advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

नेपालको जलविद्युतमा बंगलादेशले एक खर्ब लगानी गर्दै छ

   पुष १२, २०७४        1408   

सन् २०१४ सम्म नेपालको पक्षमा रहेको नेपाल र बंगलादेशबीचको व्यापार त्यसपछि भने बंगलादेशको पक्षमा गएको छ । गत आव ०७३-७४ मा नेपाल र बंगलादेशबीच कुल ५ अर्ब २७ करोड रुपैयाँको व्यापार भएकोमा ३ अर्ब १७ करोड रुपैयाँ नेपाललाई घाटा भएको थियो । एकातिर नेपाल–बंगलादेशबीच व्यापारको आकार बढ्दै छ, अर्कातिर नेपालको व्यापारघाटासमेत बढ्दै गएको छ । यति हुँदाहुँदै पनि दुवै देशका व्यवसायीले सहज रूपमा व्यापार गर्न विभिन्न बाधाहरू पनि छन् । नेपाल र बंगलादेशबीच यातायात तथा ऊर्जाका क्षेत्रमा पनि सहकार्यको खाँचो खड्किएको छ । यिनै विषयमा नेपालका लागि बंगलादेशकी राजदूत माश्फी बिन्ते शाम्ससँग  पर्शुराम काफ्ले र जनार्दन बरालले गरेको कुराकानीको सार :

विगतमा नेपाल–बंगलादेशको व्यापार नेपालको पक्षमा हुँदै आएकोमा पछिल्लो समय ऊसँग नेपालको व्यापारघाटा बढ्दै गएको छ । नेपाल र बंगलादेशबीचको पछिल्लो व्यापारको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

नेपाल र बंगलादेश राम्रो व्यापारिक साझेदार हुन् । लामो समयदेखि बंगलादेशसँग नेपालको व्यापार बचतमा थियो । तर, सन् २०१४ देखि नेपालमा बंगलादेशको निर्यात बढ्यो र अहिले ऊसँग नेपालको व्यापार घाटामा छ । तर, बंगलादेशतर्फ नेपालको निर्यात भने घटिरहेको छ । यसका दुई पक्ष छन् । राम्रो पक्ष के हो भने बंगलादेशी व्यवसायीहरूले नेपालमा व्यापारको सम्भावना छ भनेर बुझ्न थालेका छन् । नेपालको निर्यात किन घट्यो भनेर हेर्दा नेपालबाट बंगलादेशमा सबैभन्दा धेरै दाल निर्यात हुँदै आएको छ । बंगलादेशमा नेपालबाट मुख्य रूपमा एउटा वस्तु मात्रै निर्यात हुँदै आएको छ । तर, दुर्भाग्यवश विश्वका अन्य मुलुकहरूले नेपालको तुलनामा सस्तो दाल बंगलादेश निर्यात गर्न थाले र नेपाली दालले आफ्नो प्रतिस्पर्धी क्षमता गुमाउँदै गयो । नेपाली दाल त्यहाँ सबैभन्दा महँगो हुँदाहुँदै पनि धेरै बंगलादेशीहरूले यो मन पराउँछन् । त्यसैले यहाँबाट राम्रै दाल निर्यात हुँदै आएको हो पछिल्लो समयमा नेपाली व्यवसायीहरूले अन्य वस्तुहरूसमेत निर्यात गर्दै आएका छन् । बंगलादेशको जनसंख्या १६ करोडभन्दा बढी छ । मध्यमवर्गको जनसंख्या तीव्र रूपमा बढ्दै छ । यो अहिले करिब ५ करोड छ । बंगलादेशीहरूको क्रयशक्तिसमेत बढ्दै छ । त्यसले पनि बंगलादेश ठूलो बजार हो । त्यसो हुँदा नेपालले जे उत्पादन गरे पनि बंगलादेशले आयात गर्न सक्छ । बंगलादेशमा जुत्ता, फलपूmल, तरकारी, जडीबुटी, कफी, चियालगायत निर्यात हुँदै आएको छ । पछिल्लो समयमा गरगहनाहरू पनि बंगलादेश निर्यात हुँदै आएको छ । त्यसो हुँदा अबका दिनमा नेपालको बंगलादेशमा हुने निर्यात बढ्दै जाने अपेक्षा गर्न सकिन्छ ।

