विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

चीनकाे सिहाइगुमा पानीबिनाको जीवन

काङ् निङ् कार्तिक ०५, २०७५ 2241

सम्पादकको टिप्पणी : छोटो समयमै ठुलू-ठूला भौतिक पूर्वाधार निर्माण गर्दै संसारकै दोस्रो ठूलो अर्थतन्त्र बनेको चीनलाई अक्सर विकासोन्मुख देशहरूका लागि उदाहरणका रूपमा लिइन्छ । तर, विकाशशील देशहरूमा देखिने कतिपय चुनौती चीनमा अझै विद्यमान छन् । वायु प्रदुषणलगायतका अन्य प्रदुषणको कुरा समाचारमा आउने भए पनि अन्य विषय बाहिर आउँदैनन् । यस रिपोर्टमा हामी अर्धमरुभूमिजस्तो श्चिमी चीनको पानीको संकट जलवायु परिवर्तनको चुनौती’ एक विस्तृत विवरण प्रस्तुत गर्दैछौँ । निङ्सिया प्रान्तमा सरकारले सामुहिक पुनर्बास कार्यक्रम लागू गरेको छ । जलवायु परिवर्तनका कारण भइरहेको यो संसारकै ठूलो पुनर्बास कार्यक्रममध्ये एक हो । हिमाली जलाधार क्षेत्रमा बस्ने मानिसकफ लागि यो विषय खास चाखलाग्दो छ ’ दक्षिण एसियामा संसारको २५ प्रतिशत जनसङ्ख्या छ । तर, यहाँ संसारको स्वच्छ पानीमध्ये ५ प्रतिशत मात्रै उपलब्ध छ।

पश्चिमोत्तर चिनियाँ प्रान्त निङ्सियाको राजधानी यिन्चुआनबाट बेजिङ्–तिब्बत द्रुतमार्गमा दक्षिणतिर लाग्ने हो भने धर्ती पहेलिँदै गएको देखिन्छ । पर, डाँडाबाट आएका खोलामाथि आधुनिक पुल बनेका छन् तर खोलामा हेर्दा पानीको थोपो देखिँदैन । छेउछाउमा ठाउँ-ठाउँमा भेडा चराइरहेका गोठालाहरू देखिन्छन् । यो   सिहाइगु हो । नक्शामा खोज्नुभयो भने यो नाम भेटिँदैन । दक्षिण निङ्सियामा पर्ने ७ काउन्टीलाई सम्बोधन गर्ने यो स्थानीय नाम हो । यो क्षेत्र पश्चिमोत्तर चीनकै रुखो क्षेत्रमा पर्दछ । आर्थिक विकास र वर्षौँदेखिको सरकारी बजेटले गरिबीको समस्या सम्बोधन गर्न त सघाउ पुर्याएको छ तर यसको अर्धभूमि प्रकृतिले गर्दा पानी भने दुर्लभ छ । जलवायु परिवर्तनले समस्या झन् जटिल बनाउँदैछ । मानिसहरू पानीको अभाव कसरी झेल्ने भन्ने चिन्तामा छन् ।

Map of Xihaigu, seven counties in southern Ningxia

दक्षिणी निङ्सियासिहाइगुका सात काउन्टीको नक्शा

पानीको चिन्ता

निङ्सियाको सिजी काउन्टीको मौसम विभागले दिएको तथ्यांकअनुसार सन् २०१६ को जनवरी महिनादेखि जुलार्इसम्म केही क्षेत्रमा वार्षिक ‌औसतभन्दा ६.९ प्रतिशतदेखि १७.५ प्रतिशतसम्म कम वर्षा भएकाे देखाएकाे थियो । अघिल्लो वर्षको मध्य अगष्टमा सन् १९६१ पछिको सबैभन्दा उच्च तापक्रम पुग्यो र वर्षा पनि न्यून रह्यो । जसले त्यस क्षेत्रमा खडेरी पर्यो । स्थानीय सरकारले कृत्रिम वर्षा नै गराउनुपर्ने अवस्था आयो । आलुको उत्पादन १० प्रतिशतले घट्यो ।

