advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘प्रसारण लाइन समयमै नबन्दा सोलुको विद्युत् खेर जाँदैछ’

   मङि्सर २४, २०७४        6816   

शशिसागर राजभण्डारी सिभिल इन्जिनियर हुन् । नेपाल विद्युत् प्राधिकरणमा ३१ वर्ष काम गरेर स्वैच्छिक अवकास लिएका उनी अहिले अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीमा आवद्ध छन् । सरकारी निकायमा काम गरेका राजभण्डारीसँग जलविद्युत् आयोजना निर्माणको लामो अनुभव छ । उनले निजी क्षेत्रमा पनि उतिकै कुशलपूर्वक जिम्मेवारी सम्हालेका छन् । सरकारी अनुभव, निजी क्षेत्रको जिम्मेवारी र केही समस्याबारे ऊर्जा खबरकी धना ढकालले उनीसँग गरेको कुराकानी :

प्राधिकरणमा कति वर्ष काम गर्नुभयो ?

३१ वर्ष सेवा गरेँ । २०३६ सालमा इन्जिनियरको रूपमा प्रवेश गरेर निर्देशकसम्म भएँ । २०६७ सालमा अवकास लिएको हुँ । पछिल्ला वर्षमा निजी प्रवद्र्धकको रूपमा जलविद्युत् आयोजना निर्माणमा सक्रिय छु ।

तत्कालीन सोभियत संघबाट इन्जिनियरिङ सकेर २०३६ सालमा नेपाल फर्किएँ । ६० मेगावाटको कुलेखानी–१ को निर्माण सुरु भएको थियो । स्वर्गीय हरिमान श्रेष्ठले त्यहाँ इन्जिनियर पद खाली छ भन्नुभयो । म यसबारे बुझ्न मकवानपुर गएकाे थिएँ । तर, बुझ्न गएकै दिन आयोजनामा हाजिर गराइयो । यसरी म प्राधिकरण प्रवेश गरेको हुँ ।

प्राधिकरणमा कुन–कुन विभागमा काम गर्नुभयो ?

म सिभिल इन्जिनियरको विद्यार्थी भएकाले अधिकांश समय निर्माण क्षेत्रमा बित्यो । अहिले सञ्चालित अधिकांश आयोजनामा काम गरेको छु । कुलेखानी–१ र २, मर्स्याङ्दी, मोदी र त्रिशूली गरी ५ आयोजनामा काम गर्ने अवसर पाएँ । त्रिशूलीको स्तरोन्नती गर्नेक्रममा आयोजना प्रबन्धकको जिम्मेवारी पनि सम्हालेको थिएँ । निर्माण क्षेत्रमा करिब २२ वर्ष बिताएपछि केन्द्रीय कार्यालयमा आएँ । इन्जिनियरिङ सेवाअन्तर्गत आयोजना विकास विभाग र स्वाइल ल्याबमा २/२ वर्ष काम गरेँ । स्वाइल ल्याबमा विभागीय प्रमुख थिएँ । पछि उत्पादन विभागमै सरुवा भयो । यहाँ करिब २ वर्ष काम गरेपछि विद्युत् व्यापार विभागमा सरुवा भयो । यहीबाट मैले अवकास लिएको हुँ ।

निर्देशक भइसकेको व्यक्ति राजिनामा दिएर जलविद्युत् विकासमा लाग्छु भन्ने सोच कसरी आयो ?

विद्युत् व्यापार विभागमा रहँदा धेरै आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) गरियो । यहीबेला मलाई निजी क्षेत्रको कामले आकर्षित गर्यो । र, प्राधिकरण छोड्ने मनस्थिति बनाएँ । कुलेखानी तेस्रो र चमेलियाको निर्माण सुरु गने तयारी भए पनि अन्य आयोजना आउने सम्भावना थिएन । उता निजी क्षेत्रको सक्रियता बढ्दै थियो । प्राधिकरणका आयोजना नआउँदा मलाई पनि आफ्नो भूमिका परिवर्तन गर्न मन लाग्यो । र, जागिरबाट राजिनामा दिएर प्रवर्द्धक बन्न आइपुगेँ ।

सरकारी कर्मचारी र निजी प्रवर्द्धक भएर काम गर्दा कुन सजिलो लाग्यो ?

