Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :८३२२ मे.वा. घन्टा
  • निजी क्षेत्र : ५७१५ मे.वा. घन्टा
  • भारत : १०२९६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २४३३३ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

‘दोना हिमताल’ फुट्ने संकेत, मर्स्याङ्दी जलाधारका आयोजना ध्वस्त हुने खतरा

ऊर्जा खबर बैशाख ०५, २०७६   4967

खोज



काठमाडौं– मनाङको धारापानी भन्दा माथिल्लो तटमा फैलिएको ‘दोना’ नामको हिमताल फुट्ने सम्भावनासँगै यस क्षेत्रमा निर्माण भएका र निर्माणाधीन जलविद्युत आयोजना ध्वस्त हुने खतरा बढेको छ ।

मर्स्याङ्दी नदी जलाधारमा पर्ने उक्त हिमतालको सतह हरेक वर्ष बढ्दै गएकाले फुट्ने खतरा देखिएको हो । मनाश्लु हिमालको नजिक रहेको हिमताल ‘ठुलागी ग्ल्यासियर’ का नामले पनि चिनिन्छ ।

समुद्र सहतदेखि करिब ४ हजार ४४ मिटर उचाईमा रहेको तालको लम्बाई साढे २ किलोमिटर र चौडाई करिब ६ सय मिटर छ । हरेक वर्ष तालको सतह बढिरहेकाले कुनै पनि समय फुट्न सक्ने भौगर्वविद् तथा हिमालयन रिसर्च एक्सपेडिसनका अध्यक्ष धनञ्जय रेग्मीले बताए ।

‘हाम्रो टोलीले त्यहाँ पुगेर हरेक ३–३ महिनामा पानी नाप्ने गरेको छ, अध्ययनअनुसार हरेक वर्ष तालको आकार बढ्दो छ,’ उनले ऊर्जा खबरसँग भने, ‘कुनै बेला पनि फुट्न सक्ने हुँदा तल्लो तटमा निर्माण भएका जलविद्युत आयोजना तहसनहस हुन सक्छन् ।’

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को अध्ययन अनुसार दोना हिमताल फुट्न सक्ने तेस्रो खतराको सूचीमा  छ । छ्यो रोल्पा र इम्जा हिमताल पहिलो र दोस्रो खतराको सूचीमा छन् । यसअघि नेपाली सेना र भौगर्भिक विज्ञहरूको सहयोगमा यी दुवै तालको पानी निकास गरी खतरा न्यूनिकरण गरिएको थियो ।

दोना तालको खतरा पनि सरकारले समयमै न्यूनिकरण गर्नुपर्ने रेग्मीको सुझाव छ । तालबाट पानी निकास गर्ने वा त्यहाँको पानी प्रयोग गरेर जलविद्युत उत्पादन गर्ने लगायत विकल्प अघि सारिएको छ । राज्यलाई फाइदा हुने हुँदा यहाँबाट जलविद्युत उत्पादन दिगो व्यवस्थापन हुने उनको विश्लेषण छ ।

हिमताल व्यवस्थापन गर्न हिमालयन रिसर्चले जलविद्युत उत्पादन गर्न प्रारम्भिक अध्ययनसमेत गरेको छ । सन् २०१७ को अध्ययन अनुसार तालमा वार्षिक ३ करोड ६० लाख क्यूबिक मिटर पानी उपलब्ध हुन्छ । ७३ मिटर गहिराईको तालको ३६ मिटर तलबाट पानी तानेर जलविद्युत उत्पादन गर्न सकिने गरी अध्ययन गरिएको छ ।

तालको पानी प्रयोग गरी जलविद्युत उत्पादन गरे मस्र्याङ्दी उपत्याकाको संरक्षण हुनुका साथै सम्भावित मानवबस्तीको क्षति कम गर्न सकिने अध्ययनमा उल्लेख छ । ताललाई जलाशयकै रूपमा प्रयोग गरी त्यहाँबाट ४५ मेगावाट विद्युत उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ ।

हिमालयन रिसर्चका अनुसार ३ ठाउँमा विद्युतगृह निर्माण गरी १५–१५ मेगावाट विद्युत उत्पादन गर्न सकिनेछ । उपकरण वा निर्माण सामग्री ढुवानी गर्न केबलकार वा रोप वे बनाउन उपयुक्त हुने अध्ययनले सुझाएको छ । यसबाट आयोजनाको लागतसमेत कम गर्न सकिने उल्लेख छ ।

