइयो ।

नेपाल पनि विश्वको आकर्षक पर्यटकीय गन्तब्य मानिन्छ । तर, दस लाख पर्यटक भित्र्याउने योजना सपना जस्तै भएको छ । देशको पर्यटन क्षेत्रमा केही योगदान पुग्ने अपेक्षाले मेरो यात्रा अनुभव समेट्ने प्रयास गरेको छु । तिब्बतको पर्यटन विकास नेपालका लागि पनि ग्रहणयोग्य हुन सक्छन् ।

फराकिला सडक

विकासको पहिलो खुड्किलो सडक हो । तिब्बतले यसैलाई आत्मसाथ गरेको देखियो । ४ हजारदेखि ५ हजार ५ सय मिटर उचाईसम्म मोटरबाटो निर्माण भएको छ । त्यहाँ भौगोलिक तथा प्राकृतिक अवरोध मान्छेकै प्रयासले छिचोल्न सकिन्छ भन्ने गतिलो उदाहरण देख्न सकिन्छ ।

तस्बिर : दिवाकर पन्त

पहाडी तथा हिमाली पठारमा फराकिला चार लेन सडक निर्माण गरेर तिब्बतले विकासको उचाई चुमेको भान हुन्छ । कम भौगोलिक क्षति पुग्ने गरी किनारमा ढुंगा प्रयोग गरी उठाएर फराकिलो बाटो निर्माण गरेको देखियो ।

तिब्बत तथा स्थानीय प्रशासनले सडक निर्माणमा आवश्यक सामग्रीको प्रयोग बिनासम्झौता गर्दाे रहेछ । योसँगै राजमार्गमा आवश्यक हरेक संकेत तथा सुरक्षा उपाय अपनाएको देखियो । फराकिलो र गुणस्तरीय सडक निर्माण गर्न कुनै कसर बाँकी राखेको पाइएन । नेपालमा जस्तो हरेक निकाय वा पक्षसँग सम्झौता गर्नुपर्ने जरुरी त्यहाँ रहेनछ ।

सांस्कृतिक संरक्षण

समाजलाई जीवन्त राख्न आफ्नो पहिचान एवं मौलिक संस्कृति संरक्षित हुन आवश्यक छ । यो मर्म तिब्बती प्रशासनले राम्रोसँग बुझेको देखियो । पूर्वाधार निर्माण गर्दा कम वातावरणीय असर पर्ने उपाय अपनाइँदो रहेछ । साथै, असर पर्न गए त्यसको उचित क्षतिपूर्तिको व्यवस्था हुँदो रहेछ ।

तस्बिर : दिवाकर पन्त

तिब्बती संस्कृतिलाई गौरवपूर्ण तरिकाले पर्यटकसमक्ष राख्ने र आफ्नो पहिचान मूल्यवान हो भन्ने सन्देश दिन कुनै तिब्बती चुक्दा रहेनछन् । मृत्युपछि मृतकको शरीर गिद्धलाई ख्वाउने संस्कृतिमा समेत पर्यटकको ध्यान खिच्दा रहेछन् ।

तिब्बतका पुराना गुम्बा बडो जतनले संरक्षण गरिएको रहेछ । ती गुम्बामा विश्वका विभिन्न देशबाट ध्यान गर्नकै लागि हजारौं पर्यटक आउँदा रहेछन् । यो आध्यात्मिक शान्तिको खोजमा निस्कनेको तिर्खा मेट्ने उचित थलो पनि रहेछ । हरेक गुम्बाहरू मर्मत गरी संरक्षण गरिएको छ ।

अझ उच्च हिमाली भेगका एकान्तमा रहेका गुम्बा नयाँ तथा आधुनिक प्रविधि प्रयोग गरी पुनर्निर्माण गरिएको छ । यसो गर्दा सांस्कृतिक भाव जोगाएर मर्मत गरिने रहेछ ।

तिब्बतका विभिन्न क्षेत्रमा सरकारले आवास क्षेत्र निर्माण गरेको रहेछ । दर्जनौं ठाउँमा आवास निर्माण भइरहेको छ । त्यहाँ आधुनिक सामान, उपकरण र प्रविधि प्रयोग गरिए पनि तिब्बती आवास निर्माणको शैली जस्ताको तस्तै राखिने रहेछ । पुराना तिब्बती बस्तीको झल्को दिने गरी आवास निर्माण गरिएको छ ।