जलविद्युत् विकासमा प्राधिकरण मेरो पहिलो विद्यालय हो । निजी प्रवर्द्धक हुने आधार नै यहीँबाट बनेको हो । यो अनुभव नभएको भए निजी क्षेत्रमा काम गर्न सकिँदैनथ्यो । मैले प्राधिकरणलाई गति दिएँ, त्योभन्दा धेरै पाएँ । अहिले मेरो नेतृत्वमा निर्माण भइरहेको २३.५ मेगावाटको सोलुमा प्राधिकरणमै रहँदाको ज्ञान र सीप उपयोग गर्दैछु ।

सजिलो गाह्राे भन्ने काम गर्ने शैलीमा भर पर्छ । प्राधिकरणमा सरकारी कर्मचारी हुँदा त्यही सजिलो लाग्थ्यो । अहिले निजी क्षेत्रमा यही काममा रमाएको छु ।

अप्पर सोलुमा कसरी जोडिनुभयो ?

प्राधिकरण रहँदै अवकासपछि जलविद्युत् विकासमै आवद्ध हुन्छु भन्ने निश्चित थियो । यही बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको थियो । केही कानून विज्ञसँग परामर्श लिएँ । उनीहरूले म प्राधिकरण विद्युत् व्यापार विभागमा हुँदा पिपिए भएका आयोजनामा ३ वर्षसम्म काम नगर्न सुझाव दिए ।

आफैँले पिपिए गरेका आयोजनासँग जोडिँदा अख्तियारले शंकाको घेरामा राख्ने थाहा पाएपछि म सतर्क भएंँ । उक्त विभागमा रहँदा मैले २५ आयोजनाको पिपिएमा हस्ताक्षर गरेको थिएँ । त्यहाँ काम गर्ने अवस्था रहेन । परामर्शदाता भएर काम गर्न सकिन्थ्यो । तर, मलाई यो काममा खासै रुची थिएन ।

मैले प्राधिकरण छोड्दैछु भन्ने हल्ला चल्यो । राजिनामा नगर्दै ९ निजी कम्पनीले काम गर्ने प्रस्ताव ल्याए । तीमध्ये सोलु पनि थियो । तत्काल कसैलाई जवाफ दिइनँ । प्राधिकरणबाट बाहिरिएपछि सबै प्रस्ताव हेरेँ । तीमध्ये अप्पर सोलु उपयुक्त लाग्यो ।

प्राधिकरणमा हुँदा दर्जनौं आयोजनाको पिपिए गर्नुभयो । निजी प्रवर्द्धक भएर कामका लागि धाउन कत्तिको गाह्रो रहेछ ?

प्राधिकरण संस्थान भएकाले धेरै नियम कानूनले बाँधिएको छ । अख्तियारको त्रासले पनि कर्मचारीले स्वतन्त्ररूपमा काम गर्न पाउँदैनन् । अर्कोतर्फ राजनितिक हस्तक्षेप धेरै छ । कतिपय काममा बाध्यकारी अवस्था आइपर्छ । निर्देशन तथा नियम कानून पालना गर्नुपर्ने बाध्यता हुन्छन् । व्यक्तिगत क्षमता देखिने गरी काम गर्न सकिँदैन । निजी क्षेत्रमा त्यो समस्या हुँदैन ।

पिपिएको हकमा प्रक्रिया पुर्याउनुपर्ने हुँदा निजी क्षेत्रले जतिसुकै छिटो गरे पनि प्राधिकरणले गर्दैन । प्राधिकरणको कानूनले पिपिए गर्न सधैं ढिला हुने गरेको छ । पिपिए गर्न आयोजनाको फाइल बोकेर ३ वर्ष धाउनुपर्यो । यसले निजी क्षेत्रको समस्या नजिकबाट बुझ्ने मौका पाएँ । निजी क्षेत्र पिपिए चाँडो गरेर आयोजना अघि बढाउन चाहान्छ । तर, प्राधिकरणका अनेक बाध्यताले रोकिरहेको हुन्छ । मैले दुवै पक्षको कामको अनुभव गर्न पाएँ ।

निजी क्षेत्रमा काम गरेको ७ वर्ष भएछ । भविष्यक कस्तो देख्नुहुन्छ ?

