Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

दार्चुला खलंगा पुग्यो केन्द्रीय ग्रिड, भारतको विद्युत विकल्पमा मात्र प्रयोग हुने

ऊर्जा खबर जेठ ०१, २०७६   993

खबर



काठमाडौं– नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिमको दार्चुलामा केन्द्रीय प्रसारण लाइन पुर्याएको छ । निर्माण सम्पन्न भएको बलाँच–खलंगा ३३ केभी प्रसारण लाइन बुधबारदेखि सञ्चालन (चार्ज) भएको हो ।

प्रसारण लाइन ३३ केभी निर्माण भए पनि अहिले ११ केभीमा मात्र चार्ज भएको दार्चुला वितरण केन्द्र प्रमुख दयाराम साहले बताए । ‘बलाँच–खलंगा अन्तर्गत थालीगाडमा निर्माणाधीन ३३/११ केभी सबस्टेसन पूरा नभएकाले ११ केभीमा चार्ज गर्नुपरेको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘ठेकेदारले असारसम्म काम पूरा गर्न ताकेता गरिएको छ ।’

खलंगामा अहिलेसम्म भारत उत्तराखण्डस्थित लाली, तादी र जौलीबिजी ११ केभी लाइनबाट विद्युत ल्याएर प्रयोग भइरहेको छ । यहाँबाट करिब ८ सय किलोवाट विद्युत किन्ने गरिएको छ । यसबापत मासिक करिब २५ लाख रुपैयाँ महसुल तिर्ने गरेको साहले जानकारी दिए ।

जिल्लामा ७ हजार ८ सय ६१ ग्राहकमा विद्युतको पहुँच पुगेको छ । दुई नगरपालिका तथा ५ गाउँपालिकामा आंशिक विद्युतकरण भएको र दुई गाउँपालिकामा विद्युत पुर्याउन बाँकी रहेको अत्तरिया क्षेत्रीय कार्यालय प्रमुख सतिसकुमार कर्णले जानकारी दिए ।

जिल्लामा भारतबाट आयात भइरहेको बाहेक प्राधिकरणको २ सय ४० किलोवाटको डुम्री विद्युतगृह पनि सञ्चालनमा छ । कर्णका अनुसार खलंगा बजारमा मात्र करिब ४ हजार ग्राहक छन् । भारतबाट ल्याइएको विद्युत पूर्ण कटौती नगरी विकल्पका रूपमा प्रयोग गर्ने उनले बताए ।

बलाँच–खलंगा प्रसारण लाइन निर्माण गर्न ८७ लाख ५० हजार रुपैयाँमा २०७२ साल चैतमा ठेक्का सम्झौता गरिएको थियो । यस्तै, सबस्टेसन निर्माण गर्न ६ करोड ८९ लाख रुपैयाँमा २०७३ साल कात्तिकमा मात्र ठेक्का जनाइएको छ ।

प्राधिकरणले ३० मेगावाटको चमेलिया र बलाँच सबस्टेसनमा जोडिने निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत खलंगातर्फ पठाउने छ । चमेलियाले गरेको बलाँच सबस्टेसनमा ८.५ मेगावाटको नौगाड, ८ मेगावाटको अप्पर नौगाड,  ८५ मेगावाटको माथिल्लो चमेलिया, १६ मेगावाटको मध्यचमेलिया, ६५ मेगावाटको  कलंगा गाड, २५ मेगावाटको छत्तिगाड जोडिनेछन् । बलाँचमा जम्मा भएको विद्युत १ सय ३१ किलोमिटर बलाँच–अत्तरिया (कैलाली) प्रसारण लाइनबाट राष्ट्रिय ग्रिडमा प्रवाह हुने छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="