Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९३७४ मे.वा. घन्टा
  • निजी क्षेत्र : १०२६० मे.वा. घन्टा
  • भारत : ६८६६ मे.वा. घन्टा
  • ट्रिपिङ : ९० मे.वा. घन्टा
  • माग : मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

बिजुली र विकासको कोरियोग्राफी

श्रावण २६, २०७६   1599 लेख


गोपाल सञ्जेल

कोरियोग्राफी

ad

पेल्ट्रिक सेटबाट दुई–चार किलोवाट क्षमताका बिजुली बाल्ने लहरै चल्यो, दक्षिण ललितपुरमा । केन्द्रीय प्रसारण लाइनको बिजुली त कल्पनै गरिएको थिएन । वास्तवमा पेल्ट्रिक सेट उज्यालो मात्रै थियो । बिजुली थिएन । प्रविधि पनि कच्चा थियो । खोलाखोल्सी वरिपरि दुई–चार सय मिटर आसपासमा सामान्य उज्यालो गुजारा गर्न मिल्ने प्रविधि हो, पेल्ट्रिक सेट । यो पनि ठूलै विकास ठानियो, त्यतिबेला । तर, चट्याङले भटाभट ध्वस्त गर्यो । ठूलै विकास ठानिएको कार्यमा धक्का लागेपछि गम्भीर प्रश्न उठ्यो, विकल्प के ?

यही प्रश्नको जवाफ हो, दक्षिण ललितपुर ग्रामीण विद्युतीकरण । तत्कालीन जनप्रतिनिधि र अगुवा व्यक्तिको सामुहिक पहल त्यो पनि लामै समय जुत्ताका तलुवा खियाउँदाको परिणाम पनि । इच्छाशक्ति तीव्र थियो । लगाब बिछट्टै थियो । तर, बिना कोरियोग्राफी । केवल अभाव पूर्ति गर्ने इरादा ।

कतिबेला उदेक लाग्यो भने बिजुली मात्रै होइन, विकास सबै विषय र विधिका अवयव सिहंदरबारको दया र विवेकको याचनाभित्र कैद गरिएको यथार्थता पाउँदा हामी आफँै अवाक् भयौँ । तर, निराश भएनौं । बरु विद्युतीकरणको क्षेत्रमा नयाँ डिस्कोर्स सुरु भयो । शब्दको नयाँ पदापवली स्थापित भयो, ग्रामीण सामुदायिक विद्युतीकरण । विद्युतीकरणमा सामुदायिक सहभागिता ।

निरन्तरता नै सार्थकता

जुत्ताका तलुवा खियाइएको कुरो भजन गाउन खोजिएको होइन । तर, निर्दिष्ट उदेश्यमा निरन्तरता दिइयो भने परिणाम हात लाग्न करै लाग्छ । एउटा ठूलै लगाव र समर्पणको परिणाम हो, दक्षिण ललितपुरको विद्युतीकरण । यसो विगतलाई नियाल्दा यति भन्न सकिन्छ कि यदि त्यतिबेला यहाँको विद्युतीकरण योजना त्यसमा पनि सहकारीमार्फत सामुदायिक अवधारणामा बनाइएको थिएन । आजसम्म पनि सिहंदरबारले दक्षिण ललितपुरको बिजुली बाल्ने योजना बनाउने थिएन ।

देवीचौरको बुरुन्चुलीसम्म बिजुली पुगेको थियो । जौबारीसम्म पुग्थ्यो होला तर घुसेल किमार्थ पुग्थेन । यता कोटडाँडा तीनपाने भन्ज्याङ काटेर भट्टेडाँडा पुग्ने त कल्पनै गर्न सकिन्न । उता लेलेको तिलेश्वरसम्म बिजुली पुगेको थियो । धेरै कसरत गर्दा नल्लु वा भारदेउसम्म पुग्थ्यो होला तर चौघरे पुग्न महाकठिन थियो ।

अलि ढिला भयो होला । भनेको बेला भएन होला । तर, आज बागमती किनारका प्युटार, आस्राङ, गिम्दी र ठूलादुर्लुङसम्म बिजुली पुगेको छ । यदि विद्युत सहकारी थिएन, सामुदायिक विद्युतीकरणको योजना थिएन भने आज पनि दक्षिण ललितपुर अँध्यारोमै हुन्थ्यो ।

गम्भीर प्रश्न पनि उठ्थ्यो कि यो एक दशकमा प्रविधिले निकै फड्कोे मारेको छ । मोबाइल, डिसहोम टिभी र यातायातसँगै बिजुली नहँुदा के हालत हुन्थ्यो होला ? शिक्षा, स्वास्थ्य, कृषि, बाटो, पुल, पुलेसाजस्तो अलि होइन बिजुलीको योजना । उच्च प्रविधि र त्यसमाथि ठूलो बजेट एकैसाथ जुट्नुपर्ने ।

