Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण :९९०९ मे.वा. घन्टा
  • निजी क्षेत्र : ८७३५ मे.वा. घन्टा
  • भारत : १५५६ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २०२०० मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

वर्षा र बाढीले विद्युतीय संरचनामा क्षति, दुर्गम गाउँ अन्धकार

ऊर्जा खबर असार २, २०७६   1544

जलविद्युत



काठमाडौं- मनसुन सक्रिय भएपछि केही दिनदेखिको अविरल वर्षाले नेपाल विद्युत प्राधिकरणको प्रसारण तथा वितरण लाइनका विद्युतीय संरचनामा क्षति पुर्याएको छ । वर्षा र बाढीले देशको पूर्वि तथा मध्य भागमा चालु अवस्थाका संरचनामा क्षति पुगेको हो ।

बाढीले ठाउँ–ठाउँमा वितरण लाइनका १ हजारभन्दा बढी विद्युतीय पोल ढालेको प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले बताए । उनका अनुसार केही स्थानमा प्राधिकरणको सबस्टेसनमा बाढी पसेको छ ।

ad

‘३ दिने वर्षाले आपूर्ति व्यवस्थापनमा समस्या थियो,’ उनले ऊर्जा खबरसँग भने,‘ विस्तारै अवस्था सहज हुँदैछ । प्राविधिक टोली पुग्न नसकेका दुर्गम ग्रामीण भेगमामात्रै सेवा सुचारु हुन अझै केही दिन लाग्छ ।’

प्रसारण तथा वितरण प्रणाली अवरुद्ध हुँदा विद्युत लोड ३ सय मेगावाटले घटेको अधिकारीले बताए । अहिले अधिकांश सहरी क्षेत्रकाे सेवा सुचारु भइसकेकाे उनले बताए ।

बाढीले पुर्याएकाे क्षतिकाे विवरण 

मोरङको उर्लाबारीमा १५ वटा विद्युतीय पोल बाढीले बगाएको छ । उर्लाबारी वितरण केन्द्रको राजघाट फिडरको पोल बगाउँदा आपूर्ति बन्द भएको प्राधिकरण विराटनगर क्षेत्रीय कार्यालय प्रमुख सचितानन्द यावदले बताए । उनका अनुसार अहिले राजघाट क्षेत्रमा अर्को फिडरबाट आपूर्ति सुचारु गरिएको छ ।

यस्तै, रंगेलीको महादेवामा पनि १० वटा विद्युतीय पोल बाढीले बगाएको छ । पोल बगाउँदा रंगेली क्षेत्रको विद्युत सेवा प्रभावित भएको यादवले बताए । केही स्थानमा ढलेका रुखले वितरण लाइनमा क्षति पुगेको छ । त्यस्ता स्थानमा रुख हटाएर लाइनको मर्मत गरी सेवा सुचारु गरिएकाे छ ।

दुहबी ग्रिड सबस्टेसनकाे स्वीचयार्ड पानीले डुबाएकाे छ । सबस्टेसनमा पानी भरिए पनि निकास हुन पाएकाले बन्द गर्नु पर्ने अवस्था नआएको यादवले बताए ।

पहाडी जिल्लामा पनि आपूर्तिमा समस्या छ । धरान–धनकुटा–संखुवासभा ३३ केभी लाइनमा समस्या आउँदा धनकुटा, संखुवासभालगायत जिल्लाकाे विद्युत सेवा अवरुद्ध छ ।

विराटनगरको निमुवास्थित ३३ केभी प्रसारण लाइनको २ नम्बर सर्किट अवरुद्ध छ । प्रसारण लाइनको पोल ढल्ने अवस्थामा पुगेकाले त्यसको संरक्षण कार्यका लागि आपूर्ति बन्द गरिएको हो । लाइन संरक्षणको काम सम्पन्न गरेर साँझसम्ममा आपूर्ति सुचारु गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण विराटनगर वितरण केन्द्रको कार्यालयमा पनि पानी पसेको छ । शनिबार साँझबाट कार्यालय जलमग्न भएको वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए । कार्यालयमा २ फिटसम्म पानी जमेको छ । सडक निर्माण गर्दा पानी निकास हुने नहरको राम्रो व्यवस्थापन नगरिएकाले कार्यालय भएको स्थानतर्फ बगेर आएको उनले बताए ।

जलमग्न विराटनगर वितरण केन्द्र

वितरण केन्द्र अन्तर्गत बाढीले १० वटा विद्युतीय पोल ढालेको थियो । अहिले मर्मत गरेर सेवा सुचारु गरिएको छ । क्षेत्रीय कार्यालय अन्तर्गत ८५ प्रतिशत सेवा सुचारु छ । बाँकी १५ प्रतिशत सुचारु गर्न केही दिन लाग्ने क्षेत्रीय कार्यालयले जनाएको छ ।

यस्तै, ४ दिनदेखिको वर्षाले मध्य भागकाे विद्युत सेवा प्रवाभित भएको जनकपुर क्षेत्रीय कार्यालय प्रमुख ओमप्रकाश महतोले बताए । उनका अनुसार क्षेत्रीय कार्यालय अन्तर्गतका हरेक वितरण केन्द्रकाे ३० देखि ४० वटासम्म विद्युतीय पोलमा क्षति पुगेको छ ।

