Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ८९९८ मे.वा. घन्टा
  • निजी क्षेत्र : ९९५९ मे.वा. घन्टा
  • भारत : ६५४२ मे.वा. घन्टा
  • ट्रिपिङ : ३५ मे.वा. घन्टा
  • माग : २५५३४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बुद्धि लगाउनुस्, जलविद्युतमा फाइदै फाइदा

भदौ ०६, २०७६   7688 लेख


तारा सुब्बा

इस्वी सन् १९११ मा बिजुली बालिएको फर्पिङ नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत आयोजना हो । फर्पिङबाट सुरु भएर वैदेशिक लगानी हुँदै स्वदेशी निजी क्षेत्रको लगानीमा जलविद्युत आयोजना निर्माण हुन निकै समय लाग्यो । २०५८/५९ सालदेखि मात्र स्वदेशीले जलविद्युतमा हात हालेका हुन् भन्दा अत्योक्ति हुँदैन ।

पछिल्लो अवस्था हेर्दा सबै क्षेत्र (यातायात, निर्माण व्यवसायी, शिक्षा तथा स्वास्थ्य सेवा, जग्गा तथा रियल स्टेट, बैंक तथा वित्तीय क्षेत्र, वकिल तथा विभिन्न पेशाकर्मी, आटोमोबाइल, राजनीतिज्ञहरू) जलविद्युत विकासमा लागेको देखिन्छ । यो देशका लागि राम्रो पक्ष हो । यद्यपि, जलविद्युत तथा यससँग सम्बन्धित ज्ञान अभावले आर्थिक क्षति र दुर्घटनाका खतरा पनि त्यतिकै भएको महसुस गर्न थालिएको छ ।

ad

कुनै समय जलविद्युत आयोजना एक पटकको लगानी असीमित र दीर्घकालीन आम्दानी भन्ने सोच थियो । साधारण सेयर (आइपिओ) को लाइन थेगिनसक्नु हुन्थ्यो । मागभन्दा ५०औं गुणा बढी शेयर पथ्र्याे । वास्तवमा त्यो बेला ६० मेगावाटको खिम्ती, ४५ मेगावाटको भोटेकोसी र पिलुवा खोलाको सफलताले ऊर्जा क्षेत्रमा सकारात्मक तरंग नै ल्यायो ।

पछिल्ला दिनमा जलविद्युत क्षेत्र यसै फाइदा उसै फाइदा भन्ने सोच हाबी भयो । जस्तोसुकै नदी तथा खोलामा आयोजना डिजाइन भए । सम्भाव्य तथा विस्तृत अध्ययनले पूर्णता पाउन सकेन । आयोजनामा जस्तोसुकै वा जथाभावी सस्ता टर्बाइन–जेनेरेटरहरू जडान गर्न थालियो । फलतः अधिकांश आयोजना केवल बत्ती बाल्ने तर लगानी उठाउन नसक्ने हैसियतमा पुगे ।

जलविद्युत यस्तो अतुलनीय उद्योग हो, जो निर्माण गरुञ्जेल मात्रै ठूलो प्रयत्न गर्नुपर्छ । ठूलो पुँजी लगानी तथा बढी मानव संशाधन खर्च हुन्छ । व्यापारिक उत्पादन भएपछि अन्य उद्योग तथा कल–कारखानाको दाँजोमा उत्पादन, सञ्चालन, मर्मत खर्च तथा ढुवानी (प्रशारण) लागत कम हुन्छ । अतः ३० देखि ३५ वर्षसम्म विद्युत खरिद सम्झौता (पिपिए) मार्फत बजारको प्रत्याभूति गरिएको उद्योग यो मात्र उद्योग हो ।