सिजी पठारको खडेरी डरलाग्दो गतिमा बढ्दै गएको छ । सन् १९७० को दशकदेखि सन् २००० को दशक बीचमा औसत तापक्रम १ डिग्री सेल्सियसभन्दा बढिले वृद्धि भयो । त्यसैगरी सन् १९५० देखि सन् २००० को बीचमा वार्षिक औसत वर्षा लगभग १०० एमएमले घट्यो । यसले जमिन सुक्खा बनार्इ बाली उत्पादनमा हानी पुर्याइरहेको छ । ‘यो साल हामीले खासै वर्षा भएकाे देखेनौँ र आलु पनि लगभग मुड्की आकारको जत्रोमात्र भयो,’ आलुको आकार देखाउन आफ्नो हातको मुड्की बनाउँदै मा लिनाले भनिन् । उनी १३ वर्षकी भइन् र उनी पहाड र सुक्खा खोलाहरूको बीचको पिङ्फेङ् काउन्टीको लिचा गाउँमा बस्छिन् ।

उनका पिता मा जिफेङ भन्छन्, आलु नै उनको परिवारको मुख्य खाना हो र यसैबाट वार्षिक १०,००० युआन (लगभग नेरु १५,०००) जतिको आम्दानी आउँछ । तर, यस वर्ष उत्पादन कम भयो र भाउ पनि घट्यो । आलु र गहुँ नै यस क्षेत्रका मुख्य उत्पादन हुन् । यसका साथै तील र केही हिउँदे अन्नबाली लगाइन्छ । खडेरीले खानेपानी वितरणमा असर पारेको छ । मा लिनाकी सहपाठी आन सिआओकाङ् पनि सोही गाउँमा बस्छन् । गाउँको बीचबाट बग्ने खोलामा पहिले पानी भएको उनी सम्झिन्छन् । परार साल उनले त्यहाँ चेपागाँडा समातेका थिए तर अहिले त्यहाँ सुक्खा बगरमात्र छ ।

आजकाल इनार खन्दा पनि सफा पानी भेट्न मुश्किल छ । धेरैजसो नुनिलो वा तीतो पानी आउँछ । सिजी काउन्टीका पानी अधिकारीहरूका अनुसार घुलित पदार्थ र सल्फेट मान्य मापदण्ड भन्दा कयौँ गुणाले बढी छन् । ‘गाउँ नजिकै राम्रो पानी आउने थुप्रै इनारहरू थिए तर अहिले निकै कम छन् । समग्रमा पानी नै कम छ,’ पानी खान गएका एक हुल बस्तुतिर हेर्दै आन् सिआओकाङ्ले भने ।

Cattle drink from a pond [image by Kang Ning]

आहालबाट पानी पिउँदै गार्इवस्तु । तस्वीरः काङ् निङ्

जल व्यवस्थापन

वर्षा कम भएसँगै सिहाइगुका मानिसले पानीको फारो गर्न थालेका छन् । मा लिनाको परिवारले वरिपरिको जमिन र घरको छानाबाट पानी संकलन गरी भूमिगत ट्यांकीमा जम्मा गरेर राख्छन्। ट्यांकी बनाउन सरकारले आर्थिक सहयोग प्रदान गरेको थियो । घर, वस्तुभाउ र बारीमा हाल्न छुट्टाछुट्टै ट्यांकी बनाइएको छ । घरमा प्रयोग भएको फोहर पानी पुनर्प्रयोगको लागि बेसिन नजिकै एक बाल्टीन राखिएको छ ।

सिहाइगुका बारीमा काम गर्नेहरूका लागि सुद्दृढ कृषि प्रविधिले उनीहरूको आम्दानी बढाउन सहयोग गर्न सक्छ । किसान परिवारको जीविकोपार्जनमा जलवायु परिवर्तनले पारेको असरसम्बन्धी एक कार्यपत्रमा निङ्सिया विश्वविद्यालय संशाधन तथा वातावरण संकायका दाइ हाइलुङ भन्छन्, ‘पानीको अभावसँग अनुकूलन गर्न खडेरी प्रतिरोधी र जलचुस्त बाली लगाउने चलन बढाउनुपर्छ । शरद ऋतुमा खेती गर्ने चलन पनि बढाउनुपर्छ ।’

