advertisement before-navabar

विद्युत आपूर्ति

  • प्राधिकरण : ३५१ मेगावाट
  • निजी क्षेत्र : १६५ मेगावाट
  • भारत : ४८४ मेगावाट
  • लोडसेडिङ : २६० मेगावाट (उद्याेग)
  • माग : १२६० मेगावाट
  • स्रोत : ने.वि.प्रा.
after_navbar

हावासँगै उडेको अँध्यारो

   चैत ०६, २०७४        1472   
बिनीता शाह खड्का

चारैतिर हरिया डाँडा अग्लिएका छन् । तिनले माथिको नीलो आकाश छोएको आभास हुन्छ । ती डाँडाबाट निरन्तर बेतोडसँग हावा बग्छ । सिन्धुलीको हरिहरपुरगढीमा हिजो मात्र होइन आज पनि बेस्सरी हावा चल्नु श्राप मानिन्छ । तर, पछिल्लो समय त्यही हावा स्थानीयबासीको खुसी बिसाउने चौतारो भएको छ ।

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा हावा तथा सोलारबाट बिजुली उत्पादन भएपछि यहाँका बासिन्दा हर्षित छन् । हिजो हावालाई श्राप मान्ने र अँध्यारोमा जीवन बिताउनेहरू हावासँगै आफ्ना सपना ब्यूँताउन लागेका छन् । अँध्यारा दिन गए भन्दै रमाइरहेका छन् । साँच्चै हावाले उनीहरूको दुःख उडाएर अन्तै पुर्याएझैँ लाग्थ्यो ।

‘अब अँध्यारा दिन गए, हामी उज्यालोमा रमाइरहेका छौँ,’ स्थानीय तथा आगन्तुक पाहुनालाई खसीको मासु र चिउरा बाँड्दै सुन्दरी थोकरले भनिन्, ‘हाम्रा केटाकेटीले रातमा पढ्न पाउने भए । हामीले पनि अँध्यारोमा बसेर खाना खाने दिन गए ।’

बिजुली बलेको हर्षले गाउँलेलाई रोक्न सकेको थिएन । बालबालिका, युवा वृद्ध हरेकको मुहार घामझैँ चम्केको थियो । युवा–तन्नेरी यमानको स्पिकरमा मोबाइल जोडेर तामाङ गीत बजाएर नाचिरहेका थिए ।

एकैछिनमा त्यहाँ प्रौढ जोडी उभिए । कोदोको रक्सीको चुस्कीमा डम्फु बजाउँदै उनीहरू बेपर्वाह नाच्न थाले । हिजोको बैंश र उमेर ढल्केपछिको तालमेल नमिल्दा उनीहरू घरिघरि लाजले भुतुक्क हुन्थे । सायद, तिनले कल्पना गरेको स्वर्ग यही थियो ।

हरिहरपुरगढी पहाडको टाकुरमा टुक्रुक्क बसेजस्तो देखिन्छ । यहाँ प्रायः दिनमा चर्को घाम लाग्छ र साँझ परेपछि अत्याधिक हावा चल्छ । त्यही हावाको बेगलाई उपयोग गर्दै गाउमा हावा तथा घामबाट बिजुली निकालिएको छ । घाम लागेका बेला सोलार र साँझ हावा चल्दा हावाबाट बिजुली उत्पादन हुन्छ ।

‘हरिहरपुरगढी देशको यस्तो ठाउँ हो, जहाँ हावा तथा घामबाट बिजुली निकाल्न सकिन्छ,’ एडिबी आवासीय मिसन नेपालका ऊर्जा अधिकृत पुष्कर मानन्धरले भने, ‘केन्द्रीय प्रसारण लाइनन पुगेका ठाउँमा यसरी नै बिजुलीको पहुँच पुर्याउन सकिन्छ ।’