उत्पादन गर्न कच्चा पदार्थ वा भौतिक ऊर्जाको रूपमा प्रकृतिले सित्तैमा पानी दिएको छ । यति हुँदाहुदै सफलता निर्धारण गर्ने गुणस्तर तथा नियमलाई तुच्छ ठान्ने गरिएको छ । सुरुमा विवेक नपुर्याउने र पछि विलौना गर्नेको संख्या बढिरहेको देखिन्छ । यो भविष्यमा अझ टडकारो देखिने खतरा छ । यद्यपि, सफलता निर्धारण गर्न प्रमुख उपाय अपनाउन तथा पालना गर्न सके हरेक प्रवर्द्धक तथा विद्युत उत्पादक कम्पनी सफल हुनेमा द्विविधा रहँदैन ।

१. हाइड्रोलोजी

जलस्रोत हरेक जलविद्युतको सफलताको अत्यावश्यक कडी हो । यहाँ जलस्रोत अध्ययनको लामो इतिहास पाइँदैन । गेजिङ तथा मिटियोरोलोजी (मौसम) स्टेसन सीमित नदी बेसिनमा मात्र राखिएको छ । धेरै नदी तथा खोलामा यो प्रणाली भेटिँदैन । तैपनि, सम्बन्धित विभाग तथा निकायमा जति तथ्यांक उपलब्ध छन्, तिनको मिहिन अध्ययन तथा अनुसन्धान गर्न सकिन्छ । र, आफैंले गेजिङ स्टेसन स्थापना गर्न सकिन्छ ।

यसबाट बढी समयसम्म हाइड्रोलोजी (जल) अध्ययन गरी डाटा निकाल्न सकिन्छ । सकेसम्म न्यून फ्लो भेरिएसन (कम बहाब) भएको खोला वा नदी छनोट गर्नुपर्छ । अझ सकिन्छ भने स्नोफेड (हिउँनदी वा खोला) जलाधार क्षेत्रको नदी वा खोला लिन सकिन्छ । यसो गर्दा हाइड्रोलोजीमा ढुक्क हुन सकिन्छ । जलवायु परिवर्तन (Climate change) तथा ग्लोबल वार्मिङका कारण नदी तथा खोलाको बहाब वर्षेनी घट्दै भइरहेको छ । यसतर्फ विशेष ध्यान दिएर आयोजनाको डिजाइन फ्लो निर्धारण गर्नु जरुरी छ ।

जलस्रोत उपभोगको बाँडफाँड हुने नहुने विषयमा पनि ध्यान दिन जरुरी छ । वर्षाको स्रोत बाँडफाडले खास फरक पर्दैन । तर, सुख्खायाम वा हिउँदमा खेती लगाउने स्थान वा निकुञ्ज वा आरक्षण क्षेत्रमा पानी छोड्नुपर्दा निजी प्रवर्द्धकको लगानी डुब्ने सम्भावना हुन्छ । यसतर्फ पनि ध्यान दिई आयोजनाको डिजाइन गरिनु उचित हुन्छ ।

२. स्थिर स्थान

जलविद्युत आयोजना निर्माण गर्दा ठाउँ छनोट अति महत्त्वपूर्ण पक्ष हो । यसलाई सफलताको दोस्रो कडी मानिन्छ । जलविद्युत क्षेत्र वास्तवमा प्रकृति र सम्भावित प्राकृतिक प्रकोपलाई चुनौती दिएर निर्माण गरिने संरचना हो । यसकारण समग्र आयोजनाका मुख्य संरचना रहने स्थान (हेडवक्र्स, डिसेन्डर, वाटरवेज, सर्जट्यांक, सर्जपाइप रहने ठाँउ तथा पावरहाउस तथा स्वीचिङ स्टेसन) स्थिर हुनुपर्छ ।

भौगोलिक अवस्था र बनावट राम्रोसँग अध्ययन गरेरमात्रै निर्धारण गरिनुपर्छ । म्याक्सिमम फ्लड लेभल (बढी बाढीग्रस्त क्षेत्र) भन्दा २–४ मिटर माथि नै मुख्य संरचनाहरू निर्माण हुनुपर्छ । यसले कालान्तरमा आयोजना सुरक्षित राख्छ । प्रवर्द्धक कम्पनीले यही आधारमा मुनाफा आर्जन गरेर साधारण लगानीकर्तालाई पनि बाँड्न सक्छन् ।

