काठमाडौं । विराटनगर क्षेत्रका ३ उद्याेगले डेडिकेटेड फिडरकाे विद्युत महसुल किस्ताबन्दीमा बुझाउने भएका छन् । प्राधिकरणले डेडिकेटेड फिडरकाे महसुल किस्तावन्दीमा तिर्न पाउने सुविधा उपलब्ध गराएपछि निश्चित अवधि माग गरेर यी उद्याेगले सम्बन्धित वितरण केन्द्रमा आवेदन दिएका हुन् ।
विराटनगरकाे रघुपति जुट मिल्स, दुहबीस्थित अरिहन्त पाेलीप्याक लिमिटेड र अरिहन्त मल्टीफाइबर लिमिटेडले किस्ता बन्दीमा डेडिकेटेड फिडरकाे सेवा लिएबापतकाे महसुल बुझाउन आवेदन दिएकाे विराटनगर प्रादेशिक कार्यालय प्रमुख श्रीराम पाण्डेले बताए । उनका अनुसार यी ३ उद्याेगबाट प्राधिकरणले २१ कराेड ८२ लाख रुपैयाँ बढी महसुल उठाउने छ ।
रघुपतिले ४४ किस्तामा महसुल तिर्ने प्रतिवद्धतासहित आवेदन दिएकाले किस्ताबस्तीमा महसुल तिर्ने सुविधा उपलब्ध गराएको उनले बताए । रघुपतिले प्राधिकरणलाई ११ कराेड ९० लाख ५५ हजार रुपैयाँ तिर्न बाँकी छ ।
यस्तै, अरिहन्त मल्टीफाइबरले २० किस्ताकाे समय मागेकाे छ । याे उद्याेगले प्राधिकरणलाई ३ कराेड ६४ लाख ३२ हजार रुयैयाँ तिर्न बाँकी छ ।
पाेलीप्याकले पनि बाँकी महसुल तिर्न २० किस्ताकाे समय मागेकाे पाण्डेले बताए । यस उद्याेगबाट डेडिकेटेड फिडरबाट विद्युत सेवा लिएबापतकाे ६ कराेड २८ लाख रुपैयाँ प्राधिकरणले पाउनेछ । यी उद्याेगले तिर्न लागेकाे याे रकम डेडिकेटेड फिडरको सेवा लिँदा लाग्ने अतिरिक्त शुल्कबापतको हो ।
यी उद्योगले अब नियमितरुपमा प्राधकिरणलाई डेडिकेटेड फिडरकाे विद्युत महसुल बुझाउनु पर्नेछ । सहमतिअनुसार उद्योगले किस्ताबन्दीमा रकम नबुझाए प्राधिकरण विद्युत वितरण विनियमावली २०६९ (संसोधन सहित) विनियम २० (क) (२) बमोजिम सुरु किस्ता कायम गरिएको रकममा समेत थप दस्तुर लगाएर असुल गरिने पाण्डेले बताए ।
अदालतले उद्योगीको डेडिकेटेड र ट्रंक लाइनकाे महसुल नतिर्न हालेकाे रिट निवेदन खारेज गरेपछि प्राधिकरणले बाँकी बक्यौता उठाउन सम्बन्धित वितरण केन्द्रहरुलाई निर्देशन दिएकाे थियाे । डेडिकेटेड र ट्रंक लाइनको १० अर्ब रुपैयाँ बढी रकम प्राधिकरणले उठाउन बाँकी छ ।
प्राधिकरणको वितरण प्रणालीबाट डेडिकेटेड र ट्रंक लाइनमार्फत २ सय ९८ ग्राहकले विद्युत सेवा लिइरहेका छन् । जसमा उद्योगी, व्यवसासी, सरकारी अस्पताल, सामुदायिक खानेपानी एवं सिँचाइ वर्गका ग्राहक छन् । दैनिक १४ घन्टासम्मको लोडसेडिङका बेला प्राधिकरणले उद्योग तथा अस्पताललाई दैनिक २० घन्टाबढी नियमित विद्युत आपूर्ति हुने गरी डेडिकेटेड फिडरबाट विद्युत सेवा दिएकाे थियो ।
प्रतिक्रिया दिनुहोस