Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :७७१९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ७८१७ मे.वा. घन्टा
  • भारत : ५७९४ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २१३३० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

भुटानमा विद्युत्ले अर्थतन्त्रको स्वतन्त्रतासँगै सुरक्षा ग्यारेन्टी गरेकोे छ

भीम गौतम मङि्सर १२, २०७६   457

अन्तर्वार्ता



३० हजार मेगावाट जलविद्युत्मार्फत विद्युत् उत्पादन सम्भावना र २३ हजार मेगावाट व्यापारिक सम्भावना भएको भुटानले सन् २०२० भित्र १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ । २.५३ बिलियन डलर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) रहेको भुटानमा १४ प्रतिशत जीडीपीमा योगदान जलविद्युत्को छ भने यसबाट २६ प्रतिशत राजस्व उठ्ने गरेको छ । भुटानी अर्थतन्त्रको आधारशिलाका रूपमा लिइने जलविद्युत् विकासमा भारतले ठूलो लगानी गर्दै आएको छ । भारतको लगानी र भारतमै निर्यात गर्ने भुटान ह्याप्पिनेस (खुसी) को सूचकांकमा दक्षिण एसियाभित्र सबैभन्दा उच्च देशभित्र पर्छ । भुटानको प्रतिव्यक्ति आय पनि ३ हजार ४ सय २३ डलर पुगिसकेको छ, ताकि नेपालको प्रतिव्यक्ति आय १ हजार डलरमा सीमित छ । सानो देश भएर पनि जलविद्युत्मार्फत अर्थतन्त्रमा आफूलाई बलियो बनाउन सफल भएको भुटानका आर्थिक मामिलासम्बन्धी मन्त्री लोकनाथ शर्मा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले आयोजना गरेको पावर समिट– २०१९ का अवसरमा नेपाल आएका थिए । पावर समिटका मुख्य वक्तासमेत रहेका शर्मासँग क्षेत्रीय व्यापारको सम्भावना र चुनौती, यसका लागि आवश्यक पूर्वाधार निर्माण, राजनीतिक वातावरण, कानुनी र नीतिको आवश्यकताका साथै जलविद्युत्मार्फत भुटानले गरेको आर्थिक प्रगति र यसको कारणबारे कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :

निजी क्षेत्रले आयोजना गरेको पावर समिट–२०१९ मा तपाईं नेपाल आउनुभएको छ, यसलाई कसरी लिनुभएको छ ? 
पावर समिट–२०१९ ऊर्जा क्षेत्रको विकासका लागि धेरै–धेरै सकारात्मक कदम हो । यस्तो समिट गर्दा नजिक रहेका हाम्रा राष्ट्रहरू आगामी दिनमा ऊर्जा विकासका लागि अगाडिका कदमहरू कसरी चाल्नुपर्ने हो, छलफल गर्न सकिन्छ । कस्तो किसिमको पावर सिस्टम, कसरी व्यापार गर्ने भन्नेबारेको छलफलले सबै राष्ट्रलाई राम्रो हुन्छ र विकासमा अगाडि जान सकिन्छ । यो सबैभन्दा ठूलो अपेक्षाको विषय हो । ऊर्जा अर्थतन्त्रका लागि पनि पावर समिटले ठूलो भूमिका खेल्छ । यसले क्षेत्रीय रूपमा ऊर्जा विकासको अभियानमा सहयोग पु-याउँछ । मलाई लाग्छ, यो पावर समिट समयमै भएको छ । भारत, भुटान, बंगलादेश, नेपाल, म्यानमारलगायतका देशबीच ऊर्जाको आदानप्रदान र अन्यमा सहकार्य हुनसक्छ । भुटान, बंगलादेश, भारत र नेपाल (बीबीआईएन) बीच पनि सहकार्यको कुरा अघि बढेको छ । नेपाल र भुटानबीचको कुरा गर्ने हो भने जलविद्युत् उत्पादनमा दुवै देश सम्भाव्य मुलुक हुन् । हामी दुवै देश वास्तविक रूपमा सहकार्य गरेर जलविद्युत् उत्पादनमा अघि बढ्न सक्छौं । यसकारण पावर समिटमा भाग लिन पाउँदा र यहाँ आएर विद्युत् व्यापारबारे छलफल गर्न पाउँदा म औधी खुसी छु ।

ad

तपाईंले बीबीआईएनको कुरा गर्नुभयो, चार देशबीच ऊर्जा आदानप्रदानका लागि धेरै कुरा अघि बढेका छन् । यसलाई कसरी लिनुभएको छ ? 
बीबीआईएनमा चार देशबीचमा सहकार्यको कुरा गरिएको छ । विद्युत् व्यापारको कुरा पनि यसैमा आउँछ । यी देशहरूमा ऊर्जा विकास र आदानप्रदानको धेरै मौका छ । यी देशहरूबीच विद्युत् व्यापारका लागि चारै देश मिलेर र साझा ग्रिड बनाएर विद्युत् व्यापार गर्न सकियो भने यसले धेरै फाइदा हुन्छ जस्तो लाग्छ । बीबीआईएन धेरै अगाडि बढिसकेको छ । अझ सशक्त रूपमा अघि बढ्छ जस्तो लाग्छ । यी देशहरूको भूगोल र ऊर्जाको सहकार्यमा स्वार्थ मिलेको छ ।