३. छोटो वाटरवेज

जलविद्युत सफलताको अर्को कारक आयोजनाको हेडवक्र्स र पावरहाउसबीचको दूरी हो । यो दूरी निकै कम हुनुपर्छ । बढी उचाई भएको आयोजना छनोट तथा डिजाइन गर्नु बृद्धिमानी मानिन्छ । मुख्य संरचनाबीच जति छोटो दूरी र उचाई (हेड) बढी भयो त्यति नै आयोजना सस्तो, किफायती र राम्रो बन्छ । आयोजनाको कूल जडित क्षमताको तुलनामा डाइभर्सन वेयर, डिसेन्डर, वाटरवेज, हेडरेस पाइप वा प्रेसर पाइप, टनेल लामो हुँदा समय तथा लगानी बढी लाग्छ । आयोजना आर्थिकरूपले सम्भाव्य (फिजिबल) नहुने र भौतिक संरचना तथा मेसिनको गुणस्तरमा सम्झौता गर्नुपर्ने स्थिति आउन सक्छ ।

साथै, दशकौंसम्म ऋण तिर्न नसक्ने खतरा निम्तिने डर हुन्छ । अतः हरेक प्रवद्र्धकले मुख्य भौतिक संरचनाको गुणस्तरमा विशेष ध्यान दिन जरुरी छ । डाइभर्सन वेयर, इन्टेक तथा डिसेन्डरको आयतन, गुणस्तर तथा मजबुतिको सवालमा सम्झौता गर्नु हुँदैन । डिसेन्डर डिजाइन अत्याधुनिक र केही ठूलो आयतनमा निर्माण गर्दा बालुवा राम्रोसँग थिग्रिन गई हेडरेस पाइप, पेनस्टक पाइप, टर्बाइन तथा रनरको सर्भिस लाइफ (आयु) बढाएर मर्मत रेसियो (अनुपात) तथा लागत घटाउँछ ।

४. मजबुत टर्बाइन

जलविद्युतमा सफल हुने कुरा निर्धारण गर्ने अर्को महत्त्वपूर्ण कडी मजबुत टर्बाइन सिस्टम हो । टर्बाइन र यसका सहायक उपकरण एउटा आयोजनाका लागि सबैभन्दा संवेदनशील हुन्छन् । एउटा प्रवर्द्धकको सफलता र असफलता उसले कस्तो र कति बलियो टर्बाइन र यसका सहायक उपकरण छनोट गर्ने इन्टेलिजेन्स (बुद्धिमत्ता) राख्छ भन्ने कुराले निर्धारण गर्छ । हाइड्रोलोजी राम्रो भए पनि टर्बाइन मजबुत भएन भने आयोजना रुग्ण बन्छ ।

अन्य कारण अघि सारिए पनि आज प्रायः आयोजनाहरू टर्बाइनकै कारण रुग्ण अवस्थामा छन् । यसका दोषी प्रवर्द्धक र बैंक आफैं हुन् । पछिल्लो दशकमा सबै क्षेत्र जलविद्युत विकासमा होमिए, कोही जानेर त कोही हल्लै–हल्लामा । कसैले जानी–जानी गल्ती गरे, कसैले अन्जानमै । दौडमा सबैले भाग लिन सक्छन् तर जित्नेहरू ज्यादै थोरै हुन्छन् । खिम्ती, भोटेकोसी र पिलुवाको सफलतालाई सतहमा मात्रै हेरियो । तिनको सफलताको रहस्य मिहिनरूपमा अध्ययन नगरी जलविद्युतमा हाम फलेका प्रवद्र्धक चिनियाँ, भारतीय तथा यूरो इन्डियन जस्ता सस्ता टर्बाइन प्रयोग गरेर फसेका छन् ।

