advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३५१ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४८४ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२६० मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

वर्षमान पुन : बन्दुकको नालदेखि ऊर्जाको खालसम्म

   चैत ०३, २०७४        3604        ऊर्जा खबर/काठमाडाैं

माओवादी द्वन्द्वकालमा ‘अनन्त’ उपनामले चिनिने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन तेस्रो पटक सरकारमा प्रवेश गरेका छन् । पहिलो र दोस्रो पटक सरकारमा जाँदा उनले क्रमशः शान्ति तथा पुनर्निर्माण र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

झलनाथ खनाल र बाबुराम भट्टराईको मन्त्रिमण्डलमा सहभागी पुनले खासै नयाँ काम गर्न नसके पनि समानान्तर अवस्थामा मन्त्रालय चलाएका थिए । केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछि पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

युद्ध तथा द्वन्द्वको पृष्ठभूमिबाट राजनीति सुरु गरेका उनी माओवादीभित्र नरम नेताका रूपमा पनि परिचित छन् । अर्थ र भौतिक पूर्वाधारपछि ऊर्जा शक्तिशाली मन्त्रालय मानिन्छ । यहाँ दलाल, विदेशी दाता, राजनीतिक दल तथा कर्मचारीको स्वार्थ लुकेको हुन्छ ।

जलविद्युत आयोजनाको अनुमतिपत्र बाँड्ने, आफू अनुकूल नीति नियम परिवर्तन गर्ने र विद्युत खरिद सम्झौता (पिपिए) गर्ने क्रममा सरकारको माथिल्लो तहसम्म कमाउ धन्दा चलेको हुन्छ । यी स्वार्थबाट बाहिर निस्केर काम गर्नु पुनका लागि ठूलो चुनौती हुनेछ ।

जन्म, घर र परिवार

रोल्पाको सुन्दर गाउँ माडीचौर, स्थानीय खाम (मगर) भाषामा माण्डिबाङले चिनिन्छ । हाल रोल्पा नगरपालिका–७ मा पर्छ । राप्तीको शिर माडी खोलाको किनारा माडीचौरमा मध्यम वर्गीय किसान परिवारमा पुनको जन्म भएको हो ।

इर्खराम पुन र तिर्थमाली पुनको दोस्रो सन्तान वर्षमानको जन्म २०२८ साल जेठ १८ गते भएको थियो । राजनीतिक जीवनमा सहयात्री बनेकी ओनसरी घर्ती उनकी जीवनसाथी हुन् ।

युद्व सुरु हुनुअघि (२०५२ साल भदौ ११ गते) जंकोटमा दुवैको जनवादी विवाह भयो । पुनकी छोरी शीला कक्षा १२ र छोरा उत्सव कक्षा ९ मा पढ्दैछन् । बुवा–आमा अझै कृषिमै सक्रिय छन् ।

पुन राजनीतिक जीवनमा सफल नेता मानिन्छन् । कम उमेरमा राजनीतिक उचाई चुमेका उनले आफूसँग विशेष क्षमता छ भन्ने दाबी गर्दैनन् । इमान्दारीपूर्वक काम गर्ने र धैर्य गर्ने उनको विशेषता हो ।

उनी भन्छन्– ‘म धैर्यता, आशा र निरन्तरतामा विश्वास गर्छु ।’ पुन यसबीचमा गम्भीर विरामी परे । उपचार नेपाल तथा भारतमा सम्भव नभएपछि बैंकक पुगे । अहिले स्वास्थ्य अवस्था सामान्य छ ।

शिक्षा

साविक जंकोट गाविस–१ माडीचौरमा त्यतिबेला स्कूल थिएन । पुन पाँच वर्ष पुगेपछि एक घन्टा टाढाको प्राथमिक विद्यालयमा भर्ना भए । पहिलो दिन उनी खाली खुट्टा स्कुल पुगेका थिए, पसिना पुच्दै ।

पहिलो दिन उनले ‘धेरै पढ्नु र ठूलो मान्छे बन्नु’ भन्ने ठूलावडाको आशिर्वाद सम्झिए । जीवनबारे बाल मस्तिष्कमा कुनै छाप थिएन । पढाइमा अब्बल उनी एक कक्षामा प्रथम भए । दुई कक्षामा उनी कोटगाउँको निम्न माध्यामिक विद्यालयमा भर्ना भए । कक्षा सातसम्म त्यहीँ पढे ।

१३ वर्ष हुँदा (२०४१ साल) मा माध्यामिक तहको अध्ययन गर्न पुनले घर छोडे । सदरमुकाम लिवाङको बालकल्याण माविमा भर्ना भए । त्यहाँ उनलाई एक्कासी राजनीतिको हावाले समात्यो ।