उनले प्राधिकरणको यतुकुवा वितरण केन्द्रको सेवा अवरुद्ध भएको बताए । ३३ केभी लाइनको ४ वटा पोल ढलेकाले आपूर्तिमा समस्या आएको हो । अहिले प्रसारण लाइनको मर्मत कार्य चलिरहेकाले साँझसम्ममा सुचारु गर्ने तयारी भइरहेको उनले बताए ।

जलेश्वर वितरण केन्द्रको सेवा पनि अवरुद्ध छ । केन्द्रको स्वीचयार्ड नियन्त्रण कक्षमा पानी पसेकाले आपूर्ति पूर्णरुपमा ठप्प छ । शनिबार बिहान नियन्त्रण कक्षमा पानी पसेको उनले जानकारी दिए । अब नियन्त्रण कक्षको पानी पूर्णरूपमा सुकेपछिमात्रै सञ्चालन गरिनेछ ।

यस्तै, सखुवा महेन्द्रनगर वितरण केन्द्रको सेवा आंशिक प्रभावित भएको छ । खोला किनार र जंगल क्षेत्रमा निर्माण भएका वितरण लाइनका संरचनामा क्षति पुगेकाले ग्रामीण भेगको आपूर्ति प्रभावित भएको महताेले बताए ।

यसैगरी, प्राधिकरणको मिर्चैया, लहान, राजविराज, कन्चनपुर,मलंगवा र उपयपुर वितरण केन्द्रको विद्युत सेवासमेत आंशिक प्रभावित छ । शहरी क्षेत्रमा सेवा सुचारु भए पनि गाउँमा सेवा सुचारु गर्न नसकेको प्राधिकरणले जनाएको छ । लाहान वितरण केन्द्रको कार्यालय डुबानमा परेको छ । बाढीको पानी पसेपछि कार्यालय डुबेको हाे ।

यस्तै, प्राधिकरणको खाँडमारा सबस्टेसन अहिले बन्द छ । रुख ढलेर प्रसारण लाइनको तार चुँडिएकाले सबस्टेसन बन्द भएको हो । उदयपुरको काँडाघारी सबस्टेसन बन्द छ । त्रियुगा खोलामा आएको बाढीले गाइघाट–दिक्तेल ३३ केभी लाइनको टावर बगाउँदा सबस्टेसन बन्द भएको हो ।

लाइन अवरुद्ध हुँदा खोटाङसम्मको विद्युत सेवा प्रभावित भएको महताले बताए । ढलेको पोललाई बाइपास गरेर सोमबारसम्ममा सेवा सुचारु गरिने उनले बताए । गाइघाट–बुइपा लाइन पनि अवरुद्ध हुदा ओखलढुङ्गामा विद्युत आपूर्ति बन्द छ । अहिले स्थानीय मोलुङ खोलाबाट उत्पादन भएको विद्युत वितरण गरेर आंशिक सेवा दिइरहेको क्षेत्रीय कार्यालयले जनाएको छ ।

सिन्धुलीमा पनि केही स्थानमा सेवा अवरुद्ध छ । जिल्लाको कमला नदीमा आएको बाढीले ३३ केभी प्रसारण लाइनको संरचनामा क्षति पुगेकाले सेवा अवरुद्ध हुन पुगेको हो । वितरण लाइनका जीर्ण अवस्थाका काठका पोल ढलेका छन् । अहिले वैकल्पिक लाइनबाट बजार क्षेत्रमा सेवा सुचारु गरिए पनि ग्रामीण भेगको सेवा अवरुद्ध छ ।

जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत ७० प्रतिशत सेवा सुचारु अवस्थामा छ । ग्रामीण क्षेत्रका क्षतिग्रस्त लाइन मर्मत गरेर बाँकी ३० प्रतिशत सेवा सुचारु गर्न प्राविधिक टोली खटिएको कार्यालयले जनाएको छ ।

यसैगरी, वर्षाको बाढीले रौतहटस्थित गौर सबस्टेसन डुबानमा परेको छ । सबस्टेसनको नियन्त्रण कक्षमा पानी भरिएर डुबाएको हेटौंडा क्षेत्रीय कार्यालय प्रमुख श्रीराम पाण्डेले बताए ।

‘३६ घन्टादेखि गौर सबस्टेसन बन्द छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सबस्टेसन बन्द हुँदा दक्षिणी भेगको विद्युत सेवा अवरुद्ध छ ।’ चन्द्रनिगाहपुरको राजमार्ग क्षेत्रमा भने आपूर्ति सहज भएको उनले बताए ।

सेवा अवरुद्ध भएका स्थानमा साँझसम्ममा सुचारु गर्ने गरी काम भइरहेको पनि उनले बताए । क्षेत्रीय कार्यालय अन्तर्गत सेवा अवरुद्ध भएका ९० प्रतिशत स्थानमा सुचारु भइसकेको उनले जानकारी दिए । विरगन्ज, भरतपुर, टाँडी, हटौंडा, सिमरालगायत स्थानको सेवा सुचारु अवस्थामा रहेको क्षेत्रीय कार्यालयले जनाएको छ ।

काठमाडौं क्षेत्रीय कार्यालय अन्तर्गतका दोलखा र रामेछापको विद्युत सेवा प्रभावित छ । जिल्लाको दुर्गम गाउँमा प्राधिकरणको प्राविधिक टोली पुग्न नसकेकाले सेवा सुचारु हुन नसकेको हो । दुर्गम गाउँमा वितरण लाइनका पोल ढलेर सेवा अवरुद्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar3
sidebar4
sidebar5
sidebar7

हामीसँग जाेडिनुहाेस्


data-href="