ती सस्ता टर्बाइन प्रायः कसैले पनि ऋण तिर्न सक्ने क्षमता (परफर्मेन्स) देखाउन सकेका छैनन् । आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा भने सबै आयोजनाले ८ देखि १० वर्षमा लगानी उठाउने प्रक्षेपण तथा अनुमान गरिएको हुन्छ । परिणाम ठीक उल्टो भइरहेको छ । राम्रो हाइड्रोलोजी, गुणस्तरीय तथा बलियो टर्बाइन प्रयोग गरिएका आयोजनाले ५ देखि ७ वर्षमा ऋण तिर्ने हैसियत राख्छन् । तर, १२ देखि १८ वर्षसम्म पनि बैंकको ऋण तिरिरहने आयोजनाले कहिल्यै लगानी उठाउन सक्दैनन् ।

बत्ती बालेको १०–१५ वर्षसम्म पनि ऋण तिर्न सकेन भने त्यो आयोजना ऋणको चंगुलबाट फुत्कने सम्भावना ज्यादै न्यून हुन्छ । कारण १० वर्षपछि उसले राज्यलाई तिर्नुपर्ने दायित्व थपिन्छ । १५ वर्षपछि राज्यले निर्धारण गरेका सबै कर तिर्नुपर्नेछ । तसर्थ, ५–७ वर्षमा ऋण उठाउने टर्बाइनको छनोट गर्न सक्ने इन्टेलिजेन्स (बौद्धिकता) देखाउनु सफलताको सिँढी चढ्नु हो ।

कमसेकम ८–१० वर्षभित्र ऋणबाट आयोजना मुक्त हुँदा प्रवद्र्धकलाई ठूलो शान्ति मिल्नेछ । सस्तो मेसिनले आयोजना सस्तो र छिटो रिटर्न हुन्छ भन्ने भ्रममा परिएको छ भने त्यो मुर्खता मात्र हुनेछ । सस्तो र कमसल टर्बाइनले लगानी उठ्दैन । उल्टै आयोजना रुग्ण भएका निजी आयोजनाबाट पाठ सिक्नुपर्ने बेला आएको छ । सस्तो मूल्यसँग गुणस्तरीय तथा मजबुत टर्बाइन तुलना गर्दा निराश तुल्याउन सक्छ । सस्तोले गुणस्तर र मजबुति किन्नै सक्तैन भन्ने सत्यता बुझ्नुपर्छ ।

गुणस्तर र बजबुत टर्बाइन दामले मात्रै आउँछ भन्ने यथार्थता बुझ्नुपर्छ । गुणस्तरीय र सक्कली (ओरिजिनल) टर्बाइनको आउटस्ट्यान्डिङ दक्षता (परफर्मेन्स) ले सस्तो तथा कमसलको मूल्यलाई कयौं पटक माथ गर्नेछ । अर्थात, कालान्तरमा तपाईंले तिरेको महँगो दाम गुणस्तरीय टर्बाइनको फ्ललेस परफर्मेन्सले कयौं पटक चुकाउनेछ । जबकि, सस्ता कमसल मेसिन तपाईंको लागि निश्चय नै कयौं गुणा भारी हुनेछ ।

यहाँसम्म कि तपाईंको अधिकांश कमाई मर्मत खर्च, विद्युत प्राधिकरणलाई हर्जाना र बैंक ब्याज तिरेरै सकिनेछ । खिम्ती र पिलुवा खोलाले सस्तो टर्बाइन जडान गरेर ४ देखि ५ वर्षमा ऋण तिरेका होइनन् । सस्ता टर्बाइनको तुलनामा ४० प्रतिशतभन्दा महंगो हुनेछ । तर, उच्च गुणस्तरीय, उच्च परफर्मेन्सयुक्त तुलनात्मकरूपमा कम मर्मत गर्नुपर्ने मेसिन जडान गरेर कमसल ग्रिड भएर पनि ४–५ वर्षमा आफूलाई ऋणमुक्त गर्न सफल भएका थिए ।

जलविद्युत विकाससँगै विभिन्न कम्पनीका टर्बाइन बजारमा प्रवेश गरेका छन् । हेर्दा र सुन्दा उस्तै झैँ लाग्ने टर्बाइनले दिग्भ्रमित पार्न सक्छन् । यद्यपि, टर्बाइनहरूको भीडमा प्र प्रवर्द्धकहरू कहिल्यै झुक्किनु वा अल्मलिनु भएन । गल्ती पनि गर्नु हुँदैन । तपाईंको सानो गल्तीले आयोजना सधैंका लागि मर्न सक्छ । सस्ता उपकरण बेच्ने कम्पनीको नेपालमा रेफरेन्स छ कि छैन ? कति उपकरण आफैं डिजाइन र उत्पादन गर्छन् ? र, कत्ति आउटसोर्स गर्छन् ?

