advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३८० मेगावाट
  • निजी क्षेत्र : १९१ मेगावाट
  • भारत : ४११ मेगावाट
  • लोडसेडिङ : २८४ मेगावाट (उद्याेग)
  • माग : १२६६ मेगावाट
  • स्रोत : ने.वि.प्रा.

एकै ठाउँबाट सबै ज्ञान दिन हाइड्रो एक्स्पो

   पुष २१, २०७४        336   
शैलेन्द्र गुरागाईं,अध्यक्ष:स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)

राष्टपति विद्यादेवी भण्डारीले आज हिमालयन हाइड्रो एक्स्पो २०१८ उद्घाटन गर्दैछिन् । तीन दिनसम्म चल्ने ऊक्त एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । एक्स्पोमा १२ मुलुकको सहभागिता रहने र ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पो आयोजना गर्नुको उद्देश्य, आवश्यकता, एक्स्पोमा हुने सहभागिता लगायत विषयमा नागरिकका विष्णु बेल्वासेले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंसँग गरेको कुराकानीको सम्पादित अंश :

यसअघि जलविद्युत् सम्मेलन आयोजना हुँदै आएको थियो, अहिले एक्स्पो आयोजना गर्दै हुनुहुन्छ । यसको आवश्यकता किन पर्यो ?
यसअघि फरक विधामा सम्मेलन हुँदै आएको थियो । एकै थलोमा गर्ने जमर्को कसैले पनि गरेका थिएनन् । तर, यसपालि एउटै फोरममा विभिन्न विधालाई समेटेर एक्स्पो गर्न लागिएको हो । यसअघिका सम्मेलनमा, उदाहरणका लागि बिमाको विषयले प्राथमिकता पाउने तर, दाबी भुक्तानीको विषय जानकारी नहुने, त्यस्तै बैंकसँग ऋण लिने विषयमा छलफल हुने तर, कुन बैंकले कति ब्याजदरमा ऋण दिन्छ, सस्तो र सजिलो गरी कसरी ऋण लिने भन्नेमा ज्ञान हुँदैन थियो ।

पुरानो प्रविधिबारे मात्र छलफल हुने गरेको थियो । अहिले एक महिनामा एक किलोमिटर खन्न सक्ने उपकरणको विकास भएको छ । त्यस किसिमका नयाँ प्रविधिबारे जानकारी लिन सकिने छ । जापान, चीन, अमेरिका, युरोप, भारत लगायत देशमा निर्माण भएका नयाँ प्रविधि एकै थलोमा हेर्न र ज्ञान लिन सकिने छ । यस्तो किसिमको एक्स्पो पहिलोपटक गर्न लागिएको हो ।

एक्स्पोमा सहभागी हुनेले प्रचुर मात्रामा ज्ञान आर्जन गर्न सक्छन् भन्न खोज्नुभएको हो ?
एक्स्पोबाट विश्वमा भएका नयाँ प्राविधिबारे ज्ञान लिन सकिने छ । नेपालका विभिन्न कलेजमा अध्ययन गरिरहेका विद्यार्थीले आफूले अविष्कार गरेका वस्तु तथा सेवा एक्स्पोमा प्रर्दशन गर्नेछन् । यसबाट जलविद्युत् विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाबीच प्रतिस्पर्धा समेत गराइनेछ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेमध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत गरिने छ । विदेशी कम्पनीले पनि आफूले उत्पादन गरेका वस्तु सो एक्स्पोमा प्रदर्शन गर्नेछन् । यसले विश्वमा भइरहेका नयाँ प्रविधिबारे ज्ञान दिलाउने छ ।

एक–दुई दिन मात्र नभएर तीन–तीन दिनसम्म एक्स्पो आयोजना गर्दै हुनुहुन्छ । तीन दिनमा के के कुरा सिक्न पाइन्छ त ?

एक्स्पोमा हाइड्रो पावरमा आवश्यक पर्ने मुख्य विषयबारे सेमिनार तथा छलफल गरिने छ । पहिलो दिन शुक्रबार हाइड्रो पावरलाई नभई नहुने टनेलसँग सम्बन्धित विषयमा छलफल तथा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुनेछ भने दोस्रो दिन बैंकिङ तथा बिमासम्बन्धी कार्यपत्र प्रस्तुत तथा जानकारी गराइनेछ । एक्स्पोको अन्तिम अर्थात तेस्रो दिन इन्जिनियरिङसँग सम्बन्धित विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका बनाएका छौं । एक्स्पो अवधिभर दैनिक रुपमा फरकफरक विषयमा ६ वटाभन्दा बढी सेमिनार सञ्चालन गरिने छ ।