बस्तीका घरको दूरी फराकिलो बनाइने रहेछ । ती आवासका हरेक घरमा अनिवार्य शौचालय निर्माण गरिएको छ । विद्यालय, खेल मैदान र जिम सेन्टरसमेत निर्माण गरेर पर्यटकलाई लोभ्याइएको छ । मान्छेलाई संस्कृति जोगाउन र त्यसप्रति गौरव गर्न प्रोत्साहन गर्ने तिब्बती परम्परा लोभलाग्दो देखिन्थ्यो ।

फुर्तिला गाइड र पर्यटन व्यवसायी

तिब्बतीहरू निकै कमले अंग्रेजी भाषा बोल्दा रहेछन् । तर, पछिल्ला दिनमा अमेरिका वेलायत जस्ता देशमा अध्ययन गरेर फर्केका तिब्बतीको संख्या बढ्दो छ । उनीहरू पर्यटन व्यवसायमा संलग्न हुन थालेकाले पर्यटकका लागि सहज हुन थालेको छ । गाइडलाई तालिम दिएर पर्यटकलाई कस्ता जानकारी उपलब्ध गराउने, उनीहरूको जिज्ञासा कसरी समाधान गर्ने भन्ने सिकाइँदो रहेछ ।

तस्बिर : दिवाकर पन्त

यही सिकाइले त्यहाँका नकारात्मक विषयमा पनि गाइडले अत्यन्त कुशल ढंगले पर्यटकलाई व्याख्या गर्दा रहेछन् । पर्यटकले के कस्ता विषयमा जान्न चाहन्छन् । र, त्यसलाई कसरी सूसुचित गर्ने भन्नेमा गाइड चलाख हुने रहेछन् ।

तिब्बती गाइडले पर्यटकलाई त्यहाँ के गर्न हुने र नहुने भन्ने बुझाउने रहेछन् । वातावरण संरक्षणमा थालिएका प्रयासबाट पर्यटकलाई पर्ने असुविधाप्रति सचेत गराइँदो रहेछ ।

पर्यटकलाई सत्कार

पर्यटकलाई सक्दो सुविधा दिनुपर्छ । यही भावअनुसार व्यवसाय चलाउनुपर्छ भन्नेमा व्यवसायी सचेत रहेको देखियो । हरेक होटलका वेटर, कुक र अन्य कर्मचारीलाई बिहान काम सुरु हुनुअघि मौखिक प्रशिक्षण (ओरेन्टेसन टे«निङ) दिइँदो रहेछ । पाहुनाप्रति गर्ने व्यवहार, उनीहरूको सामान रक्षा गर्ने र कोठा सफा गर्दा पाहुनाको सामान छुन नहुने प्रशिक्षण दिइने रहेछ ।

पर्यटकलाई तिब्बती खाना खान प्रोत्साहन गरिन्छ । खाना बनाउने र सेवा दिने व्यवस्था गरिने रहेछ । तर, तिब्बती खानाको प्रचार गर्न उनीहरू चुकेको देखियो । पर्यटक तिब्बती मरमसला राखेका खानेकुरा खान पर्यटकले रुचाउँदा रहेछन् । स्थानीय उत्पादन बढी हुने हुँदा यसमा पर्यटक पनि लोभिने रहेछन् ।

रोजगारीको अवसर

पर्यटन उद्योगले धेरै तिब्बतीको जीवनमा सुधार ल्याएको छ । दुर्गम गाउँमा बस्नेले घोडाको सेवा, भरियाको काम गरेर राम्रो आम्दानी गर्ने रहेछन् । आफनो क्षमता अनुसार पर्यटनसँग सम्बन्धित काम गरेर आर्थिक हैसियत सुधारेका छन् ।