पुन ३६ जना विद्यार्थीसँग होस्टेलमा बस्थे । अलग पार्टीको नेतृत्व गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’, कुलप्रसाद केसी उनका सहपाठी हुन् । पुनले पढेको विद्यालय कम्युनिष्ट राजनीतिमा स्थापित व्यक्तिहरूको पाठशाला पनि हो ।

सभामुख कृष्णबहादुर महरा त्यही विद्यालयका असल शिक्षक थिए । उनले गणित र विज्ञान पढाउँथे । तत्कालीन माओवादी द्वन्द्वकालमा ‘बुर्जुवा’ शिक्षा नाम दिए पनि दलका सबै नेताको धरातल त्यही शिक्षाले बनाएको थियो । बुर्जुवा शिक्षाकै आडमा ज्ञान हासिल गरेर उनीहरू युद्ध र त्यसको नेतृत्व गर्न लायक भएका थिए ।

महरा पुनका शिक्षा र राजनीतिक गुरु हुन् । उनी सम्झिन्छन्– ‘महरा मेरो शैक्षिक र राजनीतिक गुरु हुनुहुन्छ । महराले दर्जनौं नेता तथा कार्यकर्तालाई पढाए । र, युद्ध गर्न सिकाए । सदरमुकाम लिवाङ त्यतिबेला शिक्षा र राजनीतिको केन्द्र थियो ।

२०४४ सालमा एलएलसी पास गरेका पुन थप शिक्षा आर्जन गर्न दाङ झरे । सामाजिक र राजनीतिप्रति सचेत उनले समाजको असमानता नजिकबाट नियालेका थिए । समाजका उत्पीडन, दमन, शोषण अन्त्य हुनुपर्छ भन्ने सोच थियो । यही सोचले उनलाई कानुन पढ्न हौस्यायो । र, उनी २०४५ सालमा दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आइएल भर्ना भए ।

लिवाङमा पुन अखिल छैठौंमा आवद्ध भइसकेका थिए । दाङमा क्याम्पस पढ्दा विद्यार्थी आन्दोलनमा पनि सक्रिय भूमिकामै रहे । बुर्जुवा शिक्षाको धरातलमा युद्धको खाका कोर्न गोलबद्ध लिबाङको टोली दाङ झर्यो । पुराना अनुहारमा रेखा शर्मा, शक्तिबहादुर बस्नेत पनि जोडिए ।

पुनले २०४८ सालमा प्रथम श्रेणीमा आइएल पास गरे । र, राजनीतिमा होमिए । पूर्णकालीन राजनीति गर्दै २०४९ सालमा नेपाल ल क्याम्पसमा विएल भर्ना भए । नियमित कक्षा नलिए पनि उनले बिएल परीक्षा दिए । जनयुद्ध सुरु भएपछि पूर्णता दिन सकेनन् ।

पुनले न्याय र अन्याय छुट्ट्याउने उत्कृष्ट संकल्प लिएका थिए । तर, समयान्तरमा त्यो संकल्पको सुरु कालो कोट लगाएर होइन बन्दुक उठाएर युद्धमैदानबाट भयो । परिणामतः युद्ध थापिएको दशक बित्दासमेत त्यसका अवशेष ज्यूँदै छन् ।

जनयुद्ध

२०४८ सालमा निर्मल लामाको नेतृत्वमा राष्ट्रिय जनआन्दोलन भयो । रोल्पामा महरा संयोजक र पुन सहसंयोजक थिए । पुन सम्मिलित पार्टीले तत्कालीन काँग्रेस नेतृत्वको सरकारले गरेको दमनको प्रतिरोध गर्यो ।

रोल्पाका नेताले दमनको प्रतिवाद गर्न वाइसिएल (योङ कम्युनिष्ट लिग) बन्यो । वर्ग संघर्षको आन्दोलनमा सक्रिय पुनलाई २०४९ सालमा ३ वटा मुद्दा लाग्यो । उनले २ पटक ४८ दिन हिरासतको सजाय काटे, डाँका मुद्दामा ।

कानुनी प्रक्रियाबाट उनले सफाइ पाए । र, संघर्ष जारी राखे । त्यही संघर्षले माओवादी युद्धको जग हाल्यो । युद्धमा हजारौं मारिए । रक्तपात मच्चियो । पछाडि फर्केर हेर्ने जमर्को गर्ने धेरै नेताले त्यो युद्धलाई ब्यर्थ मान्न थालेका छन् ।

