Urja Khabar - Nepal's No. 1 energy based online portal.

body1

विद्युत आपूर्ति

  • प्राधिकरण : ९६३० मे.वा. घन्टा
  • निजी क्षेत्र : १०८५४ मे.वा. घन्टा
  • भारत : २६०३ मे.वा. घन्टा
  • ट्रिपिङ : मे.वा. घन्टा
  • माग : २३०८७ मे.वा. घन्टा
  • स्रोत : ने.वि.प्रा.
after_navbar

जलविद्युत र बाढीको वितण्डा

श्रावण ०, २०७६   4135 सम्पादकीय


ऊर्जा खबर

काठमाडाैं— लमजुङस्थित दोर्दी खोलामा बुधबार साँझ एक्कासी बाढी आयो । स्थानीयका अनुसार यो पछिल्लो ४० वर्षमा आएको भीषण बाढी थियो । यसले निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनामा ठूलो क्षति पुर्यायो । त्यहाँ कार्यरत १५ कर्मचारी बेपत्ता भए । ती मध्ये ४ जनाको मृत्यु भएको प्रवर्द्धक लिबर्टी इनर्जी कम्पनीले जानकारी दिएको छ ।

बिहीबार अपरान्हसम्म ६ जना अझै बेपत्ता छन् । र, एक जना स्थानीय कामदार परिवारको सम्पर्कमा आएको जनाइएको छ । बाढीले आयोजनाको हेडवर्क्स पुरिएको छ । केही उपकरण बगाएको छ । यद्यपि, विद्युतगृह सुरक्षित रहेको खबर छ । उता ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ को बाँध क्षेत्रका उपकरण बाढीमा बगेका छन् ।

ad

दोर्दी कोरिडोरमा निर्माणाधीन ४ आयोजनामध्ये बाँकी दुई (१२ मेगावाटको दोर्दी–१ र २७ मेगावाटको दोर्दी खोला) भने बाढीको प्रकोपबाट जोगिएका छन् । गत असारमा सिन्धुपाल्चोकमा निर्माणाधीन २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ मा कार्यरत दुई कामदारको पनि बाढीले बगाएर मृत्यु भएको थियो ।

बाढी प्राकृतिक विपद् हो, मान्छेले टार्न नसक्ने घटना । योसँग सधैं जोगिएर वा सजग रहेर काम गर्नुपर्ने पक्षको बोध सबैले गर्नुपर्छ । जलविद्युत उत्पादन खोला–नदीसँग खेल्ने काम हो । खोला प्रकृति हो । विकास निर्माताले प्रकृतिलाई आफ्नो अधिनमा खिचेर काम गरिरहेका हुन्छन् । पानीको अनवरत बहाबमा बाधा पुर्याउँदा वा आफूअनुकूल प्रयोग गर्दा अनेक समस्या देखा पर्छन् । प्रकृतिमा विचलन आउँदा हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ ।

जलविद्युत आयोजना निर्माण गर्दा स्थानीय वा सरोकारवालाबाट हुने अवरोध भई हाल्छ । यो अवरोध वा बाधालाई विकासकर्ताले व्यवस्थापन गर्न सक्छन् । तर, प्राकृतिक अवरोध मान्छेको वशको कुरो होइन । चाहेर पनि यस्ता समस्या निर्मूल गर्न सकिँदैन । तर, न्यूनिकरण गर्न भने पक्कै सकिन्छ ।

अहिले देशभर ३ हजार मेगावाटका दर्जनौं आयोजना निर्माणाधीन छन् । खोलासँग खेलेर वा खोलाको किनारमै काम गर्नुपर्ने हुँदा प्राकृतिक विपद् कतिबेला आउँछ थाहा हुँदैन । अझ बर्खाको समयमा त हरपल विपद् निम्तिने खतरा हुन्छ । बाढी–पहिरो जस्ता घटनाले जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याउँछ । दुर्घटना बनेर आउने मानवीय क्षति टारेर टार्न सकिँदैन ।

बाढी वा बर्खाले निम्त्याउने भवितव्यमा परेर धेरै कामदारले ज्यान गुमाउनुर्छ/गुमाइरहेका छन् । ज्यान गुमाउने अधिकांश तल्लो दर्जाका कामदार वा मजदुर हुन्छन् । भविष्य, जीवन र आफ्ना सपना साकार पार्न वर्षौंदेखि आयोजनामा खटिएका मजदुरको निधन हुनु ज्यादै दुखद हो । यसबाट उसको आश्रयमा बाँचेका परिवार, आफन्त र तिनका सपना पनि बाढीमा बग्छन ।

पूर्व, मध्य वा पश्चिम जुनसुकै ठाउँमा निर्माण भएका आयोजना हुन्, त्यहाँ तराई, पहाड र हिमालका कामदार भेटिन्छन् । वैदेशिक रोजगारी त्यागेर आयोजनामा मजदुरी गर्नेको मानवीय पक्ष ज्यादै संवेदनशील हुन्छ । उनीहरूलाई जोगाएर काम गराउनुमा प्रवर्द्धक कम्पनीहरूको महत्त्वपूर्ण दायित्व जोडिएको हुन्छ ।