बीबीआईएन देशहरूबीचमा लगानीकर्ताले एक–अर्का देशमा लगानी सम्भावनालाई कसरी विश्लेषण गर्नुहुन्छ ? यो कसरी अघि बढ्छ ? 
एक–अर्काका देशका लगानीकर्ताले सहज तरिकाले लगानी गर्न सक्ने अवस्था छ । नेपाल, भारत, बंगलादेश वा भुटान होस्, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनि विकासका गतिविधि हे-यो भने धेरै काम अघि बढिरहेका छन् । यी देशहरूमा लगानीको आवश्यकता छ । यसमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउनु पनि आवश्यक छ । यी देशहरूमा एफडीआई, साझेदारी लगायतका एक–अर्का देशमा बढाउनु आवश्यक छ ।

क्षेत्रीय ग्रिड कनेक्सको कुरा अघि आएको छ, यो कुन रूपमा अघि बढ्दै छ ? 
धेरै उन्नत स्तरमा अघि बढिसकेको छ । जबकि भारतले अन्तरदेशीय व्यापार निर्देशिका निकालेपछि उहाँहरूले हामीलाई नयाँ बाटो देखाउनुभएको छ । यसकारण विद्युत् व्यापारको कार्यान्वयनका लागि क्षेत्रीयस्तरमा ढोका खुलिसकेको छ । उत्पादन गरेर मात्र पुग्दैन, एक–अर्का देशमा कनेक्सन पनि आवश्यक पर्छ । यसकारण यो अति महत्वपूर्ण छ । विद्युत् व्यापारका लागि नीति बनिसकेको र यसको प्रयास भइसकेकाले यो उन्नतस्तरमा पुगिसकेको छ । यसको कार्यान्वयन पाटो महत्वपूर्ण हुन्छ ।

नेपाल र भुटान दुवै देशबीचमा जलविद्युत्को उत्पादन बढी भएकाले समानता पनि छ । हामी स्वच्छ ऊर्जा उत्पादन गर्न सक्छौं । अरू छिमेकी देशमा स्वच्छ ऊर्जा छैन । कसरी दुवै देशले स्वच्छ ऊर्जा निर्यात गर्न सक्लान् ? 
अवश्य यसमा अघि बढ्न सकिन्छ । नेपाल र भुटान दुवै देशमा जलविद्युत् उत्पादनको उच्च सम्भावना छ । हामी दुवै देशले छिमेकी राष्टहरूमा बिजुली बेच्न सक्छौं । बंगलादेश र भारत दुवैलाई स्वच्छ ऊर्जाको आवश्यकता पनि छ । यसकारण भुटान र नेपाल दुवै पावर ब्याट्री बैंक नै हो । भारतले अरू स्रोतबाट ऊर्जा उत्पादन गरे पनि ब्याक अफ सोर्स आवश्यक पर्छ । भुटान र नेपाल ऊर्जाको शक्तिमा ब्याक अफ पावरका रूपमा छौ ।

ऊर्जाका लागि भारतको भूमिकालाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?
क्षेत्रीयस्तरमा ऊर्जा विकासका लागि भारतको भूमिका मुख्य छ । भारतले पहिले नै अन्तरदेशीय व्यापार निर्देशिका ल्याइसकेको छ । उहाँहरूले यसका लागि एउटा सहजीकरण र सहकार्यको भूमिका खेल्न सक्नुहुन्छ । भारतले ल्याएको पहिलो अन्तरदेशीय व्यापार निर्देशिकाले साँच्चिकै छिमेकी राष्ट्रहरूलाई व्यापारका लागि सहज वातावरण बनाइदिएको छ । यसले ठूलो अवसरको सिर्जना पनि गरेको छ । यसको अधिकतम उपयोग पनि गर्नुपर्छ । मैले हेर्दा बिजुली उत्पादन र विकासमा भारत र बंगलादेशको सहकार्य एकदम राम्रो छ । भुटानमा अहिले २ हजार ३ सय मेगावाटबराबरको जलविद्युत्मार्फत विद्युत् उत्पादन भएको छ । यसको कारण भारतकै सहयोगबाट हो । भारत विद्युत् व्यापारका लागि तयार भएर अघि बढेकाले यसको उपयोग गर्न सक्नुपर्छ । ऊर्जा विकासका लागि हामी क्षेत्रीय देशहरूसँग सहकार्य गर्न चाहन्छौं भनेर उहाँहरूले निर्देशिका ल्याउनुभएको छ । भारत र भुटानबीचको ऐतिहासिक सम्बन्धलाई जलविद्युत् विकासले झन् बलियो बनाउँदै लगेको छ । ऊर्जा विकासमा नेपाल र बंगलादेशको सम्बन्ध अझै बलियो बन्दै जान्छ भन्ने मेरो विश्वास छ ।