हिमाली भेगमा भ्रमण गर्ने पर्यटकलाई घोडा सेवा दिन दुर्गम क्षेत्रमा बस्नेले काम गर्दा रहेछन् । यसमा महिला पुरुष समानरूपमा सक्रिय हुन्छन् । कतिपय क्षेत्रमा लक्षित व्यक्तिलाई सम्बन्धित काममा लगाउनुपर्ने नियम छ । निश्चित क्षेत्रमा प्रवेश गर्ने पर्यटकका लागि त्यसै क्षेत्रका बासिन्दाले सेवा गर्न पाउने रहेछन् । त्यहाँका बासिन्दा यसबाट लाभान्वित भएको देखियो ।

ठूला ठूला होटल

तिब्बत प्रशासनले विभिन्न पर्यटकीय क्षेत्रमा अग्ला–अग्ला भवनसहित होटल खोलेको छ । केही ठाउँमा खोल्दै छ । सरकारले भवन निर्माणपछि होटल संचालन गर्न निजी व्यवसायीलाई भाडामा दिँदो रहेछ ।

तस्बिर : दिवाकर पन्त

५ हजार मिटर उचाईसम्म ठूला होटल निर्माण भइरहेका छन् । चिसो हावा चल्ने ठाउँमा पनि पर्यटकले गुणस्तरीय सेवा लिन पाउँदा रहेछन् । पैसा तिरेपछि पर्यटकले सेवामा आफ्नो पैसा गुमेछ भनी पछुताउनु पर्दैन ।

तिब्बतमा वर्षेनी औसत १ करोड ५० लाख पर्यटक आउँदा रहेछन् । यसमध्ये ९० प्रतिशत चिनियाँ हुँदा रहेछन् । आन्तरिक पर्यटन विस्तारमा उतिकै जोड दिइएको छ । कूल आउने पर्यटकमध्ये तीस लाख पर्यटक हवाई माध्यमबाट आउने रहेछन् । बाँकी रेल यात्राबाट आउँदा रहेछन् ।

होटलका कोठा ठूला र फराकिला बनाइएको छ । फराकिला भर्याङ र खुला ठाउँ देख्दा पर्यटक हर्षित हुन्छन् । होटलका हरेक तलामा फायर फाइटिङ सिस्टम तयारी अवस्थामा राखिने रहेछ ।

सरसफाई

तिब्बतलाई प्रदुषणरहित बनाउन प्रयास गरेको देखियो । प्लाष्टिकजन्य पदार्थ जथाभावी नफालुन भनी ठाउँ ठाउँमा फोहोर फाल्ने कन्टेनर राखिएको छ । तर, कतिपयले बाटो वरपर फाल्ने वस्तु कम्तिमा वर्षमा एक पटक संकलन गर्न कर्मचारी खटाइन्छ । सडक पुगेका ठाउँमा फोहर संकलन गर्न गाडी प्रयोग गरिन्छ ।

उच्च हिमाली भेगका कतिपय डाँडाँमा त्यहाँ पुग्नेले चिनोस्वरूप आफ्ना कुनै न कुनै वस्त्र छोडेमा राम्रो हुने मान्यता रहेछ । यस्ता ठाउँमा मान्छेले आफ्ना लुगा वा कपाल, धागो, टोपी लगायत सामान छोड्दा रहेछन् । ती सामान वर्षाैसम्म जस्ताको तस्तै रहेको देखियो । चिसो मौसमले पनि वर्षौंसम्म ती सामान दुरुस्तै हुँदा रहेछन् ।

राम्रो प्रयास हुँदा–हुँदै तिब्बतमा केही चुनौती भने देखियो । वियरका बोतल जथाभावी फाल्ने र कतिपय फुट्ने हुँदा त्यसले केही प्रदुषण बढाएको छ । त्यसैगरी, रेड बुलजस्ता इनर्जी ड्रिङ्सका बट्टा पनि प्रदुषणका कारण बन्दैछन् । मानसरोवर र त्यस्तै प्राकृतिक तालमा स्याम्पु, साबुन प्रयोग गर्न बन्देछ रहेछ ।

(लेखक दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक  तथा नेपाल ज्याेतिष परिषद्का केन्द्रीय पार्षद् हुन्। सम्पर्क नम्बर ९८४१५२७५१०)

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7