बाढी–पहिरोका घटना युगौंदेखि घटिरहेका छन् । जुनरूपमा जोखिम वा प्रकोप निम्तिने गरेको छ त्यही रूपमा रोकथाम तथा न्यूनिकरणका उपाय अवलम्बन गरिएको पाइँदैन । सरकारले विद्युत उत्पादनको एउटा लक्ष्य निर्धारण गरेको छ । लक्ष्य पूरा गर्न निजी क्षेत्र तथा सरकारले काम गरिरहेकै छन् । खोलासँग खेलेर काम गर्नुको विकल्प छैन । यसमा उच्च सतर्कता वा सावधानी अपनाउन सके पक्कै मानवीय क्षति घटाउन सकिन्छ ।

आयोजना प्रवर्द्धकले बर्खा लाग्नासाथ वा बर्खामा आउने बाढीलाई ध्यान दिएर उपकरणहरू सुरक्षित ठाउँमा भण्डारण गर्नुपर्ने हुन्छ । खोलामा बाढी सूचक प्रविधि जडान गर्ने र झरीको समयमा कामदार परिचालन कम गर्ने गर्नुपर्छ । बर्खामा कम जोखिमका क्षेत्रमा कामदार परिचालन गरेर बर्खापछि खोलाको किनार वा बाँध क्षेत्रमा काम गर्ने तालिका बनाउनु बुद्धिमानी मानिन्छ ।

खोला प्रकृति भएकाले बाढी बर्खामा मात्र होइन हिउँदमा पनि आउने गर्छ । केही वर्षअघि हिउँदमा सेती नदीमा एक्कासी बाढी आउँदा ठूलो भौतिक क्षति हुन गयो । तर, दिनमा बाढी आयो र नदीमा बाढी सूचक प्रविधि जडान भएकाले मानवीय क्षति हुन पाएन । यस्तो प्रणाली देशका हरेक नदी तथा खोलामा राख्नुपर्ने अपरिहार्य छ । यसले मात्र सम्भावित मानवीय क्षति कम हुन सक्छ ।

पूर्वदेखि पश्चिमसम्म अहिले हरेक खोला–नदीमा जलविद्युत आयोजना निर्माण भइरहेका छन् । तिनमा बाढी आउने र जनधनको क्षति हुने सम्भावना सधैं छ । यसर्थ, सरकारले ठूलामा मात्र होइन साना नदी वा खोलामा पनि बाढी सूचक यन्त्र जडान गर्नुपर्ने आवश्यकता छ । अझ जलविद्युत आयोजना निर्माण भएका नदी बेसिनमा यो अति जरुरी छ ।

जल तथा मौसम विज्ञान विभागले खतरायुक्त नदी वा खोला जहाँ जलविद्युतको काम भइरहेको छ, यसमा ध्यान दिएर बाढी सूचक प्रविधि जडान गर्न ढिला गर्नु हुँदैन । आयोजना प्रवर्द्धकहरू पनि बर्खा वा हिउँद जुनसुकै समयमा हुन सक्ने सम्भावित खतरा रोक्न विभागसँग निरन्तर सम्पर्कमा रहनुपर्छ । यमसा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर अनुगमन जरुरी छ ।

एक पटक बाढीले पुर्याएको क्षतिको पूर्ति भएपछि फेरि यस खालको खतरा आउला भन्ने नसोच्ने नेपालीहरूको बानी छ । प्रवर्द्धकहरूमा पनि आयोजनामा भएको क्षति बीमाबाट परिपूर्ति गर्ने, कसरी हुन्छ लगानी उकास्ने र नाफाघाटा मात्र हेर्ने संस्कार छ । यो व्यावसायिक विशेषता पनि हो ।

व्यवसायी वा ब्यापारीले पहिलो त नाफाघाटा नै हेरेकै हुन्छ । तर, उनीहरूले मानवीय पक्षलाई पनि त्यतिकै ध्यान दिन जरुरी छ । विपद्पछि घाइते, मृतक वा उसका आफन्तलाई सहयोग गरेरमात्र दायित्व पूरा हुँदैन । सकेसम्म विपद्बाट मानवीय क्षति रोक्नु वा क्षति नै हुन नदिने उपाय अपनाउनुपर्छ ।

आयोजनामा काम गर्ने कामदारका सपना साकार पार्ने मुख्य कर्ता प्रवर्द्धकहरू नै हुन् । उनीहरू आफ्ना कामदारको भविष्य र सपना खोसिनबाट रोक्न हरक्षण तत्पर हुनुपर्छ । दुर्घटना, स्वाथ्य वा मृत्यु बिमा गरेर कामदारमा ‘मेरो आयोजना’ भन्ने भावना जगाउन प्रवर्द्धकहरूले कन्जुस्याई गर्नु हुँदैन । यद्यपि, अधिकांशले यो काम गरेका पनि छन् ।

कर्मचारी वा कामदारले झरीमा काम रोक्नु उचित हुन्छ । नदी वा खोलामा बाढी आउने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन हेलचक्र्याइँ गर्नु हुँदैन । अझ आयोजनास्थलमा रहने कर्मचारी तथा कामदारले यसमा विशेष सावधानी अपनाउनुपर्छ । नत्र बाढी–पहिरोले सधैं दुःख दिइरहन्छ । मनवीय क्षतिका परिघटना पनि रोकिँदैनन् ।

प्रतिक्रिया दिनुहोस


sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5

हामीसँग जाेडिनुहाेस्


data-href="