बंगलादेशसँगको व्यापारमा भन्सार र गैरभन्सार दुवै किसिमका अवरोधहरू छन् भनेर दुवैतर्फका व्यवसायीहरूले गुनासो गरिरहेको अवस्था छ । यसमा तपाईंको बुझाइ के छ ?
बंगालादेश र नेपाल दुवै मुलुकले उच्च दरको भन्सार लगाउँछन् । नेपाली व्यवसायीहरूले विशेष गरी भन्सारदर बढी भयो, त्यसैले हामीले प्रतिस्पर्धा गर्न अप्ठ्यारो भयो भनेर गुनासो गर्ने गरेका छन् । बंगलादेशी व्यवसायीको गुनासो पनि त्यस्तै छ । त्यसो हुँदा दुवै देशका सरकारहरूले व्यापार सहजीकरणका लागि प्रयास गरिरहेका छन् । बंगलादेशले १ सय ८ नेपाली वस्तुलाई भन्साररहित प्रवेशको सुविधा दिएको छ । नेपालले पनि केही बंगलादेशी वस्तुलाई सहज प्रवेशको सुविधा दिएको छ । यी सुविधा कसरी कार्यान्वयन गर्ने भनेर दुवै देशका वाणिज्य मन्त्रालयले काम गरिरहेका छन् । त्यसो हुँदा भन्सारका सन्दर्भमा हामी चाँडै एउटा निष्कर्षमा पुग्छौँ भन्ने आशा छ । दुई देशबीचको व्यापारमा गैरभन्सार अवरोधहरू पनि धेरै छन् । खासगरी दुवै मुलुकले स्थलमार्ग भएर व्यापार गर्नुपर्ने र त्यसका लागि कमजोर पूर्वाधारका कारण समस्या छ । भन्सारको प्रक्रिया हार्मोनाइज्ड बनाउनुपर्नेछ । नेपालको काँकडभिट्टा र बंगलादेशको बंगलाबन्दको सुक्खा बन्दरगाहमा पनि धेरै पूर्वाधार बनाउनुपर्नेछ । कार्यसमयको समस्या छ, बैंकिङको समस्या छ । बंगलादेशले नेपाललाई रेल्वेको सुविधा दिने भनेको छ । तर, त्यसका लागि पनि पूर्वाधार बनाउनुपर्नेछ । त्यसो हुँदा गैरभन्सार अवरोधका सन्दर्भमा दुवै मुलुकले नियतवश कुनै अवरोध सिर्जना गरेका छैनन् । तर, पूर्वाधारको समस्या धेरै छ । खुसीको कुरा के छ भने बंगलादेशले बंगलाबन्द सुक्खा बन्दरगाहलाई आधुनिक बनाउँदै छ । त्यसबाट नेपालसँग मात्रै होइन, भारतसँग पनि व्यापार हुने हुँदा त्यसको विकासबाट बंगलादेशले ठूलो लाभ लिने नै छ । दुई देशबीचको व्यापारमा पनि सहजता आउनेछ । त्यसो हुँदा धेरै समस्या समाधान हुने नै छन् ।

नेपाल–बंगलादेश विकासशील मुलुकका रूपमा अन्तर्राष्ट्रिय बजारमा विभिन्न व्यापार सुविधाहरू लिइरहेका छन् । यी दुई मुलुकबीचकै व्यापारचाहिँ अझै बढी सहज हुनुपर्छजस्तो तपाईंलाई लाग्दैन?
निश्चय नै हामीबीचको व्यापार अझै सहज हुनुपर्छ । अहिले सार्क मुलुककै कुरा गर्दा सार्क मुलुकको आफू–आफूसँगको व्यापार जम्मा ५ प्रतिशत मात्रै छ । बंगलादेशले अहिले ३७ अर्ब डलरबराबरको निर्यात गरिरहेको छ । त्यसमध्ये ४ करोड ७० लाखबराबरको नेपाल निर्यात भइरहेको छ । हामी ४० अर्ब डलरभन्दा बढीको आयात गरिरहेका छौँ, तर नेपालबाट जम्मा १ करोड ३० लाख डलरको मात्रै आयात भइरहेको छ । अन्तर्राष्ट्रिय व्यापारको तुलनामा यी दुई देशबीचको यो व्यापार नगन्य मात्रै हो । यदि बंगलादेशको अन्तर्राष्ट्रिय व्यापारको १ प्रतिशत मात्रै नेपालसँग भएको भए पनि यो १० करोड डलरबराबर हुन्थ्यो । त्यसो हुँदा हामीले व्यवसायीलाई आफू–आफूबीचको व्यापारलाई पनि ध्यान दिन प्रोत्साहित गर्नुपर्नेछ ।