कमाण्डर र सैन्य भूमिका

माओवादीले २०५२ फागुन १ गतेदेखि जनयुद्ध सुरु गर्यो । पुन माओवादी रोल्पाको जिल्ला सदस्य थिए । होलेरी इलाका प्रहरी कार्यालय आक्रमण गरेर माओवादीले जनयुद्धको घोषणा गर्याे ।

माओवादी रोल्पाको ९ सदस्यीय समितिमा पुन सदस्य थिए । र, जिल्ला लडाकु दस्ता उनैको नेतृत्वमा थियो । लडाकु, स्वयंसेवक र सुरक्षा दलका नाममा तीन अर्धसैन्य र सैन्य दस्ता थियो ।

माओवादीले ३ दस्ताको आडमा होलेरीमा आक्रमण गरेको थियो । त्यसको कमाण्डर पुन थिए । उमेरमा कनिष्ट भए पनि पुनले राजनीतिमा पाको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

जनयुद्धका बेला पुनको भूमिका अन्य नेताको भन्दा भिन्न रह्यो । राजनीति र सैन्य नेतृत्व गर्ने उनी सम्भवतः पुष्पकमल दाहालपछिका एक्ला नेता हुन् ।

दाहाल पार्टीको अध्यक्ष र जनमुक्ति सेनाका सुप्रिम कमाण्डर थिए । उनीपछि कमाण्ड इन्चार्ज र डेपुटी कमाण्डरको भूमिका निर्वाह गर्ने पुन नै थिए ।

पुनले रोल्पा, प्यूठान, रुकुम, सल्यान र जाजरकोटको इन्चार्जको जिम्मेवारी सम्हालेका थिए । २०५५ सालदेखि २०५९ जेठसम्म उनले पश्चिम कमाण्डको सैन्य मुख्यालयको जिम्मा लिए ।

घर्तीगाउँ, घोराही ब्यारेक, डोल्पाको दुनै, अछामको मंगलसेन, जाजरकोटको लह, रुकुमको महत गाउँलगायतमा माओवादीले गरेको कारबाहीमा उनले कमिसार र कमाण्डर भूमिकामा थिए ।

पश्चिममा सैन्य संरचना बलियो बनाएका पुनलाई २०५९ सालमा पार्टीले पूर्व खटायो । पूर्वको कमाण्ड मोहन वैद्यको नेतृत्वमा थियो । पुन जनमुक्ति सेनाको डिभिजन कमाण्डर बने, पूर्वी कमाण्डको सैन्य कमाण्डर र मुख्यालय इन्चार्ज पनि ।

माओवादीले त्यहीबेला भोजपुर र तनहुँको बन्दीपुरमा आक्रमण गरेको थियो । काठमाडौंको थानकोट, दधीकोट र साँखुको आक्रमण योजना पुनकै थियो । सिन्धुपाल्चोकको चौतारा, काभ्रेको पनौती लगायत आक्रमणमा आफँै सहभागी थिए ।

२०६२ सालको चुनाबाङ बैठकपछि पुन जनमुक्ति सेनाको डेपुटी कमाण्डर बने । र, काठमाडौं उपत्यका र वरिपरिका जिल्ला समेटेर बनाइएको विशेष कमाण्डको राजनीतिक इन्चार्जमा पुगे ।

रोल्पामा जनयुद्धको जग हालेका पुन दश वर्षपछि विशेष कमाण्डको इन्चार्ज बने । २०६२/६३ सालको जनआन्दोलनमा सैन्य र राजनीतिक सन्तुलन मिलाउँदै काम गरे ।

मृत्युसँग सामना

युद्धका क्रममा पुनले पटक–पटक मृत्युसँग सामना गर्नुपर्यो । डोल्पा र अछाम सदरमुकाम मंगलसेन आक्रमणबाट फर्किदा उनी भाग्यले बाँचे । पूर्वको कमाण्डर हुँदा बन्दीपुर आक्रमणमा उनले बाँच्ने आशा मारिसकेका थिए ।

एक पटक महरा र पुन सल्यानको बाँफु खोलामा थिए । भर्खरै उनकी छोरी जन्मिएकी थिइन् । ओनसरी सात दिनकी सुत्केरी थिइन् । त्यही ठाउँमा प्रहरीले घेरा हाल्यो । सुत्केरी ओनसरी साथीसँग जंगलतिर लागिन् ।

अर्को घरमा बसेका महरा र पुन घेरामा परे । उनले पेस्तोलबाट फायर खोले । त्यहीबेला महरा ओरालो झरे । उनले फायर गर्दै महरालाई जंगलतिर दौडाएर बचाए ।

