advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३३८ मेगावाट
  • निजी क्षेत्र : २५३ मेगावाट
  • भारत : ३५६ मेगावाट
  • लोडसेडिङ : ३०० मेगावाट (उद्याेग)
  • माग : १२४७ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

एक वर्षभित्र बिजुली बाल्दै सोलु जलविद्युत आयोजना

   मङि्सर १५, २०७४        4810        ऊर्जा खबर/काठमाडौं

सोलुखुम्बुमा निर्माणाधीन २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनाले एक वर्षभित्र बिजुली उत्पादन गर्ने भएको छ । ६२ प्रतिशत निर्माण पूरा भएको आयोजनाले २०७५ कात्तिकबाट उत्पादन सुरु गर्ने भएको हो ।

तीव्र गतिमा निर्माण भइरहेको आयोजनाको सिभिल तर्फ ५५ प्रतिशत काम सकिएको अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका प्रमुख कार्यकारी अधिकृत शशीसागर राजभण्डारीले बताए ।
‘आयोजनाको निर्माणले अहिले गति लिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘६२ प्रतिशत निर्माण सकिएको आयोजनाको सिभिलको ५५, हाइड्रोमेकानिकलको ६० र इलेक्ट्रोमेकानिकलतर्फ ५० प्रतिशत पूरा गरेका छौं । अहिलेको कामको गति नरोकिए एक वर्षभित्र उत्पादन सुरु गर्छौं ।’

        सोलु जलविद्युत आयोजनाको हेडवर्क्स

उनका अनुसार आयोजनाको बाँध ७१ प्रतिशत निर्माण पूरा भएको छ । बाँध क्षेत्रको कंक्रिटिङ सकिएको छ ।  ‘एप्रोच क्यानल’ र बालुवा थिग्राउने पोखरी (डिसेण्डर) को काम अन्तिम चरणमा पुगेको छ ।

‘लो प्रेसर’ पेनस्टक पाइप बिच्छ्याउने काम ६५ प्रतिशत सकिएको छ । आयोजनाको ४ हजार ३ सय मिटर पेनस्टक पाईप मध्ये ३ हजार ९ सय मिटर लो प्रेसर र ४ सय मिटर हाई प्रेसर पेनस्टक पाइप रहनेछ । यसबिचमा करिब १ सय ७० मिटर लामो सुरुङ समेत रहनेछ । सुरुङ निर्माण पनि अघि बढेको छ ।

आयोजनाको निर्माणाधीन सुरुङ

‘सर्ज ट्याङ्क’ मा ८३ प्रतिशत र विद्युतगृहमा ५५ प्रतिशत भौतिक प्रगति भएको कम्पनीले जनाएको छ । ४ अर्ब ३० करोड रुपैयाँको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा ८ बैंकले लगानी गरेका छन् । निर्माणपछि सोलुले वार्षिक १ सय ३२.५ गिगावाट घन्टा बिजुली उत्पादन गर्नेछ ।

उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने कोसी कोरिडोर अन्तर्गतको १३२ केभी लम्माने सबस्टेसनमा लगेर जोडिनेछ । विद्युतगृहदेखि सबस्टेसन सम्म ३ किलो मिटर प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ ।

प्रसारण लाइनको समस्या
एक वर्षभित्र आयोजनाबाट बिजुली उत्पादन सुरु हुने निश्चित भए पनि सोलु कोरिडोर प्रसारण लाइन तयार नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन निर्माणको काम भर्खरै सुरु गरेकाले आयोजनाले उत्पादन थाल्नुअघि तयार नहुने देखिएको हो ।

प्रसारण लाइन निर्माणमा देखिएको सुस्तताले आयोजनाको बिजुली खेर जाने चिन्ता बढेको राजभण्डारीले बताए ।
‘वनको समस्या नभएका जिल्लामा ठेकेदारले टावर राख्ने फाउण्डेसन तयार गर्दैछ,’ उनले भने,‘एक वर्षभित्र पूरा गर्न सम्भव देखिँदैन । हाम्रो आयोजनाको बिजुली जोड्न अन्य प्रसारण लाइनको विकल्प हेर्दैछौं ।’

सोलु कोरिडोर समयमा तयार नभएमा आंशिक तथा अस्थायी प्रसारण सुविधा उपलब्ध गराउन प्राधिकरणलाई आग्रह गरिएको उनले बताए ।
बुईंपा-ओखलढुङ्गा प्रसारण लाइनको स्तरोन्नती गरेर ३३ केभीमा चार्ज गर्नुपर्ने, ओखलढुङ्गा सबस्टेसनको पूरा गरेर सञ्चालन गर्नुपर्ने, ओखलढुङ्गा-सल्लेरी ३३ केभी प्रसारण तिन्ला सबस्टेसनसम्म जोड्ने गरी निर्माण सम्पन्न गर्नुपर्ने विकल्प कम्पनीले प्राधिकरणलाई दिएको छ ।
आयोजनाको बिजुली वैकल्पिकरुपमा जोड्ने प्रबन्ध मिलाउँदासमेत हिउँदमा ६० देखि ७० प्रतिशत र बर्खामा २५ प्रतिशतमात्रै राष्ट्रिय प्रसारणमा जोड्न सम्भव हुनेछ ।

वन नभएका जिल्लामा टावर निर्माणको काम सुरु भए पनि सिराहा र उदयपुरमा रुख कटानको स्वीकृतिसम्बन्धि फाइल अहिले वन मन्त्रालयमा पुगेको छ । मन्त्रालयबाट पास भएको फाइल मन्त्रीपरिषदबाट पारित भएपछि रुख काट्ने स्वीकृति प्राप्त हुनेछ ।

सोलुखोलामा २३.५ मेगावाट क्षमताको सोलुसहित ८२ मेगावाटको तल्लो सोलु, १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु दुधकोसी, र सोलुको सहायक खोलामा ५.२ मेगावाट क्षमताको जुनबेसी जलविद्युत आयोजना पनि निर्माणको विभिन्न चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7