फेरिएको जीवन

देशको कूल जनसंख्याको एक तिहाईमा मात्र बिजुलीको पहँुच पुगेको छ । तर, ग्रामीण र सहरी क्षेत्रमा धेरै भिन्नता छ । सहरी क्षेत्रका ९७ प्रतिशत जनसंख्याले बिजुलीको उपभोग गर्छन् । गाउँमा ७२ प्रतिशत जनसंख्यामा मात्र उज्यालो पुगेको छ ।

नेपाल विद्युत प्राधिकरण (नेपाल) ले वर्षौंदेखि भारतबाट बिजुली किनिरहेको छ । पछिल्लो ५ वर्ष यता आयातको दर दोब्बर पुगेको छ । सानै भए पनि नवीकरणीय स्रोतको प्रयोग र ऊर्जा सुरक्षामा विविधता ल्याउन सके परनिर्भरता घटाउन सकिन्छ ।

हरिहरपुरगढीमा हावा वा घामबाट बिजुली उत्पादन हुनुअघि घरका छानामा राखेका साना सोलार प्यानलले चार्ज गरेको ब्याट्रीले उज्यालो दिन्थ्यो । जुन जूजकीरी जस्तो बत्ती बाल्नमात्र काम लाग्थ्यो । साँझ केही घन्टा बत्ती बाल्थ्यो । र, निभ्थ्यो । घाम अस्ताएपछि मधुरो उज्यालोको खासै महत्व हुँदैनथ्यो । मोबाइल चार्ज वा अन्य प्रयोजनमा बिजुली पुग्दैनथ्यो ।

बिजुली पर्याप्त नहुँदा जनजीवन सहज थिएन । घर नजिकै बग्ने बागमतीको पानी उपयोग गर्न सकिँदैनथ्यो । धान, मकै, गहुँजस्ता बालीका लागि सिँचाइ गर्न समस्या थियो । अन्नबाली उत्पादन गर्न आकाशे पानीको भर पर्नुपथ्र्यो । यसले वर्षमा एक वा दुई बाली गर्न मिल्थ्यो । अब विस्तारै विगत फेरिँदै गएको स्थानीयले अनुभूति गरेका छन् ।

कृषि उत्पादनमा सुधार आउने गाउँलेको अपेक्षा छ । बिजुली बलेपछि गाउँमा गहुँ पिसाउने, धान कुट्ने मिल खुलेका छन् । आधुनिक प्रविधिले पुरै परिवर्तन गरिदिएको छ । ८५ घरधुरी रहेको उक्त्त गाउमा अहिले दैनिक १ सय १० किलोवाट बिजुली उत्पादन भइरहेको छ ।

हावाको टर्बाइनबाट २० किलोवाट र सोलार फोटोभोल्टिक प्यानल (घाम) बाट १५ किलोवाट बिजुली उत्पादन भइरहेको छ । स्थानीयले हरेक दिन ८७ किलोवाटमात्र बिजुली खपत गर्न सक्छन् । उब्रेको बिजुली अन्य अर्थोपार्जनमा उपयोग गर्ने उनीहरूको योजना छ ।

‘मलाई आशा छ, बिजुली प्रयोग गर्दै गाउमा युवाले नयाँ मिल राख्नेछन्, नयाँ फर्निचर पसल खोल्नेछन्,’ सौर्य–वायु उत्पादन विकास समितिका अध्यक्ष चमारसिंह घलानले भने, ‘यहाँ थप आम्दानीका स्रोत बढनेछन् ।’

बिजुली आएको खुसी बाँड्दै अर्का स्थानीय अशोककुमार गेलालले कोल्ड स्टोर राख्ने र २४ हर्ज पावरको रेफ्रिजेरेटर किन्ने योजना सुनाए ।

‘अब गर्मी सुरु हुँदैछ, म चिसोे पानी र सोडा बेच्छु,’ उनले भने, ‘मेरी श्रीमती कपडा सिलाउने गर्छिन् । उनले रातमा पनि कपडा सिलाउन सक्छिन् । र, हाम्रो आम्दानी बढ्नेछ ।’