क्षेत्रीय व्यापारका लागि राजनीति, कानुन, नीति र पूर्वाधार निर्माणमा अझै पनि ग्याप देखिन्छ । देशहरूबीचमा यी कुरामा समानता नल्याएसम्म ऊर्जा व्यापार असम्भव देखिन्छ, यस्तो अवस्थामा के गर्न सकियो भने व्यापार अघि बढाउन सकिन्छ ? 
भारत सरकार विद्युत् व्यापारको निर्देशिका तयार भइसकेको छ । निर्देशिका ल्याउनुलाई एउटा तयारीका रूपमा पनि लिनुपर्छ । उहाँहरूले ऊर्जा व्यापारका लागि आवश्यक नीति तथा सुधारका काम पनि अघि बढाइसक्नुभएको छ । जहाँसम्म पूर्वाधारहरूको ग्याप भने छ, सबै देशहरूबीचमा ग्रिडमा समानता हुनुपर्छ । राजनीतिक र कानुनी रूपमा पनि ऊर्जा व्यापारका लागि तयारी पूर्ण हुनुपर्छ, अनि मात्र व्यापारको अवस्था हुन्छ । जुन पावर समिट गरिएको छ, यसले यस्तो वातावरण निर्माण गर्न सहयोग पु-याउँछ । अहिले भारत, बंगलादेश, भुटान र नेपालका ऊर्जा क्षेत्रमा सक्रिय सरकारी र निजी क्षेत्रका निकायहरूको सहभागितामा भएको पावर समिटले ऊर्जा व्यापारका लागि समानता ल्याउन सक्छ । यसका लागि सबै देश साझा र एकीकृत रूपमा अघि बढ्न सक्छन् । केही चुनौती र अवरोधहरू जहिले पनि आउँछन् तर यसबारे गहन छलफल गरेर अघि बढ्नुपर्छ । नेपाल र भुटान ऊर्जा व्यापारका लागि छलफलमा छौं । व्यापारिक रूपमा विद्युत्लाई आयात–निर्यातको विषय पनि महत्वपूर्ण हुन्छ । जलविद्युत्मा हाम्रो सम्भावना धेरै भएकाले छिमकी राष्ट्रहरूमा हामीले सजिलै विद्युत् व्यापार गर्न सक्ने अवस्था छ । स्वच्छ, हरियो र भरपर्दो जलविद्युत्मार्फत उत्पादन गर्न सक्ने क्षमता नेपाल र भुटानसँग भएकाले हामीले विद्युत् व्यापारका लागि सहकार्य गर्नु जरुरी पनि छ । मलाई जहाँसम्म लाग्छ, विद्युत् व्यापारमा कुनै पनि किसिमको समस्या छैन । भारतले अधिकांश छिमेकी देशहरूसँग जोड्ने गरी प्रसारण पूर्वाधार बनाइसकेको अवस्थामा अरू देशहरूसँग एक–अर्काको सम्बन्ध सुधार गरेर अघि बढ्न सके विद्युत् व्यापार र उत्पादनमा सहकार्य गर्न सकिने अवस्था छ ।

