Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०५३९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८०७० मे.वा. घन्टा
  • भारत : ५६४५ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४०७४ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

निर्माण सकिएको साढे तीन वर्षमा पनि भैरहवा सेजमा विद्युत् सबस्टेसन बनेन

कृष्ण रिजाल जेठ २४, २०७६   322

छापा



काठमाडाैं- भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) निर्माण सम्पन्न भएको साढे तीन वर्ष बितिसकेको छ । तर, सेजभित्र स्थापना हुने उद्योगका लागि आवश्यक विद्युत् आपूर्ति गराउने सबस्टेसन भने अझै बनेको छैन । सेज प्राधिकरणले भैरहवा सेजमा विद्युत् सबस्टेसन निर्माणका लागि अहिलेसम्म टेन्डरसमेत आह्वान गरेको छैन । जसले गर्दा सेजमा स्थापना हुने उद्योगले आवश्यकताअनुसार डेडिकेटेड विद्युत् पाउन नसक्ने अवस्था छ ।

तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले निर्माण सम्पन्न भएको भन्दै २ मंसिर ०७२ मा भैरहवा सेजको उद्घाटन गरेका थिए । त्यसपछि थप पूर्वाधार निर्माण गरी ५ फागुन ०७३ मा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले भैरहवा सेजको कार्यालय उद्घाटन गरे । उद्घाटनमा मन्त्री जोशीले तीन महिनाभित्रमा सेजभित्र आवश्यकताअनुसार विद्युत् आपूर्ति हुने बताएका थिए । तर, उद्योग स्थापनाका काम धमाधम अघि बढिरहेको भए पनि हालसम्म उद्योगलाई विद्युत् आपूर्ति गराउने सबस्टेसन निर्माणको काम भने अझै टुंगो लागेको छैन ।

भैरहवामा करिब ७ अर्ब रुपैयाँ लगानीका २० वटा उद्योग स्थापना हुँदै छन् । त्यसमध्ये एउटा शक्ति मिरल्स प्रालि उद्योग सञ्चालनमा आइसकेको छ । सेज पूर्ण क्षमतामा आउँदा कम्तीमा १५ मेगावाट विद्युत् आवश्यक पर्ने अनुमान छ । हाल सेजमा स्थानीय प्रसारण लाइनबाट डेढ मेगावाट विद्युत् आपूर्ति भइरहेको छ ।

 विद्युत् प्राधिकरणले काम सक्यो, सेजले सुरु नै गरेन

भैरहवा सेजमा विद्युत् आपूर्तिका विषयमा विद्युत् प्राधिकरण र सेजबीच करिब दुई वर्षअघि आरोप–प्रत्यारोपसमेत भएको थियो । सेजसम्म विद्युत् ल्याउन विद्युत् प्राधिकरणले प्रसारण लाइन र सबस्टेसन नबनाउँदा समस्या भएको भन्दै सेजले आरोप लगाएको थियो । तर, विद्युत् प्राधिकरणले उद्योग मन्त्रालयकै बजेटमा जोगीकुटीदेखि धकधईसम्म प्रसारण लाइन निर्माण गर्ने र धकधईमा सबस्टेसन निर्माण गर्ने काम सम्पन्न गरिसकेको छ ।

सेज प्राधिकरणले भने अझैसम्म सबस्टेसन बनाउने प्रक्रियासमेत सुरु गरेको छैन । ‘सेजसम्म डेडिकेटेड विद्युत् लैजान प्रसारण लाइन र धकधईमा सबस्टेसन बनाइसकेका छौँ,’ विद्युत् प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘तर, उद्योगलाई विद्युत् वितरण गर्न सेजभित्र भने अझै सबस्टेसन बनेको छैन, यसले गर्दा उद्योगीहरूले डेडिकेटेड विद्युत्बाट वञ्चित हुनेछन् ।’

प्रतिबद्धताअनुसार काम भएन

२० पुस ०७४ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उद्योगसचिव यामकुमारी खतिवडाले भैरहवा सेजमा एक महिनाभित्रै विद्युत् आपूर्ति हुने बताएकी थिइन् । ८ माघ ०७४ मा तत्कालीन उद्योगमन्त्री सुनीलबहादुर थापाले राखेको बैठकमा सेज प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले विद्युत् प्राधिकरणको सहयोग लिएर तत्काल सबस्टेसन निर्माणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका थिए । तर, अहिलेसम्म पनि टेन्डर आह्वान हुन सकेको छैन ।

संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले ११ चैत ०७३ मै  विशेष आर्थिक क्षेत्र (सेज)मा तत्काल विद्युत् आपूर्ति गराउन सरकारलाई निर्देशन दिएको थियो । समितिले स्थापना भइसकेका र हुनेवाला सेजमा विद्युत् उपलब्ध गराउने कार्यमा गम्भीरता देखाउन र उद्योग र ऊर्जा मन्त्रालयबीच समन्वय गर्नसमेत निर्देशन दिएको थियो । उद्योग मन्त्रालयले र ऊर्जा मन्त्रालयको सहकार्यमा जोगीकुटीदेखि धकधईसम्म प्रसारण लाइन र धकधईमा सबस्टेसन निर्माण सम्पन्न गरिसकेका छन् । ‘सबै पक्षले काम गरेपछि सेज प्राधिकरणले नै प्रतिबद्धताअनुसार काम नगरेको देखिन्छ,’ ती अधिकारीले भने ।

अझै डेढ–दुई वर्षसम्म सबस्टेसन बन्दैन

भैरहवा सेजका उद्योगले डेडिकेटेड विद्युत् पाउन अझै दुई वर्ष लाग्ने देखिएको छ ।  सेजले बनाउनुपर्ने ३३–११ केभीको सबस्टेसन (१० एमभिए) निर्माणको प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन । यसले गर्दा प्राधिकरणले भैरहवा सेजसम्म विद्युत् पुर्‍याए पनि सबस्टेसन नहुँदा त्यहाँका उद्योगले विद्युत् भने पाउनेछैनन् । ‘प्राधिकरणको कार्यक्षेत्र (स्कोप) सेजसम्म विद्युत् पुर्‍याउन ट्रान्समिसन लाइन निर्माण गर्ने मात्रै हो, जुन निर्माण भइसकेको छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘त्यसपछि सबस्टेसन बनाएर उद्योगलाई विद्युत् वितरण गर्ने काम भैरहवा सेजको स्कोपभित्र पर्छ, जुन अहिलेसम्म प्रक्रियामै गएको छैन ।’

प्राधिकरणले अहिले निर्माण गरिरहेको सबस्टेसनको अनुभव हेर्दा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याउन दुई वर्ष लाग्ने उनी बताउँछन् । ‘टेन्डर गरी ठेकेदार नियुक्त गर्न कम्तीमा पनि ६ महिना लाग्छ, त्यसपछि सामान अडर गरी ठेकेदारलाई काम सक्न छिटोमा १५ देखि १८ महिना लाग्छ,’ उनले भने, ‘अर्थात्, सामान्य अवस्थामा टेन्डरका सम्पूर्ण प्रक्रिया सकेर सबस्टेसन निर्माण सम्पन्न गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने प्राधिकरणको अनुभव छ ।’

विद्युत् प्राधिकरणको काम सकियो, सेजले गर्न बाँकी छ : कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण

भैरहवा सेजमा खोलिने उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने २ मेगावाटजति विद्युत् दिइरहेका छौँ । आवश्यक परे थप ५ मेगावाट विद्युत् दिन सक्छौँ । हाल त्यहाँ रहेको ३३ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत सेजलाई विद्युत् दिन क्षमताले नथेग्ने भएपछि प्राधिकरणले छुट्टै प्रसारण लाइन बनाइसकेको छ । हामीले धकधईमा सबस्टेसन निर्माण गरेर चार्ज गरिरहेका छौँ । अबको काम भनेको सेज प्राधिकरणको हो । सेजले त्यहाँभित्र सबस्टेसन बनाएर उद्योगहरूलाई विद्युत् वितरण गर्नुपर्छ ।

तत्काल टेन्डर आह्वान गर्दै छौँ, विद्युत्को समस्या छैन : चण्डिका भट्ट, कार्यकारी निर्देशक, विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण

अहिले लोकल वितरण लाइनबाट डेढ मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । आवश्यक परेमा थप ५ मेगावाट विद्युत् स्ट्यान्डबाई छ । यसर्थ, अहिले भैरहवा सेजलाई विद्युत्को समस्या छैन । यद्यपि, डेडिकेटेड विद्युत्का लागि छुट्टै प्रसारण लाइन र सबस्टेसन चाहिन्छ । सबस्टेसन निर्माणका लागि डकुमेन्ट तयार भइसकेको छ । अबको दुई–चार दिनमै टेन्डर आह्वान गरेर ९ महिनाभित्रमा सबस्टेसन निर्माण गरिसक्नेछौँ ।

नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="