गेलालले खुसी बाँडे– श्रीमतीले अबकोइलाको गरुङ्गो आइरन उचाल्नुपर्ने बाध्यता हुँदैन । म उनका लागि बिजुलीबाट चल्ने आइरन ल्याइदिनेछु ।

दुर्गम गाउँमा ऊर्जाको विकल्प

नेपाल जस्तो पहाडी मुलुकमा ठूला जलविद्युत आयोजना निर्माण गर्न समय लाग्छ । यो गाह्रो र महँगो पनि हुन्छ । पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि बिजुलीको पहुँच पुर्याउनु गाह्रो छ । यस्ता ठाउँमा वायु तथा सोलारबाट बिजुली उत्पादन गर्न उपयुक्त हुन्छ । यो भूगोल सुहाउँदो पनि मानिन्छ ।

‘हरिहरपुरगढीको सौर्य–वायु हाइब्रिड आयोजना देशको विकेन्द्रीत अवधारणा तथा दीर्घकालीन विकासका लागि सरकार र स्थानीय मिलेर काम गरेको उत्कृष्ट उदाहरण हो,’ मानन्धर

नवीकरणीय ऊर्जा उत्पादन तथा कार्बन व्यापारमा एडिबी र सरकारको संयुक्त प्रयासमा काम भइरहेको छ । यसलाई विस्तार गर्ने गरी देशका विभिन्न ठाउँमा थप आयोजना निर्माण गर्ने योजना छ । यो योजनामा करिब १६.२ लाख अमेरिकी डलर खर्च हुने अनुमान छ ।

नेपालमा नवीकरणीय ऊर्जा (सौर्य ऊर्जा, हावा, पानी) का पर्याप्त स्रोत छन् । यी भरपर्दाे, सस्तो र कम कार्बन उत्पादन गर्ने स्रोत हुन् । यस्तो ऊर्जाको समुचित प्रयोग र विकास गर्न सके जनताले पर्याप्त फाइदा लिन सक्ने एडिबीका आवासीय निर्देशक मुख्तोर हामुदखानोभले बताए ।

‘नेपालको समावेशी आर्थिक विकासमा एडिबीले लगानी गर्दै आएको छ,’ उनले भने, ‘बिजुलीको पहुँचबाट मात्रै आर्थिक विकास सम्भव छ, त्यो अन ग्रिड (प्रसारण लाइन पुगेको) वा अफ ग्रिड (लाइन नपुगेको) जेबाट पनि हासिल गर्न सकिन्छ ।’

आवासीय निर्देशक खानोभले यसो भनिरहँदा स्थानीय युवामा छुट्टै खुसी छाएको थियो । उनीहरूमा अब टिभीबाट फिफा विश्वकप फुटबल खेल्न पाइने उत्साह जागेको थियो ।

गाउँमा हरेक दिन बग्ने बेतोडको हावा समिर घलानको सपना बनेको छ । ठूलो टिभी किन्ने उसको धोको छ । र, ऊ विश्वकप हेर्नेछ । उसले पनि फिफा जित्ने छ । ‘म सधैं सोच्ने गर्छु, भगवान हावा हामीसँग रिसाउनु भएको छ,’ ऊ मुस्कुराउँछ, ‘कस्ले भन्न सक्छ, त्यही हावा अहिले वरदान भएर बिजुलीमा रूपान्तरण भएको ।’

तातो घाममा तातिरहेको सोलारको प्यानल तथा हावाले घुमाइरहेको फिरफिरेजस्तो टर्बाइन हेर्दै समिर सोचिरहेको छ– यो वर्ष म मेरा साथीहरूसँग बसेर विश्वकप हेरिरहेको हुनेछु । घाम लाई धन्यवाद दिनेछु र हावा लाई पनि ।

लेखक, एडिबी, आवासीय मिसन नेपालकी बाह्य मामिला हेर्ने वरिष्ठ अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7