यसो गर्न के समस्या भएजस्तो लाग्छ ?
हाम्रो मानसिकताबाहेक अन्य कुनै समस्या छैन । धेरै बंगलादेशीलाई नेपालीसँग क्रयशक्ति कमजोर छ भन्ने लाग्छ । धेरै नेपालीलाई पनि त्यस्तै लाग्छ । त्यस्तै, स्थानीय बजार सुहाउँदो उत्पादनमा पनि कमी छ । बंगलादेशको तयारी पोसाक निर्यात २३ अर्ब डलरभन्दा बढीको छ । तर, त्यो उत्पादन नै पश्चिमी मुलुकका उपभोक्ताका लागि भनेर गरिएको छ । तयारी पोसाकका लागि नेपाली बजार निकै सानो छ । त्यसो हुँदा यहाँको बजार सुहाउँदो उत्पादनका लागि पनि उद्योगी व्यवसायीहरू तयार हुनुपर्ने देखिन्छ ।

नेपाल र बंगलादेशमा तयारी पोसाक उद्योगको विकास लगभग सँगसँगै भएको हो । बंगलादेशले यस क्षेत्रमा निकै छिटो प्रगति गर्‍यो, तर नेपालले सकेन । यस सन्दर्भमा तपाईंको कुनै धारणा छ ?
त्यसको एउटा प्रमुख कारण हाम्रो आफ्नै समुद्री बन्दरगाह छ, जसले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाइदिएको छ । बंगलादेशी व्यवसायीहरूले अन्तर्राष्ट्रिय व्यापारका घटनाक्रमअनुकूल आफूलाई ढालेका छन् । उदाहरणका लागि मल्टिफाइबर सम्झौताको अन्त्यपछि बंगलादेशले अन्तर्राष्ट्रिय बजारमा पाइरहेको कोटा गुमायो । त्यसवेला व्यवसायीहरू खुसी भए, किनभने उनीहरूमा के विश्वास थियो भने कोटाले आफ्नो क्षमताअनुरूप निर्यात गर्न दिएको छैन, यसभन्दा बढी निर्यात गर्न हामी सक्छौँ । र, उनीहरूले त्यसो गरे पनि । अर्को महत्वपूर्ण कुरा के हो भने नेपालमा कहिल्यै पनि ठूलो विपत्ति आएको छैन । स्वतन्त्रता संग्रामजस्तो युद्ध पनि भएको छैन । तर, बंगलादेश निकै कटु र रक्तपातपूर्ण संघर्षबाट आएको हो । उसले सबै काम शून्यबाट सुरु गर्नुपरेको थियो । त्यसो हुँदा बंगलादेशी मानिसहरू विकासका लागि निकै आतुर छन् । त्यसले पनि उद्यमीलाई आक्रामक बनाएको हुन सक्छ ।

