विद्युत आपूर्ति

  • प्राधिकरण : ३८७ मेगावाट
  • निजी क्षेत्र : ३७८ मेगावाट
  • भारत : ३७४ मेगावाट
  • ट्रिपिङ : २० मेगावाट
  • माग : ११६८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

माथिल्लो तामाकोसी शिलन्यास र स्मृति

   फागुन ०७, २०७४        3263        लक्ष्मण वियाेगी

काठमान्डू घमाइसकेको थियो । २०६८ साल जेठ ३ गते, म समाचारपत्रमा काम गर्न थालेकाे दुर्इ वर्ष हुँदै थियाे । मेरा पाइला कतै जान हिँडेका थिए । लामो न लामो लरीजस्तो बसमा दर्जनौं पत्रकार भरिभराउ थिए । जेठको उष्णताले बसभित्र खपिनसक्नु थियो । निकै बेरपछि राष्ट्रिय सभागृहबाट बस हिँड्यो । उपत्यकाको कोलाहल चिर्दै बसले गति समात्यो । साँगा कटेपछि बल्ल मनले शीतलता महसुस गर्यो ।

घामले पश्चिमको डाँडो काटिसक्दा चरिकोट पुगियो । सिमसिमे पानी स्वागत गर्न तयार थियो । बादलको झ्यालबाट गौरीशंकरले च्याइरहेथ्यो । काठमाडौंको तुलनामा चरिकोट निकै चिसो रहेछ । म पहिलो पटक चरिकोट पुगेको थिएँ । काठमाडौंबाट हिँड्ने बेला दिपक दाइ भन्दै थिए– ‘अल्लारे बनेर हिँड्याछस् । चरिकोटमा जाडो हुन्छ । बाक्लो कपडा छ कि छैन ?’

उनको बोली एउटा कानको प्वालबाट छिराएर अर्को कानबाट हुत्याएको थिएँ । फिलफिले कमेज र बाँकटे ज्याकेटले बलजफती जाडो रोक्ने दुस्प्रयास गरेको थियो । त्यतिबेला म दाइको बोली झलझली सम्झिरहेको थिएँ ।

बसको उचाल्ने र पछार्ने उपक्रमले थकित थिएँ । तर, चरिकोटको चिसोले मन चंगा थियो । चञ्चल मन सिमसिमे पानी र पातलो हावामा लुकामारी खेल्ने सुरमा थियो । तर, साँझ बाक्लिदै जाँदा चाहना त्यतिकै सेलायो । म आयोजकले अथ्र्याएको लक्ष्मी लजतिर सोझिएँ ।

अघिल्लो साँझदेखि चटारिएको सिमसिमे पानी बिहानसम्म रोकिएको थिएन । गौरीशंकर हेरेर उत्फुल्ल हुने मेरो धोको ‘हिस्स बूढी हरिया दाँत’ जस्तै भयो । तैपनि म केहीबेर होटेलको बार्दलीमा उभिएँ । रवी दाइले क्लिक–क्लिक केही ‘स्न्याप’ हानिदिए । म दंग भएँ ।

माथिल्लो तामाकोसीको औपचारिक शिलन्यासमा सामेल हुन एक हूल पत्रकार हिँडेका थिए । ती सबैलाई बोकेर बस उत्तरतिर सोझियो ।

बायाँबाट क्रमश: रेडियाे नेपालका भुवन अाचार्य, त्यतिबेला नयाँ पत्रिकामा कार्यरत सचेन गाैतम, बीचमा लेखक, चाणक्य मासिकका रमेश घिमिरे र विकास साप्ताहिकका रामकृष्ण पाैडेल

पल्लो डाँडोमा देखिएका बादलका बुट्टाहरु कम्ति रोचक थिएनन् । बादलको फलैचादेखि तल….तल हरिया पहाड फिजारिएका थिए ।

एक अर्कामा खापिएका पहाडले सुन्दरताको रंगिन आकृति कोरेका थिए । दोलखा यति सुन्दर छ भन्ने कल्पना थिएन, न कसैले सुनाएको थियो । म रवि दाइका साथ दोलखाको अलौकिक सौन्दर्यमा गफिदै थिएँ । दोलखा भिमसेन जाने बाटो छोडेर बस अझ उत्तर सोझियो ।