सन् २०१५ मा आन सिआओकाङका हजुरबा आन जिआन्हुआले आलु रोपेको ठाउँमा प्लाष्टिकको छापो हाल्न थाले । वर्षात कम भएपनि प्लाष्टिकको छापोमुनि फलेका आलुको आकार ठुलै थियो । जम्मा गरिएको पानीले गराहरूमा सिञ्चन गर्न सक्ने सुद्दृढ सिँचाइ प्रणालीको प्रयोग वा फलफूल खेती वा जडिबुटी खेतीजस्ता उपयुक्त खेती गर्न पाए हुन्थ्यो भन्ने आन जिआन्हुआको सपना छ ।

सिहाइगुमा पानी पार्न सक्ने जेड ड्रयागन भगवानको एउटा किस्सा छ- ‘बीस किलोमिटर जति पर डन ताल नाम गरेको एक ताल छ जहाँ हुरी र पानी बोलाउन सक्ने सेतो ड्रयागन बस्छ,’ आफू सानो हुँदा बुढापाकाले भनेको कथा सम्झँदै आन सिआओकाङ भन्छन् । ‘पहिले पहिले खडेरी पर्यो भने मानिसहरू यही जेड ड्रयागनको प्रार्थना गर्थे । पुस्तौँदेखि मानिसहरूले पर्याप्त पानी उपभोग गर्दै आइरहेका थिए ।’

लिचामा हाल प्रत्येक घरको बाहिरपट्टी “निङ्सिया सिजी शहरी ग्रामीण पानी कम्पनी” चिन्ह अंकित धारा छ । यी धाराहरू ४ अर्ब युआन (लगभग नेरु ५८ अर्ब) को लागतमा मध्य तथा दक्षिण निङ्सियाको लागि पानी सुरक्षण परियोजना अन्तर्गत बनाइएका हुन् । गत सन् २०१६ काे अक्टोबर महिनामा निङ्सिया सरकारले परियोजना सम्पन्न भएको अवसरमा युआन्ड्रु नजिकै एक समारोहको आयोजना गरेको थियो ।

लिचाका धाराहरू वर्षौँदेखि त्यहीँ उभिरहेका छन् र यो जडान गर्न प्रत्येक परिवारलाई ५०० युआन (लगभग नेरु ८,०००) खर्च लाग्यो । तर, यसमा अझैसम्म पानी आएको छैन । पानी वितरण परियोजनाको धेरै काम सकिएको भए पनि अप्ठ्यारो भूगोलको कारण सबै घरमा पानी पुर्याउन थप केही काम बाँकी रहेको गाउँका एक अधिकारीले बताए ।

सिजी पानी ब्युरोको खानेपानी कार्यालयका एक अधिकारीले भने लिचामा अझैसम्म पानी नपुग्नुको कारण जटिल छ । तर, एउटा कारण के हो भने खडेरीले गर्दा ड्रङ्ड्रुआङ् जलाशय अहिलेसम्म भरिन पाएको छैन र हालको पानीले शहरी क्षेत्रमै पनि वितरण गर्न पुगेको छैन । लगभग २३ करोड युआन (लगभग नेरु ३ अर्ब ५५ करोड) को लागतमा निर्माण गरिएको उक्त जलाशय परियोजना पानी वितरणको लागि अपरिहार्य मानिएको छ ।

सिजीमा जिङ् नदीबाट सफा पानी ल्याउने हो भने अस्थायी रूपमा पानीको अभाव सल्ट्याउन मद्दत पुग्थ्यो । लिचाका गाउँलेहरू देशको दक्षिणी भागबाट सुक्खा उत्तरी भागमा पानी लाने विवादास्पद योजना दक्षिण–उत्तर जल स्थानान्तरण परियोजना को पनि प्रतिक्षामा छन् ।