यातायात, पारबहनका विषयमा दुई देशबीचको सहकार्यलाई कसरी थप सहज बनाउन सकिन्छ ?
बंगलादेशले नेपाल र भुटान दुवै देशलाई चित्तगाउँ र मोङ्गला बन्दरगाह प्रयोग गर्न दिने भनेको छ । पायरामा हामी नयाँ बन्दरगाह पनि बनाउँदै छौँ । त्यो प्रयोगका लागि पनि हामी खुला छौँ । बंगलादेशका बन्दरगाह प्रयोग गरी नेपालले लाभ लिन सक्छ । किनभने, काँकडभिट्टाबाट बंगलादेशको मोङ्गला बन्दरगाह पुग्न ५ सय किलोमिटरभन्दा पनि कम दूरी छ । बंगलादेशले अहिले पूर्वाधारमा ठूलो लगानी गरिरहेको छ, जसले यातायात तथा पारबहनलाई थप सहज बनाउन सक्छ । त्यसैले नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा वैकल्पिक पहुँचका लागि बंगलादेशलाई प्रयोग गर्न सक्छ । बंगलादेशको बाटो भएर नेपालले दक्षिणपूर्वी एसियाका मुलुकसँग स्थल सम्पर्क विस्तार गर्न सक्छ । हामीबीच मोटर भेइकल सम्झौता भएको छ, हामी त्यो अत्यन्तै चाँडै कार्यान्वयन होस् भन्ने चाहन्छौँ । व्यवसायीहरूबाट मैले सुन्ने गरेको सबैभन्दा ठूलो समस्या ट्रान्ससिपमेन्टको हो । नेपाली व्यवसायीहरू नेपाली ट्रकहरू बंगलादेशसम्मै किन जान नपाउने, गोदामसम्मै किन पुग्न नपाउने भनेर गुनासो गरिरहन्छन् । यदि नेपाली ट्रकहरू चित्तगाउँ, मोङ्गला बन्दरगाहसम्मै पुग्न पाए भने त्यो निकै फलदायी हुनेछ । बंगलादेशी ट्रक पनि नेपाल आउन पाए पनि त्यसले लागत घटाउँछ । त्यसो हुँदा यी तीन मुलुकहरूले यसलाई चाँडै कार्यान्वयन गर्नेछन् भन्ने आशा छ ।

हामीले नेपाल, भुटान, बंगलादेश र उत्तर–पूर्वी भारतबीचको चतुर्भुजको विकासका बारेमा सोच्नुपर्छ । यो ग्रोथ चतुर्भुजको केन्द्रमा हामी हुन सक्छौँ । हामी सार्क र बिमस्टेकको साझा मञ्च प्रयोग गरिरहेका छौँ । र, यी चार देश वा क्षेत्र त्यसको केन्द्रमा पर्छन् । त्यसैले विकासका विभिन्न क्षेत्रमा हामीले सहकार्य गर्न सक्छौँ ।

दुई मुलुकबीच जलविद्युत् र ऊर्जाको क्षेत्रमा पनि सहकार्यको ठूलो सम्भावना छ । तर, अपेक्षाकृत प्रगति छैन नि ?
जलस्रोतको क्षेत्रमा हामी दुई देशबीच सहकार्यको विकल्प नै छैन । किनभने, बंगलादेशको ३० प्रतिशत पानी नेपालको नदीमा निर्भर छ । गंगा नदीको ७० प्रतिशत पानी नेपालबाट आउँछ र बंगलादेशको कुल जलस्रोतको ३० प्रतिशत योगदान गंगाले गर्छ । त्यसो हुँदा बंगलादेशीको जीवनशैली, समृद्धि र जीवनरक्षाका लागि नेपालले प्रत्यक्ष योगदान गरिरहेको छ । बंगलादेशको अधिकांश भाग हिमालयबाट बगेर गएको माटोले बनेको छ । त्यहीँ हामी भौगोलिक रूपमा, भौगर्भिक रूपमा र वातावरणीय दृष्टिकोणले पनि जोडिएका छौँ । यो वर्ष नेपालमा ठूलो बाढी आयो, त्यो बिहारमा पुग्यो र बंगलादेशमा पुग्यो । त्यसो हुँदा हामीले यी क्षेत्रमा सहकार्य गर्नुको कुनै विकल्प नै छैन ।

