advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘जलविद्युत् क्षेत्रमा बैंकको लगानी सुरक्षित छ’

   पुष १६, २०७४        4988   

जलविद्युत् विकासमा पछिल्ला वर्षमा बैंकिङ क्षेत्रले लगानी बढाउँदै आएका छन् । अधिकांश आयोजनामा कूल लागतको ७० प्रतिशत बैंकले ऋण लगानी गरेका छन् । केही वर्षअघिसम्म साना आयोजनामा मात्रै लगानी गर्ने वाणिज्य बैंकले अहिले सय मेगावाटसम्म ऋण दिने क्षमता बनाएका छन् । माछापुछ्रे बैंकले पनि आफ्नो लगानी जलविद्युत्मा केन्द्रित गर्दै आएको छ । लगानी अवस्था, अवसर तथा चुनौतीबारे बैंकका नायब महाप्रबन्धक सन्तोष कोइरालासँग ऊर्जा खबरकी धना ढकालले गरेको कुराकानीको सार :

बैंकले जलविद्युत्मा कहिलेबाट लगानी गर्न सुरु गरेको हो ?

स्थापनादेखि नै लगानी गर्न थालेको हो । तर, ऊर्जामा अनिवार्य लगानी गर्नुपर्ने राष्ट्र बैंकको नीति आएपछि केही तीव्रता दिइएको हो । ४ वर्षमा २७ आयोजनासँग बैंक जोडिएको छ । केन्द्रीय बैंकको नीतिले निजी प्रवर्द्धकमा पनि उत्साह थपिएको छ । वाणिज्य बैंकका लागि वातावरण अनुकूल बन्दै आएकाले लगानीको स्तर पनि बढेको छ ।

बैंकले अहिलेसम्म जलविद्युत्मा कति लगानी गर्याे ?

बैंकले हालसम्म २ अर्ब रुपैयाँ ऋण प्रवाह गरिसकेको छ । ६ अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता जनाइसक्यो । यो उत्साहजनक अवस्था हो । आजको मितिसम्म गरेको लगानीको अवस्था हेर्ने हो भने हामी नेपाल राष्ट्र बैंकले दिएको सीमाभन्दा माथि छौं । कूल लगानीको १२ प्रतिशत जलविद्युत्मा लगानी भइसक्यो । कूल लगानीको १५ प्रतिशत कृषि र ऊर्जामा अनिवार्य गर्नुपर्ने राष्ट्र बैंकको नीति कार्यान्वयन गर्दै लगानी बढाइएको हो ।

लगानी गरेका आयोजना कुन चरणमा छन् ?

बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थासँग मिलेर १४ आयोजनामा ऋण प्रवाह गरेको छ । अन्य १३ आयोजनामा लगानी प्रतिबद्धता जनाएको छ । बैंकको अगुवाईमा ५ आयोजना निर्माणको विभिन्न चरणमा छन् । ४.१ मेगावाटको खारे, ५ मेगावाटको चौरीखोला, साढे ३८ मेगावाटको माथिल्लो कालंगागाड, ३३ मेगावाटको लिखु–२ र साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गाखोला निर्माणाधीन छन् ।

नयाँ आयोजना कति छन् ?

एउटा आयोजनाको प्रवर्द्धकसँग ऋण लगानीबारे छलफल भएको छ । हामीले प्रवर्द्धकलाई लगानी गर्ने आसयपत्र पनि दिइसकेका छौं । अहिले छलफल चलिरहेकाले सबै विवरण तयार भइसकेको छैन ।

वाणिज्य बैंकलाई जलविद्युत्मा लगानी गर्न कतिको सहज छ ? वा राष्ट्र बैंकको नीतिकै कारण लगानी गरिहेका हुन् ?

जलविद्युत्लाई देशको आर्थिक समृद्धिको पहिलो आधार मानिएको छ । दुई दशकयता निजी क्षेत्रको सक्रियता पनि बढेको छ । बैंकका लागि लगानी गर्ने धेरै क्षेत्र नहुँदा यसतर्फ लगानी गर्नुपर्ने अवस्था छ । आयोजनाबाट प्रतिफल आउन धेरै वर्षसम्म कुर्नु परे पनि त्यो निश्चित छ । यसैले यो क्षेत्रमा लगानी गर्ने निकाय उत्साहित नै छन् । केन्द्रीय बैंकको नीतिले पनि बैंकलाई लगानी गर्नुपर्ने वातावरण वा बाध्यता दुवै बनाइदिएको छ ।

बैंकले आयोजनामा ऋण लगानी गर्नुअघि कुन–कुन पक्ष हेर्ने गर्छ ?