ओरालो घुम्ति बाटोमा बस गतिवान थियो । तामाकोसी आयोजनाले बनाएको बाटो कच्ची भए पनि फराकिलो थियो । बस चालक निस्फिक्री कुदाइरहेथे । ती नागबेली पर्दै गड्तिरै गड्तिर झरेका बाटाहरूको अन्त्य नभइदिए हुन्थ्यो, म यही कल्पनामा डुब्दै र उत्रिँदै थिएँ ।

हिमालको जाडो च्यापेर सेता बादल बससँगै ओरालो झर्दै थिए । तिनका कलात्मक बुट्टा र हरिया पहाडको सुन्दरतामा फ्युजन भएर हरियो क्यानभासमा नयाँ आकृति कोरिँदै थियो ।

छिनमै लुक्ने र देखिने ती बादल पहाड र हिमालको कोंचमा लुकामारी खेलिरहन्थे । बसले सुनखानी गाविसलाई पछाडि छोड्यो । निकै तल मसिनो धर्को जस्तो तामाकोसी देखियो । तामाकोसीले साच्चै दोलखाको काँचुली फेर्दै रहेछ ।

छुट्टीमा घर फर्केको लाहुरेझैँ दोलखाली बस्तीको चिम्नीबाट उल्लासको धुँवा फुस्फुसाइरहेथ्यो । ती विकट मानिएका पहाडमा सम्भावनाका ढोका खुल्दै थिए । पहाडमा टाँसिएका बस्तीमा विकासको चिराग बल्दै थियो । बाटाका किनारमा बसाइएका दोकान बैंशालु हुन उन्मत्त थिए । उराठ, उजाड बस्तीमा तामाकोसी खडेरीको वर्षा बनेर पोखिँदै थियो ।

तामाकोसीले करिब दर्जन आयोजना निर्माणको आधार खडा गरिहरेथ्यो । तर, जिल्लाको विकासमा स्थानीयको सहकार्य र प्रतिबद्धताको अभाव खड्किरहेको आभास भयो । तामाकोसीले जुन परिवर्तनको रेखी कोरेको थियो, यसमा दोलखाली मन, बचन र कर्मले लागेको आभास भएन ।

सिंगटी पुगेपछि एक स्थानीय पत्रकारले भने – ‘यो बाटो नबन्दासम्म यहाँ बन्जर जंगल थियो । एक दुई स्याउले घर मात्र थिए ।’ सिंगटी अहिले उत्तरआधुनिक बजार बनिसकेको थियो । पछाडि छोडिएको सेउलीबजार विकासको अर्को नमुना थियो ।

तामाकोसीसँगै जोडिएका सिंगटी खारेखोला निर्माण हुँदै थिए । पारिपट्टी सिप्रिङ खाेला निर्माण हुँदै थियाे । अहिले सिप्रिङबाट बिजुली बलिसकेको छ । यसकाे विद्युत्गृहमाथि अग्लो पहाडको भित्तामा पेनस्टक पाइप जोडिएको छ ।

निकै तल त्यतिबेला ८ सय ८० मेगावाट क्षमताको तामाकोसी तेस्रो निर्माण हुने चर्चा थियो ।

एउटै आयोजनाले मानिसका खुम्चिएर मुजा परेका सपना विपना बन्दा रहेछन् । जीवन जिउने दैनिकीमै परिवर्तन ल्याउँदोरहेछ । यो तामाकोसीले सिद्ध गरेको थियो । बस धमिलो तामाकोसीको किनारै किनार उत्तरतिर हाँकिइरह्यो ।

दुईटा विशाल पहाडको खोँच, तामाकोसीको किनार र किनारमा उभ्याइएका मानवबस्ती आधुनिक विकासको नयाँ गारेटोमा घस्रिरहेथे । एउटै नदीले विकासका असंख्य सम्भावना जन्माइरहेको थियो । यो हिमाली देशमा यस्ता सयौं नदी छन् । तर, यसको बेवास्ता गर्नु र खोक्रो राष्ट्रवाद अलाप्नु हाम्रो दैनिकी बनेको छ ।

जीवन यतिमै सीमित थिएन । पहाडको भित्तामा टाँसिएका बिशाल चट्टानयुक्त पहरासमेत आम्दानीका स्रोत बनेका थिए । पहराको कापमा लहरै टाँसिएका भीरमौरीका घार सौन्दर्यको अर्को नमुना थियो । तामाकोसीको किनारै किनार छ्योरोल्पा जाने ‘ट्रेकिङ रुट’ बनाउन सके पर्यटकको घुइँचो लाग्थ्यो ।