अहिलेका लागि उनीहरूको घरअघि धुलो जमेका धाराहरू र वितरण पाइपहरू केही समय सुक्खै रहलान् जस्तो छ । तर, आन जिआन्हुआलाई लाग्छ धैर्यताको फल मिठो हुन्छ । शहरका घरहरूमा त्यति वास्ता नहुने पानी वितरण प्रणाली आफ्नो पहाडी गाउँमा पनि आइपुग्ला भन्ने १० वर्षअघिसम्म गाउँलेहरूले चिताएकै थिएनन् । अहिले यो परियोजनाले त्यसो गर्ने वाचा गरेको छ ।

Villagers rely on rainwater stored in underground cisterns for drinking water [image by Kang Ning]

पिउने पानीको लागि गाउँलेहरू भूमिगत ट्याङ्कीमा जम्मा गरिएको वर्षातको पानीमा भर पर्छन् । तस्वीरः काङ निङ

पुनर्स्थापना र पुनर्बास

अन्यत्रबाट पानी ल्याउने मात्र नभर्इ स्थानीय सरकारले परिवर्तित जलवायुप्रति उठनशीलता बढाउन पनि प्रयास गरिरहेको छ । निङ्सियामा खेती जमिनलाई वनमा परिणत गर्ने प्रयास एक वर्षअघि सुरु भएको हो र यसले केही हरियाली पुनर्स्थापित गर्न सफल भएको छ ।

सन् २००३ मा वनक्षेत्रमा वस्तुभाउ चराउन प्रतिबन्ध लगाएर निङ्सिया प्रान्त यस्तो निर्णय लिने देशकै पहिलो प्रान्त बनेको थियो । निङ्सिया सरकारले जारी गरेको तथ्यांकअनुसार एक दशकमा वनक्षेत्रफल १० प्रतिशतबाट बढेर १२.८ प्रतिशत पुगेको थियो । त्यसैगरी, ५३० बर्ग किलोमिटर जमिन मरुभूमि बन्नबाट जोगिएको थियो ।

मा लिनाले घर्रा खोलिन् र केही फोटोको चाङ निकालिन् । यसबाट उनले गएको गर्मीयाममा उनीहरूको घरको ढोकाबाट लिइएको एक फोटो छानिन् । यसमा अहिलेको जस्तो बाँझो जमिन नभएर पहाडहरू हरियो र रसिलो देखिएको छ । ‘गर्मीमा यस्तो देखिन्छ, आहा कति राम्रो,’ गर्वसाथ उनले भनिन् । पहाडतिर आरुबखडाका बगैँचा छन् जुन गर्मी मौसममा हरिया हुन्छन् ।

स्थानीय पर्यावरण पुनर्स्थापित गर्ने प्रयत्नहरूको प्रतिफल आउन थालेको छ तर स्थानीयहरूको काम गर्ने तौरतरिका परिवर्तन गर्न भने चुनौती छ । उदाहरणका लागि पहाडमा वस्तु चराउन किन प्रतिबन्ध लगाइएको हो भन्ने कुरा कतिपय गाउँलेहरूले बुझ्दैनन् र अलि दुर्गममा त अझै चराउँदैछन् ।

सरकारले पारिस्थितिक प्रणाली संवेदनशील भएका क्षेत्रबाट मानिसहरूलाई पुनर्बास गराउँदैछ । सन् १९८३ देखि ४ वटा त्यस्ता पुनर्बासहरू भए जसमा पछि जमिन पुनर्स्थापित भयो । सन् २०११ मा प्रान्तीय सरकारले यहाँका बासिन्दालाई दक्षिण तथा मध्य निङ्सियामा पुनर्बास गराउने नयाँ योजना सार्वजनिक गर्यो ।