खुसी (ह्याप्पिनेस) को सूचकांकमा भुटान धेरै अघि छ, यसको कारणका रूपमा भुटानमा रहेको जलविद्युत्को सम्भावना र यसलाई भारतमा व्यापार गर्न सक्नुलाई पनि लिइन्छ । यसमा जलविद्युत्को भूमिका कस्तो देख्नुहुन्छ ? 
ह्याप्पिनेस भनेको समग्र विकासको सूचकांक हो । कसैलाई पनि खुसी नरहन मन हुँदैन । देश मात्र नभएर, घर–घर र व्यक्ति–व्यक्ति खुसी चाहन्छन् । भुटानमा यस्तो सूचकांक हुनुको कारण उनीहरूमा रहेको कुशलताको हो । यसका लागि जीडीपी पनि महत्वपूर्ण हुन्छ । सामाजिक र वैज्ञानिक ढंगले मात्र नभई सांस्कृतिक, सामाजिक अनि वातावरणीय विकास पनि महत्वपूर्ण हुन्छ । यी सबैको समग्र विश्लेषणले ह्याप्पिनेसको सूचकांक देखाउने हो । यसमा जहाँसम्म जलविद्युत्को योगदानको कुरा छ, भुटान ल्यान्डलक देश हो । हाम्रो देशमा जलविद्युत्बाहेक अन्य वस्तु विक्री गर्न साह्रै गाह्रो पर्छ । वातावरणमा असर नपर्ने स्वच्छ ऊर्जा जलविद्युत् भएकाले यो एकदम महत्वपूर्ण हुन्छ । जलविद्युत् उत्पादन भएर जुन हामीले बिक्री गरेका छौं, त्यसले ह्याप्पिनेस बढाउन ठूलो सहयोग पु-याएको छ । यसमा जलविद्युत् आयोजनाले वातावरणमा पु-याएको सकारात्मक योगदान महत्वपूर्ण छ । यस कारण ह्याप्पिनेसका लागि जलविद्युत् विकास सँगसँगै अघि बढेको छ ।

जलविद्युत् उत्पादन गरेर निर्यात गर्दा अर्थतन्त्रमा कसरी योगदान दिने रहेछ भनेर भुटानको अनुभव छ ? 
आर्थिक रूपमा भुटानमा जलविद्युत्को योगदानको कुरा हेर्नुहुन्छ भने आर्थिक विकासका लागि जलविद्युत् हाम्रो देशको मुख्य वस्तु हो । हामीले एकमात्र बेच्ने वस्तु पनि जलविद्युत् हो । यसबाट हामीले ठूलो राजस्व संकलन गरेका छौं । शिक्षा, स्वास्थ्यका लागि पनि यसले योगदान दिएको छ । हाम्रो लागि भारत मुख्य बजार हो । आन्तरिक खपतबाहेक सबै विद्युत् भारतलाई बेच्छौं । ९९ प्रतिशत जनताको घरमा उज्यालो पुगिसकेको छ । कुकिङलगायतका धेरै काममा पनि बिजुलीको उपयोग भएको छ । भारतमा निर्यात गर्दा यसले भुटानका जनताको जनजीवनमा धेरै सुधार ल्याएको छ । यसले हाम्रो देशको समग्र सामाजिक अवस्थामा पनि सुधार ल्याएको छ । भुटानमा विद्युत्ले अर्थतन्त्रको स्वतन्त्रतासँगै सुरक्षा ग्यारेन्टी गरेकोे छ ।

नेपालमा अझै पनि बिजुली बेच्नु हुन्छ, हुन्न भन्ने विषयमा मतमतान्तर छ । भारतमा बिजुली निर्यात गर्ने देशका रूपमा यसबारेमा तपाईंको विश्लेषण के छ ? 
जलविद्युत् समयमै र सही लागतमा बनाउन सकियो भने यसले अर्थतन्त्रमा ठूलो योगदान दिन्छ । जिओलोजीलगायतका कारणले यो निर्माण गर्न त चुनौतीपूर्ण छ, तर लागत कम गरेर बनाइयो भने यसले धेरै फाइदा हुन्छ । जलविद्युत् अहिले पनि र सधैंभरि बिक्रीयोग्य वस्तु हो । यो जहिले पनि बिक्री गर्न सकिने वस्तु भएकाले महत्वपूर्ण छ । यसको उपयोग घरेलु रूपमा पनि बढाउनुपर्छ, किनभने बिजुलीले गर्न सकिने ठूला–ठूला कारखानाहरू पनि यसबाट खोल्न सकिन्छ । यसले व्यापारलाई बढावा दिन्छ । यसले पनि देशको आम्दानी बढाउँछ । यसले बहुपक्षीय फाइदा हुन्छ । यसको सही सदुपयोग गर्न सकियो भने विद्युत् बिक्री ग-यौं–गरेनौं भन्ने महत्वपूर्ण हुँदैन तर भारत, बंगलादेशमा बजार रहेकाले उत्पादन बढी भएमा बेच्दा यसले अर्थतन्त्रमा सकारात्मक योगदान अवश्य नै दिन्छ । नेपाल र भुटानमा जलविद्युत् उत्पादनको सम्भावना छ, यो सम्भावनालाई उत्पादन गरेर यसको बहुपक्षीय फाइदाका लागि उपयोग गर्न सक्नुपर्छ । यसले अर्थतन्त्रमा ठूलो योगदान पु-याउँछ नै ।

कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="