advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ४०१ मेगावाट
  • निजी क्षेत्र : ३४४ मेगावाट
  • भारत : ४२४ मेगावाट
  • ट्रिपिङ : १५ मेगावाट
  • माग : ११८८ मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

शुक्रबारबाट रसुवागढी र सान्जेनको सेयर बिक्री खुल्ने

   फागुन ०९, २०७४        8578        ऊर्जा खबर / काठमाडौँ

रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत् कम्पनीले शुक्रबार (फागुन ११ गते) बाट कर्मचारीका लागि छुट्याइएको सेयर बिक्री खुल्ला गर्ने भएका छन् । रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी र ५७.३ मेगावाटका सान्जेनका आयोजनाको कर्मचारीका लागि छुट्याइएको २४ प्रतिशत सेयर निष्कासन गर्न लागिएको हो ।

दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि सेयर जारी गर्न लागेका हुन् । रसुवागढीले संचयकोषका संचयकर्ताका लागि १ सय रुपैयाँ दरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर जारी गर्नेछ ।

संचयकर्ताले खरिद गर्ने सेयरबाट १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय रुपैयाँ उठाउने लक्ष्य छ । रसुवागढीको सेयर खरिद गर्ने संचयकर्ताले आगामी शुक्रबारदेखि फागुन ३० गतेसम्म आवेदन दिनुपर्नेछ ।

यस्तै, संस्थापक संस्था (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह) का कर्मचारीका लागि २३ करोड ९४ लाख ७३ हजार ५ सय रुपैयाँको २३ लाख ९४ हजार ७ सय ३५ किता सेयर निष्कासन हुने कम्पनीले जनाएको छ ।

संस्थापक संस्थाका कर्मचारीले सेयर खरिद गर्न आगामी चैत ५ देखि १३ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ । संचय कोषका संचयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्युनतम ५० कित्तादेखि अधिकतम ५ सय कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यस्तै, ऋणदाता संस्थाका कर्मचारीका लागि पनि ६ करोड ८४ लाख २१ हजार रुपैयाँको ६ लाख ८४ हजार २ सय १० कित्ता सेयर जारी हुनेछ । उनीहरुले न्युनतम ५० कित्तादेखि अधिकतम २५ सय कित्तासम्म खरिद गर्न पाउने छन् । रसुवागढीको हकमा २०६८ मंसिर २२ गतेबाट कायम भई गत पुस २० गतेसम्म बाहल रहेका सबै कर्मचारीले सेयर पाउने छन् ।

दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको ६८ करोड ४२ लाख १० हजार रुपैयाँबराबरको ६८ लाख ४२ हजार १ सय कित्ता सेयर निष्कासन गरिनेछ । तेस्रो चरणमा १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता साधारण सेयर निष्कासन हुने कम्पनीले जनाएको छ ।

यसैगरी, सान्जेन जलविद्युत् कम्पनीले सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि ८७ करोड ६० लाख रुपैयाँ बराबरको ६८ लाख ६० हजार कित्ता सेयर निष्कासन हुँदैछ ।

जसमध्ये सञ्चयकर्ताले ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खरिद गर्न पाउनेछन् । संचयकर्ताका लागि आगामी शुक्रबारदेखि फागुन ३० गतेसम्म आवेदनको म्याद तोकिएको छ । सान्जेनको सेयर खरिद गर्न संचयकर्ताले न्युनतम ५० देखि अधिकतम ३ सय कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

संस्थापक संस्थाका कर्मचारीका लागि १२ करोड ७७ लाख ५० हजार रुपैयाँबराबरको सेयर निष्कासन गरिने छ । उनीहरुले पनि न्युनतम ५० देखि अधिकतम ३ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणदाता संस्थाका कर्मचारीका लागि ३ करोड ६५ लाख रुपैयाँ मूल्यको ३ लाख ६५ हजार कित्ता सेयर छुट्याइएको छ ।

उनीहरुको हकमा न्युनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म खरिद गर्न दिइनेछ । संस्थापक संस्था र ऋणदाता कम्पनीका कर्मचारीले चैत ५ देखि १३ गतेसम्म आवेदन दिइसक्नु पर्ने कम्पनीले जनाएको छ ।

२०६८ मंसिरमा कायम भई गत मंसिर २६ गतेसम्म बहाल कर्मचारीले सान्जेनको सेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

दुवै कम्पनीले निष्कासन गर्ने सेयर खरिद गर्न डिम्याट खाता नम्बर र सि-आस्बा दर्ता नम्बर अनिवार्य गरिएको छ । सेयर खरिदकर्ताले सि–आस्बा प्रणाली लागु भएका बैंकबाट आवेदन दिनुपर्नेछ ।

सेयर निष्कासन हुने दुवै कम्पनीका १ सय ६८.३ मेगावाटका आयोजना रसुवामा निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7