जलविद्युत् विकासका क्षेत्रमा दुई देशले कसरी सहकार्य गर्न सक्छन् ?
बंगलादेशमा ऊर्जाको माग तीव्र रूपमा बढिरहेको छ । अहिले बंगलादेशको विद्युत्को जडित क्षमता १६ हजार मेगावाट छ । २०२१ मा माग बढेर ३० हजार मेगावाट पुग्ने प्रक्षेपण छ । त्यसका लागि हामीले धेरै किसिमका ऊर्जा प्लान्टमा लगानी गरेका छौँ । हामीले छिमेकी मुलुकबाट पनि ऊर्जा आयात गरिरहेका छौँ । भारतबाट हामीले ६ सय मेगावाट विद्युत् आयात गरिरहेका छौँ । भुटानमा पनि हामीले जलविद्युत् परियोजनामा लगानी गरेका छौँ । नेपालमा पनि गर्न चाहन्छौँ । किनभने, जलविद्युत्मा नेपालमा ठूलो सम्भावना छ, हामीले सजिलै नेपालबाट ऊर्जा आयात पनि गर्न सक्छौँ । बंगलादेश नेपालका लागि पनि ऊर्जाको ठूलो बजार हुन सक्छ । हामी ऊर्जा परियोजनामा संयुक्त लगानी गर्न सक्छौँ, आयात गर्न सक्छौँ । हामी जुनसुकै किसिमको सहकार्यका लागि पनि तयार छौँ । यससम्बन्धी प्रस्ताव हामीले नेपाल सरकारसमक्ष पनि गरिसकेका छौँ । नेपालमा राजनीतिक विषयहरू एउटा टुंगोमा पुगेपछि थप काम अघि बढ्ने अपेक्षा छ । बंगलादेशका प्रधानमन्त्रीले नेपालमा जलविद्युत्मा १ अर्ब अमेरिकी डलरसम्म लगानी गर्न सक्ने भनेर यसअघि नै भनिसक्नुभएको छ ।

नेपाल र बंगलादेशबीच हुने भनिएको विद्युत् व्यापार सम्झौतामा के विकास भइरहेको छ ?
हामी ऊर्जा क्षेत्रमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने गरी काम गरिरहेका छौँ । यो चाँडै सम्पन्न हुने आशा छ । यो दुईपक्षीय सम्झौता हुनेछ । हामी नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सहकार्यका लागि पनि काम गरिरहेका छौँ । किनभने, नेपालमा उत्पादन भएको विद्युत् बंगलादेश लैजानका लागि भारतको बाटो भएर लैजानुपर्छ । त्यसो हुँदा बिबिआइएन पहल (बंगलादेश, भुटान, भारत र नेपाल) त्रिपक्षीय सम्झौताको पनि तयारी भइरहेको छ । यो समानान्तर रूपमा अघि बढ्नेछ । यसअन्तर्गत नेपालले परियोजना छनोट गर्नेछ, बंगलादेशले लगानी गर्नेछ भने भारतले यसमा सहजीकरण गर्ने भनेको छ । बंगलादेशी प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच नेपालबाट बंगलादेश ऊर्जा ट्रान्समिसन गर्ने विषयमा भारतले सहजीकरण गर्ने सहमति भएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको बंगलादेश भ्रमणका वेला पनि यस्तो सहमति भएको छ । त्यति मात्रै होइन, कर्मचारीको तहमा यो सहमतिलाई कार्यान्वयन गर्ने विषयमा कामसमेत भइरहेको छ । त्यसो हुँदा यो विषय चाँडै टुंगोमा पुग्नेछ । बंगलादेशी प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय कम्पनी जिएमआर (जसले नेपालमा विद्युत् आयोजना निर्माण गर्दै छ) र बंगलादेशबीच विद्युत् खरिदको सम्झौता भएको छ ।

बंगलादेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न ल्याउनका लागिचाहिँ कुनै पहल भएको छ कि ?
धेरै बंगलादेशीहरू नेपालमा लगानी गर्न चाहन्छन् । नेपालको पर्यटन क्षेत्रमा धेरै लगानीकर्ता आउन इच्छुक छन् । त्यस्तै, जलविद्युत्का क्षेत्रमा समेत बंगलादेशी निजी लगानीकर्ताहरू लगानी गर्न चाहन्छन् । केही बंगलादेशी लगानीकर्ताले सिमेन्ट तथा क्लिंकर उद्योगमा पनि लगानी गर्न खोजिरहेका छन् । त्यस्तै, नेपाली लगानीकर्तालाई बंगलादेशमा लगानी गर्नका लागि हामीले प्रोत्साहित गरिरहेका छौँ । हामीसँग विशेष आर्थिक क्षेत्रहरू छन्, जहाँ विदेशी लगानीकर्ताले सजिलै लगानी गर्न सक्छन् । हामीले सांस्कृतिक क्षेत्रमा सघन सहकार्य गरिरहेका छौँ, अब पनि गर्नुपर्नेछ । नेपाल बंगलादेशी पर्यटकका लागि पनि आकर्षणको केन्द्र भएको छ । नेपाली पर्यटकका लागि पनि प्रशस्त घुम्ने ठाउँहरू बंगलादेशमा छन् ।

स्रोत: नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7