एक्स्पोबाट के अपेक्षा गरिएको छ ?
एक्स्पोमा नेपालमा भित्रिन नसकेको नयाँ प्रविधिबारे जानकारी गराइने छ । नयाँ प्रविधिबारे ज्ञान प्राप्त गरिसकेपछि बिजुली बढी उत्पादन हुने अपेक्षा गरिएको छ ।

एक्स्पो आयोजनामा कुन कुन संस्थाको सहयोग छ ?
ऊर्जा उत्पादकहरुले सहयोग गरेका छन् । एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल विद्युत्् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन, युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर्सले एक्स्पोलाई सहयोग गरेका छन् ।
नेपाल टनेलिङ एसोसिएसन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग वाणिज्य संंघ, नेपाल युरोपियन चेम्बर अफ कमर्स एवं स्वदेशी तथा विदेशी कम्पनीको पनि एक्स्पोलाई सहयोग रहेको छ । एक्स्पोको प्लाटिनियम प्रायोजक इटलीको सिएमसी दी रभेन्ना कम्पनी छ । अफिसियल पार्टनरमा होटल अन्नपूर्ण, नेपाल सिपिङ एन्ड एयर लजिस्टिक प्रालि र एनएमबि बैंक लिमिटेड छन् ।

एक्स्पोमा कुन कुन कम्पनी सहभागी हुँदैछन् ?
एक्स्पोमा विश्वमा नाम कहलिएका मेसिनरी उत्पादन कम्पनीको सहभागिता रहने छ । हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक, वित्त कम्पनी लगायत सयभन्दा बढी स्टल रहने छन् । तीमध्ये करिब ५० प्रतिशत स्टल विदेशी कम्पनीको सहभागिता रहने छ ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्विडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता रहने छ ।
इटालीको सिएमसी, जर्मनीको भोइथ, भारतको क्रिस्टल, फ्लोभेल तथा बिएफएल, बुल्गेरियाको भ्यापटेक, चेज रिपब्लिकाको मावेल, चीनको पावर चाइना र सिएसइसी जस्ता बहुर्राष्ट्रिय कम्पनी पनि एक्स्पोमा सहभागी हुने निश्चित भएको छ ।
दर्जनौं विदेशी कम्पनीको सहभागिता रहने भएकाले नेपालको जलविद्युत्को बजार विस्तारका साथै अनुभव आदानप्रदान गर्न एक्स्पोले महत्वपूर्ण योगदान गर्नेछ ।

जलविद्युत् आयोजना निर्माण गर्न लक्ष्यभन्दा बढी लागत र समय लाग्ने गरेको छ । यसलाई कसरी घटाउन सकिएला ?
पुरानै प्रविधि र पुरानै मानसिकताले गर्दा आयोजना समयमा र लागतमा निर्माण हुन नसकेका हुन् । चुस्त व्यवस्थापन नहुनु, नयाँ प्रविधिको प्रयोग गर्न नसक्नु लगायत कारणले पनि आयोजना निर्माणमा ढिलाइ भएको हो ।

आयोजना निर्माणमा देखिएका चुनौती के के छन् ?
करिब तीन हजार पाँच सय मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । करिब पाँच हजार मेगावाट क्षमता भएका आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएका छन् । प्रसारण लाइनको समस्या छ । ब्युरोक्रेसी अझै पनि पुरानै तरिकाले चलेको छ । वित्तीय संस्थाहरु अहिले पनि साहुजी जस्तो गरी चलिरहेका छन् ।

अर्थ, ऊर्जा, वातावरण, भूमिसुधार, वनलगायत मन्त्रालयमा केही परिवर्तन आएपनि फास्ट ट्र्याकमा काम हुन सकेको छैन । छिटो, छरितो र सहज तरिकाले काम गर्नुपर्छ ।

अहिले प्रदेशको अवधारणा आएको छ । जलविद्युत् आयोजना पनि त्यही अवधारणा अनुसार विकास गर्नुपर्ने होइन र ?
बिजुली उत्पादन एक ठाउँमा हुन्छ । उपभोग अर्को ठाउँ (प्रदेश)मा हुन्छ । यसो भएकाले अन्यमा जस्तो जलविद्युत् आयोजनालाई प्रदेशीकरण गर्नु हुँदैन । खोलाले प्रदेशलाई छुट्ट्याउँछ । त्यस खोलामा बन्ने आयोजना कुन प्रदेशको हो भन्ने छुट्ट्याउन सकिँदैैन  । त्यसैले लाइसेन्स, प्रसारण लाइनको जिम्मा प्रदेशलाई दिनु हुँदैन । केन्द्र मातहत राख्नुपर्छ ।

स्राेतः नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7