निजी क्षेत्रका विद्यमान समस्या अन्त्य नगर्दासम्म भविष्य त्यति राम्रो छैन । म अवस्था भयावह वा अन्धकार देख्छु । जुनसुकै प्रवर्द्धकसँग सोधे पनि यो क्षेत्रमा हात हालेर गल्ती भएछ भन्ने भेटिन्छन् । राजनीतिक दल र सरकारले गरेका बाचा पूरा नहुनु यसको कारण हो ।

जलविद्युत् विकासबिना आर्थिक समृद्धि सम्भव छैन भन्ने भाषण सबैले गर्छन् । तर, यथार्थ धेरै फरक छ । व्यवहारमा कहीँ तालमेल देखिँदैन । जबसम्म सरकार, राजनीतिक दल, उद्योगी र जनता आ–आफ्नो ठाउँमा जिम्मेबार हुँदैनन् तबसम्म जलविद्युत् विकासले गति लिँदैन । र, देश ऊर्जामा परनिर्भर हुँदै जान्छ । यसका सरोकारवालाले उपयुक्त भूमिका खेल्न जरुरी छ । नेपालका लागि जलविद्युत् आफ्नै स्रोत हो । उचित वातावरण तयार भए भविष्यक उज्यालो पनि छ ।

माथिल्लो सोलुको निर्माण कुन चरणमा छ ?

२०७१ सालमा निर्माण सुरु भएको हो । यो आयोजना सरकारसँग प्रतिस्पर्धामा लिइएको हो । अहिलेसम्म ६२ प्रतिशत काम पूरा भएको छ । एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजना त पूरा हुन्छ । तर, विद्युत् जोडिने सोलु कोरिडोर प्रसारण लाइन कहिले पूरा हुनेमा शंका छ ।
जग्गा अधिग्रहण र वनको रुख काट्न स्वीकृत लिन ढिलो भएकाले प्राधिकरणले निर्धारित समयमा पूरा गर्न नसक्ने देखिन्छ । प्रसारण लाइन तयार नभए सोलुको विद्युत् खेर जान्छ ।

प्रसारण लाइन ठूलो टाउको दुखाइ भएको छ । वैकल्पिक उपायबाट आंशिक भए पनि विद्युत् प्रसारणको व्यवस्था मिलाइदिन आग्रह गरिएको छ । यसो हुँदा पनि हिउँदमा ६० देखि ७० प्रतिशत र बर्खामा २५ प्रतिशतमात्रै उपयोग हुन्छ । बाँकी खेर जान्छ । प्रसारण लाइनकै कारण ६ महिनादेखि १ वर्ष विद्युत् खेर जान्छ ।

सोलुपछि कम्पनीले दोस्रो आयोजना निर्माण गर्दैछ ?

सोलुकै नजिकको २.८ मेगावाटको सिसा खोला निर्माण हुँदैछ । यसको पिपिए भइसकेको छ । आयोजनाको निर्माण सुरु हुनुपर्ने हो तर प्रसारण लाइन निर्माणको ढिलाइले २ आयोजनाको आर्थिक भार उठाउन परेको छ । दोस्रो आयोजनाको काम पनि सुरु हुन सकेको छैन । धेरै बैंकले सिसा खोलामा लगानी गर्न इच्छा देखाएका छन् । यी दुईको निर्माणपछि मात्र तेस्रो आयोजना खोजिनेछ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7