काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको सञ्चालकमा ४ जना निर्विरोध चयन भएका छन् । रामप्रसाद रिमाल, तुलसीराम ढकाल, भीम तिमल्सिना र शान्तिलक्ष्मी शाक्य निर्विरोध चयन भएका हुन् ।
उनीहरू सर्वसाधारण समूहको तर्फबाट सञ्चालक बनेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइरालाले बताए । उनका अनुसार सर्वसाधारण कोटाबाट सञ्चालक बन्ने ४ जनाको मात्रै आवेदन परेपछि निर्विरोध चयन गरिएको हो । यसको औपचारिक घोषणा ११ गते हुने तय भएकाे कम्पनीको साधारणसभामा गरिने उनले बताए ।
कम्पनीको निर्वाचन मण्डलले सर्वसाधारण समूहको तर्फबाट ४ जना सञ्चालक चयनका लागि आवेदन खुलाएको थियो । अन्तिम दिन बुधबार हिउँसोसम्म प्रतिस्पर्धा हुने गरी थप आवेदन नआएपछि उनीहरू निर्विरोध चयन भएको कम्पनीले जनाएको छ ।
अहिले सञ्चालक बनेका चारै जना यसअघि पनि कम्पनीको सञ्चालक थिए । रिमाल, ढकाल र तिमल्सिना सर्वसाधारण समूह र शाक्य संस्थापक (नेपाल विद्युत प्राधिकरण) समूहबाट कम्पनीको सञ्चालक थिइन् । प्राधिकरणबाट अवकास भएपछि शाक्य सर्वसाधारण समूहको महिला कोटाबाट सञ्चालक बनेकी हुन् ।
कम्पनीकाे २३ औं साधारणसभा अर्काे साता हुँदैछ । कम्पनीले याे वर्ष सबै सेयरधनीलाई २५ प्रतिशत लाभंश दिने घाेषणा गरेकाे छ ।
कम्पनीले रसुवामा निर्माण गरेकाे २२.१ मेगावाटकाे चिलिमे जलविद्युत केन्द्र सञ्चालित छ । कम्पनीअन्तर्गत २७० मेगावाटका ४ आयोजना निर्माणाधीन छन् ।
प्रतिक्रिया दिनुहोस