भीरमौरीका घार, तामाकोसीको बहाब र आकाशतिर तानिएका पहाड देखाएर पैसा फलाउन सकिन्थ्यो । बादलका विविध आकृति देखाएर वैकल्पिक आम्दानी गर्न कसैले रोक्नेवाला थिएन । यसतर्फ भने दोलखाली राजनीतिकर्मीको चासो देखिएन । आज पनि त्यो सोच पलाएको देखिँदैन ।

साँघुरो कच्ची बाटोमा सकि नसकि घिस्रिरहेको बस एक्कासी एक हूल मानिसले रोके । ती विकट गाउँबाट घन्टौं हिँडेर तामाकोसीको शिलन्यासमा जान हिँडेका रहेछन् ।

बसका सह–चालकले भने– ‘यो पत्रकार चढेको बस हो । अर्काेमा आउनुहोला ।’ त्यहाँ उभिएका बल भरिएकाले मुख उध्याउँदै झपारे– ‘हाम्रै पैसामा बन्न लागेको तामाकोसीमा जान हामीलाई नै नचढ भन्ने ? गाडी जलाइदिउँ ?’

उनीहरूको दादागिरी देखेर सबै वाल्ल परे । कोही पत्रकार बोलेनन् । छापामार शैलीमा बसमा चढे । बस भरियो । लहरेखोकीले ग्रस्त बिरामीझैँ बस खोक्दै लतारियो । बसमा एउटी ४० काटेकी अधबैंशे तामाङ्नी महिलालाई सोधेँ– ‘तपाईहरू कहाँ जाने हो ?’ ‘प्रधानमन्त्री आउछ भन्छ, देख्न भनेर जान लागेको,’ महिलाले जवाफ फर्काइन ।

विकट ग्रामीण बासिन्दालाई तामाकोसी बन्दै छ भन्ने थाहा थिएन । ती प्रधानमन्त्रीलाई भेटेर आफ्नो कुरा भन्न हतारिरहेका देखिन्थे । तर, जानिफकार ठानिनेले अवोध मान्छेलाई भजाएर स्वार्थ पूरा गर्ने मनोकांक्षामा रत्तिएको प्रस्टै बुझिन्थ्यो । तामाकोसीले हाम्रो जीवन बदलिदिन्छ भन्ने ज्ञान तील जति पनि थिएन ।

पहाडको खोँचमा आयोजनाको विद्युत्गृहको नमुना बनाइएको थियो । यो अहिले करिब पूरा भइसकेको छ । बाह्र बजेको तालु पोल्ने घामले उखर्मौलो मच्चाइरहेथ्यो । छिनछिनमै पहाडको टुप्पाबाट बादलले घनघोर पानी बर्साउँथ्यो ।

घामपानीमा सेकिएर प्रधानमन्त्री झलनाथ खनालको प्रतिक्षा गर्दा झन्डै डेढ घन्टा बित्यो । हुन्हुनाउँदै आएको खैरो हेलिकोप्टरबाट ऊर्जा मन्त्री गोकर्ण विष्ट ओर्लेका थिए । केही समयपछि सेतो हेलिकोप्टरमा प्रधानमन्त्री आइपुगे । उनको स्वागतार्थ बिहानैदेखि सयौं स्कुले बालबालिका तैनाथ थिए ।

उनीहरूलाई नजिकै छलाङ मारिरहेको तामाकोसीको कुनै प्रवाहा थिएन । न त आयोजना बन्नेमा कुनै उत्साह थियो । के को शिलन्यास भन्ने जानकारी समेत थिएन, सायद । ती कलिला औलामा फूल समातेर घन्टौं लाम लागेका थिए ।

‘किन उभिएको ?’ भन्ने प्रश्नको जवाफमा उनीहरूको उत्तर सामान्य थियो– ‘आज हाम्रो देशका प्रधानमन्त्री आउदै हुनुहुन्छ । उहाँलाई स्वागत गर्न बसेको ।

प्रधानमन्त्रीको अनुहार हेर्न ती अवोध बालबालिकामा छुट्टै उत्साह थियो । प्रधानमन्त्रीले भने ती अबोध मनको खिल्ली उडाइदिए । घन्टौं घामपानीमा रुजेका बालबालिका मात्र होइन स्थानीयको भावनालाई स्थान दिन सकेनन् । उनी चढेको हेलिकप्टरले उडाएको धुलोले स्वागार्थ बसेका हजारौं मान्छेलाई ढाकिदियो ।