योजनामा उल्लेख छः ‘मध्य निङ्सियामा रहेका सिजी लगायत नौ गरिब काउन्टीहरूको पारिस्थितिकीय प्रणाली नाजुक छ र अक्सर प्राकृतिक प्रकोप र गम्भिर भू तथा जलक्षय हुने गर्छ । खेतीपाती र पशुपालन गरिने यो क्षेत्र अर्ध–सुक्खा र सुक्खा मरुभूमिको बीचमा पर्दछ । अक्सर पर्यावरणीय समस्या र गरिबीले एक अर्कालाई बढाउने भएकाले यस क्षेत्रका मानिसलाई पुनर्स्थापित गरिनेछ । ‘यही नीति अन्तर्गत सिजीका, केही गाउँका बासिन्दालाई पानीको स्रोत नजिक भएको निङ्सियाको उत्तरी क्षेत्रमा सारिएको थियो । त्यसयता बारीहरू बाँझै रहेका छन् र घुँडाघुँडासम्म घाँस पलाएको छ । कतिपय आँगनहरू वर्षौँदेखि बाँझो छन् र पाप्रा उप्किएका छन् ।

यता लिचालाई भने सरकारले पुनर्बास योजनामा समावेश गरेको छैन । यद्यपि, यो गाउँमा पनि बस्ती पातलो छ र धेरै खेतबारी छन् । लिचाबाट कतिपय मानिसहरू अन्यत्र सर्न चाहे पनि सकेका छैनन् भने सर्न सक्ने अन्य कतिपय चाहिँ सर्न चाहँदैनन् ।

Some villagers prefer to stay put than be relocated [image by Kang Ning]

कतिपय गाउँलेहरू अन्यत्र सर्न भन्दा त्यहीँ बस्न रुचाउँछन् । तस्वीरः काङ निङ्

ठाउँ प्यारो

पुनर्बास नीति अन्तर्गत छानिएका मानिसहरू चाँडै नै सरुन् भन्ने सुनिश्चित गर्न स्थानीय सरकारले तोकिएको म्याद समाप्त भएपछि घरहरू भत्काउने गरेको छ । यसले दुवैतिर बस्न खोज्ने कतिपय गाउँलेहरूलाई त्यसो गर्नबाट रोक्ने प्रान्तीय पुनर्बास प्राधिकरणका एक अधिकारीले एक अन्तर्वार्तामा बताए । मानिसहरू दुवैतिर बस्न थाले भने यसले जनसङ्ख्या व्यवस्थापन गर्ने र वातावरण पुनर्स्थापित गर्ने सरकारको प्रयासलाई अप्ठ्यारो पार्छ ।

अर्को गाउँका ली युफु त्यस्तै एक व्यक्ति हुन् । उनको गाउँ पनि पुनर्बासका लागि सूचिकृत भएको थियो । तर, अहिले आएर त्यो गाउँमा एकमात्र ठाडो घर उनको हो । अन्य सबै भग्नावशेष भइसके । कतिपय त छाना खसेका पर्खालमात्र छन् । ली भन्छन् उनी र उनकी श्रीमती बाहेक सबैजना सरकारले तोकेको नयाँ गाउँमा सरिसकेका छन् । आजकाल यहाँ विरलै कोही नयाँ मान्छे आउँछन् । ‘जिन्दगीभर बसेको ठाउँ यत्तिकै सजिलै छोड्न सकिँदैन नि,’ हात मुसारेर अप्ठ्यारो मान्दै उनले भने । सर्न नचाहनुको कारण भने उनले थप केही बताउन चाहेनन् । आजकाल लिचामा एक्लै बस्दा नियास्रो भए पनि अन्यत्र सर्न झन् गार्हो हुन्छ । छेउमा बसेकी उनकी श्रीमतीले निधार खुम्च्याउँदै भनिन् ‘त्यो नयाँ ठाउँमा त म कहिल्यै गएको पनि छैन । यात्रा गर्न पनि सक्दिन र यो निकै टाढा पनि छ ।’ नयाँ गाउँको नाम सिनरोङ हो र यो यिन्चुआन शहरभन्दा बाहिर हेलान काउन्टी पर्छ । ली युफुका सबै छिमेकी आजकाल त्यही नयाँ गाउँमा बस्छन् । यो नयाँ जिन्दगीमा उनीहरू पहिलेजस्तो खेती गर्दैनन् र वस्तुभाउ पनि पाल्दैनन् ।