निर्धारित समयमा ऋण तिर्न सक्ने क्षमता राख्छन् कि राख्दैनन् ? कि बत्ती मात्रै बाल्ने टर्बाइन हो ? वा व्यापारका लागि जसरी पनि व्यापारमात्रै गर्ने मनशायले भित्रिएका हुन् ? यी कुरामा ध्यान पुर्याउनु आवश्यक छ । एउटा पर्फेक्ट आयोजनाका लागि मजबुत टर्बाइन सिष्टम स्वस्थ मुटुबराबर हो । कमसेकम फेल–सेफ रिडन्डेन्सी भएका मेन्स; टर्बाइन, जेनेरेटर, गभर्नर र कन्ट्रोल सिष्टम एउटै कम्पनीद्वारा इन–हाउस डिजाइन र उत्पादन गर्ने राम्रो आर्थिक (क्रेडिट रेटिङ) हैसियत भएका कम्पनी छनोट गर्नुपर्छ । मुख्य उपकरण मजबुत भए आयोजनाले राम्रो आम्दानी गर्ने क्षमता राख्छन् । र, निर्धारित समयमा ऋण तिर्न सक्छन् ।

जति बढी उपकरण आउटसोर्सिङ भयो त्यति नै टर्बाइन सिष्टम कमजोर र मर्मत गरिरहनुपर्ने हुन्छ, चाहे युरोपियन ब्राण्ड होस् वा भारतीय । युरोपियन भनिएका भारत निर्मित नामी कम्पनीका टर्बाइनमा समेत कहिले साफ्ट सिल बिग्रने, सिंक्रोनाइजरमा समस्या आउने, मेन इनलेट भल्भमा समस्या आउने, रनर क्र्याक हुने, जेनेरेटर रोटर क्र्याक हुने, आगलागि हुने, बियरिङमा छिटो समस्या आउने हुन्छ ।

कुलिङ्ग सिष्टममा समस्या आउने, ब्रेकर २-३ वर्षमै सिज हुने, सामान्य पार्ट लोडमा व्यापारिक उत्पादन गर्न नसकिने, इफिसिएन्सी नपुगी फूल लोडमा पनि जडित क्षमतामा उत्पादन नहुने समस्या प्रशस्तै छन् । वा यी कुनै पनि टर्बाइनले निर्धारित समयमा प्रवर्द्धकको लगानी उठाउने परफर्मेन्स देखाउन सकेका छैनन् । यो तीतो यथार्थ अधिकांश प्रवर्द्धकले दबाएर बसेका छन् ।

उस्तै गुणस्तरीय जस्ता देखिने सस्ता टर्बाइनले बिजुली बाल्न सकियो तर ऋण तिर्न सकिँदैन । अधिकांश निजी आयोजनामा प्रयोग गरिएका टर्बाइनले उल्लेखित कुरा प्रमाणित गरिदिएका छन् । सस्तो टर्बाइन प्रयोगले अधिकांश आयोजना कमाएर प्रवर्द्धकलाई नाफा खुवाउने नभई, उल्टै प्रवर्द्धकलाई खाने भएका छन् । विगतको यस्तो भयावह गल्तीबाट प्रवर्द्धक तथा उदियमान व्यवसायी, बैंक र सम्बन्धित निकायले पाठ सिकेनन् भने एकाधबाहेक अधिकांश निजी कम्पनीको अवसान निश्चित छ । आयोजनाको डिजाइन वाटरवेजको स्थिति जे–जस्तो भए पनि गुणस्तरीय टर्बाइन लगाउन बिर्सनु भएन ।