लगानीका लागि मुख्यतः प्रवद्र्धकको क्षमता हेरिन्छ । आयोजनामा ऋणबाहेक स्वपुँजी कसरी जुट्दैछ भन्ने पनि हेरिन्छ । स्वपुँजी र ऋण लगानी कुन अनुपातमा हुँदैछ ? स्वपुँजी सुनिश्चितता भए नभएको हेरेर कुन समयमा बैंकले ऋण प्रवाह गर्न सुरु गर्नुपर्ने हो ? यसको टुंगो लागेपछि बैंक अघि बढ्छ । यसबाहेक आयोजनाको निर्माण अवधि र आउने प्रतिफलबारे पनि चासो राखिन्छ ।

बैंकका लागि आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) टेक अर पे (लिउ वा तिर) मा हुँदा लगानी गर्न सहज थियो । अहिले टेक एण्ड पे ( लिउ र तिर) मा भइरहेकोले अलि बढी जोखिम छ । टेक एण्ड पे पिपिएले जलविद्युत्मा लगानी गर्ने बैंकलाई अलिकति सशंकित बनाएको छ । तर, आयोजनाले विद्यु्त् उत्पादन सुरु गरेपछि लगानीको प्रतिफल प्राप्त हुन्छ । यो राम्रो पक्ष हो ।

नेपाल विद्युत प्राधिकरणले निजी प्रवद्र्धकबाट खरिद गरेको विद्युत्को भुक्तानी ऋण लगानी गर्ने बैंकको नाममा पठाउँछ । यसो हुँदा बैंकले गर्ने लगानी सुरक्षित छ । प्रवर्द्धकलाई ऋण चुक्ता गर्न ताकेता गर्नु पर्दैन ।

बैंक ब्याज महँगो भयो भन्ने गुनासो आउने गर्छ । ब्याजदर घटबढ भइरहनुको कारण के हो ?

बचतकर्ताले बैंकमा जम्मा गर्ने पैसा स्थिर हुँदैन । बचत गर्ने र झिक्ने प्रक्रिया चलिरहने हुँदा स्रोत चलायमान हुने हो । तरलताको अवस्था हेरेर ब्याजदर निर्धारण हुन्छ । तरलता अभाव हुँदा बचतकर्तालाई आकर्षक ब्याजदर दिएर बचत हुन आउने रकम नै आयोजनामा लगानी हुने हो । त्यसैले ब्याज पनि तलमाथि भइरहन्छ । जबसम्म निश्चित अवधि तोकेर बचत भएको रकम लामो समय राख्न सक्ने अवस्था रहँदैन तबसम्म ब्याजमा अन्तर भइरहन्छ ।

अहिले एउटा वाणिज्य बैंक एक्लैले जलविद्युत क्षेत्रमा कतिसम्म लगानी गर्नसक्ने क्षमता राख्दछ ?

नेपाल राष्ट्र बैंकको नीतिअनुरूप कुनै पनि बैंकले आफ्नो कुल चुक्ता पुँजीको ५० प्रतिशतसम्म एउटै क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ । यदि कुनै बैंकको ८ अर्बको पुँजी छ भने उसले ४ अर्ब रुपैयाँसम्म जलविद्युतमा लगानी गर्न सक्ने क्षमता राख्दछ । बैंकको पुँजी बढ्दै जाँदा, लगानी गर्ने क्षमता पनि बढ्ने हो । तर, कुनै पनि बैंकले क्षमता अनुसारको लगानी एउटै क्षेत्रमा गर्दैनन् । एउटै आयोजनामा धेरै पुँजी लगानी गर्न जोखिम हुने हुँदा अन्य बैंकहरुसँगको सहवित्तीयकरणमा लगानी गर्ने गरिन्छ । यसकारण एउटा ठूलो बैंक एक्लैले अन्य बैंकसँग मिलेर बढीमा डेढ अर्ब रुपैयाँसम्म जलविद्युत आयोजनालाई ऋण लगानी गर्ने प्रचलन छ ।

जलविद्युत् आयोजनामा लगानी गर्दाका जोखिम के–के देख्नुहुन्छ ?

