Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :६३९६ मे.वा. घन्टा
  • निजी क्षेत्र : ६२२२ मे.वा. घन्टा
  • भारत : ८४८४ मे.वा. घन्टा
  • ट्रिपिङ : ८० मे.वा. घन्टा
  • माग : २११८२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

डुन्डुवा सिँचाइको ठेक्का प्रकरण, ‘पप्पु कन्स्ट्रक्सन’को १० करोड धरौटी जफत गरिँदै

ऊर्जा खबर कार्तिक २६, २०७५   3569

जलस्रोत



नेपालगन्ज (बाँके)– जलस्रोत तथा सिँचाइ विभागले सिँक्टा अन्तर्गतको डुन्डुवा सिँचाइ प्रणालीको ठेक्का तोडेपछि ठेकेदारको धरौटी जफत गर्ने प्रक्रिया सुरु गरेको छ ।

ठेकेदार कोस्टल–पप्पु जेभीको करिब १० करोड रुपैयाँको धरौटी जफत गर्न लागिएको हो । लक्ष्यअनुसार काम नगरेपछि विभागले कात्तिक २१ गते कम्पनीसँगको सम्झौता तोड्ने निर्णय गरेको थियो ।

कामलाई निरन्तरता दिनुपर्ने हुँदा तुरुन्तै नयाँ ठेक्का प्रक्रिया सुरु गरिने विभागका महानिर्देशक सरोज पण्डितले बताए । ‘काम नगरेपछि हामीले ठेक्का तोड्ने निर्णय गर्यौं, ठेकेदारलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अनुरोध गरिनेछ,’ उनले भने, ‘उसले काम नगरेको विषय असुल उपर गर्नेबारे कानुनसँग राय लिएर अघि बढिनेछ ।’

जमानत वा धरौटी जफत गर्नेबारे प्रक्रिया सुरु भइसकेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी प्रकाशबहादुर कार्कीले बताए । ‘कूल ठेक्का रकम करिब ९८ करोड ८१ लाख रुपौयाँ हो, यसमध्येको १० प्रतिशत ९ करोड ८८ लाख रुपैयाँ धरौटी जफत हुन्छ,’ उनले भने, ‘एक–दुई दिनमै जफत हुन्छ ।’

सिक्टा राष्ट्रिय गौरवको सूचीमा रहेको देशकै ठूलो सिँचाइ आयोजना हो । यसअन्तर्गत विगत दुई वर्षदेखि डुन्डुवा सिँचाइ प्रणाली सुधारको काम भइरहेको थियो । उक्त काम ठेकेदारले आलटाल गर्दै आएको र यसबाट आयोजना प्रभावित भएको छ ।

पप्पु कन्स्ट्रक्सनले निर्माण गर्दा गर्दै अलपत्र छाेडेकाे सिक्टाकाे डुन्डुवा शाखा नहर

विभागका अनुसार ९८ करोड ८१ लाख रुपैयाँमा सन् २०१६ जुन २० तारिख (२०७३ असार ६ गते) मा सम्झौता भएको थियो । ठेकेदारले सन् २०१८ अक्टोबर ८ (२०७५ असोज २२ गते) सम्म जम्मा ६.९ प्रतिशतमात्र काम गरेको थियो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) तथा ठेक्का सम्झौताको एफआइडिआइसीको बुँदा नं. १५.२ (बी) अनुसार ठेक्का अन्त्य गरिएको विभागको निर्णयमा उल्लेख छ । ठेक्का तोडिएसँगै निर्माण व्यवसायीले राखेको जमानतबापतको सम्पूर्ण रकम जफत गर्ने निर्णय पनि भएको छ ।

डुन्डुवा खोलाबाट बग्ने ३ क्यूमेक्स पानीबाट बाँकेमा सिँचाइ पुर्याउने गरी सुरुमा काम अघि बढाइएको थियो । साउदी फन्डको सहयोगमा लक्षित काम नभएपछि फन्डले सहयोग उपलब्ध गराउन नसक्ने जनाएको थियो ।

पछिल्लो समय सिक्टाबाट आउने पानीमध्ये १५ क्यूमेक्स डुन्डुवामा मिसाएर बाँकेको करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य छ । जुन काम अहिले पप्पुले अलपत्र छोडेको छ ।

याे पनि पढ्नुहाेस्

सिक्टा अन्तर्गत डुन्डुवा सिँचाइको ठेक्का तोडियो, ठेकेदार ‘पप्पु कन्स्ट्रक्सन’ कालोसूचीमा

प्रतिक्रिया दिनुहोस