राजनीति

पुनले आइएल पढ्दा २०४७ सालमा पार्टी सदस्यता लिएका थिए । २० वर्षको उमेरमै २०४८ सालमा नेकपा (एकता केन्द्र) को तत्कालीन ९ नम्बर क्षेत्रको संस्थापक एरिया सेक्रेटरी बने । २०४९ सालमा पार्टीको पहिलो रोल्पा जिल्ला सम्मेलन भयो ।

त्यतिबेला पुन जिल्ला समिति सदस्य बने । जुन रोल्पाको पहिलो निर्वाचित समिति थियो । दुई वर्षपछि २०५१ सालमा पार्टीको दोस्रो जिल्ला सम्मेलन भयो । पुन ३ सदस्यीय कार्यालय सदस्यमा परे ।

जनयुद्ध सुरुका केही महिना (२०५३ साल) मै पुन माओवादीको रोल्पा जिल्ला सचिव भए । लगत्तै रोल्पा र प्यूठानको संयुक्त जिल्ला समिति बन्यो । त्यसको पनि सचिव भए । उनी २६ वर्षमा (२०५५ साल) मा चौथो विस्तारित बैठकबाट माओवादीको केन्द्रीय सदस्य बने ।

चोथौ विस्तारित बैठकबाट ७ युवा केन्द्रीय समितिमा पुगे । माओवादी आन्दोलनलाई सशक्त बनाउन बल पुग्यो । र, युवालाई नेतृत्वमा पुग्ने बाटो पनि खुल्यो । २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनले पुनलाई वैकल्पिक पोलिटब्यूरो सदस्य चुन्यो । र, २०५९ सालमा भारतको गोवामा बसेको बैठकबाट उनी पूर्ण पोलिटब्यूरो सदस्य भए ।

२०६२/६३ को शान्ति प्रक्रियापछि माओवादीमा शक्तिशाली १३ सदस्यीय सचिवालय बन्यो । पुन यसमा सदस्य भए । त्यसपछि माओवादी पार्टी सचिवालय तथा मुख्यालयमा उनी निरन्तर सदस्य छन् ।

एकीकृत माओवादीको हेटौडा महाधिवेशनपछि विराटनगरमा राष्ट्रिय सम्मेलन भयो । उक्त सम्मेलनबाट उनी सचिवमा निर्वाचित भए । माओवादी केन्द्रको कार्यालय सदस्य रहेका पुन प्रदेश ५ को इन्चार्ज समेत हुन् ।

अर्थ मन्त्री

पुन २०६४ सालको संविधानसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट विजयी भए । २०६७ माघ २३ मा झलनाथ खनाल प्रधानमन्त्री बन्दा उनले शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी सम्हाले । तर, एमाले र माओवादीबीच सत्ता साझेदारीमा सन्तुलन नमिल्दा दुई महिनामै मन्त्रालय छोडे ।

२०६८ साल भदौ ५ गते बाबुराम भट्टराई प्रधानमन्त्री भए । त्यतिबेला उनले देशकै महत्त्वपूर्ण अर्थ मन्त्रालय हाँक्ने मौका पाए । उनी १८ महिना पदमा रहे ।

२०७० सालको संविधानसभा निर्वाचनमा पुन मोरङ क्षेत्र नम्बर ९ बाट उठे । तर, काँग्रेस उम्मेदवारसँग पराजित भए । संविधानसभामा नरहे पनि संविधान निर्माणमा पार्टीका तर्फबाट महत्वपूर्ण भूमिका पूरा गरे । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गृह–जिल्ला फर्केका पुनले रोल्पाबाट ४२ हजार ८४ मत ल्याएर जित हासिल गरे ।

पुन संयोगले अर्थ मन्त्री भए । तर, पूर्ण बजेट ल्याउन पाएनन् । उनले दुई आर्थिक वर्षको पूरक बजेटमात्र ल्याए । काममा हुने सरकारी ढिला–सुस्तीलाई छरितो बनाउने, एकद्वार प्रणालीबाट वैदेशिक लगानी भित्र्याउन पहल गरे ।

पुनकै पालामा २१ ठूला परियोजना राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखियो । काठमाडौं विस्तार गर्न बजेट अभाव हुँदा उनले त्यसको व्यवस्था गरे ।

शान्ति प्रक्रियामा ५ अर्ब रुपैयाँ आवश्यक थियो । नयाँ बजेट ल्याउन सम्भव थिएन । धेरै विदेशीले शान्ति प्रक्रियामा स्वैच्छिक अवकाशमा जानेको हकमा रकम उपलब्ध गराउने बचन दिए । उनले स्वदेशको शान्ति प्रक्रिया आफ्नै बजेटबाट पूरा गर्ने सोच बनाए । र, यसको व्यवस्था गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7