विद्युत आपूर्ति

  • प्राधिकरण :६३४५ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६९९५ मे.वा. घन्टा
  • भारत : ५४९९ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : १८८३९ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

तिहार झिलिमिली बनाउन प्राधिकरणका चार सूत्र

प्रबल अधिकारी कार्तिक २०, २०७५ 5060

चालू वर्षको तिहार तथा लक्ष्मीपूजालाई लक्षित गरी विद्युत आपूर्तिमा चार किसिमको व्यवस्थापन गरिएको छ । गत वर्ष लक्ष्मीपूजाको दिन ११ सय ६५ मेगावाट लोड थियो । यो दिन उद्योगधन्दा नचल्ने हुँदा त्यताको लोड हुँदैन । चालू वर्ष विद्युत प्राधिकरणले १२ सयदेखि १३ सय मेगावाटसम्मको लोड व्यवस्थापन गर्ने योजना बनाएको छ ।

माथिल्लो सीमाभित्र रहेर गरिएको लोड अनुमान हो । खास गरी लोड त्योभन्दा कम हुने अनुमान छ । गत वर्षको तुलनामा चालू वर्ष झन्डै सय मेगावाट प्रणालीको लोड कम छ । मंगलबार दिउँसोसम्म साढे ११ सय मेगावाटमात्रै थियो । गत वर्ष आजकै दिन करिब साढे १२ सय मेगावाटको लोड थियो । कम लोड हुनुमा ग्राहकको विद्युत खपत गर्ने शैली बढी जिम्मेवार छ ।

तिहारलाई लक्षित गरेर आपूर्ति व्यवस्थापन गरिएका क्षेत्रमध्ये पहिलो जनशक्ति तथा स्रोत (रिसोर्स म्यानेजमेन्ट) हो । यसलाई (र्यापिड इभेन्ट ह्यान्डलिङ टिम–आरइएचटी) भनिएको छ । यसमा जनशक्ति तथा उपकरण पर्छन् । जसले तुरुन्तै कुनै क्षेत्रमा बत्ती गए ‘नो लाइट’को प्राविधिक टोली परिचालन गरी आपूर्ति मिलाइनेछ । यो पक्ष गत वर्षभन्दा बढी व्यवस्थित छ ।

बढी समस्या आउने ट्रान्सफर्मर नै हो । प्राधिकरणभित्र पहिला पनि ट्रान्सफर्मरमा धेरै समस्या देखिएको थियो । विगतमा ट्रान्सफर्मर पर्याप्त थिएनन् । अहिले वितरण केन्द्र तथा क्षेत्रीय कार्यालयमा पर्याप्त ट्रान्सफर्मर राखिएको छ । कतै जल्यो वा पड्क्यो भने तुरुन्तै परिवर्तन गर्न सकिन्छ । यसका लागि जनशक्ति तथा सवारी तयारी अवस्थामा राखिएको छ ।

तिहारभरि कर्मचारीलाई कार्यथलो नछोड्न निर्देशन दिइएको छ । छोड्नै परे आफ्नो नातेदारकहाँ बस्दा निरन्तर सम्पर्कमा रहनुपर्ने निर्देशन दिइएको छ । विशेष गरी सबस्टेसन र सञ्चालित विद्युतगृहका कर्मचारीले यसमा ध्यान दिनुपर्नेछ ।

दोस्रो, प्रणालीको अधिकतम उपयोग हो । प्रणाली भए पनि यसको अधिकतम उपयोग हुन सकेको छैन । हामीसँग ‘रन अफ त रिभर’ छन् । पानी भण्डारण गर्ने पोखरी मर्मत गरिएको छैन । सञ्चित गर्नुपर्ने परिमाणको पानी जम्मा भइरहेको छैन । अहिले यसको पनि उचित व्यवस्थापन गरिएको छ । प्रणालीको उपयोगिता वृद्धिले आपूर्तिमा धेरै प्रभाव पारेको हुन्छ । मानौं, सय केभीको ट्रान्सफमरको पूर्ण उपयोग नभए गर्न सकिन्छ ।

तेस्रो, ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन पूर्ण क्षमतामा प्रयोग भइरहेको छैन । यहाँबाट लोडले धाने जति विद्युत आइरहेको छैन । अर्थात्, यसमा प्रणाली उपयोगिता भइरहेको छैन । आवश्यक परे भारतसँग आग्रह गरेर यहाँबाट पनि थप विद्युत आयात गर्न सकिन्छ ।

चौथो, विद्यमान थर्मल प्लान्ट सञ्चालनलाई पनि प्रणाली उपयोगितामा राखिएको छ । दुहबी मल्टिफ्युल अहिले सञ्चालन हुने अवस्था छैन । तर, हेटौंडा डिजेल प्लान्ट तयारी अवस्थामा राखिएको छ । लक्ष्मीपूजाका दिन आवश्यक परे यो प्लान्ट चलाउन सकिन्छ ।

हाम्रो प्रणाली जतिसुकै राम्रो भने पनि कमजोर छ । प्राविधिक कमजोरी हुन सक्छ । प्रणालीमा लचकता (फ्लेक्जिबिलिटी) छैन । मानौं, गत वर्ष भक्तपुर सबस्टेसनमा मुसाले गर्दा खराबी आयो । यस्ता खालका समस्या आए सेवा अवरुद्ध हुन्छ । विगतबाट पाठ सिकेर तयारी अवस्थामा बस्नुपर्छ ।