बैंक जनताले बचत गरेको रकम सुरक्षित राख्ने निकाय हो । घाटा हुँदा बचतकर्ताको पैसा डुब्छ । विगतमा लगानीको क्षेत्र पहिचान गर्न नसक्दा बैंकले आर्थिक नोक्सानी बेहोर्नु परेको इतिहास पनि छ । यसैले बैंकले आयोजनाको समग्र अवस्था र आउने प्रतिफल हेरेरमात्रै लगानी गर्छन् । बैंकिङ क्षेत्रको इतिहास हेर्दा अहिलेसम्म सबै जलविद्युत् आयोजनामा गरेको लगानी सुरक्षित छ ।

जलविद्युत्मा लगानी सुरक्षित छ भन्ने सन्देश कसरी दिन सकिन्छ त ?

भौगोलिक विकटताले यहाँ जलविद्युत् विकास गर्न त्यति सहज छैन । यो अवस्थामा बैंकका लागि लगानी गर्नु निकै चुनौतीपूर्ण छ । अर्कोतर्फ सबै आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइनको समस्या छ । पूरा भएका आयोजनाको बिजुली खेर गएको अवस्था छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयका अनगिन्ती मागले बैंकको लगानी जोखिममा परेको भान हुन्छ । बाढी–पहिरोको जोखिम पनि उत्तिकै छ । प्राकृतिक जोखिम कम गर्नेबारे अध्ययन हुन सकेको छैन । यस्तो अवस्थामा पनि बैंकले लगानी गरिरहेका छन् । जलविद्युत्मा स्वदेशी लगानी बढाउन वाणिज्य बैंकको लगानी अपरिहार्य छ । अब निजी क्षेत्रले निर्माण गर्ने आयोजनामा स्वदेशी बैंकको लगानी सुरक्षित छ भन्ने सन्देश दिन सरकारले लगानीमैत्री वातावरण तयार गर्नुपर्छ । लगानीमैत्री वातावरण तयार भएमा बैंकको लगानी बढ्दै जान्छ ।

निर्माणाधीन आयोजना निर्धारित समय र लागतमा सम्पन्न नहुँदा बैंकले लगानी थप्नुपर्ने परिस्थिति आउँछ कि आउँदैन ?

अधिकांश आयोजना निर्धारित समयमा निर्माण हुन नसकेर लागत बढेको यथार्थ हामीसँग छ । आयोजनाको लागत बढेर प्रवद्र्धकले रकम थप्न नसकेको अवस्थामा बैंकले आयोजना पूरा गरिदिएका छन् । लगानी अभावमा अलपत्र अवस्थाका आयोजनालाई जोगाउनु बैंकको धर्म पनि हो । माछापुच्छ्रे बैंकले लगानी गरेका आयोजनामा यस्तो समस्या नआए पनि अन्य बैंकको अनुभव छ । आयोजना पूरा भएपछि प्रवर्द्धकले नाफा कमाउने समय छोटिन्छ । तर, लगानी डुब्दैन । यो नै जलविद्युत् आयोजनामा लगानी गर्दाको राम्रो पक्ष हो ।

बैंक र प्रवर्द्धक मिलेर बढी लागत देखाउने र आयोजना महँगो बनाउने गरेको आरोप लाग्ने गर्छ नि ?

यसमा सत्यता छैन । एउटा आयोजनाको लागत बढाउने र घटाउने कुरा बैंक र प्रवद्र्धकको हातमा हुँदैन । आयोजनाको लागत निर्धारण गर्ने अर्कै पक्ष हुन्छ । बैंकले ऋण दिँदा पनि आयोजनाको सबै पक्ष अध्ययन गरेको हुन्छ । कहिले काहीँ प्राविधिक कारणले आयोजनाको लागत बढ्नु स्वभाविक हो । तर, प्रवर्द्धक र बैंकको मिलेमतोमा आयोजनाको लागत बढाइन्छ भन्ने आरोप गलत हो ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7