Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :१०१७७ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८९६३ मे.वा. घन्टा
  • भारत : १३१२ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०४५२ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

प्राधिकरणको आम्दानीमा आयोगको अंकुस, तोकेभन्दा बढी नाफा गर्न नपाउने

ऊर्जा खबर कार्तिक २०, २०७६   2211

खबर



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वार्षिक आम्दानी तथा नाफामा विद्युत नियमन आयोगले अंकुस लगानी गरी नयाँ नियम सार्वजनिक भएको छ । आयोगले ल्याएको ‘विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६’ मा यस्तो व्यवस्था गरिएको हो ।

अहिले गार्हस्थ उपभोक्ताले प्रतियुनिट १५ देखि २० रुपैयाँसम्म महसुल तिर्दै आएका छन् । डेरामा बस्ने उपभोक्ताले तिर्नुपर्ने महसुलबारे अहिलेसम्म प्राधिकरणले कुनै नियमन तथा अनुगमन गरेको छैन । साना ग्राहकको हकसमेत सुनिश्चित गर्दै प्राधिकरणको आम्दानी, नाफा र महसुल दर निर्धारण गर्ने आयोगको योजना छ ।

ad

विद्युत नियमन आयोग ऐनअनुसार वर्षको एक पटकभन्दा बढी महसुल निर्धारण गर्न पाइँदैन । यसरी निर्धारण गर्दा वार्षिक आम्दानी, खर्चको लेखाजोखा, नाफा लगायत विषय समेट्नुपर्ने छ । जसले बढी आम्दानी वा नाफा गरेर ग्राहकलाई महँगो महसुल तिराउने प्रणालीलाई पूर्णरूपमा नियन्त्रण गर्नेछ ।

प्राधिकरण सरकारी निकाय भएकाले यो बढी नाफामुखी भन्दा सेवामुखी हुनुपर्ने आयोगका एक सदस्यले बताए । ‘सेवा दिनुपर्ने भन्दै संस्था पूरै घाटामा जाने गरी काम गर्नु पनि भएन,’ उनले भने, ‘वार्षिक आम्दानी र खर्चको अनुपात तथा नाफा सीमित हुनुपर्छ । जति बढी नाफा हुन्छ त्यो प्रणाली सुधार र उपभोक्ताले तिर्ने महसुलमा सार्नुपर्छ ।’

उल्लेखित नियमले महसुल सस्तो हुनुका साथै यसबाट ग्राहकलाई न्याय पनि हुने ती सदस्यले बताए । तर, आवको बीचमा महसुल निर्धारण भए वा प्राधिकरणले तोकेको वार्षिक आम्दानी नपुग्ने भए अर्को आवमा त्यसको परिपूर्ति वा शोधभर्ना हुने गरी महसुल निर्धारण गरिने निर्देशिकामा उल्लेख छ ।

प्राधिकरणले वार्षिक आम्दानी र खर्चको यर्थात विवरण पेस गरेपछि मात्र आयोगले महसुल निर्धारणको अन्तिम निर्णय गर्नेछ । आयोगले निर्देशिकाको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग राय सुझाव संकलन गर्न वेब साइटमा समेत राखेको छ । मंगलबार (कात्तिक १९ गते) बसेको आयोग सञ्चालक समिति बैठकले एक साताभित्र (कात्तिक २५ गते) सम्म राय सुझाव तथा प्रतिक्रिया पठाउन आग्रह गरेको छ ।

प्राधिकरणको शनिबार (कात्तिक १६ गते) बसेको सञ्चालक समितिको बैठकले आयोगसमक्ष डेडिकेटेड फिडरको नयाँ महसुल सिफारिस गर्ने निर्णय गरेको छ । तर, आयोगले सबै खालका ग्राहकको महसुल निर्धारण तथा समायोजन हुने गरी निर्देशिका ल्याएको छ । निर्देशिकाले महसुल निर्धारण गर्दा विद्युत आपूर्तिमा गुणस्तरको सुनिश्चितता, व्यावसायिकता तथा प्रभावकारितामा अभिबृद्धि, प्रणाली सुधारमा हुने लगानी स्रोत परिचालनको अवस्था, प्रतिफल लगायत विषयलाई महत्त्वका साथ उल्लेख गरिएको छ ।

सरोकारवालाबाट राय सुझाव प्राप्त भएपछि सार्वजनिक सुनुवाई गर्ने र निर्देशिकालाई अन्तिम रूप दिने आयोग प्रवक्ता रामप्रसाद धितालले बताए । ‘निर्देशिका प्राधिकरणको वित्तीय स्वास्थ्य सुधारमा सहायक सिद्ध हुनेछ,’ उनले ऊर्जा खबरसँग भने, ‘प्राधिकरणको आम्दानी सुनिश्चितता, ग्राहकको हित र वैज्ञानिक महसुलबीच सन्तुलन कायम गर्न पनि निर्देशिकाले सहयोग पुर्याउनेछ ।’

निर्देशिका अनुसार आयोग समक्ष महसुल निर्धारणका लागि निवेदन पेस गर्दा पछिल्लो दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, चालू तथा आगामी आवको प्रक्षेपित वित्तीय विवरणलाई आधार मानिनेछ । तर, प्राधिकरण (वितरण अनुमतिपत्र प्राप्त व्यक्ति) को पछिल्लो आवको लेखापरीक्षण नभए व्यवस्थापनले प्रमाणीकरण गरेको वित्तीय विवरणलाई समेत मान्यता दिइनेछ ।

महसुल निर्धारण गर्न उपभोक्ताको वर्ग अनुसारको बिक्रीबाट हुने आम्दानीलाई पहिलो प्राथमिकता दिइएको छ । यसमा क्षमता माग शुल्क (क्यापासिटी डिमाण्ड चार्ज) र ऊर्जा उपभोग शुल्क (इनर्जी चार्ज) समेत समेटिनेछ ।

महसुल निर्धारण गर्दा प्राधिकरणको लगानीबाट हुने वार्षिक प्रतिफल, सम्भावित स्रोतबाट हुने आम्दानी, स्रोत अनुसार विद्युत खरिद दर परिणाम, विद्युत उत्पादन, प्रसारण तथा वितरण खर्चलाई आधार मान्नेछ । यसैगरी, ह्रास कट्टी दर तथा रकम, साँवा ब्याजको भुक्तानी रकम, कर्मचारी र कार्यालय सञ्चालन तथा मर्मत संभार खर्च, लगानीमा अपेक्षित वार्षिक प्रतिफल प्रतिशत र रकमलाई पनि आधार मान्ने उल्लेख छ ।

आयोगले अन्तिम महसुल दर निर्धारण नगर्दासम्म अहिलेकै दर लागू हुनेछ । जसमा साना र ठूला ग्राहकको महसुल दरको भिन्नता फराकिलो छ । नयाँ महसुल दर कायम भएपछि प्राधिकरणले त्यही अनुसार उपभोक्तालाई बिल काट्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="