जलविद्युतमा सफलता प्राप्त गर्न युरोपियन टर्बाइनमा राम्रो दख्खल भएको, गुणस्तर बुझ्ने र बैंकलाई समेत बुझाउन सक्ने कम्पनी छनोट गर्नुपर्छ । सस्ता टर्बाइन कम्पनीको प्रभावमा नपरेका जलविद्युत अयोजना डिजाइन गर्ने कन्सल्टेन्सी छनोटमा पनि उतिकै ध्यान दिनुपर्छ । कतिपय बैंकहरूले गुणस्तरीय तथा मजबुत टर्बाइनको महत्त्व नबुझी प्रवर्द्धकलाई निचोर्ने गर्छन् । जुन ७० प्रतिशतभन्दा बढी ऋण लगानी गर्ने ऊ आफैंलाई कति घातक छ भन्ने कुरा उसले बिर्सिदिन्छ ।

यस्तो अवस्थामा कन्सल्टेन्सीले बैंकलाई बुझाउन सक्ने हुनुपर्छ । जलविद्युतको लामो तर भरपर्दो र सफल यात्रा मर्सिडिजले नै गर्नुछ । तर, तपाईँको बजेट मारुती किन्ने बनिदियो भने मर्सिडिज किन्न कहिल्यै सक्नुहुन्न । अन्ततः निर्जन यात्रामा अन्तहीन दुःख, दण्ड तथा हर्जाना तिर्ने चाँहि तपाईं एक्लै छोडिनु हुनेछ, न कि कन्सल्टेन्सी, बैंक तथा सप्लायर्स । अझ बैंकले त निर्ममता साथ असुल्नेछ । उता विद्युत प्राधिकरणले पनि दण्ड जरिवाना लगाएर ढाड सेक्नेछ ।

५. प्रसारण लाइन तथा पहुँचमार्ग

आयोजना निर्माण गर्नुपूर्व प्रसारण लाइन तथा पहुँचमार्गको स्थिति तथा उपलब्धता निर्धारित समयमा हुने सुनिश्चित गर्नुपर्छ । सकेसम्म छोटो दूरीमा छिटो उपलब्ध हुने प्रसारण लाइन निर्माण गर्नुपर्छ । थोरै सडक बनाउनुपरोस् । प्रायः आयोजनाहरू प्रसारण लाइन ढिलो उपलब्ध हुँदा निर्माण तथा सम्पन्नमा समस्या हुने गरेको छ । प्राधिकरण, ठेकेदार र स्थानीय अवरोधले प्रसारण लाइन निर्माण तथा सम्पन्न अत्यन्तै ढिलो भएका थुप्रै उदाहरण छन् ।

आयोजना निर्माण सम्पन्न जति ढिलो भयो त्यति नै महँगो पर्दै जान्छ । यसो हुँदा छोटो र निर्धारित समयमा निर्माण सम्पन्न गर्ने कोसिस गर्नु बुद्धिमानी हुन्छ । यसले प्रवर्द्धकको लागत घटाई उत्पादन बढाएर छिटो आम्दानी गर्नेछ ।

६. लगानी र सुशासन

जलविद्युत आयोजना सुरक्षित लगानी अभावमा निर्माण सम्भव छैन । लगानी (ऋण तथा स्वपुँजी) अभाव तथा ढिलो आर्थिक व्यवस्थापनले आयोजना ढिलो हुने मात्र नभई लागत बढेर दोब्बर पुग्ने सम्भावना हुन्छ । यस्तो स्थितिमा आयोजनाले प्रक्षेपणबमोजिम आर्थिक उपलब्धि हासिल गर्न सक्ने छैन । यसकारण लगानी व्यवस्था भएपछि मात्र आयोजनाको निर्माण थाल्नुपर्ने हुन्छ । मजबुत आर्थिक व्यवस्थापनले मात्रै आयोजना सस्तो र समयमा सम्पन्न गर्न सकिन्छ ।