सिहंदरबारको पनि आजसम्म हैरानीको विषय हो बिजुली । तर, दक्षिण ललितपुरको विद्युतीकरणले राज्यको नीतिगत तहमा फेरबदल गर्न र नयाँ ढंगले काम गर्न बाध्य भयो । सामुदायिकस्तरबाट नीतिगत तहमा गरिएको यो सर्वथा नयाँ योगदान हो ।

स्थानीय सरकार : विकासको कोरियोग्राफर

कोरियोग्राफी शब्द नृत्य विधाबाट लिइएको हो । यसको अर्थ नृत्यका कदमको चाल भन्ने अर्थ लाग्छ । विकासमा पनि यसको विधागत कदमका चाल चाल्न सकिन्छ । यसको मसिनो डिजाइन गर्न सकिन्छ मात्रै होइन, गर्न जरुरी छ । तहगत रूपमा पाइला चाल्न र त्यसको चाल निर्धाराण गर्न सक्नु नै विकासको गति हो । विधिवत् सहज बाटो हो ।

त्यतिबेला स्थानीय निकाय थियो । अहिले स्थानीय तह र सरकार छ । अब स्थानीय विकास कोरियोग्राफी स्थानीय सरकारले गर्नुपर्छ । विधागत रूपमा विकासका पाइलाका कदम चाल्न योजनाबद्व थालनी नै पहिलो सर्त हो । लहड, तजबिज, दया, विवेक, सन्की, मुखका भरमा विकासको योजना बन्ने र बनाइने प्रवृत्ति, शैली र तरिका अबको समयमा हुन सक्दैन ।

स्थानीय सरकार त्यसै भनिएको र खडा भएको होइन । उसले यसका खाका कोर्न विज्ञ र विशेषज्ञको परामर्श लिनैपर्छ । किनकि राजनीतिले अवधारणा बनाउने हो । सपना देख्ने हो । खाका बनाउने र योजनाको ढाँचामा ढाल्ने काम विज्ञ र विशेषज्ञले गर्छन् । कि त कर्मचारी प्रशासनले गर्छन् । जनप्रतिनिधि हुँदैमा सबै क्षेत्र र विधाका ज्ञान हुन सक्छ भन्ने हुन्न । तर, त्यसो गर्न अन्य पक्ष र क्षेत्रबाट समन्वय गर्दै योजनाको निरुपण गर्ने दक्षता भने हासिल गर्नैपर्छ । त्यो नै सफल जनप्रतिनिधि हो ।

यदि १५ वर्ष स्थानीय तहमा जनप्रतिनिधि रिक्त नभइदिएको भए दक्षिण ललितपुरको विद्युतीकरणले उहिलै पूर्णता पाउने थियो । विद्युतीकरणसँगै यसका परिप्रयोगबाट गर्ने आर्थिक विकासले गति लिइसक्ने थियो । व्यवसाय प्रवद्र्वन र विकासका लागि विद्युत पहिलो सर्त हो । त्यसको उचित व्यवस्थापन गर्ने कार्य स्थानीय सरकारको हो । आर्थिक सामाजिक विकासको संयोजन गर्ने पनि स्थानीय सरकारले नै हो ।

अबको कोरियोग्राफी

दक्षिण ललितपुर स्रोतका हिसाबले सम्पन्न छ । तर, यहाँ पुँजीको अभाव छ । गाउँको स्रोत र सहरको पुँजी संयोजन गर्दा मात्रै सम्पन्नताको आधार बन्छ । गाउँ र सहरबीच स्रोत र पुँजीको संयोजन नगर्दा हाम्रो विकासको तुलो असन्तुलित भएको हो ।

त्यसैले, महानगर र दुई नगरले तीन गाउँपालिकासँग स्रोत र पुँजीको संयोजन गर्न अनि निजी क्षेत्रसँगको साझेदारीका पहलकदमी थाल्नुपर्छ । यही ढाँचाले नै विकासमा सिनर्जी प्राप्त गर्दछ । यसको प्रचुर सम्भावना भनेको पर्यटन क्षेत्र हो । ग्रामीण र सहरी पर्यटनले गति लिँदा जिल्लाको सामाजिक आर्थिक स्थितिले कायापलट हुनेमा सन्देह हुन्न । यसैले कोरियोग्राफी गर्न थालौँ न !

सञ्जेल, दक्षिण ललितपुर ग्रमीण सहकारी संस्था लि.का पूर्वअध्यक्ष हुन् । (याे लेख सामुदायिक विद्युत पत्रिकाबाट साभार गरिएकाे हाे)

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="