सुरक्षित ढंगले अवतरण गर्ने हेक्का नभएका प्रधानमन्त्रीले आफ्नौ रवाफ देखाएझैँ लाग्यो । केही बेर त्यहाँ कृत्रिम कुहिरीमण्डल छायो । प्रधानमन्त्रीलाई क्यामरामा कैद गर्न हतारिएका फोटोग्रफरको क्यामरा धुलाम्मे भयो । सुरक्षाको लागि तैनाथ एक सुरक्षाकर्मी वेगवान गतिमा चलेको हावाका कारण पुर्लुक्कै ढले ।

ती विचरा सुरक्षाकर्मी जुरुक्क उठेर पुनः सुरक्षामा सामेल भए । पञ्चेवाजा, बौद्धबाजादेखि धामी झाक्रीसमेतले प्रधानन्त्रीलाई स्वागत गरे । घाँटी पुरिने गरी मलाको भारी बोकेका प्रधानमन्त्री खनालले मुसुमुसु हास्नुबहेक सयौंलाई केही प्रतिक्रिया दिएनन् ।

चार बजेतिर कार्यक्रम सकियो । प्रधानमन्त्री उसै गरी हेलिकप्टरमा रवाना भए । दुइटा पहाडले छेक्दै ल्याएर घाम मधुरो हुँदै थियो । बस चरिकोट फक्र्यो । तामाकोसीको किनारै किनार दक्षिण हिँडिरहँदा अध्यारो ओर्लिदो थियो । जाँदा नागबेली परेको ओरोलो बाटो उस्तै प्रकृतिमा उकालो चढिरह्यो । बाटैमा घनघोर पानी पर्यो ।

चरिकोट पुग्न करिब एक घन्टा हुँदा ठूलो भेलले बाटो छेकिदियो । करिब एक घन्टा बाढी घट्ने प्रतिक्षामा बस्यौं । बाढी छल्दै र पानीसँग जुवारी खेल्दै साँझ साढे आठ बजे चरिकोट पुगियो । ममा गौरीशंकर हेर्न नपाएकोमा खिन्नता थियो ।

भोलिपल्ट बिहानै झिसमिसमै उठेर लजको बारदलीबाट गौरीशंकर नियाल्न थालेँ । हिमालमा घामका किरण खसिसकेका थिए । घामको किरणमा ठोक्किएर देखिएको गौरीशंकरको चमकले मलाई लोभ्यायो ।

म निकै बेर गौरीशंकर हेरेर रमाइरहेँ । रविदाइ उठेर क्यामरामा कैद गर्न थाले । हामी दोलखा भिमसेनको दर्शन गर्न अघिल्लो दिनकै बाटो फक्र्यौं । दोलखा प्रकृतिले भरिपूर्ण त छँदै छ । त्यो पर्यटन व्यवसायको अथाहा सम्भावना भएको जिल्ला पनि रहेछ । दोलखामा विकासको बत्ती बाल्न सरकारले सहजकर्ताको भूमिका मात्र निर्वाह गरे पुग्छ ।

स्रोत र साधनको भण्डारले दोलखा आफै विकासको उचाईमा पुग्न सक्छ । यद्यपि, स्थानीय मानिसको अथक मेहेनत ऐकेबद्धता अझ अपरिहार्य छ । ४ सय ५६ मेगावाट क्षमताको तामाकोसीले मात्र यो क्षेत्रलाई भरिपूर्ण बनाउन सक्छ । यो जिल्ला अहिले प्रदेश ३ मा बाँडिएको छ ।

स्थानीय र राजनीतिक दलबीच सहकार्य भए दर्जनौं आयोजना निर्माण गर्न पुँजीको जोहो हुन सक्छ । स्वदेशी पुँजीमै धेरै आयोजना निर्माण गर्न सकिन्छ । युगौदेखि दोलखाका पुर्खाले छोडेर गएको सपना पनि पूरा हुन सक्छ ।

विकासको अथाहा सम्भावना भएको दोलखा र प्रकृतिको सुन्दरता हेरेर मन अघाएको थिएन । बस काठमान्डूतिर सोझिइसकेको थियो । म विकासको लेखाजोाखा गर्दै चिसो हावा काखि च्यापेर लेक लेकै गुडेको बसमा काठमान्डूको कोलाहलमा मिसिन हतारिएको थिएँ ।
@biyogi2

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7