आकर्षक जलविद्युत आयोजनाले प्रवर्द्धक, बैंकर्स, सर्वसाधारण लगानीकर्तालाई प्रचुर लगानीका अवसर प्रदान गर्दछन् । यद्यपि, लगानी गर्न यसका उत्कृष्ट व्यवहारिक उदाहारण र आर्थिक स्थिरताका प्रमाणमा सावधानी अपनाउन आवश्यक छ । कम ब्याजमा ऋण लिने कोसिस गर्नुपर्छ । गुणस्तरीय इलेक्ट्रो मेकानिकल (इएम) तथा हाइड्रो मेकानिकल (एचएम) उत्पादक कम्पनीले प्रदान गर्ने तुलनात्मक प्रतिस्पर्धी ब्याजका आर्थिक औजारलाई कमजोर ठान्नुभएन ।

उनीहरूले तपाईंको ऋणको लागत घटाउन अहम् भूमिका खेल्न सक्छन् । डबल डिजिट ब्याज लाउने (१२ देखि १४ प्रतिशत), डिफल्ट हुँदा दण्ड तथा हर्जाना लगाउने, आयोजना निर्माण अवधिमा ब्याज क्यापिटलाइज गर्ने नेपाली भन्दा विदेशी बैंकहरू आधा बढी सस्ता र उदार छन् । अतः सर्वसाधारण सेयरहोल्डरको लगानी सुनिश्चित हुने गरी छोटो समयमा रिटर्न गर्नु तपाईंको दायित्व हुनेछ ।

निर्धारित समयमा लगानी उठ्ने पक्ष स्थापित गर्ने, राम्रो हाइड्रोलोजी र ओरिजिनल टर्बाइन हुन् भन्ने तथ्य कहिल्यै बिर्सनुभएन । आजको विज्ञान–प्रविधि युगमा सर्वसाधारण सेयर लगानीकर्ता सचेत र जानकार छन् । तपाईंको कम्पनी संस्थागत सुशासनमा कस्तो छ ? कति पारदर्शी छ ? व्यवस्थापन कस्तो छ ? कति गुणस्तरीय मेसिन राखिएको वा राखिँदैछ ? यी कुरा अध्ययन गरेर मात्र लगानी गर्नेहरू बढ्दैछन् । जर्मन तथा युरोपियन ओरिजिनल मेसिन प्रयोग गरेर निर्माण गरिएका आयोजना मात्रै सर्वसाधारणले पत्याउने दिन आइसकेको छ ।

ऋणको अनुपातमा स्वपुँजी लगानी सकेसम्म बढी गर्नुहोस् । ऋण कम लिन सके बैंकको चर्को ब्याज र हर्जानाबाट आयोजना बचाउन सकिनेछ । र, सेयरधनी तथा सर्वसाधारण लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्नु हुनेछ । माथिका बुँदामा समेटिएका विषय तथा जलविद्युत आयोजनाका जोखिम मिहिनसँग अध्ययन गरी आर्थिक जोखिम निवारण गर्ने कोसिस गर्नुपर्छ ।

सबै जोखिम टार्न तथा निराकरण गर्न सकिँदैन । निर्धारित समय वा केही महिना चाँडो आयोजना सकिने, निर्माण अवधिभर उत्पादन र रिटर्नमै बाधा पुग्ने ठूला समस्या सामना गर्न नपर्ने टर्बाइन छनोट गर्नुपर्छ । तपाईंको कम्पनीले लगानीकर्ताप्रति प्रतीज्ञा गरेका सामाजिक, वातावरणीय तथा आर्थिक उपलब्धि हासिल हुने सुनिश्चित हुनुपर्छ । बैंक तथा लगानीकर्तामा विश्वास जगाएर पारदर्शिता साथ काम गर्नुपर्छ । समयमै आयोजना निर्माण सम्पन्न भई रिभेन्यू आर्जन गरेर खाने र खुवाउने वातावरण बनाउनुपर्छ । सफलताले तपाईंलाई अवश्य पछ्याउनेछ ।

प्रतिक्रिया दिनुहोस