नयाँ जिन्दगी

यिन्चुआनबाट खेतैखेत हुँदै जाने सडकमा उत्तरतर्फ चालिस मिनेट गाडीमा गएपछि सिनरोङ पुगिन्छ । सेता भित्ता र निला टायलका छाना भएका चिटिक्कका एकतले घरहरू लहरै उभिएका छन् । हरेक १० मिटरको दूरीमा सौर्यऊर्जाले बल्ने सडकबत्ती छन् र चोकमा व्यायामशाला छ । घर नम्बरबाहेक सबै घर उस्तै देखिन्छन् । मा यान्मेइ र उनको परिवार सिजीबाट तीन वर्षअघि यहाँ सरेको हो । सात जनाको उनको परिवारलाई दुई शयनकक्ष र एक बैठककक्ष सहित ५४ वर्ग मिटरको घर दिइयो । सानो बैठक कोठामा सेतो टायल छापिएको छ । सोफा, कफी टेबल र टिभिसँगै कोइलाबाट जल्ने हिटर र एक पानी शुद्धिकरण गर्ने भाँडो छ । मा आफूलाई “शहरी जीवन बिताइरहेको एक गाउँले” भनेर चिनाउँछिन् ।

‘यातायात सजिलो छ र पानी पनि सजिलै पाइन्छ,’ मा भन्छिन् । नयाँ जिन्दगीसँग मा खुशी छिन् । आफ्ना सबै नातेदार र छिमेकी यहीँ भएकाले उनी उनको पुरानो गाउँ फर्किएकी छैनन् । ट्यांकीमा जम्मा गरिएको पानीभन्दा धाराबाट आउने पानी बढी रुचाइन्छ । बाहिर आँगनमा लुगा धुने मेसिन छ । छेवैमा एक बाटा भरखर धोइएका लुगा छन् । सबै घरका छानामा घामबाट पानी तताउने सोलार वाटर हिटर छन् । ‘यहाँ त लुगा धुन पनि कस्तो सजिलो छ,” उनले भनिन् ।

पुनर्बास गराइएका सबैलाई जग्गा उपलब्ध गराइएको छैन । सिनरोङको एउटा चोकको नजिकै फलफूल काजु बदाम र अन्य घरायसी सामग्रीहरू बेच्ने थुप्रै स्टलहरू छन् । साथै, दुर्इ लाइन विभिन्न पसलहरू छन् । धेरैजसो पुनर्बास गरिएका गाउँलेहरूले चलाएका हुन् । फलफूल दोकानमा भेटिएका एक अधवैँशेले भने, ‘उता गाउँमा मेरो ४० मु (लगभग ५३ रोपनी) जग्गा र काफी वस्तुभाउ थियो । यहाँ मेरो यो पसलबाहेक केही छैन ।’

मा यानमेइको परिवार भने केही भाग्यमानी रहेछ । उनीहरूले थोरै भए पनि जग्गा पाए । सिजीमा ७० मु (९३ रोपनी) भए पनि यहाँ दुई मु (साँढे दुई रोपनी) जग्गा पाए । गाउँमा वर्षा कम हुँदा पनि उत्पादनले सबै परिवारलाई खान पुग्थ्यो । अहिले त्यो सबै जमिन व्यवसायिक कृषि फार्मलाई वर्षको २००० युआन (नेरु ३०,०००) भाडा लिने गरि दिइएको छ ।

सिनरोङ्मा सबै आवश्यक कुराहरू बेसाउनुपर्छ । सिजीबाट सारिएका मानिसले बेसाहा कमाउनको लागि बाहिर गएर काम खोज्नुपर्छ । सञ्चारमाध्यमहरूका अनुसार अन्यत्रबाट सारेर ल्याइएका ११,००० व्यक्ति सिनरोङमा छन् । र, पुनर्बासको प्रक्रियामा ३,००० जना कामको लागि अन्यत्र सरे ।

Many people have been relocated from Xiji to the new village of Xinrong near the capital Yinchuan [image by Kang Ning]

सिजीबाट धेरै जनालाई राजधानी यिन्चुआन नजिकैको सिनरोङमा सारिएको छ । तस्वीरः काङ निङ

सिहाइगुमै रहेकाको अवस्था

आजकाल सिहाइगुमा काम गर्न सक्ने उमेरका मानिस भेट्न मुश्किल छ । खेती लगाउने र वस्तुभाउ हेर्ने काम उनीहरूले बुढबुढीको काँधमा छोडेर हिँडेका छन् । बाली भित्र्याउने बेलामा फर्केलान् कि !