जलाशय आयोजना निर्माण, वर्षैभरि पूर्ण क्षमतामा विद्युत उत्पादन हुने तथा सेटलिङ बेसिन (बालुवा थिग्र्याउने पोखरी) निर्माण गर्नुनपर्ने लगायत यसका फाइदा देखाइएको छ । जलविद्युत उत्पादन गर्न भौगर्भिक र भौगोलिक अवस्था समेत राम्रो रहेको औंल्याइएको छ ।

आयोजना निर्माण गर्ने उद्देश्यले हिमालयन रिसर्चले विद्युत विकास विभागमा अध्ययन अनुमतिपत्र लिन आवेदन दिएको छ । तर, विभागले प्रभावित क्षेत्र अर्को आयोजनासँग जोडिन वा खप्टिन जाने भन्दै अनुमति दिन इन्कार गरेको रेग्मीले बताए । ‘हामीले राज्यले गर्ने वा देशलाई फाइदा हुने काम गर्छौं भन्दा अनुमति दिइँदैन,’ उनले भने ।

ठूला जलाशयबारे विवाद भइरहेका बेला उक्त आयोजना निर्माणमा सरकारले प्रयास गरे राज्यका लागि ठूलो उपलब्धि हुने देखिन्छ । अर्कोतर्फ, ताल फुट्ने खतरा दिगो रूपमा समाधान भई तल्लो तटमा निर्माण भएका र निर्माणाधीन आयोजनाको जोखिम समाधान हुनेछ । उता विद्युत उत्पादनमा सरकारले राखेको लक्ष्य पूरा गर्न पनि यसले सहयोग पुर्याउनेछ ।

तल्लो तटका आयोजना

दोना हिमताल तथा मर्स्याङ्दी जलाधारमा आधा दर्जन आयोजना निर्माण भइसकेका छन् । साथै, स्वदेशी तथा विदेशी लगानीमा दर्जनौं आयोजना निर्माणाधीन छन् । ताल व्यवस्थापन नभए यी आयोजनामा ठूलो क्षति पुग्नेछ । र, नदी किनारका बस्तीहरू समेत तहसनहस हुने खतरा छ ।

मर्स्याङ्दी बेसिनमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी र चिनियाँ कम्पनी सिनो हाइड्रोले निर्माण गरेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ सञ्चालनमा छन् । निजी क्षेत्रले निर्माण गरेका अन्य साना आयोजना पनि यस जलाधारमा सञ्चालित छन् ।

यसैगरी, मर्स्याङ्दी जलाधारमा सय मेगावाटको मनाङ मर्स्याङ्दी, १ सय ३८ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी, ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी –२ लगायत आयोजना निर्माणाधीन छन् । मर्स्याङ्दीमा मिसिने दोर्दी, राधी, न्यादी लगायत खोलामा पनि दर्जन बढी आयोजना निर्माणाधीन छन् ।

दोना हिमताल फुटे यी आयोजना ध्वस्त हुने त पक्का छ । यसले सरकार र निजी क्षेत्रको अर्बौं रुपैयाँ लगानी पनि पानीमा बग्ने देखिन्छ । यसर्थ, सरकारले समयमै हिमतालको उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

निर्माण चुनौती

दोना ताल समुद्र सतहदेखि ४ हजार ४४ मिटर उचाइमा रहेकाले जलविद्युत आयोजना निर्माणमा उपकरण ढुवानी गर्न ठूलो चुनौती छ । तालको सतहभन्दा करिब ३६ मिटर तलबाट पानी तान्नुपर्ने हुँदा त्यहाँ पेनस्टक पाइप तथा अन्य उपकरण जडान गर्न हेलिकोप्टर नै प्रयोग गर्नुपर्ने अध्ययनको निष्कर्ष छ ।

हेलिकोप्टर नै प्रयोग गरे पनि पहुँचमार्ग निर्माण गर्नुभन्दा सस्तो पर्छ । आयोजनास्थलसम्म सडक पुर्याएर जलविद्युत आयोजना निर्माण गर्नु त्यति सम्भाव्य नदेखिने पनि अध्ययनको निचोड छ ।

निर्माण सामग्री रोप बे वा केबलकारबाट लैजान सकिन्छ । तर, ठूला उपकरण ढुवानी र जडान गर्न हेलिकोप्टर प्रयोग गर्नुपर्ने रेग्मीको भनाइ छ । यहाँ वातावरणीय दृष्टिले भने कुनै हानी नोक्सानी नहुने अध्ययनको निचोड छ । सबै संरचना भूमिगत हुने हुँदा मानव बासस्थान, बोटविरुवा वा वन्यजन्तुमा कुनै असर पर्दैन ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="