यहाँ प्रणालीको लचकता छैन । एउटा स्रोतमा समस्या आए अर्कोबाट विद्युत दिने अवस्था छैन । एउटा ट्रान्सफर्मर फेल भए तुरुन्तै अर्कोबाट आपूर्ति दिने व्यवस्था हुँदैन वा एउटा फिडर आउट हुँदा अर्कोबाट दिने अवस्था छैन । यसो हुँदा समस्या आइरहन्छ । यसैले पनि हामीले विशेष दिनका लागि व्यवस्थापन गर्नैपर्छ । प्रणालीमा शतप्रतिशत दिगो पन छ भनेर ठोकुवा गर्नै सकिँदैन ।

विकसित देशमा दिगो प्रणाली भनेको एउटा गन्तव्य हो । नेपाल जस्तो अल्पविकसित देशका लागि प्रणाली गन्तव्य होइन । यात्रा हो । हामीले धेरै काम गर्न बाँकी छ । प्रणाली लचकदार बनाउनुपर्छ । ‘एन माइनस वान क्राइटेरिया हुनुपर्छ । यो भनेको प्रणालीको एउटा कम्पोन्नेन्ट वा पक्ष फेल भए अर्कोले काम गर्ने भन्ने हो ।

मानौं, कुलेखानी फेल भयो भने अर्को विकल्प छैन । यसअघि कुलेखानी दोस्रो महिना दिन बन्द भयो । अहिले कालीगण्डकीमा समस्या आए तिहार खल्लो हुन्छ । केही समयअघि त्रिशूली विद्युतगृहमा आगो लाग्यो । कहिले लैनचौरमा समस्या आयो । कुनै पनि प्रणालीमा लचकता छैन । एउटामा समस्या आए तुरुन्त अर्कोबाट आपूर्ति दिने ‘ब्याक अप’ कम छ । यसैले पनि यसमा बढी ध्यान पुर्याइएको छ ।

अहिले उपत्यकाका केही ठाउँमा एकातिर आपूर्ति बन्द भए अर्कोबाट व्यवस्था गरिएको छ । जस्तो, महाराजगन्ज क्षेत्रमा बालाजु सबस्टेसनबाट आउने विद्युत आपूर्तिमा समस्या देखिए चपली–महाराजगन्ज ‘अन्डर ग्राउन्ड डबल सर्किट’ बाट दिन सकिन्छ । यो सञ्चालनमा ल्याइएको छ ।

अन्य ठाउँमा पनि यो व्यवस्था गरिएको छ । लोड सिफ्टिङमा पनि ध्यान दिइएको छ । एकातिर ओभरलोड तर अर्कोतिर खाली छ भने लोड सार्ने गरिएको छ । मुलपानी सबस्टेसनको लोड चाबहिल र ठिमी सबस्टेसनको लोड पाटन सबस्टेसनमा सारिएको छ ।  यसो हुँदा भक्तपुर सबस्टेसनको लोड घट्न गएको छ ।

भक्तपुरका केही ठाउँमा त्यहाँबाट आपूर्ति मिलाउनुपर्नेमा पाटनबाट मिलाइएको छ । गत वर्ष लोड बढी भएर ठिमी क्षेत्रमा ट्रिपिङ भयो । राताराता यो काम गर्न नसकिने हुँदा लोड स्थानान्तरण उत्तम विकल्प हो । ठिमी सबस्टेसनमा बस कप्लर जडान गरे पनि सञ्चालन गरिएको थिएन । अहिले तिहारलाई लक्षित गरी सञ्चालन गरिएको छ ।

यसैगरी, विगत दुई वर्षदेखि मर्मत नगरिएका बानेश्वर, बालाजु र लैनचौरका सर्किट बे्रकरहरू मर्मत गरिएको छ । स्यूचाटार र टेकु सबस्टेसनको ट्रान्सफर्मरमा तेल थपिएको छ । स्यूचाटारस्थित ट्रान्सफर्मर बुस मर्मत गरिएको छ । र, स्यूचाटार, भक्तपुर र पाटन सबस्टेसनको ‘बस बार’को कन्डक्टर मर्मत गरिएको छ । लैनचौर सबस्टेसनमा केबल सिफ्ट र ब्रेकर मर्मत गरिएको छ ।

उल्लेखित पक्षलाई ध्यानमा राखेर विद्युत आपूर्ति नियमित गर्ने योजना छ । यसलाई  अहिले सम्मकै उच्च व्यवस्थापन मान्न सकिन्छ । यद्यपि, आपूर्तिमा परिमाणका हिसाबले समस्या छैन । गत वर्ष लक्ष्मीपूजा अहिलेभन्दा केही छिटो थियो । तराईमा पंखा चलेको थियो । अहिले तराईमा चिसो सुरु भयो । पंखा चल्न छोडिसकेको छ । यसले पनि लोड मिलाउन सहयोग पुर्याएको छ । चालू वर्ष कात्तिकमा लक्ष्मीपूजा परेकाले पनि सजिलो भयो । समग्रमा उपभोक्ता सचेत र उपभोगमैत्री भएकाले व्यवस्थापन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस

loading...
sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="