मा लिना र आन सिआओकाङ जस्ता बालबालिकाले पनि बाली भित्र्याउने काममा सहयोग गर्छन् । आन सिआओकाङका बुबा एउटा गाडी दुर्घटनामा परेपछि पक्षघात भयो र आमालाई कलेजोको रोग छ । त्यसैले घरमा आवश्यक बलको काम सबै सिआओकाङ र उनका दाइले स्कुल छुट्टीपछि गर्ने गर्छन् । हरियो हुँदै गरेको खेतको गहुँतिर देखाउँदै आन सिआओकाङ भन्छन्, यो सबै म र मेरो दाइ मिलेर रोपेका थियौँ ।

यी दाजुभाइको पढाइ भने त्यति राम्रो छैन । माथिल्लो कक्षामा चढ्ने परीक्षा पास गरेनन् भने सिआओकाङ्लाई सेनामा पठाइदिने र उनको दाजुलाई होटेल रेष्टुरेन्टमा खाना पकाउने शेफ तालिम लिन पठाउने निर्णय उनीहरूका हजुरबाले गरिसकेका छन् । ‘उनीहरू गएपछि हामी खेती लगाउने छैनौँ । उनीहरू बिना गार्हो छ,’ बिँडी तान्दै टिभि हेर्दै गरेका उनले भने । अघिल्लो पुस्ताका मानिसलाई लाग्छ आउँदो पुस्ताले प्रगति गर्ने हो भने बाहिरै जानुपर्छ ।

आन सिआओकाङको परिवारको एउटा मात्र ट्यांकी छ, आँगनमा । ‘त्यत्ति राम्रो छैन,’ उनले भने । पानी फोहर छ र यो उनीहरूले वस्तुभाउको लागि मात्रै प्रयोग गर्छन् । हप्ताको एकचोटि दाइसँग मिलेर उनी लिचा र पान्जियागाउको सिमानामा रहेको इनारसम्म गाडा गुडाउँदै लगेर खानको लागि ५० लिटरको दुइटा ड्रममा पानी ल्याउँछन् ।

सन् २०१६ को डिसेम्बर २४ को राती असिनाहुरी आएको थियो । भोलिपल्ट डिसेम्बर २५ को दिन आन सिआओकाङ बिउझँदा सडक चिप्लो थियो र असिनाले ढाकेको थियो । त्यो आइतबारको दिन थियो । प्राय: आइतबारको दिन विद्यार्थीहरू विद्यालय जाने र पानी थाप्न जाने गर्छन । तर, बरफले ढाकेको बाटोले गर्दा त्यो दिन पानी लिन जानु खतरनाक थियो । आन जिआनहुआले भनेजस्तो हुन्थ्यो भने उनले पूरै परिवार कुनै समथर ठाउँमा पानीको स्रोत नजिक सार्ने थियो । त्यसपछि नातीहरूले घर छाडेपछि उनको छोराबुहारीले शहरको बाहिरी भागमा केही हल्का काम गर्ने थिए । पुनर्बासको लागि लिचालाई किन वास्ता नगरिएको उनलाई थाहा छैन । बजारको जीवन सबैलाई सहज हुँदैन । काम त्यत्ति पाइँदैन र अवसरहरू टाढाका अन्य शहरहरूमा मात्रै छन् जस्तो लाग्छ । हालै बनाइएका समान किसिमका घरहरू बलियै होलान् तर सार्है अस्थायी देखिन्छन् ।

काङ निङ द पेपरका संवाददाता हुन् । 

द थर्ड पाेल

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="